Blog

  • आज शनिबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज शनिबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष १९ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–पूर्णिमा, २३ घडी १६ पला, बेलुकी ४ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आर्द्रा, २९ घडी ३० पला, बेलुकी ६ बजेर ४५ मिनेट उप्रान्त पुनर्वशु । योग– ब्रम्ह्, ८ घडी ३० पला, बिहान १० बजेर २१ मिनेट उप्रान्त ऐन्द्र । करण–बव, बेलुकी ४ बजेर १५ मिनेट उप्रान्त बालव, रातको ३ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २५घडी ५७ पला ।

    दिन विशेष : पूर्णिमा व्रत। श्री स्वस्थानी व्रत आरम्भ, माघ स्नान प्रारम्भ। चाँगुनारायण हैगु। चाँगुनारायणमा कलश यात्रा। मिलापुन्हि। दोलखा देवलाङ्गेश्वरमा महादेव मेला। भक्तपुरस्थित हनुमत्तीर्थमा त्रिवेणीमेला।

    हेर्नुस तपाइँको आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् । राजनीतिक भेटघाट, बैठक तथा गोष्ठीमा समय व्यातित हुनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । व्यापारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । भेटघाट, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि अध्ययन वा कामको सिलसिलामा लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यवसाय वा औद्योगिक क्षेत्रमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धीत सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । अनलाइन व्यापार, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय खर्च हुनेछ । प्रविधिको प्रयोग मार्फत काम वा अध्ययनलाई सहज बनाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीतिक भेटघाट, बैठक तथा सामाजिक काममा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको छ । सानो प्रयत्नले कामहरू सम्पादन हुँदा मन प्रसन्न रहनेछ । तर पनि आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

    भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

    १८ पुस, काठमाडौं ।
    झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

    ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।

  • धावन मार्गमा चिप्लियो बुद्ध एयरको जहाज

    धावन मार्गमा चिप्लियो बुद्ध एयरको जहाज

    विराटनगर, पुस १७
    धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

    ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः १० बजे धावनमार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।

    काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।

    अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।

    थप विवरण आउन बाँकी छ ।

  • बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

    बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

    दमौली, १८ पुसः 
    बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् ।
    तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् ।
    बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको जानकारी दिनुभयो । त्यस्तै भारतीय र आन्तरिक पाँच लाख ४७ हजार पर्यटक बन्दीपुर आएको गुरुङले बताउनुभयो ।
    गुरुङका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।
    बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको बन्दीपुर भ्रमण वर्षले यहाँको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको गुरुङको भनाइ छ ।
    उहाँले भन्नुभयो, “बन्दीपुर भ्रमण वर्षका बारेमा देश तथा विदेशमा प्रचारप्रसार गर्न सफल भयाँै, जसले बाह्य र स्वदेशी पर्यटकलाई बन्दीपुरसम्म आकर्षित गर्न सकियो ।”
  • नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

    नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

    चितवन, १८ पुसः 
    नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो ।

    कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा पुलका विभिन्न संरचनात्मक पक्ष परीक्षण गर्दै काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “डिजाइन गर्दा हामीले विभिन्न परीक्षण गरी पुलले कति भार थेग्न सक्छ भन्ने निर्धारण गरेका हुन्छौँ, फिल्डमा पनि त्यही भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्नुपर्छ, अहिले हामी त्यही चरणमा छौँ ।” ‘टेस्टिङ’का लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग गरिँदैछ । यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखी ‘कङ्क्रिटिङ’ गरिन्छ ।

    सो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको र उपकरण आएपछि थप काम तीव्र हुने इन्जिनियर त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार ओसेल प्रविधि पाइलले कति भार सहन सक्छ भन्ने मापन गर्ने उपकरण हो । करिब ४५ मिटर लामो पाइलभित्र स्टिल केजमा हाइड्रोलिक ज्याक जडान गरिन्छ । कङ्क्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब तथा प्रतिक्रिया (रेस्पोन्स) मापन गरिन्छ । यसबाट पाइलको वास्तविक भार बहन क्षमता यकिन गरिन्छ ।

    हाल साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन गर्ने तथा स्टिल केज निर्माणका काम भइरहेको छ । यहाँ तयार गरिएका केजहरू फिल्डमा लगेर पिलरमा जडान गरिनेछ । पुलको डिजाइन अन्तरराष्ट्रिय आइआरसी कोडअनुसार कम्तीमा १०० वर्ष आयु रहने गरी गरिएको छ । टेस्टिङ फेजमा श्रमिकको सङ्ख्या कम भए पनि यो चरण सकिएपछि थप जनशक्ति परिचालन गरिने योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रले बताउनुभयो ।

    इञ्जिनियर मिश्रका अनुसार बर्खा सुरु हुनुअघि नै फाउन्डेसनको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइलको काम सकिएपछि परीक्षण कार्य अघि बढाइएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    उहाँका अनुसार पुलमा नदीतर्फ दुई र दायाँ–बायाँ गरी चार पिलर रहनेछन् । उहाँले भन्नुभयो, “ओसेल आउने बित्तिकै नारायणगढतर्फ पाइलिङको काम सुरु हुन्छ, एकातर्फ पाइलिङ गर्न करिब दुई महिना लाग्छ, अबको करिब एक हप्ताभित्र ओसेल आइपुग्ने अपेक्षा छ, नारायणगढतर्फको पाइलिङ सम्पन्न भएपछि गैँडाकोटतर्फ काम सुरु गरिनेछ, यस वर्ष फाउन्डेसन तथा केही सब–स्ट्रक्चरका काम सम्पन्न गर्ने लक्ष्य छ ।”

    आइकोनिक केबल–स्टेड पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायत आधुनिक संरचनात्मक प्रविधि समावेश हुनेछन् । पुल निर्माणको लागत रु एक अर्ब ६८ करोड रहेको छ । सडक विभागले सन् २०२३ मा पुल निर्माणको ठेक्का दिएको हो ।

    नारायणी नदीमा हाल रहेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ । पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण प्राप्त गरेसँगै नयाँ पुल निर्माणले तीव्रता पाएको हो ।
    –––

  • निर्वाचनका लागि ४ करोड मतपत्र छापिँदै

    निर्वाचनका लागि ४ करोड मतपत्र छापिँदै

    काठमाडौँ, १८ पुसः
    निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ ।

    आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् ।

    उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ ।

    मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ ।

    प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने भट्टराईले बताए । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन बाँकी रहेको छ ।

  • गायिका त्रिशला गुरुङले गरिन् समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

    गायिका त्रिशला गुरुङले गरिन् समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

    ८ पुस, काठमाडौं ।
    गायिका डा. त्रिशला गुरुङले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन् ।

    उनले समाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन् ।

    निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिकको बन्द सूचीमा गुरुङको नाम पनि समावेश थियो । गुरुङ उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट रास्वपाको बन्द सूचीमा परेकी थिइन् ।

  • फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

    फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

    चितवन, १८ पुसः 
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन् ।” १० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उहाँले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको बताउनुभयो ।

    सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उहाँको भनाइ थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिसकेका छन् ।” जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भइरहेकाले निर्वाचन नहुनेमा द्विविधा नभएको उहाँको भनाइ थियो ।

    सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले आफू अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “चुनाव लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।”

    सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनावको बातावरण बनाइरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “म मन्त्रिपरिषद्को सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौँ ।”

    सरकारले सुशासन  कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि बढाएको उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेका मन्त्रीहरुले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव लडिराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन । एउटा व्यक्तिले म चुनाव लड्छु, जनतामा जान्छु, म उम्मेदवार बन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन ।”

  • गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक पुरिएको अवस्थामा फेला

    गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक पुरिएको अवस्थामा फेला

    गुल्मी पुस, १८
    गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।

    दुर्घटनामा परेको ट्याक्टर चालक सत्यवती गाउँपालिका–६ खैरेनी निवासी अन्दाजी २४/२५ वर्षीय सुरज सार्की घटनास्थलमै बालुवाले पुरिएको अवस्थामा फेला परेका हुन् ।

    ट्याक्टर मर्मतका लागि निकाल्ने क्रममा बालुवामा पुरिएको अवस्थामा चालकको खुट्टाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    घटनाको प्रकृति गम्भीर रहेकाले इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट थप प्रहरीको टोली खटिएको छ ।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न

    भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न

    चितवन, पुस १८-
    भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको लाइन जडानको काम बाँकी रहेको छ । यहाँको काम ८३ प्रतिशत सकिएको जनाउँदै उहाँले पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका काम सकिएको बताउनुभयो । बाँकी रहेको भूमिगतको कामसँगै घरमा जोड्ने काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो । फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उहाँको भनाइ छ ।

    पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । महानगर भित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै रु १० करोड थप गरिएको हो ।

    निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटक–पटक म्याद थप गरेर काम अघि बढाइएको हो । एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।रासस