Blog

  • देशभर पश्चिमी वायुको प्रभाव, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको प्रभाव, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ पौस २०
    देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहनुको साथै तराई भूभागमा हुस्सुको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • हेर्नुस आज मिति २०८२ साल पौष २० गते आइतबारको राशीफल

    हेर्नुस आज मिति २०८२ साल पौष २० गते आइतबारको राशीफल

    आज मिति वि.सं.२०८२ साल पौष २० गते । आइतबार । इस्वी सन् २०२६ जनवरी ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–प्रतिपदा, १८ घडी ३१ पला, दिउँसो २ बजेर २२ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–पुनर्वशु, २६ घडी ३० पला, बेलुकी ५ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग– ऐन्द्र, १ घडी २४ पला, बिहान ७ बजेर ११ मिनेट उप्रान्त वैधृति । करण–कौलव, दिउँसो २ बजेर २२ मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ३१ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन, बिहान ११ बजेर ५० मिनेट उप्रान्त कर्कट ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २५घडी ५८ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रसन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमाबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । वित्तीय क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । मध्यान्हबाट नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिँदा अरूभन्दा पछि परिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरू दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • भरतपुरका महिला न्यानो बाँड्दै चेपाङ गाउँमा

    भरतपुरका महिला न्यानो बाँड्दै चेपाङ गाउँमा

    १९,पुस, चितवन
    भरतपुर महानगरपालिका–१० का महिलाहरुको संस्था ‘स्पन्दन नेपाल’ले कालिका नगरपालिका–११ सिद्धि दौतेस गाउँको विद्यालयका बालबालिकालाई न्यानो लुगा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरेको छ ।

    हरेक वर्ष चिसो बढेसँगै चेपाङ गाउँमा पुगेर न्यानो कपडा वितरण गर्दै आएको उक्त संस्थाले शनिबार जिल्लाको पहाडी भेग कालिका–११ सिद्धि दौतेस गाउँको स्कुलमा पढ्ने विद्यार्थीलाई न्यानो लुगा, स्टेशनरी र खेलकुद सामाग्री वितरण गरेको हो।

    बालविकासदेखि ३ कक्षासम्म पढाइ हुने दौतेसको राष्ट्रिय आधारभूत विद्यालयमा समुदाय चेपाङका ४२ जना विद्यार्थी छन्।

    हरेक वर्ष विकट गाउँका विद्यालय र समुदायमा सहयोग लिएर जाने गरेको स्पन्दनले यो पटक चिसोयाममा दौतेस स्कुलका बालबालिकालाई सम्झेको अध्यक्ष अनिता खनालले बताइन्।

  • रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु

    रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु

    बैतडी, १९ पुसः 
    रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ ।
    करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो ।
    भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको  उहाँले जानकारी दिनुभयो ।
    मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही समयदेखि भाटको खोजी भइरहेको थियो ।
  • इलाम-२ बाट सुहाङ नेम्बाङ बने एमालेको सर्वसम्मत् उम्मेदवार

    इलाम-२ बाट सुहाङ नेम्बाङ बने एमालेको सर्वसम्मत् उम्मेदवार

    काठमाडौँ, पुस १९-
    आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा ९एमाले०ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

    शनिबार गजुरमुखीमा सम्पन्न एमालेको प्रतिनिधिसभा निर्वाचत क्षेत्र समन्वय कमिटी बैठकले सुहाङको नाम सर्वसम्मत् रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।

    एमालेको तत्कालीन कानुन विभाग सदस्य नेम्बाङ २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

  • झापा-५ बाट केपी ओली सर्वसम्मत सिफारिस

    झापा-५ बाट केपी ओली सर्वसम्मत सिफारिस

    झापा, पुस १९-
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

    एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यस क्षेत्रका लागि अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाइएको हो।

  • आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

    आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

    काठमाडौँ, पुस १९-
    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

    सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

    आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

    “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

    सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो ।

    यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु गरिँदै छ ।

    “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्,” इतिहासकार श्रेष्ठले भन्नुभयो ।

    यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि मेला लाग्दै छ । यसका लागि सबै तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।रासस

  • रास्वपाको समानुपातिक सूचीबाट आसिफ शाहले लिए नाम फिर्ता

    रास्वपाको समानुपातिक सूचीबाट आसिफ शाहले लिए नाम फिर्ता

    काठमाडौँ, पुस १९
    रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट टेलिभिजन प्रस्तोता आसिफ शाहले आफ्नो नाम फिर्ता लिएका छन् । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रस्तोता आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

    शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्। यद्यपि आफ्नो मनभित्र देश बन्नुपर्छ भन्ने हुटहुटी सँधै जीवित रहेको उनले बताएका छन्।

    फेसबुकमा आसिफ स्ट्याटस जस्ताको त्यस्तैः

    *** उम्मेदवारी फिर्ता लिएको बारे ***
    राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म।
    तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ।
    आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।
    म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।
    तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो।सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।
    देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु।
    तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।
    यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु|
    साथै, जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।
    प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ—
    प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो।
    हामी काठमाडौँ–५ बाट
    प्रत्यक्ष उम्मेदवारी दिन
    पूर्ण रूपमा तयार छौं।
    देशभन्दा ठूलो केही हुँदैन।

  • चिरञ्जीवी सुवेदीः जसले जिल्लाभर फैलाए उद्योग बाणिज्य संघ चितवनलाई

    चिरञ्जीवी सुवेदीः जसले जिल्लाभर फैलाए उद्योग बाणिज्य संघ चितवनलाई

    १९,पुस, चितवन

    उद्योग बाणिज्य संघको ५९ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हालका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्यानल नै बनाएर होमिएका छन् ।

    ‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिवद्दताः सवल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ पुस २१ गते हुने निर्वाचनमा होमिएको टिमले व्यवसायीहरुको मनसँगै मतको अपेक्षा राखेको छ ।
    अनुभवी, युवा सबैलाई सन्तुलन मिलाएर टिम बनाएका सुवेदीले विगत २२ बर्षदेखि उद्योग बाणिज्य संघ चितवनको विकासमा अनवरत रुपमा लागेका एक कर्मयोगी व्यवसायी हुन् । संस्थागत र व्यवसायीको हित भन्दा कहिल्यै बाहिर नजाने स्वभावका सुवेदी एकैपटक अध्यक्ष उठ्ने स्थानमा आएका होइनन् । उनले संघको साधारण सदस्य, कार्यसमिति सदस्य, तृतिय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष (दुईपटक), प्रथम उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न लागेका हुन् । उनको लामो योगदान, अनुपम निष्ठा र त्याग मात्रै होइन सुवेदी संघलाई बलियो बनाउनसमेत निरन्तर लागिरहेका पात्र हुन् ।
    जिल्लाका अन्य भेगमा समेत विकाससँगै बजार विस्तार हुँदै जान थालेपछि उद्योग बाणिज्य संघ नारायणगढलाई सानो दायरामा नराखेर फराकिलो र जिल्लाब्यापी बनाउन सुवेदीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

    उनकै पहलकदमीमा उद्योग बाणिज्य संघ माडी इकाई, उद्योग बाणिज्य संघ खैरहनी इकाई र उद्योग बाणिज्य संघ इच्छाकामना इकाई गठन गरिएको हो । उद्योग बाणिज्य संघ चितवनलाई जिल्लाभर फैलाउन सुवेदीको महत्वपूर्ण योगदान र भूमिका छ । सुवेदी कै सोही योगदानका कारणले संघको सदस्य संख्या आज झण्डै ४ हजार पुगेको छ । संघ भित्र आर्थिक पारदर्शीता कायम गर्न पनि सुवेदीले महत्वपूर्ण योगदान गरेका छन् । संघले हरेक महिना गर्ने आम्दानी र खर्चको अनुमोदन कार्यसमिति बैठकमार्फत गर्ने व्यवस्था उनकै पहलमा भएको हो ।

    उद्योग व्यवसायीहरूलाई परेका पिरमर्का र समस्यामा तुरुन्तै पुगिहाल्ने सुवेदीले व्यवसायीहरूको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न अस्पतालहरूमा छुट सुविधा उपलब्ध गराउने सम्झौता गरेका छन् । युवा व्यवसायी तथा उद्यमी तयार गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मिलेर बिजनेश इनक्यूबेशन सेन्टरमार्फत बुटक्याम्प सञ्चालनमा सहकार्य गर्ने काम अगाडि बढेको छ ।

    संघका सदस्यता तथा नविकरणका लागि एप्स तयार गर्नेदेखि आन्तरिक राजश्व कार्यालय भरतपुरमा कर परामर्श तथा सहजीकरण केन्द्र स्थापना गर्न ठोस योजना अनुरूप काम अगाडि बढाउन सुवेदीको महत्वपूर्ण भूमिका छ ।

    ‘मैंले झण्डैं २० बर्षदेखि अनवरत रूपमा उद्योग बाणिज्य संघ चितवनमा बसेर व्यवसायीहरुको हक र हितमा लाग्दै संघलाई जिल्लाव्यापी रुपमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छु, मेरो त्याग, तपस्या, अथक मेहनत र महत्वपूर्ण समय संघका लागि खर्चिएको छु ।’ अध्यक्षका उम्मेदवार सुवेदीले भने ‘कार्यसमिति सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्म तपाईहरुले नै बनाउनुभएको हो, आशा छ यहाँहरुले अमूल्य मत दिएर हाम्रो टिमलाई विजयी गराउनुहुनेछ ।’

    विभिन्न एक दर्जन सामाजिक संघसंस्थामा विभिन्न भूमिका रहेर काम गरिरहेका समाजसेवी सुवेदीको टिममा युवाहरु राजेन्द्र ओली बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका छन् । ओली उद्योग बाणिज्य संघका प्लानर मानिन्छन् । संघमा नयाँ नयाँ योजना बनाउन, सहकार्य गर्न र सबैभन्दा पोटेन्सिल नै ओली हुन् । सुवेदीको प्यानलमा अनुभवले खारिएका अशोक अधिकारी र नारायण प्रधान र राजन पिया उपाध्यक्ष उम्मेदवार छन् । खारिएको, अनुभवी र पौरखी सुवेदीको प्यानलसँग युवा व्यवसायीहरुको कुशल संयोजन देख्न सकिन्छ ।

    अव्यवस्थित बजार र फुटपाथलाई व्यवस्थित बनाउँदै पार्किङ्गको उचित व्यवस्थापनमा पहल र सहकार्य गर्ने, आर्थिक शिथिलता भोगेर पलायन हुने खतरामा रहेका व्यवसायीलाई कर, घर भाडा तथा बैंकिङ्ग समस्या समाधान र राहातका लागि पहल गर्ने, व्यवसाय, घरवाहल,विज्ञापन कर तथा राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या हल गर्न पहलकदमी र नेतृत्व लिने, आन्तरिक राजश्व कार्यालयमा राजश्व परामर्श तथा सहायक कक्ष पुनः स्थापना गर्ने, व्यवसायी राहात कोषमा क्षतिपूर्ति र राहातको रकम बृद्धि गर्ने लगायतका प्रतिवद्दता यो समूहले गरेको छ ।

    सुवेदीको प्यालनमा महिला उद्यमी कार्यसमिती सदस्यमा सुनिता लिगल कर्माचार्य, उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, कृष्णकुमार महतो र सन्तोष देवकोटा छन् । यस्तैं, सुवेदीको प्यानलको बाणिज्यतर्फ अस्मिता तिमिल्सिना, गौरव श्रेष्ठ,नरेश खनाल, विष्णु लम्साल, मुकुन्दप्रसाद गौतम, श्रीकृष्ण लम्साल सदस्य उम्मेदवार रहेका छन् ।

    पुस २१ गते संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

  • देशभर पश्चिमी वायुको प्रभाव, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको प्रभाव, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ   १९ पुस
    देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।

    आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई भूभागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।