Blog

  • जेनजी आन्दोलनपछि आज बालुवाटार जाँदै ओली

    जेनजी आन्दोलनपछि आज बालुवाटार जाँदै ओली

    काठमाडौँ, पुस १२-
    जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज ९पुस १२ गते० प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन्।

    प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आयोजना गर्ने तीन शीर्ष नेतासँगको छलफलका लागि ओली दिउँसो त्यहाँ पुग्ने भएका हुन्।

    गत भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टमार्फत बालुवाटारबाट उद्धार गरेको थियो।

  • सिंहदरबार जलाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यहाँ जान खोज्नु राम्रै हो : प्रदिप ज्ञवाली

    सिंहदरबार जलाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यहाँ जान खोज्नु राम्रै हो : प्रदिप ज्ञवाली

    काठमाडौँ, पुष १२ –
    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो भएको बताएका छन् । यद्यपि पछिल्लो समय एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय भने कायमै रहेको उनले उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् –’ सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो । तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदै छ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोतर हुन्छन् !’

    रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच भइरहेको पार्टी एकता प्रयासलाई सङ्केत गर्दै उनले थप भनेका छन्– ‘यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदै छ । तर यस्तो तिलस्मी तत्त्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन । देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो । ‘

    ‘कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन । छ त केबल नकारात्मकता, निषेध र घृणा’, ज्ञवालीले भनेका छन् ।

    घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो लामो दौडले नै तय गर्ने भन्दै उनले स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुने स्मरण गराएका छन् ।

     

  • मदिरा उद्योगमा विष्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते

    मदिरा उद्योगमा विष्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते

    रौतहट, पुस १२-
    रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कटहरीया नगरपालिका-९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोटहुँदा एक जनाको मृत्यु र ६ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्। घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए ।

  • प्रधानमन्त्री कार्कीले तीन शीर्षदलका नेताहरुसँग छलफल गर्दै

    प्रधानमन्त्री कार्कीले तीन शीर्षदलका नेताहरुसँग छलफल गर्दै

    काठमाडौँ, पुस १२-
    प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएकी छन् । छलफल निर्वाचनकेन्द्रित हुने बताइएको छ । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।

    यसका लागि शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

  • आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको  राशिफल

    आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष १२ गते । शनिबार । ईश्वी सन् २०२५ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–सप्तमी, ५ घडी १७ पला, बिहान ९ बजेर १ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–उत्तराभाद्रपदा । योग–व्यातिपात, ७ घडी ३२ पला, बिहान ९ बजेर ५५ मिनेट उप्रान्त वरिणन । करण–वणिज, बिहान ९ बजेर १ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १४ मिनेट । दिनमान २५घडी ५१ पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्रमा आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ । साँझपख यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । पैतृक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा यात्राको अवसर जुर्नेछ । परिवारका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुसन्धानको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । आफन्त तथा दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । विलासिताका सामान, हार्डवेयर तथा निर्माण सामाग्रीमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरूको खरिद गर्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारका रूपमा बिलासी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । साँझपख खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोली बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको र राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

    पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

    वीरगञ्ज (पर्सा), ११ पुस :
    वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्यबराबरको १७ खाद्यवस्तु आयात गरिएको छ ।

    चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिनुभयो ।

    चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान र रु दुई अर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ ।

    त्यसैगरी रु एक अर्ब ३१ करोडको चामल र रु २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।

  • दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

    दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

    बैतडी, ११ पुसः
    दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् ।

    यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उहाँ आज स्थानीय गिठीखोला भिरमा मृत फेलापरेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

    बुधबार स्थानीय बजारमा मासु ल्याउन जानुभएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपराह्न मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ र अनुसन्धान सुरु भएको जनाइएको छ । मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।

  • पशुपतिनाथमा रातभर धनुर्मास पूजा

    पशुपतिनाथमा रातभर धनुर्मास पूजा

    काठमाडौँ, ११ पुस : 
    प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा बिहीबार रातभर विधिपूर्वक गरिएको छ ।

    धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुई वटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिबारे  खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुने भएकाले प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर धनुर्मास पूजा आराधना गर्ने परम्परा रहेको उहाँले सुनाउनुभयो ।

    जानकारहरूका अनुसार चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा हाल लोप भइसकेको छ । त्यसबेला भक्तजनले आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउने परम्परा रहेको थियो । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने प्रचलन छ ।

  • राप्रपाले भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

    राप्रपाले भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

    ११ पुस, काठमाडौं
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (पुस १२) बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

    राजा, राजनीतिक दल र जेनजीबीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको विर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

    देशमा अहिले ध्रुवीकरण तिव्र रुपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरुका बीचमा छिट्टै हुने समेत बताए ।

  • क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

    क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

    चितवन, पुष ११ –
    क्यानडामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरूका लागि लक्षित गरी सिएससी ग्लोबल (CSC Global) ले विशेष कार्यक्रम ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ (CSC Global – Canada Admission and Scholarship Day) आयोजना गर्ने भएको छ ।

    उक्त कार्यक्रम यही पौष १३ (डिसेम्बर २८) गते सिएससी ग्लोबलको कार्यालय, गणेश हल मार्ग, लायन्सचोक, चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    सिएससी ग्लोबल चितवनका सिनियर काउन्सिलर रुपेश गौतमका अनुसार कार्यक्रमको मुख्य उद्देश्य क्यानडामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई एडमिसन तथा स्कलरशिपसम्बन्धी स्पष्ट र व्यवहारिक जानकारी प्रदान गर्नु रहेको छ । कार्यक्रममा क्यानडाका विभिन्न प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दै सिएससी ग्लोबलमा प्रत्यक्ष परामर्श दिइने छ ।

    कार्यक्रममा विशेष गरी क्यानडाको भिसा सफलता दर उच्च रहेको सिएससी ग्लोबलको अनुभव, साथै अघिल्लो पटक भिसा अस्वीकृत (refusal) भएका विद्यार्थीहरूले समेत पुनः आवेदन दिन सक्ने सम्भावना र प्रक्रियाबारे विस्तृत जानकारी दिइनेछ । यसले विगतमा भिसा समस्या भोगेका विद्यार्थीहरूका लागि कार्यक्रमलाई अझ आकर्षक बनाउने आयोजकको विश्वास छ ।

    त्यस्तै, कार्यक्रममा सेप्टेम्बर तथा केही जनुअरी इन्टेकका लागि उपलब्ध कोर्सहरू, डिपेन्डेन्ट (पति/पत्नी) आवेदन प्रक्रिया, किफायती शुल्क संरचना, छिटो र सहज आर्थिक कागजात प्रक्रिया तथा उच्च स्कलरशिप अवसरहरूको बारेमा पनि विस्तृत जानकारी प्रदान गरिनेछ ।

    चितवनमा मुख्य कार्यालय रहेको सिएससी ग्लोबलले विद्यार्थीहरूलाई क्यानडामा अध्ययनका प्रारम्भिक चरणदेखि सम्पूर्ण अध्ययन अवधिभर आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले अनुभवी, समर्पित र प्रमाणित काउन्सलरहरूसँग एक–आपसमा प्रत्यक्ष भेटघाट गरी टु–वन मार्गदर्शन तथा काउन्सलिङ लिन सक्नेछन् ।

    क्यानडामा अध्ययन गर्न चाहने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई कार्यक्रममा उपस्थित भई विज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सिएससी ग्लोबलले सबैमा आह्वान गरेको छ ।