Blog

  • कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

    कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

    काठमाडौं, पुस २३
    ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।

    यसका लागि उनले अहिले ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।

    घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए।

    केही समययता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए। एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन्।

    उनको पार्टीबाट रास्वपाले १४ जनाको नाम समानुपातिक सूचीमा समेटेको छ।

    घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपभापति भएपछि सरकार छाड्न दबाब बढेको थियो। गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गरेकी थिइन्।

  • गगन-विश्वले गरे कांग्रेस विशेष महाधिवेशन आह्वान

    गगन-विश्वले गरे कांग्रेस विशेष महाधिवेशन आह्वान

    २३ पुस, काठमाडौं-
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन्।

    बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन भनेका हुन् ।

    उनीहरूले धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको पनि बताएका छन् ।

     

  • निर्वाचन आयोगले आचारसंहितामा नयाँ बुँदा थप्यो

    निर्वाचन आयोगले आचारसंहितामा नयाँ बुँदा थप्यो

    काठमाडौँ, २३ पुसः 
    निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ ।

    आयोगले आज यहाँ कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार निषेध अवधीमा कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था थप गरेको जानकारी गराएको छ ।

    नयाँ प्रावधानअनुसार, अनलाइनमाध्यमको निर्वाचन प्रचारप्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने, राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले अनलाइन सञ्चारमाध्यमबाट गर्ने प्रचारप्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।

    त्यस्तै, थपिएको नयाँ बँुदामा संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता र यसको स्वनियमनलाई आन्तरिकीकरण गरिएको उल्लेख छ । सामाजिक सञ्जालको परिभाषालाई विस्तृत सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषामा गरिएको छ भने बदलिँदो समयमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी हुने आचारसंहिताको उल्लङ्घनका विषयलाई समेटिएको छ ।

    पत्रपत्रिकाका माध्यमबाट प्रचारप्रसार गर्दासम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको र अनलाइन सञ्चार माध्यमबाट रोड ब्लक, कन्टेन्ट ब्लक, होमपेज, व्यानर, डिटेल पेज व्यानर, बक्स विज्ञापन (सामाचारको बीचमा) का माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउनसक्ने व्यवस्था मिलाइएको छ ।

    कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग जेजस्तो अवस्थामा छौँ, अधिकतम नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्छ । अभावको पक्षलाई धेरै जोड दिन हुन्न ।”

    निर्वाचन आचारसंहिताको आफूले पूर्ण रुपमा पालना गर्न र गराउन सुझाव दिँदै उहाँले आफ्नो कार्यालयको जिम्मेवारी क्षेत्रका विषयलाई गुनासो र प्रश्न नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।

    सम्भावनाका आधारमा आफ्ना संरचनालाई प्रयोग गरी नतिजा प्राप्त गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले तुलनात्मक रूपमा चुनौती देखिएको आइटीकाबारे थप छलफल हुनुपर्ने बताउनुभयो । दर्ता नभएका अनलाइन सञ्चारमाध्यमलाई दर्ताका लागि सूचना र पत्रचार गर्न सुझाव दिँदै उहाँले दर्ता नभएका अनलाइनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

    राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दिपकुमार राइले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै समितिलाई प्राप्त जिम्मेवारी समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

  • घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

    घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

    घोडाघोडी (कैलाली), पुस २३ –
    नेपालको पहिलो चरा अभय आरण्य(वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको छ । जैविक विविधताले महत्त्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो ।

    गणनाका क्रममा यस पटक घोडाघोडीको सूचक प्रजाति हरिहाँसको सङ्ख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी दिनुभयो । घोडाघोडी क्षेत्रमा जलपन्छीको गणना हिउँद र वर्षायाम गरी प्रत्येक वर्ष दुई पटक गरिँदै आइएको उहाँले बताउनुभयो ।

    सोही कार्यक्रमअनुसार यस वर्ष पनि जलपन्छी गणना सम्पन्न गरिएको हो । “सन् २०२२ मा हरिहाँस ३९४ वटा रहेकामा सन् २०२३ मा घटेर ३१६ पुगेको थियो । सन् २०२४ मा यो सङ्ख्या ४११, सन् २०२५ मा ३७२ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर ४२९ पुगेको छ”, सचिव चौधरीले भन्नुभयो । उहाँका अनुसार यस वर्ष जलपन्छीको सङ्ख्या भने घटेको छ ।

    सन् २०२२ मा एक हजार ६८५ जलपन्छी गणना गरिएको थियो । सन् २०२३ मा एक हजार २२१, सन् २०२४ मा एक हजार ४३७, सन् २०२५ मा एक हजार ३१६ जलपन्छी गणना भएकामा यस वर्ष घटेर एक हजार १६८ मा सीमित भएको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले जानकारी दिनुभयो ।

    नेपालमै सबैभन्दा बढी तालतलैया भएको जिल्लाका रूपमा कैलाली परिचित छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् ।

    घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार घोडाघोडीसहित आसपासका क्षेत्रमा जलपन्छी गणना गरिएको हो ।

    चौधरीका अनुसार घोडाघोडीमा पहिले दुई हजार २०० को हाराहारी जलपन्छी रहेकामा त्यो सङ्ख्या एक हजार १०० मा समेटिएको छ । “बच्चा कोरल्न र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा चराको बासस्थान असुरक्षित बन्दै जानु, आहारा घट्दै जानु, मौसम प्रतिकूल हुनुलगायत कारणले सङ्ख्या घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

    घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो ‘चरा अभय आरण्य’ (चराहरूको बासस्थान, प्रजनन र संरक्षणका लागि छुट्याइएको विशेष संरक्षित क्षेत्र) क्षेत्रका रूपमा घोषणा गरेको थियो । यहाँ ३८१ प्रजातिका चरा पाइन्छन् । रासस

  • नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

    नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

    काठमाडौँ, पुस २३ –
    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ ।

    संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

    त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे गहन छलफल भएको थियो ।

    अध्यक्ष ढकालले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक क्षेत्रको विस्तारमा फलदायी हुने बताउनुभयो । रासस

  • टी-२० विश्वकपमा एउटा पनि खेल नखेल्दै नेपाललाई २ अंक !

    टी-२० विश्वकपमा एउटा पनि खेल नखेल्दै नेपाललाई २ अंक !

    २३ पुष ,काठमाडौं ।
    आगामी पुरुष टी–२० विश्वकपमा भाग लिन भारत यात्रा नगर्ने बंगलादेश क्रिकेट बोर्डको निर्णयले नेपालले एक खेल नखेल्दै २ अंक प्राप्त गर्न सक्ने देखिएको छ । आफ्नो खेल भारतबाहिर श्रीलंकामा सार्न बंगलादेश क्रिकेट बोर्डले आइसीसीलाई आग्रह गरेको भए पनि आइसीसीले बीसीबीको आग्रह अस्वीकार गरेको छ ।

    आइसीसीले बंगलादेशको आग्रह अस्वीकार गरेसँगै अब बंगलादेशका खेलहरू श्रीलंकामा सारिने छैनन् । बंगलादेशले भारतमा नखेल्ने निर्णय गरिसकेको छ । यस्तोमा अब बंगलादेश भारतको अगाडि झुक्ने र भारतमै आएर खेल्ने वा खेल्दै नखेल्ने २ विकल्प बाँकी छन् । बंगलादेश झुकेमा नेपालले बंगलादेशसँग मुम्बइको वानखेडे स्टेडियममा खेल्नेछ ।

    तर, बंगलादेशले आफ्नो देशको आत्मसम्मानसँग सम्झौता नगर्ने अडान लिएर भारतमा खेल्न अस्वीकार गरेमा नेपाल र बंगलादेशको खेल हुने छैन । आइसीसीले बंगलादेशले आफ्नो खेल नखेलेमा अंक गुमाउने स्पष्ट पारिसकेको छ । त्यसैले बंगलादेश खेल्न नआएमा त्यो खेल जिते बराबरको २ अंक नेपालले पाउनेछ । एउटा टिमले खेल्न अस्वीकार गर्दा अर्को टिमले जिते बराबर अंक पाउने अभ्यास यसअघि पनि विश्वकपमा भइसकेको छ । यसलाई आधिकारिक भाषामा वाकओभर भनिन्छ ।

    मंगलबार भएको आइसीसी–बीसीबी भर्चुअल बैठकमा आइसीसीले बीसीबीलाई बंगलादेशका खेलहरू भारतबाहिर सार्ने अनुरोध अस्वीकार गरेको जनाएको छ। आइसीसीले बीसीबीलाई बंगलादेशले भारतमै खेल्नुपर्ने वा अंक गुमाउने जोखिम उठाउनुपर्ने चेतावनी दिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ।

    बीसीबीले भने आफूहरूले त्यस्तो कुनै अल्टिमेटम प्राप्त नगरेको दाबी गरेको छ। मंगलबारको बैठकको परिणामबारे बीसीसीआइ वा बीसीबी दुवैले आधिकारिक सूचना जारी गरेका छैनन्। बीसीबीले आइतबार पत्र लेखी बंगलादेशका खेलहरू भारतबाहिर सार्ने विषयमा “विचार गर्न” अनुरोध गरेपछि यो बैठक आइसीसीले आयोजना गरेको हो ।

    यो घटनाक्रम भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने २० टोली सहभागी विश्वकप सुरु हुनुभन्दा करिब एक महिना अघि आएको हो। समूह ‘सी’ मा रहेको बंगलादेशले आफ्नो पहिलो तीन खेल कोलकातामा खेल्ने तालिका छ: फेब्रुअरी ७ मा वेस्ट इन्डिजविरुद्ध, फेब्रुअरी ९ मा इटालीविरुद्ध र फेब्रुअरी १४ मा इंग्ल्यान्डविरुद्ध। अन्तिम समूह खेल नेपालविरुद्ध फेब्रुअरी १७ मा मुम्बईमा हुनेछ।

    बीसीबीले आइसीसीलाई पत्र लेख्ने निर्णय बीसीसीआइले कोलकाता नाइट राइडर्सलाई बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न “निर्देश” दिएपछि आएको हो। मुस्ताफिजुरलाई डिसेम्बरमा भएको आइपीएल लिलामीमा ९.२ करोड भारतीय रुपैयाँमा फ्रेन्चाइजले खरिद गरेको थियो।

    बीसीसीआइको निर्णयबारे सञ्चारमाध्यमलाई यसका सचिव देवजीत सैकियाले जानकारी गराएका थिए। तर उनले केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिनुको कारण खुलाएका थिएनन्। २०२६ को लिलामीमा खरिद भएका एकमात्र बंगलादेशी खेलाडी मुस्ताफिजुर थिए।

    बुझिएअनुसार आइपीएल गभर्निङ काउन्सिलले यस विषयमा कुनै बैठक गरेको थिएन। त्यसैले सैकिया बाहेक मुस्ताफिजुर सम्बन्धी निर्णयमा को–को संलग्न थिए भन्ने प्रश्न अझै बाँकी छ।

  • सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

    सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

    धरान (सुनसरी),पुस २३ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन् ।

    निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

    आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ । प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उहाँ हाल सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्छ । निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो । रासस

  • सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    पुष २३,कैलाली ।
    कांग्रेस र एमालेसँग सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दर्ता गरेको छ ।

    सुदूरपश्चिममा रिक्त रहेको महिलातर्फ रोजी बस्नेत सुनार, पुरुषतर्फ टीकाराम जैशीले उम्मेदवारी दर्ता गरेका छन् ।

    यस अघि कांग्रेसले खम्ब खाती र एमालेले लीला भण्डारीको नाम टुंगो लगाइसकेको छ । केही बेरमा एमाले कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ

  • नेपाली कांग्रेसको पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

    नेपाली कांग्रेसको पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

    काठमाडौँ, पुस २३ –
    नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।

    युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    “पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, सहमति र सहकार्यको संस्कृति एवं लोकतान्त्रिक विधि र पद्धतिमार्फत निरुपण गरी पार्टी संरचनाका सम्पूर्ण नेतृत्व एकढिक्का हुनु जरुरी छ”, युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ट्रेड युनियन कांग्रेसले पार्टीका लाखौँ कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण जनताको भावनाविपरीत पार्टीका उच्च नेतृत्वदेखि कार्यकर्ता पङ्क्तिसम्म आन्तरिक हुनु चिन्ताको विषय भएको जनाएको छ । सम्भावहिनता र आपसी आरोपप्रत्यारोपले पार्टीप्रति आस्था राख्ने बुद्धिजीवी, पेसाकर्मी, श्रमजीवी र सम्पूर्ण मतदातालाई दुःखित र चिन्तित बनाएको महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    जेनजी आन्दोलनपछि राजनीतिक अन्यौलता, आर्थिक एवं सामाजिक विचलनको अवस्थाबाट गुज्रिएको मुलुकलाई दिशानिर्देश गर्दै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

    मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेसले आगामी दिनमा समेत मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता भएकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत पार्टी नेतृत्वलाई युनियनले आग्रह गरेको छ । रासस

  • माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने

    माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने

    माडी,पुस २३-
    ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्रका घरधुरीबाट सङ्कलन हुने फोहर घरबाटै वर्गीकरण गरिनेछ र टोल विकास संस्थामार्फत तौलका आधारमा रकम भुक्तानी गरिनेछ । उहाँले भन्नुभयो, “हामीले फोहर व्यवस्थापनमा पारम्परिक तीन प्रकारको वर्गीकरणभन्दा फरक सात प्रकारको वर्गीकरण लागू गर्ने निर्णय गरेका हौँ ।” यस ढाँचाअन्तर्गत फोहर सङ्कलन गर्ने गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिनेछन् ।

    वर्गीकरणमा कागज, प्लास्टिक झोला (सादा), प्लास्टिक बोतल, प्रयोगयोग्य सिसाका बोतल, धातुजन्य सामग्री, रङ्गीन मेटालिक प्लास्टिक र अन्य वर्गीकरणमा नपरेका फोहर रहने प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार कुन फोहर कति तौलको छ र अवस्था कस्तो छ भन्ने आधारमा प्रत्येक महिनाको अन्त्यमा घरधुरीलाई रकम भुक्तानी गरिने बताउनुभयो ।

    भुसालका अनुसार बजार मूल्यका आधारमा बिक्रीयोग्य फोहरको मूल्य निर्धारण गरिनेछ । “घरमा एकै दिन धेरै फोहर जम्मा हुँदैन र सबै प्रकारका फोहर बिक्रीयोग्य पनि हुँदैनन् । बिक्ने फोहरको पैसा दिइन्छ, औषधिजन्य वा प्रयोगमा नआउने खतरनाक फोहर छुट्टै व्यवस्थापन गरिन्छ”, भुसालले भन्नुभयो ।

    चाउचाउ, बिस्कुट, गुट्खालगायत प्लास्टिकजन्य फोहरबाट टायल, इन्टरलक, टाँकजस्ता निर्माण सामग्री उत्पादन हुने भएकाले वातावरणमा बढी असर पार्ने यस्ता फोहरलाई नगरपालिकाले अन्य फोहरभन्दा महँगो मूल्यमा किन्ने प्रशासकीय अधिकृत भुसालले उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार ती फोहर लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा रहेको प्लान्टमा पठाउने योजना बनाइएको छ । “यस्ता फोहर बढी हुने भएकाले वातावरणमा असर पर्छ, त्यसैले सरसफाइमा टेवा पुग्नेगरी ती फोहर किन्ने व्यवस्था गरेका हौँ”, उहाँले थप्नुभयो ।

    भुसालले यस ढाँचाले फोहर व्यवस्थापन थप प्रभावकारी हुने र नागरिकमा सरसफाइ तथा फोहर छुट्टयाउने बानी विकास हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले योजना कार्यान्वयनको तयारी गरिरहेको बताउँदै हाल टोल विकास संस्थाहरूलाई अभिमुखीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    माडी नगरपालिकामा दैनिक करिब आठ टन फोहर सङ्कलन हुने गर्दछ । पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड तथा दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले घेरिएको हरियाली उपत्यका तथा जैविक विविधताले सम्पन्न माडीमा करिब १० हजार घरधुरी बसोबास गर्दै आएका छन् ।रासस