Blog

  • माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन

    माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन

    काठमाडौँ, पुस १३-
    राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति भएसँगै माघको पहिलो सातामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

    आज (आइतबार) बिहान रास्वपासँगको ७ बुँदे सहमति भएसँगै बालेनले मेयर पदबाट माघको पहिलो सातामा राजीनामा दिने भएका हुन् । उनले महानगरको सबै प्रक्रिया पुर्‍याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।

    सहमतिपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन्।

  • बालेनसँगको एकतापछि सोबिताले रविलाई के भनिन् ?

    बालेनसँगको एकतापछि सोबिताले रविलाई के भनिन् ?

    काठमाडौँ, पुस १३-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबिच बृहत् एकता भएपछि रास्वपा नेतृ सोबिता गौतमले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । उनले सभापति रवि लामिछानेलाई ‘निलो क्रान्तिको सर्वोच्च कमान्डर’ भन्दै स्टाटस लेखेकी हुन् ।

    यसअघि उनले ‘अबको आशा रास्वपा’ भनेकी थिइन्। सहमतिमा लामिछाने र शाहले हस्ताक्षर गरेका छन्। सहमतिमा नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा घाइते र सहिद परिवारका माग यथोचित सम्बोधन गर्ने उल्लेख छ।

  • सके एक भएर नसके कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौंः कुलमान

    सके एक भएर नसके कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौंः कुलमान

    काठमाडौं, पुस १३-
    उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ ।

    आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु ।’

    नेपाली जनताको चाहना पनि यही भएको उनले बताए । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले बालेनसँग एकता तथा सहकार्यका लागि छलफल समेत अगाडि बढाएका थिए । तर रवि र बालेन एक हुँदा कुलमान भने अहिले छुटेका छन् ।

  • एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

    एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

    काठमाडौँ, पुस १३-
    नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।

    ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिए ।

  • नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछः शंकर पोखरेल

    नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछः शंकर पोखरेल

    काठमाडौँ, पुस १३-
    रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सात बुँदे सहमतिलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्। उनले सामाजीक सञ्जाल मार्फत वि र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका हुन् ।

    ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।’

    शंकर पोखरेलको स्टाटस जस्ताको त्यस्तैः

    भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो। त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ।
    भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।
    यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ।

  • रवि–बालेन सम्झौतामा जेनजी आन्दोलनको भावना नसमेटिएको कुलमान पार्टीको प्रतिक्रिया

    रवि–बालेन सम्झौतामा जेनजी आन्दोलनको भावना नसमेटिएको कुलमान पार्टीको प्रतिक्रिया

    काठमाडौँ, पुस १३-
    रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताप्रति ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले प्रतिक्रिया दिएको छ । उज्यालो पार्टीले सभापति रवि र मेयर बालेनको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको हो ।

    पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएका हुन् । ‘हामी हाम्रौ हिसावले अगाडि बढ्छौं । कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जनतामा जान्छौं,’ उनले भने ।

    रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो । लत्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको हो ।

  • राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

    राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

    काठमाडौँ, पुस १३-
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
    आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।”रासस

  • सौराहामा हात्ती महोत्सवः आज हात्ती पूजा र वनभोज

    सौराहामा हात्ती महोत्सवः आज हात्ती पूजा र वनभोज

    नारायणगढ (चितवन), पुस १३-
    चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ ।

    महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका छन् । साथै स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सवस्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो । महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो । “खेल पूर्ण रूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए”, उहाँले भन्नुभयो ।

    संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आज हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा मानी पूजा गर्न लागिएको बताउनुभयो । साथै आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ”, उहाँले भन्नुभयो ।

    हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उहाँले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गर्नुभयो । “हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ”, उहाँले स्पष्ट पार्नुभयो ।

    सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको छ । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् । आयोजक संस्थाले हरेक वर्ष यही समयमा महोत्सव आयोजना गर्दै आएको छ । रासस

  • समृद्ध नेपालको गन्तव्य तय हुँदैछ: सञ्चारमन्त्री खरेल

    समृद्ध नेपालको गन्तव्य तय हुँदैछ: सञ्चारमन्त्री खरेल

    काठमाडौं, पुस १३-
    अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले नयाँ दिन नयाँ सुरुवात’ भएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि सञ्चारमन्त्री खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन् ।

    उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ ।’ लामो समय पत्रकारितामा सक्रिय खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए ।

  • प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुग्यो सुनको मूल्य

    प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुग्यो सुनको मूल्य

    काठमाडौं, पुस १३-
    साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार ) सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगोमा कारोबार भएको हो । यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार पनि सुन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।