Blog

  • विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड

    विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड

    काठमाडौँ, पुस १६ –
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेतर रहनुभएका नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै लाग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको स्रोत, साधन र सम्पदाको सदुपयोग गर्न जोड दिँदै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता उत्पन्न गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री, विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायीलगायत सहभागी हुनुहुन्छ । रासस

  • भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

    भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

    काठमाडौं ।
    भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ।

    भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो।

    नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो। १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भनेपछि गरिने प्राधिकरणले जनाएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए।

    उनले आरटिसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए।

  • मलाई चितवनले माया देखाएको छ,यतैबाट चुनाव लड्छुः रवि लामिछाने

    मलाई चितवनले माया देखाएको छ,यतैबाट चुनाव लड्छुः रवि लामिछाने

    चितवन,पुस १६-
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव चितवनबाटै लड्ने घोषणा गरेका छन् । पोखरामा बुधबार पत्रकारहरूसँग बोल्दै उनले चितवनले आफूप्रति धेरै माया देखाएकोले सोही क्षेत्रबाट चुनाव लड्ने बताएका हुन् ।

    ‘चितवन छोड्ने कुरा सोच्न मिल्छ ? त्यो कसरी मिल्छ होला ? त्यस्तो सोच्न मिल्छ र ? जान्न त्यहाँ भन्न मिल्छ र ?,’ उनले भने । चितवनबाटै निलो क्रान्तिको उद्गम भएकोले चितवनलाई नछोड्ने उनले बताए । ‘मलाई चितवनले जुन माया देखाएको छ, चितवनले जुन गुण लगाएको छ, यो परिवर्तनको, यो निलो क्रान्तिको चैँ नि एउटा उद्गम स्थल र एउटा परीक्षण केन्द्र मानेका छौँ,’ उनले भने । लामिछाने सोही क्षेत्रबाट लगातार २ पटक निर्वाचित भएका थिए ।

    उनले देशको आवश्यकता अनुसार बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । ‘सबैलाई एक ठाउँमा उभ्याएपछि परिवर्तन गर्न सक्ने तहको मत ल्याउँछ भन्ने लागेको छ । सङ्ख्या त म भन्न सक्दिनँ,’ उनी भन्छन्, ‘अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने हिम्मत प्राप्त गर्छौँ । अरू त नागरिकको हातमा छोडौँ ।’ शासकीय स्वरूपबारे पनि बहस सुरु भैसकेको उनले बताए । सङ्घीयता र लोकतान्त्रिक व्यवस्था रहने उनको सङ्केत छ ।

  • चुनावमा राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने मत पाउनेमा विश्वस्त छौँ : रवि लामिछाने

    चुनावमा राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने मत पाउनेमा विश्वस्त छौँ : रवि लामिछाने

    पोखरा, पुस १६ –
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गतेको चुनावमा आफ्नो पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने हैसियतको मत प्राप्त गर्ने दाबी गरेका छन्।

    बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले आगामी दिनमा पार्टीले प्राप्त गर्ने जनमतप्रति आफू पूर्ण विश्वस्त रहेको बताए। आशा र भरोसा गरेका मानिसहरूलाई एकै ठाउँमा उभ्याइसकेपछि त्यसले ठूलो परिवर्तन ल्याउन सक्ने उनको जिकिर थियो ।
    कति मत वा नतिजा आउँछ भन्ने यकिन संख्या नतोके पनि उनले देशको आवश्यकता सम्बोधन गर्न सक्ने नतिजा आउनेमा आफू ढुक्क रहेको प्रष्ट पारे।

    ‘संख्या त म आज भन्न सक्दिनँ, तर मलाई लाग्छ हामीले चाहेका अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने मत हामीले प्राप्त गर्छौं,’ लामिछानेले भने, ‘यसले हाम्रो राष्ट्रिय सपना र राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने तहको मत ल्याउँछ भन्ने मेरो विश्वास छ।’

    उनले पार्टीले नागरिकलाई आफ्नो र देशको भविष्य आफैँ लेख्न सक्ने स्थानमा पुर्‍याइदिएको जिकिर गरे। ‘आफ्नै हातले यो देशको भविष्य लेख्न सक्ने ठाउँमा हामीले पुर्‍याइदिएका छौँ, बाँकी कुरा नागरिकको विवेकमा छोडौँ,’ उनले भने।

  • निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

    निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

    मोरङ, पुस १६ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ ।

    गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उहाँले फरार अधिकांश कैदीबन्दी सम्पर्कमा भइसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथाशीघ्र नियन्त्रणमा ल्याइने बताउनुभयो ।

    गृहमन्त्री अर्यालले भन्नुभयो, “राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषयप्रति सरकार संवेदनशील भएर काम गरिरहेको छ । दलसँगको वार्ता र संवादको समेतको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यतिकै उत्तरदायी रहेको छ ।” भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उहाँले बताउनुभयो ।

    सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात्का कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताउनुभयो ।

    उहाँले निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुन्छ । देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।”

    निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेड’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको गृहमन्त्री अर्यालको भनाइ छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनको वातावरण अझै बनिनसकेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “निर्वाचन आउन दुई महिना बाँकी त्यसको वातावरण निर्माण गर्नुपर्छ ।”

    सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधनस्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराउनुभयो ।

    उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलगायले सम्बोधन गर्नुभएको थियो ।

    सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, कोशी प्रदशेका १४ वटै जिल्लाका सुरक्षा प्रमखहरुको सहभागिता रहेको छ । रासस

  • ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ :महामन्त्री थापा

    ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ :महामन्त्री थापा

    काठमाडौँ, पुस १६ –
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताउनुभएको छ । आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्नुभयो ।

    “कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ”, महामन्त्री थापाले भन्नुभयो, “यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ । एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ ।”

    उहाँले आजको समयमा कांग्रेसको विशेष अधिवेशनबाट उक्त मञ्च तयार हुने धारणा राख्नुभयो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उहाँले उल्लेख गर्नुभयो ।

    राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नसक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कार्यकर्ताको युगिन जिम्मेवारी भएको महामन्त्री थापाको भनाइ छ । आजभन्दा ४९ वर्ष अगाडि विषम् परिस्थितिमा ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर विपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू नेपाल फर्किनुभएको उहाँले स्मरण गर्नुभयो ।

    महामन्त्री थापाले आमजनताको परिवर्तनको आकाङ्क्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा सबैलाई मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । रासस

  • नयाँ वर्षका लागि भरिँदै सौराहा

    नयाँ वर्षका लागि भरिँदै सौराहा

    चितवन, पुस १६-
    अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् ।

    क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् । थपिएसँगै ७० प्रतिशत हाराहारी पुगेको थियो । आज साँझ भने सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको छ ।

    उहाँले भन्नुभयो, “९० प्रतिशतभन्दा माथि कोठाहरु पर्यटकले भरिने छन् ।” मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचे जति पर्यटक आउन नसकेको उहाँ बताउनुहुन्छ ।

    जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनहरुमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उहाँ बताउनुहुन्छ । होटल सङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउनुहुन्छ । नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको भन्दै उहाँले रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको बताउनुभयो । यो समयमा स्वदेशी पर्यटक धेरै आउने गर्दछन् ।

    क्षेत्रीय होटल सङ्घ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराई आफ्नो होटल भरी सकिएको बताउनहुन्छ । अहिले ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ वर्षमा यहाँ खुला र होटलहरुले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्दछन् ।”

    उहाँ नयाँ वर्ष मनाउन आउनेको चहलपहल निकै बढेको बताउनहुन्छ । आन्दोलन, सडकको समस्या र जहाज रोकिँदा पर्यटक घट्छन् की भन्ने डर भएको भए पनि अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको राम्रो आगमन हुने देखिएको उहाँ बताउनुहुन्छ । जहाजका कारण आफ्ना पाहुना रोकिएको भन्दै उहाँले मौसमको चुनौतीका बाबजुत पर्यटक सौराहा आएको बताउनुभयो । गत वर्षको नयाँ वर्षमा भन्दा यो वर्ष पर्यटक बढ्ने उहाँको भनाइ छ ।

    सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिन थालेका छन् । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटक आउने क्रम बढ्दो छ । साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उहाँ बताउनहुन्छ । सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्दछन् । तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्दछन् । रासस

  • पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र

    पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र

    नवलपुर/गैँडाकोट,पुस १६ –
    नगरलाई उद्योग, व्यापार, पर्यटन र संस्कृतिसहितका सम्भावनाहरुको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यसहित यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र पारिएको छ । नारायणी नदीकिनारमा आयोजना गरिएको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटले जानकारी दिएको छ ।

    महोत्सवका संयोजक छविलाल कँडेलका अनुसार महोत्सवमा करिब २५० व्यावसायिक कक्ष रहने छन् । दुई हप्तासम्म चल्ने महोत्सवबाट करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब २५ करोड कारोबार हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो । अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोबाइल–इलेक्ट्रोनिक्स, निर्माण सामग्री, हस्तकला, कृषि तथा जडीबुटी, पर्यटन, तयारी पोसाक, जुत्ता–चप्पलदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामग्री प्रदर्शनमा राखिने छन् ।

    घरेलु, साना, मझौला तथा ठूला उद्योगसँगै बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत विशेष सहभागिता रहने आयोजकले जनाएको छ । ‘महोत्सवले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, किराना, कृषि उत्पादन, हस्तकला तथा साना उद्यमहरुको व्यापारमा प्रत्यक्ष वृद्धि गर्नेछ’, कँडेलले भन्नुभयो, ‘यसले स्थानीयस्तरमा व्यापारसँगै रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनमा समेत योगदान पु¥याउन सक्छ ।’

    महोत्सवलाई यसवर्ष थप व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि चार भागमा विभाजन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान र खानपान क्षेत्रलाई छुट्टाछुट्टै तरिकाले व्यवस्थापन गरिने महोत्सवका संयोजक कँडेलले जानकारी दिनुभयो ।

    त्यतिमात्र नभई गैँडाकोट क्षेत्रमा हुने मेला–महोत्सवले समग्र गैँडाकोट नगर क्षेत्रकै आर्थिक अवस्थालाई चलायमान बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
    राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, फेसन शो, विद्यालय तथा विभिन्न कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यानमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेल, जलपरी, माछाका एक्वेरियम र ओपेरा हाउस जस्ता आकर्षणहरुले महोत्सवलाई परिवारमै रमाउने केन्द्रका रुपमा प्रस्तुत गर्ने तयारी गरिएको महोत्सवका प्रचारप्रसार संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको प्रवेशद्वारलाई कलात्मक शैलीमा निर्माण गर्ने तयारी गरिएको छ । गैडाकोट क्षेत्रमा रहेर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सहकारी र संघसंस्थालाई समेत महोत्सवमार्फत प्रबद्र्धन गरिने उहाँले बताउनुभयो ।

    महोत्सवले उपभोक्ता र उत्पादकलाई प्रत्यक्षरुपमा एकै स्थानमा भेट गराउने अवसर प्रदान गर्ने हुँदा औद्योगिक तथा व्यापारिक गतिविधिको केन्द्रको रुपमा समेत विकसित गर्ने लक्ष्य लिइएको उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव तेजनारायण पाण्डेले बताउनुभयो । नयाँ प्रविधि, लगानी र उत्पादनसम्बन्धी जानकारी आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

    गण्डकी प्रदेशको सामाजिक, प्राकृतिक, सांस्कृतिक एवम् आर्थिक विविधताको प्रवेशद्वार मानिने गैँडाकोट पछिल्लो समय फस्टाउँदै गरेको तीव्र औद्योगीकरण, पर्यटन वृद्धि र व्यापारिक गतिविधिका कारण प्रदेशकै आकर्षक नगरका रुपमा उदाउँदै गएको छ । त्यसका साथै नारायणी नदीकिनारको सुन्दर काखमा महोत्सव आयोजना गरिँदा धार्मिक एवम् सांस्कृतिक हिसाबले पनि सकारात्मक मानिने हुँदा यसले समाजमा सकारात्मक प्रभाव पार्दै आएको आयोजकको दाबी छ ।

  • निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ, पुस १६ –
    आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

    नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ ।

    आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।साथै रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।

    कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ ।

    यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ । प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
    आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।रासस

  • सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँले घट्यो

    सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँले घट्यो

    काठमाडौँ , पुस १६ –
    स्थानीय बजारमा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोृलामा ४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ ।