Blog

  • जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

    जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

    काठमाडौँ, ७ पुसः
    जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो ।

    यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उहाँले बताउनुभयो । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उहाँको भनाई छ ।

    गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु भएका थिए । उहाँले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु हुनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो ।

    सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु भएका थिए ।

    डा गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् ।

    मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उहाँले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताउनुभयो । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताउनुभयो ।

    यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।

    जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो ।

  • सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    काठमाडौँ, ७ पुसः 
    प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गर्नुभएको छ ।

    सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उहाँले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।”

    उहाँले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गर्नुभयो । मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आह्वान गर्नुभयो ।

    “सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,” उहाँले भन्नुभयो, “हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ ।”

    प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताउनुभयो । ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उहाँले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    “जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो । जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भन्नुभयो, “हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ । देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ ।”

  • नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

    नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

    मोरङ, ७ पुस :  
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताउनुभएको छ ।

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उहाँले आरोप लगाउनुभयो ।

    कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहनुभएका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताउनुभयो । उहाँले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिनुभयो ।

    उहाँले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताउनुभयो ।

  • माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा

    माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ, ७ पुस :  
    मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
    जिल्ला प्रशासन कार्यालबाट अनुमति नलिइ माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, ¥यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लङ्घन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
    जेन्जी समूहले उठाएका माग, मुद्दा सम्बोधन नभएको भन्दै माइतीघर मण्डला क्षेत्रमा नाराबाजीसहित प्रदर्शनमा उत्रेका आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
  • जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

    जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

    ताप्लेजुङ, पुस ७ –
    केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू भएका छन् । जाडो बढ्न थालेपछि स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन् ।

    जिल्लाको मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तलका (औलतिर) का बस्तीमा झेरका छन् । जाडो बढेसँगै पशुचौपायासहित यहाँका स्थानीयहरू औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदको समयमा जाडो छल्नकै लागि अन्यत्र जाने गरिन्छ, पशुपालक र व्यवसायमा लागेका मानिस तल्लो क्षेत्रमा रहेका घर, खर्कमा गएर बस्छन् । कतिपय अन्यत्र घुमघाम र भेटघाटमा जान्छन् ।”

    शेर्पाका अनुसार तोक्पेगोलामा सामान्य अवस्थामा सात परिवार बसोबास गर्छन्, तर अहिले सबै घर रित्तो छन् । घुन्सा, फलेलगायत माथिल्लो भेगमा बसोबास गर्ने र पशुपालन गर्ने मानिसहरू औलतर्फ झरेका बताउँदै उहाँले सो क्षेत्रमा करिब ४०–४५ परिवार बसोबास गर्ने जानकारी दिनुभयो । सो क्षेत्रका पनि आधाजसो परिवार मङ्सिर अन्तिमदेखि नै घरमा ताल्चा लाएर अन्यत्र गएका छन् ।

    स्थानीय छेतेन डण्डू शेर्पाका अनुसार पर्यटन व्यवसायमा संलग्न नभएका अधिकांश मानिस जाडो छल्न अन्यत्र गएका छन् । वर्षाका समयमा खेतीपातीमा व्यस्त हुने मानिसहरू पुस र माघमा बढी जाडो हुने भएकाले काठमाडौँ, सिक्किम, दार्जेलिङलगायत ठाउँमा जान्छन् वा अन्य घरमा बस्छन् । घुन्सामा आधाजसो पर्यटन व्यवसायमा संलग्न भने घरैमा बसेका उहाँको भनाइ छ । छेतेनले भन्नुभयो, “धेरैजसोका छोराछोरी पढ्न सहरतिर गएकाले यो समयलाई छोराछोरी र आफन्त भेट्ने अवसरका रूपमा लिने गरिन्छ ।”

    जिल्लाका हिमाली भेगमा बसोबास गर्ने मानिस बर्सेनि जाडो छल्न अन्यत्र जाने गर्छन् । पहिले पूरै गाउँ रित्तो हुने गरे पनि आजभोलि भने बिजुली, सञ्चारलगायत सुविधाले गर्दा आधाजसोले मात्र गाउँ छाड्ने गरेका स्थानीय बताउँछन् । रासस

  • राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

    राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

    काठमाडौँ, पुस ७ –
    नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

    समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग गर्नुभयो ।

    रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत यस क्षेत्रका पर्यटकीय स्थलहरूमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गर्नुभयो ।

    राँझा–बाँके समाजले यहाँस्थित विमानस्थललाई आधुनिकीकरण गरी अन्तरराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन गर्न माग गरेको हो । नेपालगञ्ज क्षेत्रका उद्योग व्यवसाय, होटल, पर्यटन, यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष राहत पुग्ने भएकाले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूमा उडान गर्न सकिने गरी विमानस्थल विस्तार गर्न समाजले अनुरोध गरेको छ । रासस

  • देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

    देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

    काठमाडौं, पुस ७-
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

    एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।

    अहिले ओली र देउवाबीच भेटवार्ता भइरहेको नेकपा एमालेका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    काठमाडौँ, पुस ७ –
    सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ ।

    अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो तीन वर्षमा दुई वटा नयाँ ‘मोड्युलर अप्रेशन थियटर’को निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी राखिएको छ । इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवासमेत सञ्चालन हुँदै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सेवा लिन सक्नेछन् ।

    सशस्त्रलाई ३०० शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८१ असोजमा अनुमति दिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा एपिएफ अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भइसकेको छ ।

    उपचारार्थ आउने बिरामीलाई समयसापेक्षितरूपमा गुणस्तरीय सेवा उपलब्ध, अस्पतालको स्तरोन्नति र अस्पतालमा कार्यरत जनशक्तिको वृत्ति विकासको लागि समेत आवश्यक पर्ने भवन, कुरुवा घर, पुनस्र्थापना केन्द्रलगायत संरचना निर्माण गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    नेपाल एपीएफ अस्पताल तथा मातहत अस्पतालमा जलन उपचार युनिट सञ्चालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीलाई कीर्तिपुरस्थित जलन अस्पतालमा पाँच दिन अवधिको तालिम उपलब्ध गराई उक्त सेन्टरका लागि आवश्यक पूर्वाधार तथा सामग्रीको जडान कार्य भइरहेको छ ।

    सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्रै सःशुल्क फार्मेसी र सशस्त्र प्रहरीका वहालवाला तथा पूर्वकर्मचारीको लागि दैनिक उपभोग्य सामग्री सुलभ मुल्यमा उपलब्ध गराउन ‘सुपथ मुल्य क्यान्टिन’ सञ्चालनमा ल्याइएको छ ।

    चालु आर्थिक वर्षदेखि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा आएको छ । सो इन्स्टच्यूटमा यसै शैक्षिक सत्रदेखि प्रवीणता प्रमाणपत्र तह नर्सिङ अध्ययन सुरु भएको छ । इन्स्टिच्यूटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ४ जना गरी ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

    कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९चिकित्सक० को कमाण्ड रहेकामा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (चिकित्सक)ले कमाण्ड गर्नेछन् । रासस

  • नेपाल बार एशोसिएशनको आज ७०औँ स्थापना दिवस

    नेपाल बार एशोसिएशनको आज ७०औँ स्थापना दिवस

    काठमाडौँ, पुस ७ –
    नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

    बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु, बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरुले संस्थापकहरुको तस्बिरमा मार्लापण गर्नुभएको थियो ।

    अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका, कानुनको शासनको कायम हुनुपर्नेमा जोड दिनुभयो । कानुनी शासन र मानव अधिकारको रक्षाका लागि नेपाल बार निरन्तर क्रियाशिल रहेको उहाँको भनाइ थियो । विसं २०१३ पुस ७ गते नेपाल बारको स्थापना भएको थियो । रासस

  • पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

    पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

    पाटन (ललितपुर), पुस ७ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दुईदिने राष्ट्रिय संवादले नयाँ सिकाइ, नयाँ विचार र बलियो सहकार्यको आधार तयार गर्दै दीर्घकालीन रूपमा विपद्बाट हुने मानवीय तथा भौतिक क्षति घटाउने साझा लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    “नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुकको रूपमा रहेको छ । बाढीपहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर (लु), अत्यधिक गर्मी, शीतलहर, महामारीलगायत जल तथा मौसमजन्य विपद्हरूले हाम्रो देशमा हुने कूल विपद्को ठूलो हिस्सा ओगट्ने गरेका छन् । जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरू तीव्र र बारम्बार देखिन थालेका छन् । यी विपद्जन्य घटनाका कारण मुलुकले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।

    गृहमन्त्री अर्यालले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वासनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली, पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र सङ्कटको बेला ढिलाइ नगरी काम र मद्दत गर्ने व्यवस्थित स्रोतसाधनले सहयोग पु¥याउने धारणा राख्नुभयो ।

    “विपद्को सामना गर्ने सन्दर्भमा विज्ञान तथा प्रविधिको विकाससँगै आज हामी अधिकांश जल तथा मौसमजन्य विपद्का बारेमा पहिले अनुमान गर्नसक्ने अवस्थामा पुगेका छौँ । मौसम पूर्वानुमान, नदीको बहाव विश्लेषण, जोखिम नक्साङ्कन र प्रभावमा आधारित पूर्वसूचनाले हामीलाई विपद् आएपछि मात्र होइन, विपद् आउनुपूर्व काम गर्ने अवसर दिएको छ । यसै सन्दर्भमा नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सुरु गरिसकेको छ”, उहाँले भन्नुभयो ।

    विपद् पूर्वकार्यलाई मजबुत, संस्थागत र व्यापक बनाउन नेपालले आफ्ना नीतिगत तथा कानुनी व्यवस्थमा स्पष्ट रूपमा समेट्दै आएको छ भन्दै गृहमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले सङ्घ, प्रदेश र स्थानीय तहमा बहुप्रकोप पूर्वसूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको जानकारी गराउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति र रणनीतिक कार्ययोजनाले बाढीपहिरो, खडेरी, चट्याङ, हावाहुरी, तातो हावाको लहर, शीतलहर, आगलागी, महामारीलगायत विपद्का कारण सिर्जना हुने जोखिमको नियमित अनुगमन, पूर्वतयारी र पूर्वकार्यमा जोड दिएको बताउनुभयो ।

    “विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ ले पूर्वानुमानमा आधारित पूर्वकार्यलाई व्यवहारमा उतार्ने बलियो आधार दिएको छ, यस मापदण्डमा प्रभावमा आधारित पूर्वसूचना वा बुलेटिन जारी भएपछि प्रभावित हुनसक्ने क्षेत्र र परिवारको पहिचान गरी उच्च जोखिमको अग्रिम चेतावनी जारी गर्न सकिन्छ । साथै आवश्यक परे जोखिम तथा प्रभावका आधारमा नगद सहायता अगावै परिचालन गर्न सकिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

    गृहमन्त्री अर्यालले गत असोज र कात्तिकमा देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको अवस्थामा सरकारले समयमै गरेको पूर्वतयारी, सार्वजनिक यातायात अस्थायी रूपमा रोक्ने निर्णय तथा सङ्घ, प्रदेश र स्थानीय तहका सुरक्षा निकाय र अन्य सरोकार भएका निकायबीचको प्रभावकारी समन्वय, सहकार्य, सञ्चार र सहभागिताले जनधनको ठूलो क्षति हुनबाट जोगिन मद्दत गरेको उल्लेख गर्नुभयो । सही र समयमै गरिएको उक्त निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्छ भन्ने स्पष्ट सन्देश दिएको उहाँले बताउनुभयो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेशप्रसाद भट्टले सुनामीबाहेक सबै विपद्का जोखिमबाट नेपाल प्रभावित रहेको जानकारी गराउँदै पूर्वतयारी गरेर प्रतिकार्यका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा ८० प्रतिशत विपद् जलवायुजन्य विपद्मा आधारित रहेको भन्दै उहाँले विपद्पछि खाद्यान्न सामग्री लिएर जानेभन्दा विपद्मा मानिस र भौतिक सम्पत्तिलाई जोगाउन लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तह सक्रिय हुँदा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

    नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डेले पूर्वानुमानमा आधारित पूर्वकार्यले सिक्ने र जवाफदेहिता खोज्ने हुँदा प्रत्येक मनसुनसँगै विपद् प्रतिकार्य प्रणालीमा सुधार हुने धारणा राख्नुभयो । उहाँले पूर्वअनुमानमा आधारित प्रणालीले पूर्वानुमानलाई प्रारम्भिक कार्यमा सामेल गर्दै मानव जीवनको सुरक्षा, प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्दै विश्वलाई पूर्वानुमानात्मक कार्यले सकारात्मक काम भएको सन्देश दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल रेडक्रस सोसाइटीका निर्देशक बुद्धिसागर श्रेष्ठले पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि आवश्यक नगद रकम जगेडा अवस्थामा राखेर सहज बनाइनुपर्नेमा जोड दिनुभयो । इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले अनुभवमा आधारित विपदपूर्व तयारीमा पछिल्लो समयमा प्रभावकारी र सकरात्मक काम भएको भन्दै अन्तरदेशीय विपदपूर्व सूचनालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

    सहसचिव अमृत श्रेष्ठले अनुभव आदानप्रदान गर्ने, पूर्वअनुमानमा आधारित पूर्वतयारी कार्य र सुधारमा लागि सरकार र साझेदार संस्थाहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदिने कार्यक्रममा चुनौतीहरुका विषयमा छलफलका साथै चौथो राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा विपद् पूर्वकार्यका लागि राष्ट्रिय ‘फ्रेमवर्क’ तयार गर्ने अवस्थासम्म आइपुगेको जानकारी गराउनुभयो । रासस