Blog

  • निर्वाचनमा कुनै गठबन्धन हुँदैनः संयोजक दाहाल

    निर्वाचनमा कुनै गठबन्धन हुँदैनः संयोजक दाहाल

    काठमाडौँ, २२ पुस : 
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने स्पष्ट पार्नुभएको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “कुनै गठबन्धन भएको छैन, हुँदैन पनि ।”

    अन्य राजनीतिक दलबीच भएको र हुनसक्ने गठबन्धनबाट नेकपा नडराएको जनाउँदै संयोजक दाहालले राष्ट्रियसभामा दलहरूबीच सिट बाँडफाँट भएको कुरा झुट भएको बताउनुभयो ।

    “राष्ट्रियसभामा गठबन्धन भए मात्रै सिट लिने होइन, मतभार जसको जति छ, त्यो अनुसार पाउने अधिकारको कुरा हो, यद्यपि यसबारेमा सहमति भइसकेको छैन”, उहाँले भन्नुभयो ।

  • देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

    देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

    काठमाडौँ, २२ पुस : 
    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने वर्तमान आवश्यकता भएको बताउनुभएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा सशस्त्र प्रहरीको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रण गर्न अन्तर निकायमा भए गरेका कमीकमजोरीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

    उहाँले कुनै एकल निकायको प्रयासले मात्र राजस्व चुहावट नियन्त्रण गर्न सम्भव नहुने हुँदा सम्बन्धित सरोवाला निकायहरूको संयुक्त प्रयासले लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । राजस्व चुहावट नियन्त्रणका लागि कुनै पनि कार्य गर्दा नागरिकलाई दुःख नहोस् भन्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको अर्थमन्त्री खनालले बताउनुभयो ।

    बैठकमा अर्थसचिव डा घनश्याम उपाध्यायले राजस्व चुहावट नियन्त्रण कार्य सबैको साझा दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले सीमित साधनस्रोतका बाबजुत पनि अधिकतम परिचालन भई परिणाम हासिल गर्नुपर्ने हालको अवस्थामा प्राप्त जिम्मेवारीलाई थप प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

  • करेन्ट लागेर एक जनाको मृत्यु

    करेन्ट लागेर एक जनाको मृत्यु

    किमाथाङ्का, २२ पुसः 
    सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मकालु–५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो ।

    भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

    राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा

    आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा

    काठमाडौँ, २२ पुसः 
    आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

    भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकपमा नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।

    टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् ।

    नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा

  • गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

    गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

    काठमाडौँ, २२ पुसः 
    काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो ३ः१५ बजे लागेको आगो ४ः४५ बजे नियन्त्रणमा आएको हो ।

    ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठको गोदाममा आगलागी भएको र सो आगलागीबाट गोदाम पूर्ण रुपमा नष्ट भएको पनि उहाँले बताउनुभयो ।

    आगलागीबाट जोडिएको लोयला सेकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।  दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिइएको तर क्षतिको विवरण भने आइनसकेको प्रवक्ता भट्टराईले बताउनुभयो । विवरण सङ्कलनमै रहेको उहाँले बताउनुभयो ।

  • जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायक हरिहर अधिकारी

    जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायक हरिहर अधिकारी

    भरतपुर, पुस २२ ।

    शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित नायक र ज्योतिषी हरिहर अधिकारीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।

    भरतपुरमा एक भव्य समारोहका बीच सोमबार नायक अधिकारीलाई ब्राण्ड एम्बेसडरको नियुक्त गरेको सार्वजनिक गरिएको हो ।

    युरोपको विभिन्न देशमा उच्च शिक्षाको क्षेत्रमा विद्यार्थीलाई परामर्श दिदै आएको कन्सल्टेन्सीले साईप्रसको लेन्ड्रा कलेजसँगको सहकार्यमा काम गर्दै आएको छ ।

    सो कार्यक्रममा कन्सल्टटेन्सीका कलेजका प्रमुख कार्यकारी अधिकृत सुमन अधिकारीले लिन्ड्रा कलेजसँगको सम्बन्ध र विद्यार्थीहरूलाई कलेजमा अध्ययन गर्नका लागि कसरी सहजीकरण गरिरहेको बारे जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा ब्राण्ड एम्बेसडर अधिकारी शैक्षिक परामर्शको क्षेत्रमा भरपर्दो काम गर्दै आएको जेभियर्स ईन्टरनेश्नलसँग जोडिन पाउनु खुसीको विषय भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा १ सय बढी पत्रकारहरूको उपस्थिति रहेको थियो।

  • मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक

    मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक

    २२ पुष ,काठमाडौं ।
    सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

    मंगलबार सिंहदरबारमा पुष २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगाएतका निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधानमा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए।

    बैठकले पुस २९ र ३० गते बङ्ग्लादेशको ढाकामा आयोजना हुने नेपाल बङ्ग्लादेश वाणिज्य सचिव स्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ भने प्रहरीको सङ्गठन, संरचना तथा दरबन्दी त्यारी स्वीकृत गर्ने निर्णय भएको छ।

    त्यसैगरि बैठकले नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए। बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिका सदस्य महेश प्रसाद काफ्लेको राजीनामा स्वीकृत गर्ने र समितिको रिक्त सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको उनले बताए।

    त्यस्तै मन्त्रिपरिषद्ले माघ ३ गते अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजिओ रिभोलुसन सम्बन्धी कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको गरेको छ भने नेपाली सेना सैनिक साधारण सेवाका दुई जना महासेनानीलाई सोहि सेवाको सहायक रथी दर्जामा र चार जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ।

  • वीरगञ्जमा उत्पन्न तनाव साम्य पार्न सद्भाव संयन्त्र

    वीरगञ्जमा उत्पन्न तनाव साम्य पार्न सद्भाव संयन्त्र

    २२ पुस, काठमाडौं ।
    वीरगञ्जमा धार्मिक एवं सामाजिक सद्भाव बिथोल्ने गतिविधि हुन नदिन स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ ।

    मंगलबार बसेको सर्वपक्षीय एवं सर्वदलीय बैठकले भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने गरी संयन्त्र गठन गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

    दाहालका अनुसार संयन्त्रणमा हिन्दुतर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिमतर्फबाट महमद महबुब अली शेरु र अली असगर मदनी रहेका छन् ।

    यसैगरी अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने उनले बताए ।

    बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन एवं आन्दोलन नगर्ने प्रतिबद्धता समेत जनाइएको छ । प्रदर्शन वा आन्दोलन गर्नुपूर्व पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र पेस गर्न जोड दिने र त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

    बैठकले धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह-आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय समेत गरेको छ ।

    धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण दुई दिनदेखि वीरगञ्ज अशान्त बन्दै आएको छ । दुई समुदायले प्रदर्शन जारी राखेका कारण सम्भावित घटनालाई मध्यनजर राखेर स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू समेत लगाएको छ । कर्फ्यू आज साँझ ६ बजेसम्म जारी रहेन जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    हेर्नुहोस् सहमति :

  • सिनामंगलको काठ गोदाममा आगलागी,विमानस्थलमा उडान स्थगित

    सिनामंगलको काठ गोदाममा आगलागी,विमानस्थलमा उडान स्थगित

    पुष २२,काठमाडौं ।
    सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ ।
    आगलागीका कारण नजिकै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान स्थगित भएको छ।

    गोदाममा लागेको आगो छेउछाउका घरमा पनि सल्किन थालेको र नियन्त्रणका लागि दमकल जाँदै गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

  • कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

    कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

    २२ पुस, काठमाडौं ।
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए ।

    सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा दुई पक्षबीच चर्काचर्की परेको देखिन्छ ।

    भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ ।

    विशेष पक्षधर कार्यकर्ताको माझबाट ‘तपाईं चैं हो ?’ भन्ने आवाज सुनिन्छ । निधि पार्टी कार्यालयतर्फ गइसकेपछि होहल्लाका बीच ‘ओइ, आइजा’, ‘तेरो घर…’ आदि स्वर सुनिन्छ ।

    यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै औपचारिक कार्यक्रम नरहेको र विशेष पक्षधरले सानेपा घेराउ नगरेको बताएका छन् ।

    ‘कसैले आफ्नो हिसाबले स्व:स्फूर्त व्यक्तिले गर्ने कुराको छुट्टै विषय होला । तर, विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै त्यस्तो कार्यक्रम छैन,’ उनले भने ।