Blog

  • ओलीलाई बयानमा बोलाउने क्रममा छौँ : जाँचबुझ आयोग अध्यक्ष

    ओलीलाई बयानमा बोलाउने क्रममा छौँ : जाँचबुझ आयोग अध्यक्ष

    पुस १७,काठमाडौँ-
    जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका छन्।

    बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले अध्यक्ष कार्कीलाई सोधे– एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउनुहुन्छ?

    अध्यक्ष कार्कीले भने, ‘उहाँलाई बोलाउने क्रममा छौँ हामी।’

    ‘बोलाउँदा पनि आउनु भएन भने के गर्नु हुन्छ?’ सञ्चारकर्मीले सोधे।

    ‘आउनु भएन भने भोलिको कुरा भोलि नै हुन्छ’, कार्कीले भने।

    जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकसहित अन्य सरोकारवाला व्यक्तिसँग सोधपुछ र बयान लिइसकेको छ। तर सबैको ध्यान पूर्वप्रधानमन्त्री ओलीको बयान कसरी हुन्छ भन्नेमा छ।

    ओलीले जाँचबुझ आयोगलाई नै अवैधानिक भन्दै बयान नदिने बताएका छन्। तर सरकार, जाँचबुझ आयोग र ओलीबीच ओली निवास गुण्डुमै पुगेर बयान लिने समझदारी बनिसकेको ओली निकट एमाले नेताले बताएका छन्।

  • धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

    धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

    म्याग्दी, पुस १७ –
    तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।

    तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताउनुभयो ।

    भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उहाँले गुनासो गर्नुभयो ।

    भवन निर्माणका लागि विसं २०७८ वैशाखमा निर्माण कम्पनीले रु। चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

    पाँच श्यया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो ।

    धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाको तेस्रो पटक थप भएको म्याद आगामी असार महिनासम्म छ । मुख्य भवनको ढलान सकिएपनि फिनिसिङको काम सुरु भएको छैन् ।

    धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले ताकम आधारभूत अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताउनुभयो । “आर्थिक वर्षको अन्तिम तिर आउने ठेकेदार अन्य समयमा सम्पर्कबिहीन हुन्छन्,” उहाँले भन्नुभयो “बैंक धरौटी जफत र कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा कार्यपालिकामा छलफल चलाएका छौ ।”

    निर्माण कम्पनीका प्रतिनिधी दीपक अदैले बर्खायाममा ढुवानी र प्रतिकुल मौसमका कारण रोकिएको अस्पताल भवन निर्माण कार्यलाई केही दिनमै सूचारु गराउन मजदुर, निर्माण सामग्री ल्याएर आउने प्रतिवद्धता जनाउनुभयो ।

    भवन निर्माणको सुरुवातमा स्थानीय समस्याले गर्दा ढिलाई भएपनि संघीय सरकारले पठाउने बजेट अनुसारको काम गर्दै आएको उहाँको भनाई छ । सरकारले भुक्तानीको लागि बजेट उपलब्ध गराउन सके चालु आवमै भवन सम्पन्न गर्ने अदैले बताउनुभयो ।

    विस। २०७७ पुष २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले भवन शिलन्यास गर्नुभएको थियो । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । रासस

  • समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल

    समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल

    काठमाडौँ, पुस १७ –
    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ ।

    आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए/नमिलाएकोलगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिनुभयो ।

    आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । सूचीअनुसार औसतप्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दल १० रहेका आयोगले जनाएको छ ।

    आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएका थिए पनि बन्दसूची पेस गर्ने ६४ दल मात्रै भएका छन् । आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

    आयोगमा यो प्रणालीको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि र कानुनी क्षेत्रका विज्ञहरू कार्यरत छन् । रासस

  • २०२५ मा विश्वभर १२८ पत्रकारको मृत्यु

    २०२५ मा विश्वभर १२८ पत्रकारको मृत्यु

    ब्रसेल्स, पुस १७ –
    सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो ।

    आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो ।

    बेलाङ्गरले भन्नुभयो, “हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु ।” यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो । उहाँले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गर्नुभयो । “न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ”, उहाँले भन्नुभयो ।

    विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताउको छ । यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो । हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए । पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ ।

    आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ । यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन् । रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ । रासस

  • करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    रसुवा, पुस १७ –
    नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो ।

    नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताउनुभयो ।

    सामान आयातको करबाट सङ्कलन हुने राजस्व गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म रु २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यानदिन सरोकार भएका निकायलाई आग्रह गरिएको सवारी चालक रसुवा यार्साका सुकु तामाङले बताउनुभयो ।

    गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानका सडक कटान गरी गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि सडकको ट्र्याक खोल्ने काम मात्र भएको थियो । उक्त समयमा टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बन्दै गएपछि सवारीचालकहरूले समस्या समाधानका लागि आग्रह गरेका हुन् । रासस

  • दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

    दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

    चितवन, पुस १७ –
    पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो ।

    विसं २०७० सालको असार ३० गते नेपाली भू–भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । दुई वर्षमा निर्माण सक्नेगरी सम्झौता गरिए पनि पुल निर्माणको काम सक्न नौ वर्ष लागेको थियो । मूल्य अभिबृद्धि कर बाहेक रु पाँच करोड १९ लाख ६६ हजार ७१३ को लागतमा ४७९ मिटर लामो झोलुङ्गे पुल तयार भएको हो । विसं २०७९ असार असान्तमा निर्माण कम्पनीले काम सम्पन्न गरेपनि नदी तरेपछि जङ्गलै जङ्गल आश्रमसम्म पुग्न करिब तीन किलोमिटर बाटो पार गर्नुपर्छ । राम्रो बाटो बन्न नसकेको जनाउँदै पुलको मुखमा जाली लगाएर बन्द गरेपछि डुङ्गा चढेर जानु पर्ने बाध्यता रहेको छ ।

    विनयी त्रिवेणी गाउँपालिका–६ का वडा अध्यक्ष नुरेन्द्र साहले पुल नचल्दा भारतीय भू–भाग हुँदै वा नदीमा डुङ्गा चढेर वाल्मीकि आश्रम पुग्नु पर्ने बाध्यता रहेको बताउनुभयो । पुल बनेको लामो समय हुँदा पनि सञ्चालनमा नआएपछि आफूले जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा पत्राचार गरी माघ १ गतेबाट सञ्चालन ल्याइदिन आवश्यक सहजीकरणका लागि आग्रह गरेको बताउनुभयो ।

    त्रिवेणीकै होटल व्यवसायी सन्दीप गुप्ताले त्रिवेणी आउने धार्मिक पर्यटक वाल्मीकि जान चाहेर पनि बाटोका कारण नसकेको बताउनुभयो । उहाँका अनुसार माघे सङ्क्रान्ति, माघे औसी, शिवरात्री, ठूलो एकादशीलगायतका पर्वमा त्रिवेणी आउने भक्तजन वाल्मीकि जान चाहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको वाल्मीकि जाने बाटो निर्माणका लागि वागमती प्रदेश सरकारले गत वर्ष रु २५ लाख बजेट विनियोजन गरिएको भएपनि जेसिवीलगायतका उपकरण लैजान नपाएपछि श्रमजानबाट काम गरिएको थियो । यस वर्षको वर्षातमा बाटो बिग्रिएपछि पुनःसडक मर्मतको काम भइरहेको गुप्ताले जानकारी दिनुभयो । अहिले पनि डुङ्गा तरेर जङ्गलको बाटो हिँडेर भक्तजन जाने आउने गरेका छन् । गुप्ताले केहिदिन अघि १२० जना विद्यार्थीलाई डुङ्गा चढाएर जङ्गलको बाटो हुँदै आश्रम पु¥याएर ल्याएको बताउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वाल्मीकि आश्रमसम्म जाने बाटो राम्रो बनेपछि पुल सञ्चालनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमति लिईने जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाटोको अवस्था निकै जीर्ण रहेको छ । उहाँले भन्नुभयो “बाटो बनेपछि हामी अनुमतिका लागि विभागमा पत्राचार गर्नेछौँ । यसको आफ्नै प्रक्रिया छ ।”

    निकुञ्जलाई असर नपर्ने गरी बाटो सञ्चालन गर्नुपर्ने भएकाले तत्काल निर्णय गर्न कठिन हुने उहाँको भनाइ छ । पन्तले भविष्यमा धार्मिक महत्वको क्षेत्रलाई निकुञ्जभित्रकै एउटा अङ्ग मानेर वा नेपाल सरकारकै छुट्टै संयन्त्र बनाइ गुरूयोजनाअनुरूप व्यवस्थापन गर्ने विषयमा छलफल हुनसक्ने बताउनुभयो ।

    प्रमुख संरक्षण अधिकृत पन्तले गोरेटो बनाउने विकल्पमा जाँदा तीन किलोमिटर वन क्षेत्रमा सुरक्षा चुनौती हुनसक्ने भन्दै फोहोर व्यवस्थापनका जटिलता पनि आउन सक्छन् भन्नुभयो ।

    यता माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले भने निकुञ्जभित्रको बाटो हिँडडुल गर्न सकिने बताउनुहुन्छ । वाल्मीकि आश्रम माडी नगरपालिका–१ मा पर्दछ । तीन महिना अघि आफू सोही बाटो हिँडेर गएर कार्यपालिकाको बैठक गरेर फर्किएको भन्दै उहाँले पुल सञ्चालनमा आएमा धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

    माडी नगरपालिका–१ को छेउमा आश्रम पर्छ । बीचमा ठूलो भू–भाग चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएकाले माडीबाट सीधा यहाँ पुग्ने सडक छैन । यो क्षेत्रसँग नवलपरासी(बर्दघाट–सुस्तापूर्वको)विनय त्रिवेणी गाउँपालिका जोडिएको छ । नवलपरासीको बाटो(पूर्व–पश्चिम राजमार्ग) बर्दघाटबाट दक्षिण लागेपछि विनय त्रिवेणी–६ त्रिवेणीधाम पुगिन्छ । त्यहाँबाट नारायणी नदी पार गरी आश्रम पुगिन्छ ।

    गाडीमा जाँदा गण्डक पुलदेखि वाल्मीकि टाइटर रिजर्वको करिब आठ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ । त्यहाँसम्म पुग्न ठाउँठाउँमा भारतीय सुरक्षा बलको सुरक्षा जाँच हुन्छ ।

    पुल निर्माणमा लाग्नु भएका पूर्वसचिव आत्मराम पाण्डे यथासक्य चाँडो पुल सञ्चालन भएमा धार्मिक पर्यटन र स्थानीय वासिन्दा लाभान्वित हुने बताउनुहुन्छ । विसं २०४४ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा उपसचिव पदमा कार्यरत रहँदाबाटै उहाँले वाल्मीकि आश्रमलाई व्यवस्थित बनाउने सपना देखेको बताउनुभयो ।

    शिलान्यास भए पनि गण्डक बाँधको नजिकै भएका कारण झोलुङ्गे पुल निर्माण भारतले अबरोध खोजेको थियो । पाण्डेले तत्कालीन भारतीय राजदूत रञ्जित रेसँगको सम्बन्धको उपयोग गरी पुल निर्माणमा बाधा नपर्नेगरी सहमति गरेर काम गरेको बताउनुभयो ।

    उहाँ बाटो मर्मतसँगै यथासक्य छिटो पुल सञ्चालनका लागि सरोकारवाला निकायसँग आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो, “नेपालीले आफ्नै भूमिको प्रयोग गरेर वाल्मीकि आश्रम पुग्न सकेको दिन मेरो लागि सबैभन्दा खुसीको दिन हुनेछ ।” यसले वाल्मीकि पुग्ने धार्मिक पर्यटक बढाउने उहाँको भनाइ छ । रासस

  • सुनसरीको बोर्डर इलाकामा सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु भएसँगै तनाव (तस्बिरहरु)

    सुनसरीको बोर्डर इलाकामा सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु भएसँगै तनाव (तस्बिरहरु)

    सुनसरी, १७ पुस ।
    सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएसँगै तनाव भएको छ । सशस्त्र प्रहरीको गोली लागेर मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय साह रहेका छन् ।

    स्थानीयका अनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो । घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ भएको बताए । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाइ छ ।

    यता स्थानीयले भने सशस्त्रको ज्यादती भन्दै विहानैबाट लौकही क्षेत्रमा प्रर्दशन चर्काएका हुन् । उनीहरुले सशस्त्र प्रहरी उपर सेटिङको आरोप लगाउँदै रकम नपाएको निहुँमा गरिखाने सामान्य व्यक्तिको गोली हानी हत्या गरेको आरोप लगाएका छन् ।

    स्थानीयले मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी प्रर्दशन गरेका छन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् । प्रहरीले भीड तितरवितर पार्न केहि राउण्ड हवाई फायर समेत गर्नु परेको छ । गोली हान्ने व्यक्तिलाई कार्वाहीको माग गर्दै स्थानीयले प्रर्दशन चर्काएपछि सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    शासनले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको छ ।

  • चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट

    चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट

    काठमाडौँ, पुस १७ –
    चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट ठहरिएको हो ।

    मन्त्रालयले हालै सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८दशमलव ७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको हो । ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा, ‘ग’ वर्गकै जिल्ला प्रशासन कार्यालय रसुवाले २८ दशमलव ६८७५ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ ।

    यसैगरी, ‘ख’ वर्गका जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय धनकुटाले २८ दशमलव पाँच अङ्क प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छभने ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २८ दशमलव ३७५ अङ्कसहित चौथो स्थान प्राप्त गरेको छ ।

    यस्तै, ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय पर्वतले २८ दशमलव ३१२५ अङ्क प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको र ‘क’ वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय ललितपुरले २८ दशमलव २५ अङ्कसहित छैटौँ स्थान प्राप्त गरेको जनाइएको छ ।

    मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मनाङजस्तो विकट जिल्लामा रहेर जनताको सेवा गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन्तुष्टि र आत्मसम्मानका आधारमा काम गर्ने हो, सोही अनुसार नतिजा प्राप्त हुँदा खुसी लाग्छ ।”

    मनाङ जिल्ला मूल्याङ्कनमा सर्वोत्कृष्ट हुनुका आधार प्रस्तुत गर्दै प्रजिअ पौडेलले सोलारको माध्यमबाट विद्युत् आपूर्ति नियमित गरेर ‘अनलाइन’ सेवा प्रदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार घुम्ती शिविर सञ्चालन गरेर सबै पालिकामै गएर जनतालाई राष्ट्रिय परिचयपत्र उलब्ध गराएको र विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयमा आउने गुनासाहरूलाई समयमै फर्छ्र्यौैट गरिएको उहाँले बताउनुभयो ।

    यसैगरी अर्को मूल्याङ्कनको आधार जिल्लामा पर्ने उजुरी एक वर्षभित्र फर्छ्र्यौैट गर्नुपर्ने प्रावधानलाई एक महिनामै टुङ्ग्याउने काम गरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । “यसका साथै नेपाल–चीन बोर्डरमा बोडर आउट पोष्ट (बिओपी) राख्नका लागि जग्गा व्यवस्थापन गरी सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । नागरिकलाई प्रत्यक्ष असर पार्ने सडक पूर्वाधारलाई नियमित र व्यवस्थित गरिएको छ । जसले गर्दा सडकमार्फत सदरमुकामसम्मको पुग्ने समय किफायत भएको छ । जिल्ला प्रशासनक कार्यालयको पहलमा भएका यस्ता कार्यले जनता र सरकारबीचको सामीप्यता गहिरो बनाएको छ । जनताले सरकारको अपनत्व महसुस गरेका छन्”, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

    हाल मनाङमा माइनस १० डिग्री तापक्रमसम्म पुगेको उल्लेख गर्दै उहाँले जोखिमको अवस्थामा पनि जनताको सेवा गर्न सबै लागिरहेको बताउनुभयो ।

    इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका उपसचिव पौड्याललाई गृह मन्त्रालयले गत भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो ।

    त्यसपछि गृह सचिवसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आफूले सबै कर्मचारीको साथ लिएर काम गरेको र त्यसकै आधारमा मन्त्रालयले मूल्याङ्कन गरेको उहाँले सुनाउनुभयो । प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित जिल्लास्थित सबै कार्यालयहरूको सामूहिक प्रयासको नतिजा प्राप्त भएको बताउनुभयो ।

    गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।रासस

  • लौकहीमा गोली लागेर एक जनाको मृत्यु

    लौकहीमा गोली लागेर एक जनाको मृत्यु

    इनरुवा (सुनसरी), पुस १७ –
    कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो ।

    उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् । रासस

  • सुनचाँदीको मूल्यका केहि गिरावट

    सुनचाँदीको मूल्यका केहि गिरावट

    काठमाडौँ, पुस १७ –
    पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो । रासस