Blog

  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

    चितवन, पुस २३-
    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उहाँको भनाइ छ ।

    पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताउनुभयो । “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उहाँले भन्नुभयो ।

    हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन् ।

    यसैबीच, नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको सडकमा टायल बिछ्ययाउने काम सुरु गरिएको छ । माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरुप टायल बिछ्याउन थालिएको हो ।

    माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार निकुञ्ज क्षेत्रमा टायल बिछ्याउँदा प्रभावकारिता कतिको हुन्छ भन्ने परीक्षणस्वरुप काम सुरु गरिएको हो । नगरपालिकाको रु १० लाख लागतमा सडकमा टायल बिछ्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुआतमा परीक्षणस्वरुप कम क्षेत्रमा काम गर्न लागिएको हो । यो काम सफल भएमा पुनः अन्य क्षेत्रमा विस्तार गरिनेछ ।”

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मगरका अनुसार वन तथा वातावरण मन्त्रालयमा सहमति भएर विभाग हुँदै पत्र आएपछि टायल बिछ्याउने काम सुरु गर्न अनुमति दिइएको हो । उहाँले भन्नुभयो, “सुरुमा ३४ मिटर परीक्षणस्वरुप काम गर्न दिइएको छ ।” यो परीक्षण सफल भएमा निकुञ्जको सडकमा पर्ने देउरालीसम्म नगरपालिकाको बजेटबाट टायल राख्ने काम गर्ने भन्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

    माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडकमध्ये अहिले ३४ मिटरमामा टायल बिछ्याइने र अन्य सडकलाई स्तरोन्नति गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुआती समयमा परीक्षणस्वरुप थोरै क्षेत्रमा टायल बिछ्याउन लागिएको छ भने अन्य सडकलाई स्तरोन्नति गर्न सुरु गरिएको छ ।” अहिले टायल लगाउनका लागि आवश्यक संरचना निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

    माडीका बासिन्दाले सो सडक कालोपत्र गर्न सरकारलाई दबाब दिँदै आएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति लिनुपर्ने भएपछि विकल्पका रूपमा टायल बिछ्याउने सहमतिअनुसार काम अघि बढाउन लागिएको नगरपालिका कार्यालयले जनाएको छ । रासस

  • महामन्त्रीहरुलाई हेपियो, यस्तो मानमर्दन पहिले हुँदैनथ्यो– गगन थापा

    महामन्त्रीहरुलाई हेपियो, यस्तो मानमर्दन पहिले हुँदैनथ्यो– गगन थापा

    पुष २३,काठमाडौं ।
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग भएको तालमेलको स्वामित्व आफूहरूले नलिने बताएका छन् ।

    कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकमा छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाए ।

    उम्मेदवारी छनोटको विषयमा पनि उनले विमति जनाए । उनले उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए ।

    उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो ।’

    उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए ।

  • नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

    नवलपुर, पुस २३
    नवलपुरको कावासोती नगरपालिका–१६ डण्डामा बसभित्रै सञ्चालन हुने नविनतम डिजिटल प्रविधि सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजनामा मंगलबारदेखि सुरु भएको तालिम बिहीबारसम्म चल्नेछ ।

    तालिममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल मार्केटिङ तथा डाटा एनालाइसिससम्बन्धी विषयमा नाष्टका विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् । प्रविधिको पहुँच कम भएका समुदायका युवाहरूलाई सूचना प्रविधिको प्रयोगमार्फत स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम आयोजना गरिएको नाष्टका वैज्ञानिक तथा प्रशिक्षक प्रदीप ढोडारीले बताए ।

    डिजिटल खाडल कम गर्ने र सूचना प्रविधि शिक्षा विस्तार गर्ने लक्ष्यका साथ थारु संग्राहलयको आग्रहमा तालिम सञ्चालन गरिएको उनले जानकारी दिए । तालिममा फेसबुक मोनेटाइजेसन, बुस्टिङ, फेसबुक रिल्स तथा युट्युब सामग्रीलाई गुणस्तरीय बनाई आयआर्जनसँग जोड्ने उपायहरू सिकाइने कम्प्युटर इन्जिनियर तथा प्रशिक्षक खेमराज पोख्रेलले बताए ।

    यसैगरी नयाँ–नयाँ उत्पादनको डिजिटल प्रचार–प्रसार, साइबर सुरक्षा, बैंकिङ सुरक्षा लगायतका विषयमा पनि प्रशिक्षण दिइने उनले जानकारी दिए । तालिममा थारु, माझी, मुसहर, बोटे लगायत समुदायका २० जना युवाहरूको सहभागिता रहेको छ ।

    नाष्टका वैज्ञानिक ढोडारीका अनुसार सन् २०२२ देखि हालसम्म सातै प्रदेशमा १४ हजारभन्दा बढीलाई यस्ता तालिम प्रदान गरिसकिएको छ । विशेषगरी सरकारी विद्यालयका विज्ञान शिक्षक, प्रहरी तथा पछाडि पारिएका समुदायका युवाहरूलाई लक्षित गरी तालिम सञ्चालन हुँदै आएको छ ।
    नाष्टका वैज्ञानिक ठकुरीका अनुसार अत्याधुनिक सुविधासहितको तालिम गाडी कोरियाली सरकारको सहयोगमा प्राप्त भएको हो । गाडीभित्र वाइफाइ, कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, साउण्ड सिस्टम र जेनेरेटरलगायत सुविधा उपलब्ध छन् । प्रशिक्षकहरूको पारिश्रमिक नेपाल सरकारले व्यहोर्नेछ भने सहभागीहरूको आवासीय व्यवस्थापन थारु संग्राहलयले गर्ने जनाएको छ ।

  • सुनको मूल्य घट्दा चाँदी भने बढेर ५ हजार नजिक

    सुनको मूल्य घट्दा चाँदी भने बढेर ५ हजार नजिक

    काठमाडौं , पुस २३ –
    नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेर सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै , आज बुधबार चाँदीको मूल्य भने बढेको छ ।

    चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर ४९ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

  • रास्वपाले प्रत्यक्ष सांसदका लागि खुलायो आवेदन, मोबाइल एपबाटै उम्मेदवारी दिन सकिने

    रास्वपाले प्रत्यक्ष सांसदका लागि खुलायो आवेदन, मोबाइल एपबाटै उम्मेदवारी दिन सकिने

    काठमाडौं,पुस २२-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आवेदन खुलाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन चाहनेका लागि रास्वपाले उम्मेदवारी समय तोकेको छ ।

    मंगलबार रास्वपाले सूचना जारी गर्दै पुस २६ गते राति १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने बताएको छ । उम्मेदवारी पार्टीको मोबाइल एप मार्फत पेस गर्न सकिने व्यवस्था गरिएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

  • सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल

    सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल

    नारायणगढ (चितवन), पुस २३-
    गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।

    नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्नेगरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् । कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ ।

    नदीमा अनियन्त्रित रूपमा माछा मार्ने, बालुवा र गिट्टी उत्खनन, फोहर फाल्ने तथा अन्य प्रदूषणयुक्त गतिविधिले घडियालको प्राकृतिक बासस्थानमा थप चुनौती सृजना गरेको छ । शान्त स्वभावको यो सरिसृप प्राणीको मुख्य आहार माछा हो । हाल विशेषगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका राप्ती नदी र नारायणी नदी घडियालका प्रमुख प्राकृतिक बासस्थान हुन् । घडियाल गोही महाकाली, बबई, कर्णाली, कालीगण्डकी, सप्तकोशीलगायत नदीमा पाइन्छन् । तर पछिल्लो समय अन्य नदीमा घडियाल लोप हुँदै गएको छ । हाल राप्ती र नारायणी नदी किनारमा मात्र यसको बढी प्राकृतिक बासस्थान भेटिने गरेको छ । यहाँ बर्खामा बाढी आउँदा घडियाल बगेर भारततर्फ पुग्ने गर्दछ । बाँध तथा नदीको बहाव परिवर्तनका कारण पुनः फर्कने सम्भावना कम हुनुका साथै नदीमा हुने प्राकृतिक वातावरणीय परिवर्तनले पनि यसलाई असर पारेको छ ।

    घडियाललाई घाम ताप्न आवश्यक पर्छ भने अण्डा पार्न नदीको समथर भाग आवश्यक हुन्छ । किनार नजिक खोलाको छेउतिर बालुवाको ढिस्को वा झाडी भएको स्थानमा यसले अण्डा पार्ने गर्दछ । यसको अण्डा कुखुराको अण्डाभन्दा ठूलो हुन्छ । प्रजननका क्रममा न्यून मात्रामा भाले जन्मने गर्छन् । फागुन–चैततिर पारेका अण्डा बालुवामुनि लुकाएको स्थानबाट मानिसहरूले झिकेर लाने तथा मासु र छालाका लागि गोही मार्नेजस्ता घटनाले घडियाल थप जोखिममा परेको बताइन्छ । घडियालका प्रमुख दुश्मन प्रदूषण र चोरीसिकार रहेको अधिकारीहरूको भनाइ छ । तापक्रमका आधारमा भाले–पोथी निर्धारण हुने भएकाले कम मात्रामा भाले जन्मने गर्दछ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्ष मङ्सिरमा राप्ती र नारायणी नदीमा गरिएको अवलोकनका क्रममा नौवटा भाले घडियाल भेटिएको बताउनुभयो । अवलोकनका क्रममा अघिल्ला वर्षको तुलनामा बढी भाले भेटिनुले संरक्षणमा केही सफलता मिलेको उहाँको भनाइ छ ।

    घडियाल तुलनात्मक रूपमा शान्त रहने र नदी तथा किनार छाडेर धेरै टाढा नजाने स्वभावको हुन्छ । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा घडियालको संरक्षण तथा प्रजनन गर्दै आइएको छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

    पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि घडियाललाई नदीमा छाड्ने गरिन्छ । प्राकृतिक बासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब १।५ मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छोड्न योग्य हुने थापा बताउनुहुन्छ ।

    विशेषगरी चैत–वैशाखमा नदी किनारमा घडियालले पारेका अण्डा सङ्कलन गरी प्रजनन गराउने गरिएको चितवन निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठ बताउनुहुन्छ । नदी किनारका प्रायः पहरिला र घाम लाग्ने स्थानको बालुवा खोस्रेर एकपटकमा १५ देखि ६० वटासम्म अण्डा पार्ने र ती अण्डा सङ्कलन गरी केन्द्रको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बेलाबेला यहाँ हुर्काएका घडियाल नदीमा छाड्ने गरेका छौँ । सोमबार कसरास्थित राप्ती नदीमा २० वटा घडियाल छाडियो । यो आर्थिक वर्षमा मात्र ५२ वटा घडियाल प्राकृतिक बासस्थानमा छोडिसकिएको छ ।”

    कुन तापक्रममा ह्याच गरियो भन्ने आधारमा घडियालको लिङ्ग निर्धारण हुने उहाँको भनाइ छ । उहाँका अनुसार ३०–३२ डिग्री सेल्सियस तापक्रममा ह्याच गरिएका अण्डाबाट भाले घडियाल र कम तापक्रममा ह्याच गरिएका अण्डाबाट पोथी घडियाल जन्मिने गर्छन् । प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राख्ने गरिएको छ । केन्द्रमा बच्चा हुर्काउन सजिलो नहुने र बाँच्नेको सङ्ख्या कम हुने उहाँले बताउनुभयो ।

    प्रजनन केन्द्रमा हुर्काइएका घडियाल सन् १९८१ देखि देशका विभिन्न नदीमा छाड्न थालिएको हो । निकुञ्जले प्राकृतिक वातावरण अनुकूल भएकाले बढी राप्ती र नारायणी नदीमा घडियाल छाड्दै आएको छ । साथै केन्द्रमा हुर्किएका घडियाल सप्तकोसी, बबई, कर्णाली र कालीगण्डकी नदीमा समेत छाडिएको छ । तर अवलोकनका क्रममा राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् ।

    प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरैमात्र जीवित रहने गरेको पाइएको छ । नदीमा छाडिएका कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । नदी प्रणालीमा रहेका घडियाल माछा मार्न प्रयोग हुने तियारी जालमा अल्झिएर मर्ने समस्या विकराल बन्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

    यस वर्ष मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा घडियाल भेटिएका छन् । तीमध्ये नौवटा भाले रहेका छन् । अघिल्ला वर्षको तुलनामा भाले घडियालको सङ्ख्या बढ्नु सकारात्मक सङ्केत भएको संरक्षण अधिकृत थापा बताउनुहुन्छ । थापाका अनुसार प्रजनन केन्द्रमा हुर्केका घडियाल हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १४२ घडियाल छाडिएका छन् । गत आर्थिक वर्षमा विभिन्न नदीमा १३३ घडियाल छाडिएको थियो । नदीमा छाडिएका कतिपय घडियाल बाढीले बगाएर लैजाने भएकाले अपेक्षाकृत रूपमा सङ्ख्या बढ्न नसकेको उहाँको भनाइ छ ।

    हाल प्रजनन केन्द्रमा ७१७ वटा घडियाल रहेका छन् । जसमध्ये ६५९ बच्चा, २८ अर्धबयस्क र ३० बयस्क छन् । केन्द्रमा हाल एउटा मात्र परिपक्व भाले घडियाल छ । गत वर्ष केन्द्रमा २३२ अण्डा सङ्कलन गरिएकामा २०२ अण्डा ह्याच भएका थिए । “अब भालेको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको छ । दिगो प्रजनन र सङ्ख्या वृद्धि आवश्यक छ”, थापाले भन्नुभयो । केन्द्रको वातावरण जङ्गली अवस्थासँग पूर्ण रूपमा मेल नखाँदा प्राकृतिकजस्तो गुणस्तरीय अण्डा उत्पादनमा समस्या देखिने गरेको छ ।

    विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यान्मारलगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्र सीमित भएका छन् । सन् १९४० को दशकमा विश्वमा करिब १० हजार रहेको घडियालको सङ्ख्या सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा झरेपछि संरक्षणमा चासो बढ्दै गएको हो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण र माछा मार्ने गतिविधिका कारण घडियालको प्राकृतिक बासस्थान सङ्कटमा परेको छ । रासस

  • एमालेले छान्यो राष्ट्रियसभाका लागि ६ उम्मेदवार

    एमालेले छान्यो राष्ट्रियसभाका लागि ६ उम्मेदवार

    काठमाडौँ २३ पुस 
    नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ उम्मेदवारको टुङ्गो लगाएको एक नेताले जानकारी दिए ।

    उनका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय भएको छ ।

    राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी सहमति भएको बताइएको छ । एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी रहेको बताइएको छ ।

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

    आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

  • ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी : अमेरिकी सेना परिचालन हुनसक्ने, नेटोमा फुटको खतरा

    ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी : अमेरिकी सेना परिचालन हुनसक्ने, नेटोमा फुटको खतरा

    एजेन्सीएजेन्सी

    अमेरिकी सेनाको प्रयोग सधैँ कमाण्डर-इन-चिफको नियन्त्रणमा रहने विकल्प भएको भन्दै ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गरेको छ। ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहोर्‍याएका छन्। तर, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमण गरेमा त्यो नेटो सैन्य गठबन्धनको अन्त्य हुने चेतावनी दिएकी छन्।

    युरोपेली राष्ट्रहरूको आपत्ति यसैबिच, बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन गरेका छन्। उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको र यसको भविष्यको निर्णय डेनमार्क र ग्रीनल्याण्डले मात्र गर्न पाउने स्पष्ट पारेका छन्। युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन्।

    ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय अखण्डताको सम्मान गर्दै सम्मानजनक संवाद हुनुपर्नेमा जोड दिएका छन्।

    विवादको पृष्ठभूमि यो विवाद अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेपपछि झनै चर्किएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिए लगत्तै ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिफन मिलरकी पत्नी केट मिलरले सामाजिक सञ्जालमा ग्रीनल्याण्डलाई अमेरिकी झण्डाको रङमा रंगाएको नक्सा पोस्ट गर्दै ‘चाँडै’ भनेर लेखेकी थिइन्।

    सोमबार स्टिफन मिलरले ग्रीनल्याण्ड अमेरिकाको हिस्सा हुनुपर्ने कुरा सरकारको औपचारिक धारणा भएको बताएका थिए। सीएनएनसँगको अन्तर्वार्तामा उनले ग्रीनल्याण्डको भविष्यका लागि अमेरिकासँग कसैले पनि युद्ध नगर्ने दाबी गरेका छन्।

    बीबीसी

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ २३ पुस
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • एक महिनापछि खुल्यो सिरहाकी किशोरी अविना वैधको हत्या प्रकरणको रहस्य

    एक महिनापछि खुल्यो सिरहाकी किशोरी अविना वैधको हत्या प्रकरणको रहस्य

    सिरहा, २२ पुस :
    कर्जन्हा नगरपालिकामा एक महिनाअघि मृत फेला परेकी १७ वर्षीया किशोरी अविना वैधको हत्याको विषयमा नयाँ तथ्य पत्ता लागेको छ ।

    प्रारम्भिक रूपमा रहस्यमय बनेको घटनामा फोन कल विवरण, भेटघाटको क्रम र आरोपीको बयानले हत्या आरोप पुष्टि भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), मधेस प्रदेश प्रहरी कार्यालय तथा स्थानीय प्रहरीको संयुक्त अनुसन्धानपछि धनुषाको क्षिरेश्वर नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालको अनुसार आरोपी र मृतकबीच पहिलेदेखि नै सम्पर्क र प्रेमसम्बन्ध रहेको खुलेको छ ।

    पत्रकार सम्मेलनमार्फत आज घटना विवरण सार्वजनिक गर्दै सूचना अधिकारी पालले भन्नुभयो, “घटनाअघि राति दुवैबीच भएको फोन सम्पर्क, भेट भएको स्थान र समय तथा घटनास्थलसँग मेल खाने प्रमाणका आधारमा हत्या उनैले गरेको निष्कर्षमा प्रहरी पुगेको हो ।” उहाँका अनुसार यी सबै प्राविधिक र परिस्थितिजन्य प्रमाणका आधारमा चौधरीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

    अभियुक्त चौधरी विवाहित व्यक्ति हुन् । प्रहरीका अनुसार उनका एक सन्तान पनि छन् । तर पछिल्लो समय श्रीमतीसँग पारिवारिक विवाद बढेपछि उनी अलग्गै बस्दै आएको खुलेको छ । गत मङ्सिर २२ गते अपराह्न करिब २ः४५ बजेतिर कर्जन्हा नगरपालिका–२ स्थित स्कुल टोल नजिक कमला सिँचाइ नहर छेउको झाडीमा बल्टिया निवासी सूर्यदेव वैधकी १७ वर्षीया छोरी अविनाको शव फेला परेको थियो ।

    सूचना अधिकारी पालका अनुसार घटनापछि आरोपी फरार रहेकाले अनुसन्धान जटिल बनेको थियो । तर कल डिटेल र बयानको विश्लेषणपछि घटनाको शृङ्खला जोड्न सफल भएको प्रहरीले जनाएको छ । हाल आरोपीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।