Blog

  • आज देशभरको मौसम मुख्यतया सफा रहने

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    काठमाडौँ पुस २८
    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ।

    तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

  • चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

    चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

    काठमाडौँ, २७ पुसः 
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।
    कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,  “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।”
    महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताउनुभयो । “कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” उहाँले भन्नुभयो ।
    कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताउनुभयो ।
  • गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

    गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

    गैँडाकोट, २७ पुस-
    चौथो गैँडाकोट महोत्सवको आज आइतबार १० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार सार्वजनिक बिदाको दिन परेकाले महोत्सवस्थलमा दर्शकहरुको उपस्थिति राम्रो देखिएको हो ।

    महोत्सव सुरु भएको तेस्रो दिनमै १० हजार दर्शकले अवलोकन गर्नु सकारात्मक पक्ष भएको सापकोटाले बताए । आगामी दिनमा दर्शकहरुको संख्या अझै बढ्दै जाने सापकोटाले बताए । महोत्सवमा २५० व्यावसायिक स्टलसँगै जलपरी, फिस टनेल, ओपेरा हाउस, कृषि उपज प्रदर्शनी, मुस्ताङको याक राखिएको सापकोटाले जानकारी दिए ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका महासचिव एवम् महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

    महोत्सव स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजी सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी भइरहेको पाण्डेको भनाइ छ । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा अवलोकनका लागि दुई लाख भन्दा बढी दर्शक आउने भन्दै पाण्डेले महोत्सवमा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।

    महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सव मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले जानकारी दिए । कँडेलकाअनुसार ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

  • चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

    चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

    गैँडाकोट, २७ पुस
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई दर्शकले साथ दिएका छन् । आइतबार साँझ महोत्सवको स्टेज उक्लिएकी समीक्षालाई दर्शकहरुले करिब एक घण्टा साथ दिए ।

    साँझमा नारायणीको चिसो बढ्दै जाँद स्टेजमा उक्लिएकी समीक्षाका गीतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान ग¥यो । उनले आफ्ना चर्चित गीतहरुद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

    छड्के गलबन्दी, दुस्मन हेरेको हेरेइ, बिजुली बालेरलगायत १० भन्दा बढी गीत गाएर समीक्षालाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।

    लम्सालकाअनुसार आइतबार महोत्सवमा समीक्षासँगै सरिता गुरुङ तथा आरसी पौडेल र दीपक खड्काले प्रस्तुती राखेका थिए । त्यसैगरी, महोत्सवमा आजदेखि भजन प्रतियोगितासमेत सुरु भएको छ ।

    महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको भजन प्रतियोगितामा १८ वटा भजन समूहको सहभागिता रहेको छ ।

  • यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

    यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

    काठमाडौं, पुस २७-
    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् ।

    उनले कांग्रेसमा नबोल भनेर कसैले भन्दैगर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको भनाइ छ ।

    ‘कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन ।

    हामी सबै बराबर छौं,’ थापाले भने ।

    साथै, उनले थ पभने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन ।

    जसले प्रश्न गर्न सकदैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईंहरूको प्रयसाले कांग्रेसलाई ज्यूँदो राखेको छ ।’

  • ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

    ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

    काठमाडौं, पुस २७-
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

    महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइयो।

    देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ६२.४ प्रतिशत भनेको २९०० भन्दा बढी हुन आउँछ। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।

    नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।

  • पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

    पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

    २७ पुस, काठमाडौं –
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् ।

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।

  • ‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

    ‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

    काठमाडौं पुस २७-
    नेपालीभाषी भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन् । ४३ वर्षको उमेरमा गायक तामाङको आइतबार भारतको नयाँ दिल्लीमा निधन भएको छ । गायन रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको विजेता बनेसँगै उनी भारतका साथै नेपालमा समेत चर्चामा आएका थिए ।

    हिन्दी र नेपाली गरेर थुप्रै गीतमा स्वर दिएका तामाङले केही नेपाली फिल्ममा समेत शीर्ष भूमिकामा अभिनय गरेका छन् । ‘गोरखा पल्टन’, ‘निशानी’, ‘किन मायामा’, ‘अँगालो यो मायाको’,‘परदेशी’, ‘धड्कन भित्र’, ‘परदेशी २’ मा उनले अभिनय गरेका छन् । उनको पछिल्लो नेपाली फिल्म ‘लडाइँ पहिचानको’ हो । यो फिल्म गत मंसिर ५ गते प्रदर्शनमा आएको थियो ।

    चर्चित वेब–सिरिज ‘पाताल लोक’मा समेत काम गरेका उनी पछिल्लो समय सलमान खानको फिल्म ’ब्याटल अफ गलवान’मा व्यस्त थिए । तर छायांकन सकेर डबिङ गर्न नपाउँदै तामाङको निधन भयो । उनको हृदयघातका कारण निधन भएको जनाइएको छ ।

    गायक तामाङको निधनप्रति नेपाली कलाकर्मीले पनि गहिरो दुःख व्यक्त गरेका छन् । अभिनेत्री केकी अधिकारीले प्रशान्त तामाङलाई इन्डियन आइडल मार्फत संसारभर छरिएका सम्पूर्ण नेपालीभाषीलाई एउटै भावनामा बाँध्न सफल गायकको रूपमा लिएको बताएकी छन् । केकीले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, ‘असामयिक निधनको खबरले शून्यता महसुस गराएको छ । २०१०–०११ तिर उहाँको स्वरमा सजिएको गीत ‘मनसाइली’मा अभिनय गर्दाका ती अमूल्य पलहरू र ‘परदेशी–२’ मा सँगै काम गर्दाका सम्झनाहरू आज झल्झली मनमा आइरहेका छन् । उहाँको संगीत, सरलता र मुस्कान सधैं हामीमाझ जीवित रहनेछ । प्रिय प्रशान्तजीप्रति हार्दिक श्रद्धाञ्जली ।‘

    ‘परदेशी’ फिल्मकी अभिनेत्री रजनी केसीले तामाङलाई प्रतिभाशाली कलाकारको रुपमा चर्चा गरेकी छन् । तामाङसँगको एक तस्बिर सेयर गर्दै उनी लेख्छिन्, ‘एकै चलचित्रमा सँगै काम गर्ने अवसर पाएको यस्तो प्रतिभाशाली कलाकार र गायकको असामयिक निधनले अत्यन्त दुःखित बनायो । उहाँको कला र स्मृतिहरू सधैं हृदयमा रहनेछन् । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना ।’

    अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले प्रशान्तसँगको तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘अल्पायुमै निधन, दु:खद् खबर । प्रशान्तजीको आत्माले शान्ति पाओस् । परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।’

    कलाकार निर्मल शर्माले प्रशान्त तामाङ दृष्टिबाट गायब भएपनि सम्झनाबाट कहिल्यै टाढा नहुने बताएका छन् ।

    अभिनेता जितु नेपालले पनि तामाङसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै दुःख व्यक्त गरेका छन् । ‘यो अकल्पनीय र अत्यन्तै दुःखद् समाचार लेख्नुपर्दा म अत्यन्तै मर्माहत छु । स्वर्गीय प्रशान्तजीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । भगवानले यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरुन्,’ उनले भनेका छन् । गायक प्रमोद खरेलले ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्‍यो’ भनेर लेखेका छन् ।

    गायिका आस्था राउतले दिवंगत प्रशान्त तामाङको अनन्त शान्तिको कामना गरेकी छन् । उनले प्रशान्त तामाङको निधन नेपालीभाषी सबैका लागि दु:खद् घटना भएको बताएकी छन् । ‘कहिलेकाहीं सामाजिक सञ्जालमार्फत कुरा पनि हुने गरेको थियो । उहाँ नेपालका लागि चिन्तित हुनुहुन्थ्यो,’ आस्थाले भनेकी छन् ।

    हास्य कलाकार मनोज गजुरेलले लेखेका छन्, ‘नेपालीभाषी विश्वबासीलाई एउटै मालामा जोड्ने प्रशान्त तामाङप्रति हार्दिक श्रद्धान्जली । यो विशाल समुदायले तपाईंलाई युगौंयुगसम्म सम्झिरहनेछ । स्वर्गमा बास होस् प्रिय प्रशान्त ।’

  • कांग्रेस विशेष महाधिवेशन सुरु

    कांग्रेस विशेष महाधिवेशन सुरु

    काठमाडौँ, पुस २७-
    नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

    विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।

    उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुभएको छ ।

    विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।

    विशेष महाधिवेशनलका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाएको छ । पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ । रासस

  • ‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

    ‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

    गलेश्वर (म्याग्दी), पुस २७-
    यहाँको बेनी नगरपालिका–७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले मङ्गलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले मेसिनको सहायताले कपडा धुने कामबाट दैनिक दैनिक रु १० हजार बढी कमाइ गर्दै आउनुभएको हो ।

    वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा बसेर उद्यमबाट विदेशमा भन्दा बढी कमाउन सकिने र आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको स्थानीय शेरबहादुर खड्काले बताउनुभयो । अध्ययनसँगै व्यवसायलाई अघि बढाउँदै राजनले बेनी र बागलुङमा गरी दुई स्थानमा ‘क्लिन लन्ड्री’ सञ्चालन गरी दैनिक रु १० हजारसम्म आम्दानी गरिरहनुभएको उहाँले जानकारी दिनुभयो ।

    आफ्नै घरबाट सुरु गरिएको बेनी क्लिन लन्ड्रीलाई व्यवस्थित बनाउँदै पौडेलले बागलुङ बजारमासमेत सेवा विस्तार गर्नुभएको हो । आधुनिक मेसिन प्रयोग गरी लुगा धुने, सुकाउने र प्रेस गर्ने सेवा प्रदान गर्दै आएको उक्त लन्ड्रीले छोटो समयमा बजारम पहिचान बनाएको छ ।

    म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह ९बिए० दोस्रो वर्षमा अध्ययनरत पौडेलका अनुसार विद्युत्, सर्फ, पानी, भाँडा, मर्मत तथा अन्य सबै खर्च कटाएर पनि दैनिक रु पाँच हजारभन्दा बढी बचत हुने गरेको छ ।

    “पढाइसँगै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “सेवामा इमानदार भए ग्राहक आफैँ आउँछन्, आम्दानी आफैँ बढ्छ ।” स्थानीय बजारमा व्यस्त जीवनशैलीका कारण क्लिन लन्ड्री सेवाको माग बढ्दै गएको उहाँको भनाइ छ । यही अवसरलाई पहिचान गरेर अघि बढ्दा स्वदेशमा सम्भावना देखेको पौडेलको अनुभव छ । उहाँले ग्राहकको घरमा पुगेर कपडा ल्याउने र धोएपछि पुनः पु¥याउने ९होम डेलिभरी० सेवा प्रदान गर्नुहुन्छ । “काम सानो–ठूलो हुँदैन”, उहाँले भन्नुभयो “परिश्रम गर्ने हो भने आफ्नै घरमा बसेर पनि मनग्य कमाइ गर्न सकिन्छ ।”

    उहाँको व्यवसायले स्थानीयस्तरमा सेवा सुविधा थप्नुका साथै रोजगारीको सम्भावनासमेत सिर्जना गरेको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । “पौडेलजस्ता युवाको पहलले स्वदेशमै उद्यम सम्भव छ भन्ने विश्वास जगाएको छ । यस्ता युवालाई सहयोग र प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    ग्राहक पनि पौडेलको सेवाप्रति सन्तुष्ट देखिन्छन् । बेनी क्लिन लन्ड्रीमा नियमित ग्राहक एक सेवाग्राहीले भने कपडा धुवाउँदै आउनुभएको सन्देश फगामीले भन्नुभयो, “समयमै काम हुन्छ, लुगा सफा र सुरक्षित हुन्छन् । स्थानीय युवाले सुरु गरेको व्यवसाय भएकाले हामीलाई पनि गर्व लाग्छ ।”

    पौडेलको यो सफलताले रोजगारीका लागि विदेश जानैपर्छ भन्ने मानसिकतालाई चुनौती दिएको छ । स्थानीय स्रोत, सीप र बजारलाई सही रूपमा उपयोग गर्न सके युवाले स्वदेशमै सम्मानजनक जीवनयापन गर्न सक्ने उदाहरण बनेको छ । रासस