Blog

  • विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

    विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

    काठमाडौँ, पुस ११ –
    सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ ।

    भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार ९राइट अफ वे०मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने परिवर्तन भएका छैनन् । प्रसारण लाइनको मा मार्गाधिकारमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन ।

    हाल मार्गाधिकारमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिँदै आएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ ।

    मार्गाधिकारमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार र जग्गाधनीलाई आफ्नो सम्पत्तिको उपयोग गर्न सहज हुने विश्वास उक्त सचिवालयले व्यक्त गरेको छ । रासस

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    काठमाडौँ, पुस ११ –
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो ।

    साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले बताउनुभयो । रासस

  • ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

    ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

    १० पुस, काठमाडौँ ।
    सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् ।

    नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।

    आजै उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

    यसअघि उनै खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राजनीतिक दलको कार्यालयको पनि निरीक्षण गरेको थियो ।

  • आज रातिसम्म टुंगिनेछ रवि–बालेन छलफल, सहकर्मीहरुले तयार पार्दैछन् सहमतिको खाका

    आज रातिसम्म टुंगिनेछ रवि–बालेन छलफल, सहकर्मीहरुले तयार पार्दैछन् सहमतिको खाका

    ११ पुुस, काठमाडौं ।
    रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच जारी छलफललाई पूर्णता दिन सहकर्मीहरु सक्रिय भएका छन् ।

    रवि र बालेनबीच दुई चरण वार्ता गराएका असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पार्नेगरी अर्को छलफलको गृहकार्य थालेका हुन् ।

    निकट स्रोतले  दिएको जानकारी अनुसार आज शुक्रबार रातिसम्म संवादले अन्तिम टुंगो पाउने छ । तत्कालै पार्टी एकता वा सहकार्यको घोषणा हुने उनीहरुले बताएका छन् ।

    निकटस्थहरुले बताएअनुसार, अब एकीकृत पार्टीमा बालेनको बरियता रविको भन्दा ठीक मुन्तिर हुनेछ । अनि बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम भएका छन् ।

    निकटस्थहरुले यसै बुँदामा आधारभूत सहमति हुने ठोकुवा गरेका छन् ।

    रविसँग यसअघिका छलफल टुंगोमा पुग्ने संकेत नपाएपछि बालेनले आफ्ना साथी कुमार बेनको ज्वागल निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन माग्दै भेटघाट तीव्र पारेका थिए ।

    ७ पुसको राति कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका थिए ।

    रवि र बालेनबीच बिहीबार अपराह्नसम्म चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको थियो । पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे छलफल चलेको थियो ।

    रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।

    बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ । यसका लागि कुमार बेन, असीम शाह लगायतले काम गर्ने, त्यसै संख्यालाई बालेनले सहमति जनाउने बुझिएको छ ।

    हिजो ज्वागलमा बालेनसँग भेटपछि बाहिरिएका लामिछानेलाई सन्चारकर्मीले लौरी कि घण्टी भनी सोध्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए । यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी यसअघि आम रुपमा स्थापित भइसकेकाले त्यस अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नभएको स्पष्ट जवाफ प्राप्त गरेका थिए ।

    रवि र बालेनबीचको सम्वाद तिक्ततातर्फ उन्मुख हुन खोजेको देखेपछि सहकर्मीहरुले दुवै नेतालाई अविलम्ब मिल्न दबाब दिएका थिए ।

    दुई नेताबीच बिहीबार साँझ फेरि वार्ता हुने भनिए पनि बस्न सकेको थिएन । बालेनले कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए । रवि र कुलमानबीच दोहोरो संवाद स्थापित नभइरहेका बेला कुलमानलगायत विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँ ल्याउने जिम्मेवारी बालेनले लिएका छन् ।

    बालेनसँग निकट मित्रतामा पहिल्यैदेखि रहेका रास्वपा नेता असीम शाहले छलफल सकारात्मक निष्कर्षतर्फ पुग्न लागेको जानकारी दिए । ‘के कुरामा सहमति हुन लागेको छ, अहिल्यै भन्न मिल्दैन । धेरै कुराहरु अहिले पनि छलफलमै छन्, हामी त्यसलाई मिलनविन्दुमा पुर्‍याउँछौं,’ शाहले अनलाइनखबरसँग भने, ‘तर नयाँ शक्तिहरुबीचको एकता जेनजीहरुको पनि भावना हो । यस भावनाको कदर गर्दै हामी अघि बढ्छौं । छिटै सकारात्मक सन्देश सुन्न पाउनुहुनेछ ।’

  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च , सुनको मूल्य २ लाख ७० हजार नजिक

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च , सुनको मूल्य २ लाख ७० हजार नजिक

    काठमाडौँ, पुस ११ –
    पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।

    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।

    गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो ।

    अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

  • क्यालिफोर्नियामा भारी वर्षा र आँधी, तीन जनाको मृत्यु

    क्यालिफोर्नियामा भारी वर्षा र आँधी, तीन जनाको मृत्यु

    काठमाडौँ , पुस –
    ११ अमेरिकाको क्यालिफोर्निया राज्यमा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । क्रिसमस रातसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म पानी परेको छ । भारी वर्षाका कारण सडकहरू बन्द भएका छन् भने जोखिममा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले सडकमा फसेका मानिसहरूलाई उद्धार गर्न आपत्कालीन टोली परिचालित गरिएको थियो ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले लस एन्जलस र अन्य दक्षिणी काउन्टीहरूमा आपत्काल घोषणा गरेका छन् । बिहीबार साँझसम्म करिब एक लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए ।

    मृतकमध्ये सान डिएगोमा रूख ढलेर एक ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । साथै, बाढीमा फसेको सवारीसाधनबाट उद्धार गर्ने क्रममा ७४ वर्षीय व्यक्तिको ज्यान गएको छ । सोमबार मेन्डोचिनो काउन्टीको समुद्री किनारमा ठुलो छालले बगाउँदा एक वृद्ध महिलाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

    अधिकारीहरूले अझै पनि भारी वर्षा जारी रहने चेतावनी दिएका छन् र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । -एजेन्सी

  • अण्डाको मूल्य घट्यो, कति पुग्यो ?

    अण्डाको मूल्य घट्यो, कति पुग्यो ?

    चितवन,पुस ११-
    नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ ।

    संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ समर्थन मूल्य सार्बजनिक गरेको हो । यसमा ढुवानी भाडा प्रति पेटी १३० अतिरिक्त लाग्ने संघले जनाएको छ । यसअघि संघले गत् मंसिर २३ गतेदेखि लागु हुने गरी अति ठूलो अण्डाको समर्थन मूल्य ५८०, ठूलो अण्डाको ५६५, मिडियमको ५५० र सानो अण्डा प्रति क्रेट ४६४ रुपैयाँ सार्वजनिक गरेको थियो ।

    संघले गत महिनामा २३ मंसिर, १३ मंसिर, ७ मंसिर र ३ मंसिरमा गरी चार पटकसम्म अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको थियो । मंसिर २३ गते सार्वजनिक गरिएको अण्डाको समर्थन मूल्य अहिलेसम्मकै अत्याधिक भएको भनेर संघको चौतर्फी आलोचनासमेत भएको थियो ।

  • चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

    चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

    मुग्लिन,पुस ११
    आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताउनुभयो । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने उहाँले जानकारी दिनुभयो । महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।

    महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताउनुभयो । होटल व्यवसायले पहिल्यैदेखि नै संसारभर पहिचान बनाएको मुग्लिन बजारमा फुड फेस्टिबल हुन लाग्दा स्थानीय होटल व्यवसायीमा उत्साह छाएको होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइका अध्यक्ष पुजन भण्डारीले बताउनुभयो । उहाँले यहाँको थकाली तथा नेवारी खानाका साथै इच्छाकामनामा उत्पादन हुने स्थानीय रैथाने बालिको परिकारहरुको स्वाद लिन पाइने बताउनुभयो ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि १० करोडको कारोबार गर्ने गरेको बताउनुभयो । यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्र्रीका लागि बजारको कुनै समस्या नरहेको बताउनुभयो । सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएको सुन्तलाका बिरुवा वितरण गरिँदै आएको अध्यक्ष गुरुङको भनाइ छ । नयाँ प्रविधियुक्त सामग्रीको वितरण, टिपाइ, गोडमेल, गोठेमल तथा सिँचाइ व्यवस्थापनमा आवश्यक सहयोग गाउँपालिकाले गर्दै आएको उहाँले बताउनुभयो ।

    सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

  • चितवनको टिकौलीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

    चितवनको टिकौलीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

    भरतपुर,पुस ११-
    मोटरसाइकल आफैं अनियन्त्रित भइ पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । गएराति पौने तीन बजेतिर भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–९ टिकौली पूर्व-पश्चिम राजमार्गमा पल्टेको चितवन प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तुशल महतोको उपचारका क्रममा निधन भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए । दुर्घटनामा परेको मोटरसाइकल तुशलले चलाएको प्रहरीको भनाइ छ । उनको दाहिने खुट्टा र छातीमा भित्री चोट लागेको थियो ।

    मोटरसाइकल पछाडि बसेका गर्दकै १९ वर्षीय अंकित महतोको ढाडमा चोट लागेको छ । गम्भीर अवस्थाका तुशल र सामान्य अवस्थाका अंकितलाई उपचारका लागि भरतपुरमा रहेको सेन्ट्रल अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा तुशल महतोको बिहान साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सौराहामा आजदेखि हात्ती महोत्सवः हात्ती सहितको शोभायात्रा निकाल्ने तयारी

    सौराहामा आजदेखि हात्ती महोत्सवः हात्ती सहितको शोभायात्रा निकाल्ने तयारी

    सौराहा,पुस ११-
    चितवनको सौराहमा आज शुक्रबार देखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुने महोत्सवको मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गर्नेछन् । सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि। को सह-आयोजक रहेको सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए ।

    महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको पुजा गर्ने कार्यक्रम तय गरिएको संघका महासचिव महेश खनालले जानकारी दिए । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी हुने छन् । महोत्सव अन्तर्गत पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करीब ७० वटा हात्तीहरु द्वारा शोभा यात्रा निकालिने छ । साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रबद्र्धनको लागि अतिथि पाहुनाहरुलाई हात्ती सफारी÷जीप सफारी÷डुङ्गा सफारी गराउने कार्यक्रम तय गरिएको छ ।

    सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको संघका अध्यक्ष ओमप्रकास पाण्डेले बताए । सौराहामा १५० होटल र ९० बढी रेष्टुरेन्टहरु रहेका छन् । सफारी पर्यटनका हिसाबले सौराहा विदेशी पर्यटकको गन्तव्य स्थल हो । चितवनमा बार्षिक तीन लाख हजार पर्यटक आउने गरेका छन् । चितवन आउने मध्ये ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारीमा रमाउने गरेका छन् ।