Blog

  • चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

    चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

    चितवन, २९ पुसः 
    जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।

    यस कारागारबाट भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६२७ जना फर्किएका छन् । सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ ।

    सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिनुभयो ।

    यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीका समेत रहेका छन् ।

    कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।

    फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो ।

  • त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    चितवन, पुस २९

    त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ ।

    आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो ।उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो । खोजी कार्यमा खटिएका शसस्त्र प्रहरी हवल्दार ललित बहादुर काम्चाले उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेकोजानकारी दिए । उनले अझै उत्खनन् कार्य भइरहेको बताए ।

    २०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।

    दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन ।

     

  • भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

    भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

    सल्यान,पुस २९ –
    आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका २ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।

    घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए ।

    उनले धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको बताए । उनका अनुसार सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको छ ।

    आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका आफ्नोसहित राजेन्द्र विक, गंगाराम विक र अर्को एक जना गरी चारजनाको परिवार भागेर बच्न सफल भएको उनले जानकारी गराए । ‘अहिले हिमाचल प्रदेशको सोलान जिल्लाको सुरक्षाकर्मीको टोली शव संकलनमा लागेको छ । सिलिन्डर विस्फोटका कारण सबैको सब छियाछिया परेकाले संकलन गर्न कठिनाइ भएको छ,’ उनले भने ।

    घरको आर्थिक अवस्था दयनीय भएको र दुई छाक खर्च जुटाउन समस्या भएपछि मृतकका परिवारसहित टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल गएर मजदुरी गर्दै आएको उनको भनाइ छ । सिद्धकुमाख-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकले फोन गरेपछि घटनाको बारेमा थाहा पाएको बताए । दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको र मंगलबार शोक बिदा दिने निर्णय गरेको उनले जानकारी गराए ।

    सरकारले आफनै गाउँघरमा रोजगारको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरु अहिले पनि भारतको विभिन्न स्थानमा गएर मजदुरी गर्न बाध्य छन् । कहिले बाढी, पहिरो, कहिले दुर्घटना त कहिले आगलागीमा परेर ज्यान गुमाउँदै आएको बुढाथोकीले बताए । शव संकलनको काम भइरहेकाले उतै दाहसंस्कार गर्ने कि घरमै ल्याउने भन्ने विषयमा सिलोनको अर्कीमा रहेका स्थानीयसँग कुराकानी भइरहेको उनले जानकारी गराए ।

  • भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

    भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

    चितवन, पुस २९ –
    यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) भारतीय चेन होटल लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवद्र्धन हुने जनाइएको छ ।

    भरतपुर महानगरपालिका–१० विमानस्थल अगाडि रहेको सिविसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो । सिविसीका कार्यकारी अध्यक्ष दिनुप बराल र रिसोर्टका एसोसिएट भाइस प्रेसिडेन्ट शैलेज एन टेरीबीच सोमबार साँझ सम्झौता भएको हो ।

    सम्झौतासँगै लड्र्स सिविसी प्लाजाका नाममा होटल सञ्चालनमा आएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा टेरीले आफूहरुले भारतमा ७० , अमेरिकामा एक र नेपालमा योसहित तेस्रो होटलको व्यवस्थापन गरेको बताउनुभयो । काठमाडौँ, नेपालगञ्जपछि भरतपुरमा आफूहरुले होटलको व्यवस्थापन सुरु गरेको बताउनुभयो । यो आफ्नो समूहको ७४औँ होटल भएको भन्दै उहाँले नेपालको काठमाडौँमा थप एक र विराटनगरमा एक होटल व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो ।

    यस वर्ष लड्र्स ग्रुपले विभिन्न देशमा गरी थप १५ होटलको व्यवस्थापनको तयारी गरेको छ । उहाँले चेनमा चल्ने भएकाले विश्वबजारमा बजारीकरण गरेर पाहुना ल्याउने काममा लाग्ने बताउनुभयो । यो समूहले तीन तारेदेखि पाँच तारे होटलको व्यवस्थापन गर्दै आएको छ । ७४ होटलमा तीन हजारभन्दा बढी कोठा रहेको र वार्षिक सरदर ५० प्रतिशतभन्दा बढी भरिने गरेको उहाँले जानकारी दिनुभयो ।

    सोही अवसरमा सिविसीका कार्यकारी अध्यक्ष बरालले होटल ‘लड्र्स’ सिबिसी प्लाजासँगै सपिङ स्टोर ‘सेल्सबेरी’ एउटै कम्प्लेक्समा सञ्चालनमा रहेको बताउनुभयो । एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तला रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको छ । उहाँले अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विभिन्न देशमा चेन होटल सञ्चालन गरेका लड्र्ससँगको सहकार्यले व्यवसाय प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

    होटलमा ६० कोठा छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा छन् । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेका छन् ।

    रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ । भवनको माथिल्लो तलामा स्विमिङ पुल छ । सम्झौतासँगै होटलको खानामा १० प्रतिशत र कोठाहरुमा २५ प्रतिशत छुट गरिएको छ । रासस

  • सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

    सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

    काठमाडौँ, पुस २९-
    स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ ।

    गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु पाँच हजार १९५ मा किनबेच भएको थियो ।

    अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    नारायणगढ (चितवन), पुस २९-
    खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भर्नुभएको हो ।

    विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उहाँले भन्नुभयो, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।”

    ललितकला क्याम्पसबाट आर्टमा स्नातक गर्नुभएकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आउनुभएको छ । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय हुनुहुन्छ । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आउनुभएकी उहाँका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उहाँ भन्नुहुन्छ, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।”

    सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गर्नुभयो । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उहाँमा थियो । आज उहाँका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।

    “आर्ट भनेको प्यासन हो”, उहाँले भन्नुभयो, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उहाँ अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आउनुभएको छ । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आउनुभएको छ । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आउनुभएकी उहाँका कलाकृतिको माग बढ्दो छ ।

    चौधरीउहाँले भन्नुभयो, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।” सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।रासस

  • सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौं पुस,२९ –
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।

    मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागिता हुन आह्वान गरिएको छ ।महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । जसका कारण कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ ।

    विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने बताएका छन् ।विवाद समाधानका लागि अहिले बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष टोलीबीच वार्ता जारी छ ।

    संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।

  • कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    आज वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस्वी सन् २०२६ जनवरी १३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–दशमी, २३ घडी ७ पला, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–विशाखा, ४५ घडी ५२ पला, रातको १ बजेर १९ मिनेट उप्रान्त अनुराधा । योग–शूल, ३४ घडी २६ पला, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त गंड । करण–भद्रा, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त बव, रातको ५ बजेर १७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–तुला, बेलुकी ६ बजेर ४० मिनेट उप्रान्त वृश्चिक ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २६ मिनेट । दिनमान २६ घडी १४ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गरगहना, पहिरन, कस्मेटिक तथा खाद्यान्नको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । खानपान, किनमेल तथा मनोरञ्जनमा अधिकांश समय खर्च हुनेछ । होटेल तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । साँझपख गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पुँजी बजारमा होटेल तथा फाइनान्स क्षेत्रको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घर परिवारजनसँग घरायसी कुरामा मतभेद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा अविश्वास बढ्न तथा मन परेको मानिससँग छुट्नु पर्दा मन खिन्न हुनेछ । तर पनि साँझपख पहिरन, खाद्यान्न, फर्निचर, भाडा वर्तनका सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । अध्ययनमा भन्दा बाहिरी क्रियाकलापमा मन जानेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको बिक्री तथा मर्मतको व्यापारबाट मनग्गे लाभ हुनेछ भने भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे मुनाफा कमाउन सकिनेछ । साँझपख राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव लिएर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । गरगहना, पहिरन, खाद्यान्न र फर्निचरका सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक क्षेत्रमा आलोचनात्मक समर्थन पाइनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । तर पनि होटेल, पहिरन, खाद्यान्न तथा सवारी साधनको बिक्री र मर्मतबाट मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूले जनताको सेवामा समय खर्चँदा सम्मान पाइनेछ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) झन्झटिलो यात्रा हुनेछ भने सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । साँझपख विदेशी सामानको व्यापार, पहिरन, खाद्यान्न, स्वास्थ्य सामग्रीको बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा अन्य भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । सवारी साधनको बिक्री तथा मर्मतबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । पहिरन, सवारी साधन, फर्निचर, खाद्यान्न तथा स्वास्थ्य सामाग्रीको व्यापारबाट लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । साँझपख शैक्षिक यात्रा तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापारमा लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

    जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

    धेरै पटक राति सुत्नको बेला अचानक निन्द्रा खुल्छ। विशेषज्ञहरूको भनाइ अनुसार यसको पछाडि एउटा कारण ‘चिसो खुट्टा’ पनि हुन सक्छ।

    जाडो मौसममा खुट्टा चिसो हुनबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको राति मोजा लगाएर सुत्नु हो। तर के यो स्वास्थ्यकर बानी हो ? के मोजा लगाएर सुत्दा कुनै ‘साइड इफेक्ट’ पनि हुन सक्छ?

    विज्ञानले यस बारेमा के भन्छ?

    राति खुट्टा चिसो हुनबाट बच्न मोजा लगाउन सकिन्छ। यसले खुट्टा न्यानो रहन्छ र राति बारम्बार निन्द्रा पनि खुल्दैन। नेसनल स्लीप फाउन्डेसनका अनुसार, खुट्टा न्यानो हुँदा निन्द्रा छिटो लाग्छ। यसको अर्थ हो, यदि तपाईं मोजा लगाएर पल्टिनुहुन्छ भने निन्द्रा छिटो आउँछ।

    यसको वैज्ञानिक कारण के हो भने मोजा लगाउँदा खुट्टा तातो हुन्छ, जसले रगतका नसाहरू फैलाउँछ। यो प्रक्रियालाई ‘वेसोडिलेसन’ भनिन्छ। यसले शरीरलाई आरामको अवस्थामा लैजान्छ र निन्द्रा लाग्छ। त्यस्तै, जब खुट्टा चिसो हुन्छ, रगतका नसाहरू खुम्चिन्छन्, जसले गर्दा शरीरले आराम र निन्द्राको सही संकेत पाउन सक्दैन।

    सुतेको बेला शरीरको ‘कोर टेम्प्रेचर’ अर्थात् भित्री तापक्रम बिस्तारै कम हुन्छ। यो प्रक्रिया राम्रो निन्द्राका लागि आवश्यक छ। यदि खुट्टा चिसो भयो भने शरीरलाई बाहिरको वातावरणको तापक्रम कम भइरहेको महसुस हुन्छ। त्यसैले शरीरले आफ्नो गर्मी बचाउन यसलाई भित्रतिर तान्न थाल्छ, जसका कारण शरीरको कोर टेम्प्रेचर कम हुन पाउँदैन।

    के मोजा लगाएर सुत्दा साँच्चै छिटो निन्द्रा लाग्छ?

    नेसनल स्लीप फाउन्डेसन र अन्य केही अनुसन्धानका अनुसार, मोजा लगाएर सुत्दा केही मानिसहरूलाई छिटो निन्द्रा लाग्न सक्छ। वास्तवमा खुट्टा तातो हुँदा दिमागले आराम र निन्द्राको संकेत पाउँछ। खुट्टा तातो हुँदा रक्तसञ्चार राम्रो हुन्छ र शरीर ‘रिल्याक्स मोड’ मा जान्छ।

    त्यसैले मोजा लगाएर सुत्दा औसत १०-१५ मिनेट अगाडि नै निन्द्रा लाग्छ। यद्यपि, हरेक व्यक्तिमा यसको असर एकनास हुँदैन। खुट्टा चिसो हुने समस्या भएकाहरूका लागि यो उपाय प्रभावकारी साबित हुन सक्छ।

    मोजा लगाएर सुत्नुका अरू के फाइदा छन्?

    शरीरलाई न्यानो राख्नुका अलावा मोजा लगाएर सुत्नुका केही अन्य फाइदाहरू पनि छन्–

    • हट फ्ल्यासेज : रजोनिवृत्ति सुरु हुनु अघिको अवस्था बाट गुज्रिरहेका महिलाहरूका लागि यो फाइदाजनक छ। मोजा लगाउँदा शरीरको कोर टेम्प्रेचर कम रहन्छ र ‘हट फ्ल्यासेज’ हुँदैन।

    • फुटेको कुर्कुच्चा : मोजा लगाएर सुत्दा फुटेको कुर्कुच्चा निको हुन्छ।

    • रेनाड्स अट्याक : मोजा लगाएर सुत्दा खुट्टा तातो रहन्छ र रेनाड्स अट्याकको सम्भावना कम हुन्छ। (जसलाई रेनाड्स डिजिज हुन्छ, चिसो वा तनावले उनीहरूको हात-खुट्टाका औँलाहरूमा रक्त प्रवाह अचानक कम हुन्छ।)

    खुट्टा तातो हुँदा दिमागले शरीर सुरक्षित र आरामको अवस्थामा छ भन्ने सन्देश पाउँछ। यसले दिमागलाई अब पूर्ण रूपमा सक्रिय रहनु पर्दैन र निन्द्राको प्रक्रिया सुरु गर्न सकिन्छ भन्ने संकेत पनि दिन्छ। यो सन्देशले निन्द्राको हर्मोन ‘मेलाटोनिन’ रिलिज गर्न पनि मद्दत गर्छ। सजिलो भाषामा बुझ्दा, खुट्टा तातो हुँदा दिमागले निन्द्राको संकेत पाउँछ।

    केही मानिसहरूको खुट्टा प्रायः चिसो भइरहन्छ, उनीहरूलाई जाडोमा बढी समस्या हुन्छ। यसले निन्द्रामा पनि असर गर्छ।

    यस्ता सबै मानिसहरूलाई मोजा लगाएर सुत्दा फाइदा हुन सक्छ। उनीहरूको निन्द्राको गुणस्तर राम्रो हुन सक्छ।

    के मोजा लगाएर सुत्दा फुटेका कुर्कुच्चा नरम हुन्छन्?

    हो, सही तरिकाले मोजा लगाउँदा फुटेको कुर्कुच्चामा आराम मिल्न सक्छ। यदि सुत्नुभन्दा अघि खुट्टामा मोइस्चराइजर वा नरिवलको तेल लगाएर सुतीको (कटन) मोजा लगाउने हो भने, खुट्टामा नमी कायम रहन्छ। यसले छालालाई निको हुन समय दिन्छ र कुर्कुच्चा बिस्तारै नरम हुन्छन्। यद्यपि, मोजा सफा र खुकुलो हुनुपर्छ। फोहोर वा टाइट मोजा लगाउँदा छालामा जलन वा फंगल इन्फेक्सनको खतरा बढ्न सक्छ।

    के यो बानी हरेक मौसममा र हरेक व्यक्तिका लागि फाइदाजनक छ?

    होइन, मोजा लगाएर सुत्नु हरेक मौसम र हरेक व्यक्तिका लागि फाइदाजनक छैन। जाडोमा वा एसी भएको कोठामा यो बानी बढी फाइदाजनक हुन्छ।

    गर्मी र ओसिलो मौसममा मोजा लगाउँदा पसिना आउन सक्छ, जसले निन्द्रा बिगार्न सक्छ। जसलाई राति धेरै गर्मी लाग्छ, उनीहरूका लागि यो बानी हानिकारक हुन सक्छ। त्यसैले यो एउटा व्यक्तिगत रोजाइ हो। यदि मोजा लगाउँदा आराम र राम्रो निन्द्रा लाग्छ भने मात्र यसलाई अपनाउनुपर्छ।

    के धेरै टाइट वा सिन्थेटिक मोजा लगाउँदा इन्फेक्सन हुन सक्छ?

    धेरै टाइट वा सिन्थेटिक मोजा लगाउँदा फंगल इन्फेक्सनको खतरा बढ्न सक्छ। सिन्थेटिक कपडाले हावा पास हुन दिँदैन, जसले गर्दा पसिना थुनिन्छ। नमी र गर्मीले ब्याक्टेरिया र फंगस फैलिनको लागि सही वातावरण बनाउँछ।

    त्यस्तै, टाइट मोजाले रक्त प्रवाहलाई पनि असर गर्न सक्छ। त्यसैले सुत्ने बेला सधैं खुकुलो, सफा, सुती वा ऊनको मोजा लगाउने सल्लाह दिइन्छ, ताकि खुट्टा सुख्खा र सुरक्षित रहुन्।

    मोजा लगाउनु बाहेक खुट्टा न्यानो राख्ने अरू के उपाय छन्?

    यदि मोजा लगाउन मन पर्दैन भने खुट्टा न्यानो राख्ने अन्य तरिकाहरू पनि छन्।

    • सुत्नुअघि मनतातो पानीले खुट्टा धुने वा ‘फुट बाथ’ लिने गर्दा फाइदाजनक हुन सक्छ।

    • हल्का मालिस गर्दा रक्तसञ्चार राम्रो हुन्छ।

    • कम्बलभित्र खुट्टा पूरै छोपेर राख्दा पनि मद्दत मिल्छ।

    • केही मानिसहरू सुत्नुअघि तातो पानीको बोतल प्रयोग गर्छन्, तर यसमा सावधानी अपनाउनुपर्छ।

    • यी सबै तरिकाले पनि खुट्टा तातो रहन्छ र निन्द्रामा सुधार हुन सक्छ।

    एजेन्सीको सहयोगमा

     

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

    काठमाडौँ, २८ पुसः
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ ।