Blog

  • राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान

    राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान

    २० पुस, काठमाडौं

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिइरहेको छ ।

    आयोगकी सदस्य लिली थापाले ओलीसँग अहिले सोधपुछ गरिरहेको जानकारी दिइन् ।

    २३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको बताएको थियो ।

     

  • रास्वपाले थप्यो चार जना पदाधिकारी

    रास्वपाले थप्यो चार जना पदाधिकारी

    २० पुस, काठमाडौं-

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।

    पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    थपिएको पदाधिकारीमा, उपसभापति –१, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ रहेको छ ।

  • दुर्गा प्रसाईंको आरोपः बालेन र रविलाई विदेशीले तालिम दिएर पठाएका हुन्

    दुर्गा प्रसाईंको आरोपः बालेन र रविलाई विदेशीले तालिम दिएर पठाएका हुन्

    काठमाडौं,पुस २०-
    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई विदेशी शक्तिले तयार पारेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्पः पृथ्वीपथ’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो अभिव्यक्ति दिएका हुन्।

    सम्बोधनका क्रममा उनले यी नयाँ राजनीतिक अनुहारहरूलाई अमेरिकन युथ काउन्सिल र बेलायती काउन्सिलले छानेर र प्रशिक्षण दिएर नेपाल पठाएको आरोप लगाए। ‘बोल्न जान्ने, राम्रा, हँसिला र सुकिला-मुकिलाहरूलाई अमेरिकन र ब्रिटिस काउन्सिलले छानेर प्रशिक्षण दियो,’ प्रसाईंले भने, ‘प्रशिक्षण दिएर पहिले बालेनमा टेस्ट गरियो। बालेन सफल भएपछि संसदीय निर्वाचनमा रवि लामिछानेलाई अघि बढाइयो।’

    विवेकशील साझा पार्टीको जगमा टेकेर अहिलेको नयाँ राजनीतिक माहोल बनाइएको र यसको पछाडि विदेशी डिजाइन रहेको उनको जिकिर थियो।

    प्रसाईंले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था सिध्याउन २००४ सालदेखि नै खेल सुरु भएको दाबी गरे। उनले २००७ साल, राजा महेन्द्रको निधन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध हुँदै २०७२ को संविधानसम्म आइपुग्दा देशलाई नियोजित रूपमा कमजोर बनाइएको उल्लेख गरे।

    ‘२०७२ को संविधानमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता हालिनु भनेको राजसंस्था र हिन्दू राष्ट्र अन्त्य गर्ने खेल थियो,’ उनले भने, ‘बिचमा राजा महेन्द्रले केही समय यसलाई रोक्ने काम गरेका थिए, तर अहिले त्यो मिसन पूरा गराइँदैछ।’

    आफूले देशको पक्षमा बोल्दा धेरैले मार्छन् भनेर तर्साउने गरेको भन्दै प्रसाईंले आफू मृत्युसँग नडराउने बताए। ‘मृत्यु भनेको अमृत हो, त्यसलाई सहर्ष स्वीकार्न सकिन्छ तर देश सिध्याउने खेलको साक्षी बस्न सकिँदैन,’ उनले भने।

    प्रसाईंले पुराना दल र तिनका नेताहरूको काम सकिएपछि विदेशी शक्तिले नयाँ पात्रहरूलाई ‘लन्च’ गरेको आरोप लगाउँदै देश जोगाउन अब अन्तिम लडाइँ लड्नुपर्ने बेला आएको सुनाए।

  • प्रचण्ड दिल्ली प्रस्थान

    प्रचण्ड दिल्ली प्रस्थान

    काठमाडौं, पुस २०-
    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाजमार्फत ३ बजे त्यतातिर प्रस्थान गरेका हुन् ।

    नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

  • चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो

    चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो

    चितवन, पुस २०-
    चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो, “शनिबारदेखि क्यामेरा उठाउने काम सुरु भएको छ । सोमबारसम्ममा पहिलो भागको क्यामेरा उठाउने काम सम्पन्न हुन्छ ।” उहाँका अनुसार यही पुस १ र २ गते तालिम दिएका १५० जना गणकहरू गणनामा खटिएका छन् ।

    त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको छ । क्यामेरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिने छ ।

    दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरू खटिने निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिने छ ।

    “सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ”, उहाँले भन्नुभयो, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।” थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।

    चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले उल्लेख गर्नुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभाग पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

    गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो ।

    बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । “पहिलो कम्प्लेक्स ९क्षेत्र० यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यो एउटै ब्लक बनाइने छ”, उहाँले भन्नुभयो ।

    यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । रासस

  • कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका

    कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका

    भोजपुर, पुस २०-
    भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।

    गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

    अध्यक्ष राईका अनुसार कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । “कोटगढी आफैँमा ऐतिहासिक सम्पदा हो”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । पूर्वाधार विकाससँगै प्रचारप्रसारमा ध्यान दिइरहेका छौँ ।”

    यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने उद्देश्यले सङ्घीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त रु एक लाख सहयोगमा कोटगढी परिसरमा मन्दिर निर्माण गरिएको छ । पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहास प्रेमीहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले पौवादुङमा गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थलको एकीकृत विकासमा जोड दिइएको बताउनुभयो । “गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिएका छौँ”, उहाँले भन्नुभयो, “कोटगढीजस्ता ऐतिहासिकस्थलको संरक्षणले पर्यटन प्रवर्द्धनका साथै रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा लिएका छौँ ।”

    स्थानीयका अनुसार कोटगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासपछि यस क्षेत्रको पहिचान थप उजागर हुन थालेको छ । यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी गराउने अवसरसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले धारणा राख्नुभयो ।

    आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्नसके कोटगढी क्षेत्र भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटनसँग जोडेर विकास गर्ने स्थानीय सरकारको पहलले पौवादुङमा गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ । रासस

  • चितवन मेडिकल कलेजमा पहिलोपटक राष्ट्रिय स्तरको मुटुरोग गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स)

    चितवन मेडिकल कलेजमा पहिलोपटक राष्ट्रिय स्तरको मुटुरोग गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स)

    पौष २०,चितवन-
    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा पहिलोपटक मुटुरोगसम्बन्धी गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स) सम्पन्न भयको छ । मुटुरोग उपचार क्षेत्रका विविध विषयमा छलफल र अनुभव आदनप्रदान गर्न एक दिने गोष्ठी सम्पन्न भयको हो।
    मुटुरोग उपचार क्षेत्रका विभिन्न पक्षका बारेमा विज्ञ चिकित्सकले चार वटा सत्रमा छलफल गरेका छन् । मुटुरोग उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएका चिकित्सक डा भगवान् कोइरालाले गोष्ठीको उद्घाटन गरेका हुन ।
    डा कोइरालाले पछिल्लो तीन दशकमा नेपालमा मुटुरोगको उपचार क्षेत्रमा प्रभावकारी र गुणस्तरी सेवा उपलब्ध हुँदै गएको बताउँदै राजधानी बाहिर पनि सेवा र उपचारमा गुणस्तर बढ्दै गएको उल्लेख गरे । उनले सिएमसीले मुटुरोग उपचारमा गरेको योगदानको प्रशंसा गरे । आफूसँग काम गरेका दक्ष चिकित्सकले यहाँ सेवा दिइरहेका भन्दै उनले खुसी व्यक्त गरे ।
    कार्यक्रमको उद्घाटन सत्रमा सिएमसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सिएससी शिक्षण अस्पतालले उच्च प्राथमिकता दिएर मुटुरोगको उपचार गरिरहेको बताए । आफ्नो प्रयास र अरूको अभ्यास सुन्न–सुनाउन फरकफरक विधामा यस्ता कार्यक्रम महिनाको एउटा गर्दै आइएको उनले जानकारी दिए । अनुभव आदनप्रदानले उपचार सेवा र शिक्षण विधिलाई सुधार गर्न थप सहयोग पुग्ने उनको भनाइ छ ।
    सिएमसी शिक्षण अस्पतालका मुटुरोग विभाग प्रमुख प्राडा श्यामराज रेग्मीले विश्वमा मुटुरोगको उपचारका विधि र प्रविधि तीव्र रूपमा विकास भइरहेको भन्दै ती विधि र प्रविधिबारेमा छलफल गरिएको बताए । कार्यक्रममा काठमाडौँ, चितवन र यस आसपासका अस्पतालमा कार्यरत मुटुरोगसम्बन्धी उपचारमा संलग्न चिकित्सक, नर्स, मेडिकल विद्यार्थी र प्राविधिक गरी ३५० जना सहभागी भएका छन् ।
    गोष्ठीमा मुटुरोगको उपचार र अनुसन्धानका बारेमा २९ वटा प्रस्तुतीकरणमाथि छलफल भएको छ । कार्यक्रम संयोजन गर्नुभएका अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका पद्धति, उपचारमा प्रयोग हुने प्रविधि, नविनतम अनुसन्धानका बारेमा छलफल भएको छ ।
    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा हालसम्म १६ हजारभन्दा बढी मुटुको परीक्षण तथा शल्यक्रिया भएका छन् । विसं २०७० भदौ ११ गतेदेखि यहाँ क्याथ ल्याब सञ्चालनमा ल्याएर मुटुका विभिन्न शल्यक्रिया हुँदै आएका छन् ।
  • १७ वर्ष दुबई बसेर स्वदेश फर्किएका बस्नेतको कुखुरापालन

    १७ वर्ष दुबई बसेर स्वदेश फर्किएका बस्नेतको कुखुरापालन

    तनहुँ, पुस २०-
    व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उहाँले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आउनुभएको हो ।

    कुखुराको अण्डा बिक्री गरेर मासिक रु एक लाख आम्दानी लिँदै आएको उहाँले बताउनुभयो । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि घर फर्किनु भएका बस्नेतले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्नुभएको थियो । विदेशमा पाएको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्न सफल भएका छन् ।

    उहाँले सञ्चालन गर्दै आउनुभएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार लेयर्स कुखुरा छन् । सुरुमा रु ३० लाख लगानीमा छ रोपनीमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभएका बस्नेतले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

    दैनिक एक हजार ८०० अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधि तथा श्रम खर्च कटाएर एक लाखभन्दा आम्दानी हात पर्न थालेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारको साथमा बसेर विदेशको न्दा दोब्बर फाइदा भइरहेको छ ।”

    कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान ५०० मा बिक्री हुँदै आएका छन् । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ । “पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन । दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुने”, उहाँले भन्नुभयो ।

    श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म चलाउनुभएका अर्जुन भन्नुहुन्छ, “कुखुराको मल प्रयोग गरेदेखि तोरी पनि राम्रो फलेको छ कि तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।” व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार गरी ७५ हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजंग बस्नेतले बताउनुभयो ।

    चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बन्ने गरेको छ । विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको कार्कीले बताउनुभयो । रासस

  • चितवन मेडिकल कलेजमा पहिलोपटक राष्ट्रिय स्तरको मुटुरोग गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स)

    चितवन मेडिकल कलेजमा पहिलोपटक राष्ट्रिय स्तरको मुटुरोग गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स)

    पौष २०,चितवन-
    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा पहिलोपटक मुटुरोगसम्बन्धी गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स) सम्पन्न भयको छ । मुटुरोग उपचार क्षेत्रका विविध विषयमा छलफल र अनुभव आदनप्रदान गर्न एक दिने गोष्ठी सम्पन्न भयको हो।

    मुटुरोग उपचार क्षेत्रका विभिन्न पक्षका बारेमा विज्ञ चिकित्सकले चार वटा सत्रमा छलफल गरेका छन् । मुटुरोग उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएका चिकित्सक डा भगवान् कोइरालाले गोष्ठीको उद्घाटन गरेका हुन ।

    डा कोइरालाले पछिल्लो तीन दशकमा नेपालमा मुटुरोगको उपचार क्षेत्रमा प्रभावकारी र गुणस्तरी सेवा उपलब्ध हुँदै गएको बताउँदै राजधानी बाहिर पनि सेवा र उपचारमा गुणस्तर बढ्दै गएको उल्लेख गरे । उनले सिएमसीले मुटुरोग उपचारमा गरेको योगदानको प्रशंसा गरे । आफूसँग काम गरेका दक्ष चिकित्सकले यहाँ सेवा दिइरहेका भन्दै उनले खुसी व्यक्त गरे ।

    कार्यक्रमको उद्घाटन सत्रमा सिएमसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सिएससी शिक्षण अस्पतालले उच्च प्राथमिकता दिएर मुटुरोगको उपचार गरिरहेको बताए । आफ्नो प्रयास र अरूको अभ्यास सुन्न–सुनाउन फरकफरक विधामा यस्ता कार्यक्रम महिनाको एउटा गर्दै आइएको उनले जानकारी दिए । अनुभव आदनप्रदानले उपचार सेवा र शिक्षण विधिलाई सुधार गर्न थप सहयोग पुग्ने उनको भनाइ छ ।

    सिएमसी शिक्षण अस्पतालका मुटुरोग विभाग प्रमुख प्राडा श्यामराज रेग्मीले विश्वमा मुटुरोगको उपचारका विधि र प्रविधि तीव्र रूपमा विकास भइरहेको भन्दै ती विधि र प्रविधिबारेमा छलफल गरिएको बताए । कार्यक्रममा काठमाडौँ, चितवन र यस आसपासका अस्पतालमा कार्यरत मुटुरोगसम्बन्धी उपचारमा संलग्न चिकित्सक, नर्स, मेडिकल विद्यार्थी र प्राविधिक गरी ३५० जना सहभागी भएका छन् ।

    गोष्ठीमा मुटुरोगको उपचार र अनुसन्धानका बारेमा २९ वटा प्रस्तुतीकरणमाथि छलफल भएको छ । कार्यक्रम संयोजन गर्नुभएका अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका पद्धति, उपचारमा प्रयोग हुने प्रविधि, नविनतम अनुसन्धानका बारेमा छलफल भएको छ ।

    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा हालसम्म १६ हजारभन्दा बढी मुटुको परीक्षण तथा शल्यक्रिया भएका छन् । विसं २०७० भदौ ११ गतेदेखि यहाँ क्याथ ल्याब सञ्चालनमा ल्याएर मुटुका विभिन्न शल्यक्रिया हुँदै आएका छन् ।

  • रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

    रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

    रसुवा, पुस २०-
    यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।

    सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन ९इभी माइक्रो० नेपाल भित्रिएको छ ।

    चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ । यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

    गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिनुभयो ।

    उहाँले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा रु ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताउनुभयो । रासस