Blog

  • आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    काठमाडौँ, पुस २४ –
    नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

    नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।”

    एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

    निर्वाचनका सिलसिलामा सेनाले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहज होस् भन्ने हेतुले उक्त तालिम र अभ्यास गरिने छ ।

    मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने छ ।

    विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गरी सेनाले देशका विभिन्नस्थलमा सुरक्षा वेश स्थापना गर्ने तयारी गरेको छ । फागुन २१ गते मतदान सम्पन्न भएसँगै मत पेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षालगायतका जिम्मेवारी सेनाले गर्नेछ ।

    तोकिएको मितिमा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गर्ने सिलसिलामा अहिले प्रदेशस्तरमासमेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन् । गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ ।

    सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरु तयार रहेको सेनाको भनाइ छ । रासस

  • पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर अहिले सुनसान

    पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर अहिले सुनसान

    फुङ्लिङ (ताप्लेजुङ), पुस २४ –
    ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

    पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् ।

    पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो । पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटेल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका बताउनुभयो ।

    यसैबीच, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस वर्ष मङ्सिरपछि पनि फाट्टफुट्ट पर्यटक यहाँ आएका छन् । यस क्षेत्रको भ्रमण गर्नेमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको पहिलो याममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए । रासस

  • कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    कर्णाली, पुस २४ –
    कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एकरएक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई रु एक करोड, दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई रु एक करोड र कालिकाखेतु प्राथमिक स्वास्थ्यचौकीका लागि हिमा गाउँपालिकालाई रु एक करोडका लागि बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    त्यसैगरी, इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणका लागि रु ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न सङ्घीय सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय भएको छ । रासस

  • सुनको भाउ तोलामा २ हजार रुपैयाँ घट्यो

    सुनको भाउ तोलामा २ हजार रुपैयाँ घट्यो

    काठमाडौं , पुस २४ –
    नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको भएको छ ।
    अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो ।

    त्यस्तै,चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

  • शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    काठमाडौँ, पुस २४-
    काठमाडौँको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

    बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

    नेपालगञ्जको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ-७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

    नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २८ मध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेका छ भने पाँच जना उपचारपछि फर्किएका छन् । रासस

  • निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

    निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

    काठमाडौँ २४ पुस
    आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो ।

    निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।

    काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।

    साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् । माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौट भएका उम्मेदवारले माघ १५ देखि२४ गतेसम्म तालिम लिनुपर्ने छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
    त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौँ २४ पुस 
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

  • आज बिहीवार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज बिहीवार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष २४ गते । बिहीबार । ईश्वी सन् २०२६ जनवरी ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी, ८ घडी ४४ पला, बिहान १० बजेर २७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाफाल्गुनी, २३ घडी ४६ पला, बेलुकी ४ बजेर २८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–सौभाग्य, ३६ घडी ४० पला, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त शोभन । करण– तैतिल, बिहान १० बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह, बेलुकी १० बजेर मिनेट ३९ उप्रान्त कन्या ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २३ मिनेट । दिनमान २६ घडी ४ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । तर पनि सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलापमा सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तर पनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरु दिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई तीव्रता दिन सकिनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापार र शेयर बजारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईँको भनाई तथा रायलाई स्विकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँ कै प्रशंसा गर्दै हिँड्नेछन् ।

    तपाईँको दिन शुभ रहोस् ।

  • कुलमानले दिए मन्त्री पदबाट राजीनामा

    कुलमानले दिए मन्त्री पदबाट राजीनामा

    काठमाडौं, पुस २३
    तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।

    बुधबार बेलुकी ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

    उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्।

    घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिएत।

    केही समययता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए।

    एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन्।

  • जहरसिंह पौवा दुर्घटना अपडेट : ४ जनाको मृत्यु, २७ घाइते

    जहरसिंह पौवा दुर्घटना अपडेट : ४ जनाको मृत्यु, २७ घाइते

    २३ पुस, काठमाडौं-
    काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

    मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन् ।

    दुर्घटनामा परेकामध्ये स्तुपा अस्पतालमा १, नेपाल मेडिकल कलेजमा १ र शंखरापुर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।