Blog

  • चितवन उद्योग वाणिज्य संघको सकियो मतदान, अब मतगणना हुँदै

    चितवन उद्योग वाणिज्य संघको सकियो मतदान, अब मतगणना हुँदै

    चितवन, पुस २१
    चितवन उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएको छ भने अब मतगणना हुँदै छ ।

    संघको निर्वाचन समितिका अनुसार कुल ३ हजार ३ सय ९९ मतदाता रहेका थिए ।

    मतदानप्रति व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

    निर्वाचनमा दुई समूह प्रतिस्पर्धामा रहेका थिए । संस्थापन पक्षबाट अध्यक्षमा उमेदवारी दिएका चिरञ्जीवी सुवेदी र अर्का युवा उमेदवार शिरीष पन्तको समूह चुनावी मैदानमा थिए । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फ उपाध्यक्षमा अशोक अधिकारी, वाणिज्यतर्फ उपाध्यक्षमा नारायण प्रधान, वस्तुगततर्फ उपाध्यक्षमा राजन पियालगायत थिए ।

    यस्तै, पन्त समूहबाट लोकबहादुर रानाभाट सतिशले वरिष्ठ उपाध्यक्षमा, गुणराज पौडेलले उपाध्यक्षमा, जनक पौडेलले उपाध्यक्षमा शंकर घिमिरेले उपाध्यक्षमा उमेदवारी दिएका थिए ।

  • नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

    नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

    काठमाडौँ, २१ पुसः
    नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।

    श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ ।

    श्रीवास्तवले भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रङ्गीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको छ ।

  • निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

    निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

    काठमाडौँ, २१ पुसः
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताउनभएको छ ।

    आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गर्दै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो ।

    “चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम नगर्नुहोस् । निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो”, सभापति लामिछानेले भन्नुभयो, “देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन ।”

    उहाँले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिनुभएका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको बताउनुभयो । सभापति लामिछानेले यो इतिहासको संवेदनशील मोडमा देशले राम्रो इतिहास लेख्न लागेको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले थरुहट÷थारुवान आन्दोलनलाई पार्टीले आत्मसात् गर्ने र त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

  • अण्डाको मूल्य घट्यो

    अण्डाको मूल्य घट्यो

    चितवन, २१ पुसः
    क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो ।

    फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर रु ४७५ मा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट रु  ५५० बाट रु ४६० मा झरेको सङ्घले जनाएको छ ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा रु २५ बाट रु २० मा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा  कुखुरा  बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो ।

    पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताउनुभयो । “अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुनेभएको छ”, उहाँले भन्नुभयो ।

    सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ ।

  • हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

    हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

    ओखलढुङ्गा, पुस २१ –
    जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्या र यही महिना भदौरेमा भएको मगर दम्पत्तिको हत्याको आरोपमा प्रहरीले चिशङ्खुगढी गाउँपालिका–३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई गाउँपालिका–४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र सोइ गाउँपालिका–८, माम्खाका ३० वर्षीय अशोक भुजेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    सिद्धिचरण नगरपालिका–४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको गत असोज २६ गते राति घरमै हत्या गरिएको थियो । हत्यामा संलग्नहरु गरगहना र नगदसमेत लुटेर फरार भएका थिए । यसैगरी चिशङ्खुगढी–६, भदौरेमा यही पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या गरिएको थियो । उनीहरुको हत्या गरी रु एक लाख, सुनको गहना दुई तोला लुटपाट गरी हत्यारा फरार भएका थिए ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । रासस

  • युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

    युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ, पुस २१ –
    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट रु १३ लाख र विजयले युके पठाइदिने भन्दै एक जना पीडितबाट रु पाँच लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।”

    पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । रासस

  • ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

    ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

    लितपुर, पुस २१ –
    विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रभित्र अवस्थित ऐतिहासिक भागदेगः मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    विसं २०७१ मा पुनःनिर्माणको काम सुरु भए पनि कछुवाको गतिमा काम अघि बढेकाले अब केही महिनाभित्र सम्पन्न हुने भएको छ । विसं १९९० को विनाशकारी भूकम्पबाट क्षति पुगेको भागदेगः मन्दिरको पुनःनिर्माण समयमै अघि बढ्न नसक्दा यो ऐतिहासिक सम्पदा लामो समयसम्म जीर्ण अवस्थामा रह्यो ।

    विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भइसके तर विसं १९९० कै भूकम्पले क्षति पुर्‍याएको भागदेगः मन्दिर भने अझै निर्माणाधीन रहँदै आएको छ ।

    पाटन दरबार सङ्ग्रहालय विकास समितिका सदस्य वीरन्द्रराज श्रेष्ठका अनुसार अबको तीन महिनाभित्र मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न हुनेछ । पुनःनिर्माण ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव रहेको उहाँले बताउनुभयो । “ललितपुर महानगरपालिकाले हरेक वर्ष सीमित बजेट मात्र छुट्याउँछ । त्यही बजेट र केही दातृ निकायको सहयोगमा काम अघि बढाइएको हो । अहिले करिब काम सकिएको छ र केही महिनामै सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

    सुरुमा मन्दिर पुनःनिर्माणका लागि रु चार करोड लागत अनुमान गरिएको थियो । तर विसं २०७२ को भूकम्पपछि मन्दिरको जग हल्लिएको हुन सक्ने आशंकाका कारण जग नै फेर्नुपर्ने अवस्था आयो । यससँगै निर्माणमा ढिलासुस्ती र महँगी बढ्दा कूल लागत बढेर करिब रु नौ करोड पुगेको छ । ललितपुर महानगरपालिका तथा विभिन्न दातृ निकायको सहयोगमा पुनःनिर्माण कार्य भइरहेको छ ।

    इतिहासअनुसार भागदेगः मन्दिर मल्लकालीन समयमा भारदारहरूले निर्माण गरेका हुन् । पाटन दरबार सङ्ग्रहालय विकास समितिका सदस्य वीरन्द्र श्रेष्ठका अनुसार तत्कालीन समयमा भगीराज भैयाले उक्त भागदेगः मन्दिर निर्माण गराएका थिए । ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण यस मन्दिरको पुनःनिर्माण सम्पन्न भएपछि पाटन दरबार क्षेत्रको सौन्दर्य र सम्पदा संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

  • गुल्मी–२ मा एमालेले पठायो गोकर्ण विष्टको एकल नाम

    गुल्मी–२ मा एमालेले पठायो गोकर्ण विष्टको एकल नाम

    काठमाडौं, पुस २१-
    नेकपा एमाले गुल्मी–२ क्षेत्रीय समन्वय कमिटीले उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

    निर्वाचन क्षेत्र समन्वय कमिटीले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी कमिटी बैठकले उपाध्यक्ष विष्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको जानकारी गराएको हो।

    ‘पुस १६ गते बसेको बैठकले पार्टीका केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्टलाई एकल उम्मेदवारका रूपमा उम्मेदवार सिफारिस गरेको छ,’ माथिल्लो कमिटीलाई जानकारी गराइएको निर्णयमा उल्लेख छ।

  • ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

    ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

    काठमाडौं, पुस २१-
    भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ ।

    ओलीको बयान लिएसँगै आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन् ।

  • मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

    मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

    काठमाडौँ, पुस २१-
    सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

    बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२, स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको छ ।

    सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरेको छ । यस्तै समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ । रासस