Blog

  • मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

    मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

    म्याग्दी, पुस २१
    अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकको अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।

    सडक स्तरोन्नतिका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको थियो । रु ६५ लाखमा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले बगरदेखि सुनारीटोल खण्डमा काम थालेको वडा सदस्य बिर्खबहादुर गर्बुजाले बताउनुभयो ।

    “भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ‘ट्र्याक’ खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो,” उहाँले भन्नुभयो, “तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।”

    योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गर्न थालिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताउनुभयो ।

    फराकिलो पार्ने, नाली र पर्खाल निर्माण सकेर ढलान गर्न थालिएको उहाँले बताउनुभयो । हाल तीनदेखि चार मिटर फराकिलो सडकमा जिप, मोटरसाइकल र ट्याक्टर मात्र चल्छन् । साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

    निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले यही पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताउनुभयो । आगामी चैत महिनासम्म ठेक्काको म्याद रहेपछि लक्ष्यअघि नै सम्पन्न गरिने उहाँले बताउनुभयो ।

    गत वर्ष रु ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख बिनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका ३०० घरपरिवार लाभान्वित हुनेछन् ।

    भिरकाटे–दोवा सडकलाई प्राथमिकता प्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनाका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । रासस

  • चितवन उद्योग वाणिज्य संघको चुनावी माहोल (फोटोफिचर)

    चितवन उद्योग वाणिज्य संघको चुनावी माहोल (फोटोफिचर)

    चितवन, पुस २१ –
    चितवन उद्योग वाणिज्य संघको चुनावी माहोल

    चितवन उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।

    आज बिहान करिब साढे ८ बजेदेखि संघको कार्यालय परिसरमै मतदान भइरहेको छ ।

    मतदान प्रकृयामा करिब तीन हजार ४०० मतदाता सहभागी हुन पाउँछन् । त्यसमध्ये यो समाचार तयार पार्दासम्म करिब एक हजार मत खसेको छ ।

    मतदानस्थलबाहिर आ–आफ्नो उमेदवारको पक्षमा माहोल बनाउन समर्थकहरुले प्ले कार्ड बोकेर नाराबाजी नै गरिरहेका छन् । उमेदवारहरु पनि मत माग्न लाइन लागेर उभिएका छन् ।

    नयाँ नेतृत्वको लागि संस्थापन पक्षबाट हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र पूर्व उपाध्यक्ष शिरीष पन्त समूह बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।

     

  • चितवनमा ८० हजार पशुलाई खोरेतबिरुद्धको खोप लगाइने

    चितवनमा ८० हजार पशुलाई खोरेतबिरुद्धको खोप लगाइने

    चितवन, पुस २१ –
    चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो ।

    पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण गरिएको छ । जिल्लामा एक लाख गाई भैँसी पालिएको उहाँले बताउनुभयो । मङ्सिरमा रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको थियो ।

    खोरेत रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखाने जस्ता लक्षण देखिने उहाँले जानकारी दिनुभयो । यो रोग गाई, भैँसी र बङ्गुरमा बढी देखिन्छ ।

    बाहिरबाट खरिद गरेर जिल्लामा ल्याइने पशुलाई २१ दिन क्वारेन्टिनमा राखिन्छ । उहाँले थप्नुभयो, “सङ्क्रमण देखिएका पशुहरूलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जङ्गली जनावारहरूबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । रासस

  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने

    चितवन, पुस २१
    चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । यही पुस २४ र २५ गते जलपक्षी गणना गरिने भएको हो ।

    नेपालमा हरेक वर्ष जनवरी ३ देखि १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । चितवन र नवलपरासीको त्रिवेणीसम्म एकै पटक चरा गणना गर्न लागिएको हो । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथरदेखि जलपक्षी गणना सुरु गरिने छ । पुस २४ गते नदीहरुमा तथा पुस २५ गते तालतलैयामा जलपक्षी गणना गरिने छ । गणनाका लागि ७० चराविज्ञ सहभागी हुने उहाँले जानकारी दिनुभयो । लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिने छ भने नारायणी नदीमा पनि चरा गणना गरिने छ ।

    यस्तै माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन क्षेत्र तथा बूढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म जलपक्षी गणना गरिने छ ।

    ‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार देशैभर जलपक्षी गणना गरिँदै छ । राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत जलपक्षी गणना गरिने उहाँले जानकारी दिनुभयो ।

    ‘बर्ड एजुकेसन सोसाइटी, नेपाल’ पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा जलपक्षी गणना गर्न लागिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । सङ्घका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका तथा चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ देखि चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै छ ।

    नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसिया लगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने गरेका उहाँले जानकारी दिनुभयो । चिसो छल्नका लागि चरा यहाँ आउने गरेको विडारीले बताउनुभयो । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ । रासस

  • रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

    रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

    काठमाडौं, पुस २१-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो।

    यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

  • आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष २१ गते । सोमबार । इस्वी सन् २०२६ जनवरी ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–द्वितीया, १४ घडी ३२ पला, दिउँसो १२ बजेर ४६ मिनेट उप्रान्त तृतीया । नक्षत्र– तिष्य, २४ घडी १७ पला, बेलुकी ४ बजेर ४० मिनेट उप्रान्त अश्लेषा । योग–विष्कुम्भ, ४९ घडी १ पला, रातको २ बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–गर, दिउँसो १२ बजेर ४६ मिनेट उप्रान्त वणिज, रातको १२ बजेर ७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कर्कट ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २६ घडी ० पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग ,शेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । विद्यार्थीहरुका लागी अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा थोरै समय खर्चिए पनि नाम कमाउन सकिने छ । तर पनि काम गर्दा ध्यान पूर्वक गर्नुहोला काम बिग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमान काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्या तथा प्रतिस्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरूलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाइने तथा उनीहरूको प्रगतिमा मन रमाउनेछ । मनमुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुँदा मन खुसी हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा अनलाइन व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन, सम्पत्ति, चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • बालेन शाह भए रास्वपाका वरिष्ठ नेता

    बालेन शाह भए रास्वपाका वरिष्ठ नेता

    काठमाडौं, पुस २०
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता भएका छन्।

    रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेता बनाएको हो। बालेनसहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ।

    बालेनलाई सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता नियुक्त गरिएको रास्वपा स्रोतले जानकारी दियो।

    बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन् भने भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य भएका छन्।

  • काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना अपडेट : ६ जनाको मृत्यु

    काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना अपडेट : ६ जनाको मृत्यु

    २० पुस, हेटौंडा-
    काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

    काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।

    जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए ।

     

  • बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत

    बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत

    काठमाडौँ, २० पुसः
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना मनोनित भएका छन्।

    आइतबार रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले २६ जनालाई मनोनित गरेको हो।

    यसरी मनोनित भएका केन्द्रीय सदस्यहरूले शपथ समेत लिएका छन्।

    सस्मित पोखरेल, केपी खनाल, खगेन्द्र सुनार, सागर ढकाल, प्रदीप ज्ञवाली लगायतले शपथ लिएका छन्। उनीहरूलाई सभापति रवि लामिछानेले शपथ गराएका छन्।

  • काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, नौजना घाइते

    काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, नौजना घाइते

    मकवानपुर, २० पुसः 
    हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
     घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।