Blog

  • सिन्धुलीमा पिकअप गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

    सिन्धुलीमा पिकअप गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

    काभ्रेपलाञ्चोक पुस १६
    सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ ।

    बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

    मृत्यु हुनेमा दुधौली– १ गिजियानी बस्ने अन्दाजी ६०/६५ वर्षका मोहन धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    गाडीको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारका लागि स्थानिय कमलाखोच अस्तपाल लगेका थिए । त्यहाँबाट थप उपचारको लागि नगर अस्पताल सिर्थौली पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

    ठक्कर दिने पिकअप र चालक झापा सिवसतासी नगरपालिका–७ घर भएका २९ वर्षीय अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

  • शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या , वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

    शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या , वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

    काठमाडौँ, पुस १६-
    शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

    मौसाममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सोसडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनले स्पष्ट पारेको छ ।

    पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट ) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौँ जाने सवारी साधनहरु काठमाडौँ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।रासस

  • नारायणी नदी किनारमा ‘नारायणी एक्सपो’ हुने

    नारायणी नदी किनारमा ‘नारायणी एक्सपो’ हुने

    चितवन, पुस १६-
    चितवनको आर्थिक, औद्योगिक तथा पर्यटन क्षमतालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित आउँदो पुस २५ गतेदेखि माघ १० गतेसम्म भरतपुरस्थित नारायणी नदी किनारमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुने भएको छ ।

    रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको एक्सपोमार्फत स्थानीय तथा राष्ट्रिय स्तरका उद्यम, व्यापार र उद्योगको प्रवद्र्धन गरिने आयोजकले नारायणी नदी किनारमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । एक्सपोले चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै स्थानीय उद्यमीलाई आफ्ना सीप, उत्पादन र उद्यमशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको प्रा.लि.का अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।

    चाडपर्व तथा सार्वजनिक बिदाको समयलाई लक्षित गरी आयोजना गर्न लागिएको एक्सपोमा व्यापार–प्रदर्शनसँगै कला, संस्कृति, खानपान, मनोरञ्जन र नवप्रवर्तनका विविध गतिविधिहरू समेटिने छन् । परिवार, बालबालिका, युवा तथा ज्येष्ठ नागरिक सबैका लागि स्वस्थ मनोरञ्जन र सामाजिक भेटघाटको साझा प्लेटफर्मका रूपमा एक्सपो सञ्चालन गरिने आयोजकको भनाइ छ ।

    एक्सपोमार्फत स्थानीय तथा राष्ट्रिय व्यापार प्रवद्र्धन, विभिन्न संघ–संस्था, व्यवसायी तथा स्टार्टअपहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ । साथै सहभागी संस्थाहरूको ब्रान्ड प्रवद्र्धन, नेटवर्किङ र व्यापारिक अवसर विस्तारमा समेत सहयोग पुग्ने आयोजकको दाबी छ । घुमौँ लण्डन सिटी, पेरिस सिटी कश्मिर भ्याली र अमेरिका एकै ठाउँमा भन्ने मुल नाराका साथ गर्न लागिएकाृ एक्सपोमा २ सयभन्दा बढी स्टल रहने बताइएको छ । एक्सपोमा दुई लाख दर्शक आउने अपेक्षा गरिएको छ ।

    यता जिल्ला प्रशासन कार्यालय चितवनले भने पुस २५ गतेभित्र एक्सपो नगर्न अनुरोध गरेको छ । पुस १० गते नै सूचना जारी गर्दै जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजना गरिएकाले तत्कालका लागि नारायणी नदी किनारमा कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ पुष १६
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बिच रहने पूर्वानुमान छ ।

    देशका तराई भूभागमा हुस्सुको प्रभाव र कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष १६ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–द्वादशी, ४० घडी १२ पला, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–कृतिका, ४१ घडी १५ पला, बेलुकी ११ बजेर २६ मिनेट उप्रान्त रोहिणी । योग–साध्य, ३१ घडी ४४ पला, बेलुकी ७ बजेर ३८ मिनेट उप्रान्त शुभ । करण–बव, दिउँसो १२ बजेर ११ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १७ मिनेट । दिनमान २५घडी ५४ पला ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरू सम्पन्न हुने तथा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । बैठक, भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । तर पनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ रमाइलो ठाउको भ्रमण हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार तथा वित्तीय बजारमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ । लामो दुरीको यात्राको योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरूपी निकास दिने सहमति जुट्ने योग रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तार्किक क्षमतामा वृद्धि भएर जानेछ । वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । माया प्रेममा सामीप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामीप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरी प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् ।

    तपाईँको आजको  दिन शुभ रहोस् ।

  • ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

    ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

    चन्द्रपुर (रौतहट), १५ पुष:
    आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको होे ।

    भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो ।

    बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिनुभयो । उक्त ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएका छन् । दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उहाँले बताउनुभयो ।

    दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको थियो । हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएको छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर—गौर राजमार्ग हँुदै बालचनपुर, जङ्गल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका छन् ।

  • चितवन मेडिकल कलेजमा ‘कार्डियोलोजी कन्फ्रेन्स’ हुँदै

    चितवन मेडिकल कलेजमा ‘कार्डियोलोजी कन्फ्रेन्स’ हुँदै

    चितवन पुष १५
    चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा पहिलो पटक ‘सिएमसी कार्डियोलोजी कन्फ्रेन्स’ हुने भएको छ । यही पुस १९ गते शनिबार कन्फ्रेन्स हुन लागेको हो ।

    अस्पतालको मुटुरोग विभागको आयोजनामा हुने कन्फ्रेन्समा नेपालभरीका ३५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मीको सहभागिता रहने मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीले बताउनुभयो । कन्फ्रेन्समा मुटु रोग विशेषज्ञ, मुटुरोग अध्ययन गरिरहेका विद्यार्थी, मुटु रोग उपचार गरिरहेका फिजिसियन, मुटुरोगको उपचारमा संलग्न नर्स, प्राविधिक लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

    कन्फ्रेन्समा मुटुरोगको उपचार र अनुसन्धानका बारेमा ३३ वटा पेपर प्रस्तुती हुनेछन् । ती प्रस्तुतीमाथि छलफल गरिने छ । कार्यक्रम कोअर्डिनेटर अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका पद्धति, उपचारमा प्रयोग हुने प्रविधि, नविनतम अनुसन्धानहरुका बारेमा व्यापक छलफल हुने छ ।
    सिएमसीको पाँचौं तलामा रहेको अडिटरियम हलमा बिहान ८ बजेबाट शुरु हुने कन्फ्रेन्स साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ । बिहान एक घण्टाको सत्र उद्घाटनको रहने छ भने त्यसपछि पेपर प्रस्तुती र छलफल हुने काफ्लेले जानकारी दिनुभयो ।

  • घरबाहिर निस्कँदा वाइफाइ अन राख्ने बानी छ ? झुक्किएर पनि नगर्नुस् यस्तो हेलचेक्र्याइँ

    घरबाहिर निस्कँदा वाइफाइ अन राख्ने बानी छ ? झुक्किएर पनि नगर्नुस् यस्तो हेलचेक्र्याइँ

    काठमाडौँ, १५ पुसः
    घरबाट निस्कने बेला मानिसहरू अक्सर चाबी, पर्स र मोबाइल साथमा भए नभएको जाँच गर्छन्, तर एउटा सानो बानीलाई भने सधैँ नजरअन्दाज गरिरहेका हुन्छन्– त्यो हो मोबाइलको वाइफाइ बन्द गर्ने।

    साइबर सुरक्षा विज्ञहरूका अनुसार यो सानो लापरबाहीले तपाईँको व्यक्तिगत डाटा र लोकेसनलाई ठुलो जोखिममा पार्न सक्छ।

    स्वतः स्क्यानिङले खुल्छ गोपनीयताको राज
    स्मार्टफोनमा वाइफाइ अन हुँदा यसले निरन्तर वरिपरिको नेटवर्क खोजिरहेको हुन्छ। यस प्रक्रियामा फोनले आफूले पहिले प्रयोग गरेका कनेक्सनहरूको जानकारी र डिभाइसको पहिचान सार्वजनिक गरिदिन्छ। ह्याकरहरूले यही कमजोरीको फाइदा उठाएर नक्कली नेटवर्क तयार गर्छन् र प्रयोगकर्तालाई थाहै नदिई त्यसमा फसाउन सक्छन्।

    पासवर्ड र बैंकिङ विवरण चोरी हुने डर क्याफे, मल वा सार्वजनिक स्थलमा पाइने नि:शुल्क वाइफाइ सुविधा आजकाल निकै सामान्य बनेको छ। तर, यही सुविधा सुरक्षाको दृष्टिकोणले सबैभन्दा ठुलो धराप पनि हो। सार्वजनिक नेटवर्कमा लगइन गर्ने बित्तिकै ट्रयाकिङ कुकिज र ब्राउजर फिंगरप्रिन्टिङ सक्रिय हुन्छ, जसले गर्दा प्रयोगकर्ताको अनलाइन गतिविधिमा लामो समयसम्म निगरानी राख्न सकिन्छ। सामान्य स्क्यानिङ टुलको प्रयोग गरेर ह्याकरहरूले इमेल, पासवर्ड र बैंकिङ जानकारी समेत चोरी गर्न सक्छन्।

    सुरक्षाको सजिलो उपाय विशेषज्ञहरूका अनुसार घर वा कार्यालयबाट बाहिर निस्कने बित्तिकै फोनको वाइफाइ बन्द गरिदिनु नै सबैभन्दा सुरक्षित उपाय हो। यसो गर्दा फोनको ब्याट्री बचत हुनुका साथै तपाईँको लोकेसन र निजी जानकारी पनि सुरक्षित रहन्छ। सार्वजनिक स्थलमा अत्यावश्यक काम बाहेक ‘फ्री वाइफाइ’ चलाउने लोभ नगर्नु नै साइबर सुरक्षाको पहिलो कदम हो।

    घरबाहिर निस्कँदा फोनको वाइफाइ अन राख्नु कत्तिको खतरनाक छ?
    यो निकै खतरनाक हुन सक्छ किनभने फोनले निरन्तर नेटवर्क स्क्यान गर्दा तपाईँको लोकेसन र डिभाइसको जानकारी बाहिरिन सक्छ।

    सार्वजनिक वाइफाइको सबैभन्दा ठुलो खतरा के हो?
    खुल्ला नेटवर्कमा ह्याकरहरूले सजिलै डाटा इन्टरसेप्ट गरेर तपाईँको गोप्य पासवर्ड र बैंकिङ विवरणहरू चोर्न सक्छन्।

    के वाइफाइ अन राख्दा ब्याट्री पनि धेरै खर्च हुन्छ?
    हो, फोनले निरन्तर नयाँ नेटवर्क खोजिरहने हुनाले ब्याट्री छिटो सकिन्छ।

    ह्याकरहरूले कसरी नक्कली नेटवर्क बनाउँछन्?
    उनीहरूले नक्कली हटस्पट तयार गर्छन्, जसमा प्रयोगकर्ताहरूले थाहै नपाई आफ्नो फोन कनेक्ट गर्छन् र डाटा चोरीको सिकार बन्छन्।

    सुरक्षाका लागि सबैभन्दा उत्तम उपाय के हो ?
    घरबाट निस्कने बित्तिकै वाइफाइ अफ गर्ने र सार्वजनिक स्थानका असुरक्षित नेटवर्कमा लगइन नगर्ने।

  • १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

    १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

    १५ पुस, काठमाडौं-
    थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् ।

    उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।

    नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

  • बरु हार्न तयार छौं, निर्वाचनबाट भाग्दैनौं : शेखर कोइराला

    बरु हार्न तयार छौं, निर्वाचनबाट भाग्दैनौं : शेखर कोइराला

    १५ पुस, काठमाडौं
    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् ।

    मंगलबार मोरङ समाज काठमाडौंको २६औं वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताए ।

    सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।