Blog

  • चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित मनाइयो

    चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित मनाइयो

    चितवन, पुस १७ –
    तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज यहाँ बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ ।

    नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो ।

    देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरुले यो दिवस मनाउने गरेका छन् ।

    चितवन औद्योगिक प्रदर्शनी परिसरबाट प्रारम्भ भएको प्रभातफेरी चौबीसकोठी– हाकिमचोक– स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमा पुगेर समापन भएको थियो ।

    प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवद्र्धन शाखाप्रमुख, यहाँस्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल दाना उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ र चितवन नवलपुर दाना वितरक सङ्घका प्रतिनिधि सहभागी थिए । रासस

  • भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

    भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

    भोजपुर, पुस १७-
    मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ ।

    यसअघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।

    स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजार ४४४, पौवादुङमा गाउँपालिकामा १० हजार ६६३ जना मतदाता कायम छन् ।

    त्यसैगरी टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५५७, रामप्रसादराई गाउँपालिकामा ११ हजार ९००, साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७२४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७५० मतदाता छन् । रासस

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाडौँ, पुस १७ –
    विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

    दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । रासस

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ १७ पुस
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    देशका तराई भूभागमा हुस्सु तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

  • आजदेखि नयाँ वर्ष सन् २०२६ सुरु

    आजदेखि नयाँ वर्ष सन् २०२६ सुरु

    काठमाडौँ पुस १७
    ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

    ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् ।

    विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउछन् ।

    ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

    इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए ।

    पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

  • तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

    तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

    १६ पुस, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छन् ।

    राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर संवादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्‍याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोग लगायतप्रति आभार समेत व्यक्त गरिन् ।

  • रकम असुल्दै हिँड्ने दुई  जना नक्कली प्रहरी पक्राउ

    रकम असुल्दै हिँड्ने दुई  जना नक्कली प्रहरी पक्राउ

    काठमाडौँ, १६ पुस : 
    नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
    यसैबीच, प्रहरीले बाफलबाट करिब रु चौध लाख सन्तानब्बे हजार पाँच सय भन्सार छलीका सामान बरामद गरेको छ । धनगढीबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी ल्याइएका मोबाइलका विभिन्न सामग्री बरामद गरेको हो ।
    प्रहरीले सो बसका चालक कञ्चनपुरको बेलौरी नगरपालिका–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् पक्राउ परेको व्यक्ति र सामन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।
  • समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

    समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

    कास्की, १६ पुसः 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताउनुभएको छ ।

    पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पार्नुभयो । उहाँले हाल भइरहेको खबरदारी आफूहरूका लागि सकारात्मक भएकोसमेत उल्लेख गर्नुभयो ।

    “पार्टीले बुझाएको बन्दसूचीमा केही आलोचना र गुनासो आएको छ ।

    अन्तिम घडीमा बुझाइएकाले केही समस्या हुनसक्छ । रास्वपासँग विधि छ, विधि भन्दा बाहिर कुनै हालतमा जाँदैनौँ, ‘राइट टु रिकल’को व्यवस्थासमेत छ । परिवारवादलाई पार्टी विधानलेनै दिँदैन”, उहाँले भन्नुभयो ।

    सभापति लामिछानेले युवाहरूको विश्वास बालेन शाहप्रति रहेको र नयाँ परिर्वतनको झिल्कोको रूपमा उहाँसँग सहकार्य गरेर प्रधामन्त्रीको रूपमा अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूको आन्दोलनपछि बालेनले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुभयो ।

    उहाँको सद्भाव, सल्लाह र सुझाव अनुसारनै अहिलेको सरकार बनेको हो । जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ ।”

  • शीतलहरको कहरमा गुन्यालफाँटाका वादी समुदाय

    शीतलहरको कहरमा गुन्यालफाँटाका वादी समुदाय

    कञ्चनपुर, पुस १६ –
    तराई क्षेत्रमा बढेको अत्याधिक शीतलहर र कठ्याङ्ग्रिँदो चिसोले कृष्णपुर नगरपालिका–२, गुन्यालफाँटास्थित वादी बस्तीको जनजीवन निकै कष्टकर बनेको छ ।

    चरम आर्थिक अभाव र न्यून स्रोत–साधनका बीच गुजारा गरिरहेका यहाँका ६४ घरधुरीका वादी समुदाय यतिबेला ओढ्ने–ओछ्याउने तातो कपडाको अभावमा पुसको जाडोमा थुरथुर काँप्दै रात कटाउन बाध्य छन् । विगत दुई सातादेखि यस क्षेत्रमा सूर्यको प्रकाश देखिएको छैन । बाक्लो कुहिरो र चिसो हावाका कारण बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

    स्थानीय दत्त कुमालका अनुसार चिसोकै कारण खोकी, छातीको सङ्क्रमण, श्वासप्रश्वासमा समस्या र हातखुट्टाका जोर्नी दुख्ने बिरामीको सङ्ख्या घरैपिच्छे बढ्दो छ । “घाम नलागेको धेरै भइसक्यो, घरभित्र चिसोको सिरेटो छिरेर सुत्न सकिँदैन, नानीबाबुहरू बिरामी पर्न थाले, तर ओढ्ने कपडा छैन”, उहाँले पीडा पोख्नुभयो, “चिसो छल्नका लागि सामुदायिक वनबाट ल्याइएको दाउरा सिद्धिएको साता नै बित्नै लाग्यो ।”

    बस्तीका रत्ना वादीका अनुसार दाउरा बाल्दा सुत्ने ठाउँ तातो हुन्थ्यो । उहाँले भन्नुभयो, “त्यसकै आधारमा रात कटाउन पाएका थियौँ, दाउरा सिद्धिएपछि चिसोमै रातकाटनु परेको छ, जीउ जोगाउन मुस्किल भइसकेको छ ।” विपन्नताका कारण नयाँ लुगा किन्न नसकेपछि कतिपय परिवारले छिमेकी गाउँका मानिससँग पुराना र फाटेका कपडा मागेर शरीर तताउने प्रयास गरिरहेका छन् ।

    वादी बस्तीका अधिकांश युवा र वयस्क पुरुष मजदुरीका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरमा जाने गरेका छन् । तर, भारतमा गरिने कठोर श्रमबाट आउने पारिश्रमिकले परिवारको दैनिक छाक टार्नसमेत हम्मे–हम्मे पर्ने गरेको छ ।

    केशव कुमालका अनुसार घरको एउटा सदस्यको कमाइले श्रीमती र छोराछोरीको आधारभूत आवश्यकता पूरा गर्नै सकिँदैन, जसका कारण घरमा रहेका वृद्ध आमाबुबाका लागि न्यानो ओढ्ने–ओछ्याउने लुगा र पोषिलो खानाको प्रबन्ध गर्न असम्भव भएको छ ।

    “दिनभर मजदुरी गर्दा शरीर केही तातो भए पनि साँझ घर फर्केपछि चिसो ओछ्यानमा सुत्नुपर्ने बाध्यताले मानसिक र शारीरिक तनाव थपिएको छ”, पदम वादी भन्नुहुन्छ, “दिउँसो त जसोतसो काममा अल्झिन्छौँ, तर रात परेपछि चिसोले सुत्नै दिँदैन, कपडा नहुँदा थुरथुर काँप्दै रात बिताउनुपर्छ ।”

    पटक–पटकको प्राकृतिक प्रकोप र मौसमी प्रतिकूलताको मारमा पर्ने यो सीमान्तकृत समुदायले अहिले स्थानीय सरकार तथा दातृ निकायको मुख ताकिरहेको छ । बस्तीका बासिन्दाले नगरपालिका, वडा कार्यालय र विभिन्न सङ्घसंस्थालाई तत्काल राहतस्वरूप न्यानो कपडा, कम्बल र आगो बाल्नका लागि दाउरा उपलब्ध गराइदिन गुहार मागेका छन् । रासस

  • विश्वकपको ट्रफी नेपालमा ल्याइने

    विश्वकपको ट्रफी नेपालमा ल्याइने

    काठमाडौँ, पुस १६ –
    भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।

    आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

    विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् । रासस