Blog

  • सुन्तलाको बोक्रा खानुका ७ फाइदा

    सुन्तलाको बोक्रा खानुका ७ फाइदा

    काठमाडौँ, १५ पुसः
    सुन्तला जाडो मौसमको ‘सुपरफुड’ हो, तर के तपाईलाई थाहा छ ? यसको गुदी मात्र होइन, बोक्रा पनि स्वास्थ्यका लागि कुनै खजानाभन्दा कम छैन।

    धेरैजसो मानिसहरू सुन्तला खाएपछि यसको बोक्रा डस्टबिनमा फ्याँक्छन्, तर सुन्तलाको बोक्रामा भिटामिन ‘सी’, फाइबर, क्याल्सियम, फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यदि तपाईंले यसलाई सही तरिकाले आफ्नो खानपानमा समावेश गर्नुभयो भने धेरै रोगहरूबाट बच्न सक्नुहुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउन सक्नुहुन्छ।

    पढ्नुहोस् सुन्तलाको बोक्राका फाइदाहरू:
    १. रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बलियो बनाउँछ

    सुन्तलाको बोक्रामा गुदीभन्दा बढी भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ। यसले शरीरमा भाइरल र ब्याक्टेरियल संक्रमणसँग लड्ने क्षमता बढाउँछ।

    २. तौल घटाउन निकै फाइदाजनक

    सुन्तलाको बोक्रामा पाइने प्राकृतिक फाइबरले मेटाबोलिजमलाई तीव्र बनाउँछ र बोसो पगाल्ने प्रक्रियालाई सक्रिय गर्छ। सुन्तलाको बोक्राको चिया वा धुलोले भोक नियन्त्रण गर्छ र धेरै खाने बानीबाट रोक्छ। त्यसैले यसलाई तौल घटाउने डाइटमा अवश्य समावेश गरिन्छ।

    ३. पाचन प्रक्रियामा सुधार गर्छ

    सुन्तलाको बोक्रामा पाइने फाइबरले पाचनमा सुधार गर्छ। यसबाट ग्यास, एसिडिटी र पेट फुल्ने समस्यामा निकै राहत मिल्छ। नियमित सेवनले आन्द्राको सफाइ गर्छ र कब्जियत जस्ता समस्यालाई कम गर्छ।

    ४. उच्च कोलेस्ट्रोललाई नियन्त्रण गर्छ

    बोक्रामा पाइने फ्लेभोनोइड्सले शरीरमा खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ। यसले मुटुको स्वास्थ्य राम्रो बनाउँछ र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ।

    ५. सुगर लेभल सन्तुलित गर्छ

    धेरै अध्ययनका अनुसार सुन्तलाको बोक्रामा ग्लुकोज मेटाबोलिजमलाई नियन्त्रणमा राख्ने तत्त्वहरू पाइन्छन्। मधुमेहका बिरामीहरूका लागि यो निकै फाइदाजनक मानिन्छ, विशेषगरी बोक्राको प्राकृतिक चिया।

    ६. छालालाई चम्किलो र सफा बनाउँछ

    सुन्तलाको बोक्रा एन्टी-ब्याक्टेरियल र एन्टी-फंगल गुणले भरिपूर्ण हुन्छ। यसले छालाबाट कालो दाग, चिल्लो र पिम्पल्स कम गर्छ। यसको धुलोलाई फेसप्याकको रूपमा लगाउँदा छाला तुरुन्तै चम्किलो हुन थाल्छ।

    ७. शरीरलाई डिटक्स (विषाक्त पदार्थ बाहिर निकाल्ने) गर्छ

    सुन्तलाको बोक्राले शरीरबाट विषाक्त पदार्थ (टक्सिन) बाहिर निकाल्न मद्दत गर्छ। यसले पाचन प्रणाली मात्र होइन, छाला र कपालको स्वास्थ्य पनि राम्रो बनाउँछ। सुन्तलाको बोक्रा सधैं राम्ररी धोएर र सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसलाई धुलो, चिया वा क्यान्डीको रूपमा खान सकिन्छ।

    सुन्तलाको बोक्राबाट के-के बनाउन सकिन्छ?

    सुन्तलाको बोक्राबाट धेरै चीजहरू बनाउन सकिन्छ:

    सुन्तलाको बोक्राको चिया
    सुन्तलाको बोक्राको धुलो
    फेसप्याक
    स्क्रब
    माउथ फ्रेशनर
    क्यान्डी
    हर्बल क्लिनर
    मसलामा स्वादका लागि
    छालाको हेरचाहका लागि सुन्तलाको बोक्रा कसरी फाइदाजनक छ?

    सुन्तलाको बोक्रा एन्टी-ब्याक्टेरियल, एन्टी-फंगल र भिटामिन ‘सी’ ले भरिपूर्ण हुन्छ। छालाका लागि यसका फाइदाहरू:

    डन्डिफोरमा कमी
    कालो दाग र पिग्मेन्टेसन हल्का बनाउन
    छाला चम्किलो बनाउन र इन्स्ट्यान्ट ग्लोका लागि
    चिल्लो नियन्त्रण
    मृत छाला हटाएर छालालाई नरम बनाउन
    यसलाई धुलो वा लेप (पेस्ट) को रूपमा फेसप्याकमा मिलाएर प्रयोग गरिन्छ।

  • कांग्रेस विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपको ‘हल बुक’

    कांग्रेस विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपको ‘हल बुक’

    काठमाडौँ, १७ पुसः
    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर पुस २७ र २८ गतेगरी दुई दिनका लागि भृकुटीमण्डपको हल बुकिङ गरेका छन्।

    विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपको हल बुकिङ गरिएको विशेष पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।

    ‘२७ र २८ गतेगरी दुई दिनका लागि हल बुकिङ भइसक्यो, अब विशेष महाधिवेन हुने पक्का भयो,’ केन्द्रीय सदस्य शिवाकोटीले भने।

    उनी महामन्त्री गगन थापा निकट केन्द्रीय सदस्य हुन्।

    यसअघि पुस २६ देखि २८ गतेसम्मका लागि कांग्रेसको १५ औँ महाधिवेशन तय भएको थियो। क्रियाशील सदस्यता वितरणको काम नटुंगिएकाले सो मितिमा नियमित महाधिवेशन नहुने पक्का भइसकेको छ।

  • रविसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

    रविसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

    १७ पुष काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी बुझाउन गरेको फैसला उच्च अदालत पाटनले सदर गरेको छ।

    स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेका आदेशलाई परिवर्तन गर्नु नपर्ने फैसला गरेको हो।

    उच्च सरकारी वकिलको कार्यालयले रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालगायतविरूद्ध धरौटी माग गर्ने आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरेकोमा त्यसमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले उनीहरूलाई गरेको आदेश परिवर्तन गर्नु नपर्ने फैसला गरेको थियो।

    प्रतिवादीहरूको बयान, रकम प्रयोगको अवस्था, प्रतिवादीहरूको संलग्नता समेतलाई विचार गरी पछि ठहरे बमोजिम हुने गरी तत्काल धरौटी माग गरेको पाइएको, माग गरेको धरौटी दाखिल गरी प्रतिवादीहरू तारिखमा रहेको पाइएको अवस्थामा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा, कमल लामाबाट मुद्दा पुर्पक्षका लागि धरौटी माग गर्ने गरेको तहाँ अदालतको २०८१ माघ २ गते, माघ ७ र पुस २३ गतेको आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहनु पर्ने देखिन आएन भन्ने उच्चको फैसलामा उल्लेख छ।

    जिल्ला अदालत काठमाडौंले माघ २ गते रविसँग ६० लाख धरौटी र माघ ७ गते पूर्व डीआइजी जोशीसँग ५० लाख धरौटी माग भएको थियो।

  • ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार

    ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार

    काठमाडौ, पुस १७ –
    थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुव्र्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा (प्रतिष्ठान शाखा)ले आपत्ति जनाएको छ ।

    ‘विद्यार्थीबाट चर्को शुल्क लिएर दुबईमा कामदारका रूपमा पठाएको’ भन्ने विषयमा समाचार सङ्कलनका लागि पुगेका ‘नेपाल लिड डटकम’का संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टलाई कलेजले आफ्ना सुरक्षा गार्डमार्फत दुव्र्यवहार गरेको स्वतन्त्र समाचार सेवाले विज्ञप्तिमा जनाएको छ ।

    सो शाखाका अध्यक्ष निरज खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसरी सुरक्षा गार्ड लगाएर घेरा हाली कलेज परिसरबाट निस्किन नदिइएको र समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार सङ्कलनमा पु¥याइएको अवरोध र दुव्र्यवहारमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गरिएको छ ।

    कलेजका मार्केर्टिङ प्रमुख अमरदीप मण्डपले आज अङ्ग्रेजी नयाँ वर्षमा कलेज बिदा रहेकाले सम्बन्धित अधिकारीसँग भेट्न नसकिने भएकाले सुरक्षा गार्डले रोकेको हुन सक्ने बताउनुभयो । रासस

  • पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्

    पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्

    पुष १७ चितवन ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि बुझाएको बन्दसूचीमा चितवनकै २१ जना परेको भन्दै व्यापक विरोध भयो । तर, सभापति रवि लामिछानेले भने चितवनबाट चार जनामात्रै सूचीमा रहेको दाबी गरेका छन् ।

    चितवन लामिछानेले चुनाव लडेको जिल्ला हो । उनी चितवन–२ बाट २ पटक (आवधिक निर्वाचन र उपनिर्वाचन) भारी मतान्तरले विजयी भएका थिए । फेरि पनि यही क्षेत्रमा लड्ने तयारीमा छन् ।

    हिजो कास्की पुगेका लामिछानेलाई सञ्चारकर्मीले चितवनबाटै २१ जना बन्दसूचीमा परेको विषयमा जिज्ञासा राखेका थिए । रविले भने पार्टीको लिस्ट देखाउँदै चितवनका चार जनामात्रै रहेको बताएका हुन् । बन्दसूचीमा २१ जनाले नागरिकता लिएको जिल्ला ‘चितवन’ उल्लेख भए पनि ३ मध्ये १७ जना चितवनवासी नभएको उनको भनाइ थियो ।

    लामिछानेले सबैभन्दा बढी काठमाडौंकै उम्मेदवार भएको बताए ।

    उनले भने, ‘यो मलाई पार्टीले दिएको आधिकारिक सूची हो । तपाईंले हेर्दा पनि हुन्छ । चितवनबाट जम्मा ४ जना हुनुहुन्छ । धेरै चैं काठमाडौंबाट १० जना छन् ।’

    बन्दसूचीमा भने २१ जनाको नागरिकता लिएको र ‘जिल्ला चितवन’ उल्लेख छ । यस विषयमा हामीले चितवनका जिल्ला सभापति कृष्ण भूषाललाई पनि सोध्यौं । उनले पनि ४ जना मात्र चितवनका मतदाता भएको बताए ।

    भुषालका अनुसार डा. मनोहर प्रधान, समिना मिया, प्रभा ढकाल र सरला लामिछाने चितवनका हुन् । ‘अरुले चितवनबाट नागरिकता लिनुभएको भए पनि उहाँहरु यहाँको मतदाता हुनुहुन्न,’ उनले भने ।

    बन्दसूचीमा आदिवासी जनजाति, पुरुष क्लस्टरमा मात्रै ५ जनाको नागरिकताको जारी जिल्ला चितवन देखिन्छ । डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङले चितवनबाट नागरिकता लिएका हुन् । खस आर्य पुरुषतर्फ सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीक राम दाहाल गरी ७ जना चितवनबाट नागरिकता लिनेमा पर्छन् ।

    यस्तै, खसआर्य महिलातर्फ विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, प्रभा ढकाल र सरला लामिछाने गरी ८ जनाको नागरिकता चितवनबाट जारी भएको देखिन्छ ।

  • सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको छ: सञ्चारमन्त्री जगदीश खरेल

    सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको छ: सञ्चारमन्त्री जगदीश खरेल

    काठमाडौँ, पुस १७-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताउनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

    दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उहाँको भनाइ छ । “वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरुको मागबारे केस्रा केस्रा छलफल भएको छ”, उहाँले भन्नुभयो, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।”

    वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरु गम्भीर चासोका साथ लिनुभएको थियो भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानार्कषण गराउनुभएको जनाइएको छ । रासस

  • वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल

    वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल

    काठमाडौँ, पुस १७ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताउनुभएको छ ।

    अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ ९एफएनएमआइएस० कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताउनुभयो ।

    उहाँले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने, विपद्को समयमा खोजी तथा उद्धारमा सहजीकरण गर्ने, नेपाल बसाइँका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्ने, अपराध भएमा अनुसन्धान प्रभावकारी बनाउने र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याउने रहेको बताउनुभयो । रासस

  • बर्दघाटको टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले गरे प्रदर्शन

    बर्दघाटको टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले गरे प्रदर्शन

    १७ पुस, काठमाडौं ।
    पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।

    बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा डिउटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ ।

    ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई गराएका थिए ।

    घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए ।

    उनका अनुसार बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत एक जना नेपाली र एक जना भारतीय मजदुर मृत अवस्थामा फेला परेको छ । घटनास्थलमा मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताए ।

    मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् ।

    घटनास्थलमा अहिले ३१ जना प्रहरीको टोली खटेर घटनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

  • रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने आयोगको तयारी

    रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने आयोगको तयारी

    १७ पुस, काठमाडौं ।
    जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ ।

    स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको हो ।

    आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।

    त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिए ।

    बयानका काम सकिएसँगै लेखकको स्थानहद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।

    यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो ।

  • पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

    पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

    नवलपरासी पुस १७-
    बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिनुभएको हो ।

    आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ”, उहाँले भन्नुभयो ।

    प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादवले पनि पाँच वर्षदेखि आलुखेती गर्दै आउनुभएको छ । चार बिघा जग्गामा आलुखेती गरिरहेको बताउँदै उहाँले गत वर्ष डेढ बिघा जग्गाबाट उत्पादित आलु बिक्री गरी रु छ लाख ५० हजार आम्दानी भएको जानकारी दिनभयो ।

    उँखुखेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी पनि नदिने भएपछि उँखुखेती छोडेर १४ बिघा जग्गामा व्यावसायिक आलु, केरा र तरबुजा खेती सुरु गरेको यादवले बताउनुभयो । अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारलाई समय दिएर पनि उत्पादन लिन सकिने भएकाले आलु, केरा र तरबुजाखेती गरेको उहाँको भनाइ छ ।

    यो आर्थिक वर्षमा भारतबाट आउने केराको खपत हुँदा स्थानीय उत्पादनले बजार नपाएपछि घाटा लागेको उहाँले बताउनुभयो । पाल्हीनन्दन गाउँपालिका–४ का रामसेवक कुर्मीले तीन वर्षदेखि दश कठ्ठा जग्गामा व्यावसायिक आलुखेती गर्दै आउनुभएको छ ।

    जिल्लाको रामग्राम, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका क्षेत्र आलुखेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएकाले उत्पादनका दृष्टिले सम्भावना बेकेका क्षेत्रका रूपमा तोकिएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो ।

    पौडेलका अनुसार व्यावसायिक आलुखेती प्रवर्द्धनका लागि किसनालाई बाली विशेष आयोजनातर्फको कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने गरिएको छ । जिल्लामा पाँच हेक्टर जमिनमा व्यावसायिक आलुखेती भइरहेको केन्द्रले जनाएको छ ।

    यहाँ उत्पादित आलुले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धाने बाँकीका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था रहेको पौडेलले बताउनुभयो । रासस