Blog

  • ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    मलङ्वा (सर्लाही), १२ पुसः 
    सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो ।
    बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
    उहाँका अनुसार प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको उहाँले बताउनुभयो ।
    त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा  गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक धनकौल–४ मैनाथपुरका ३० वर्षीय अरुणराय यादवको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।
  • कांग्रेसले फिर्ता लियो अनुशासनको कारबाही

    कांग्रेसले फिर्ता लियो अनुशासनको कारबाही

    काठमाडौं, पुस १२-
    नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तामाथि छ महिनाअघि गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।

    २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेका नेता-कार्यकर्तामाथि कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो।

    केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ‘पार्टीभित्र बृहत् एकता कायम गर्न र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दीगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी’ कारबाही फुकुवा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

  • कैलाश युथ क्लब भरतपुरद्वारा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बिरामीलाई आर्थिक सहयोग

    कैलाश युथ क्लब भरतपुरद्वारा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बिरामीलाई आर्थिक सहयोग

    भरतपुर, १२ पुसः
    कैलाश युथ क्लब, भरतपुर ११ ले सामाजिक उत्तरदायित्वको अंशका रूपमा आर्थिक सहयोग गरेको छ ।

    भरतपुर ११, कैलाश टोलका ४० वर्षीय बिनोद लामिछानेको कलेजो खराब भएपछि उनलाई काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरिँदै छ। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नु पर्ने सुझाव दिएका छन्, जुन अत्यन्त खर्चिलो प्रक्रिया हो। बिरामीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारका लागि ठूलो आर्थिक चुनौती रहेको छ।

    यस समस्यालाई ध्यानमा राख्दै कैलाश युथ क्लब र क्लबका कार्यसमिति सदस्यहरूले आर्थिक सङ्कलन गरी बिरामीको परिवारलाई नगद रु. ११,११० सहयोग राशि हस्तान्तरण गरेको छ। क्लबका पदाधिकारीहरूको तर्फबाट यो राशि सिधै परिवारलाई प्रदान गरिएको हो।

    क्लब परिवारले बिरामी बिनोद लामिछानेको चाँडो नै स्वास्थ्य लाभ हुन्छ भन्ने कामना गरेको छ। साथै, क्लबले आवश्यक परेको अवस्थामा सामाजिक दायित्व पूरा गर्न सधैं तत्पर रहने प्रतिबद्धता जाहेर गरेको छ।

    क्लबका अध्यक्ष सबिन अधिकारीले क्लब परिवारप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्नुभएको छ।

  • निर्वाचन जसरी पनि सफल पारौँः प्रधानमन्त्री कार्की

    निर्वाचन जसरी पनि सफल पारौँः प्रधानमन्त्री कार्की

    काठमाडौँ, १२ पुसः
    प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

    प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उहाँले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गर्नुभयो । उहाँले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिनुभयो ।

    प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार “यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ”, तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भन्नुभयो ।

    निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताउनुभयो ।

    छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिनुभएको थियो ।

  • अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

    अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

    काठमाडौँ, १२ पुसः
    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

    गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ ।

    प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष,  ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ ।

    मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

    यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

  • जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

    जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

    झापा, १२ पुसः
    जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ ।

    गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

    पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    मृतकको शब सीमावर्ती भारतीय नाका गलगलिय हँुदै आज घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

  • कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन: कुलमान घिसिङ

    कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन: कुलमान घिसिङ

    १२ पुस, काठमाडौं ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

    उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकतको अर्थ अरुलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो ।’

    देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताएका मन्त्री घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए ।

    जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट होउन भन्ने रहेको भन्दै उनले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे ।

    उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै मन्त्री घिसिङले घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

    ‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,’ उनले भने ।

    मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको पनि बताए । ‘हामीसँग आम जनताको विश्वास छ । यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

    उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे । मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    ‘अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।’

    उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए । ‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ,’ उनले भने ।

  • अर्घाखाँचीको बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

    अर्घाखाँचीको बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

    १२ पुस, अर्घाखाँची ।
    अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विष्फोटक पदार्थहरू फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले विहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा विष्फोटक पदार्थहरू फेला पारेको हो ।

    ग्रामिण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने गोठ (थारो) मा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर थान १२, पलास्टिकको पाईप लम्वाई २५ ईन्च लामो लन्चर जस्तो देखिने पदार्थ थान ३, ५ लिटरको प्रेषर कुकर वम थान १, स्टिलको डलु बम थान १, विजुलीको तार ४ बण्डल र बारुद अन्दाजी ५०० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले बताए ।

    भरुवा बन्दुक थान २ बाहेक अन्य बिष्फोटक पदार्थहरु नेपालि सेनाको सहयोगमा डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

  • भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

    भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

    हनोई,पुस १२ –
    भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए।

    प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना यात्रुलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्, तर केही जना अझै बसभित्र फँसेका छन्। उद्धार कार्य जारी छ र स्थानीय अधिकारीहरूले बचेका यात्रुहरूको सुरक्षामा ध्यान दिइरहेका छन्।

    दुर्घटना लामो ढलान सडक खण्डमा भएको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार बसमा ब्रेक सम्बन्धी समस्या आएको हुन सक्छ, जसका कारण बस ढलानको तल्लो भागमा पल्टिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

    स्थानीय प्रहरी र यातायात विभागले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। साथै, यातायात सुरक्षामा सुधार र यस्ता दुर्घटनालाई रोक्न आवश्यक कदम चालिने योजना बनाइएको छ।

    यो दुर्घटना उत्तरी भियतनामको दुर्गम पहाडी क्षेत्रमा सडक यातायातको चुनौती र सुरक्षा जोखिमलाई पुनः उजागर गरेको छ। रासस

  • ७५० केजी गाँजासहित दुई जना पक्राउ

    ७५० केजी गाँजासहित दुई जना पक्राउ

    उदयपुर, पुस १२-
    उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

    को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले राससलाई बताउनुभयो । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । रासस