Blog

  • रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

    रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

    रत्ननगर, ३० पुसः
    पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणको छैठौं दिन बुधबार सम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अबलोकन गरेका छन् । पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गते सम्म आइपुग्दा अबलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । संघका कोषाध्यक्ष विनोद घिमिरेले टिकट विक्रीको संख्या अपेक्षाकृत रहेको र महोत्सव अबलोकनकर्ताको संख्या बढ्दै गएको बताए ।

    संघका अध्यक्ष शंकर गिरीले माघ १ गतेबाट महोत्सवमा अबलोकनकर्ताको संख्या झनै बढ्ने दावी गरे । माघ १ गतेबाट अबलोकनकर्ताको संख्या थग्नै नसक्ने गरी बढ्ने अनुमान गरेका छौं उनले भने त्यसका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौं । महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

    महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।

    कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका अध्यक्ष गिरीले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।

    महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ । यसैबीच रत्ननगर महोत्सव अन्तर्गत खानाको लागि खेतिपाति, भविश्यको खेतिपातिको चुनाती र अबसर तथा गीर गाई प्रर्बद्धन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको हो । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रका विज्ञहरुले अर्गानिक खेतीको प्रमाणिकरण र लगानीमा सरकार उदासीन रहेको बताएका थिए ।

    कार्यक्रममा भविश्यको खेतिपातिका अभियान्ता डा.कृष्णप्रसाद पौडेलले खानाको लागि खेतिपाति, भविश्यको खेतिपातिको चुनाती र अबसरका विषयमा कार्यपत्र तथा अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले नेपालका गीर गाईको पालनको सम्भावना र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    डा.पौडेलको कार्यपत्र माथि बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेती तर्फ किसानको ध्यान जान नसकेको बताएका थिए । व्यवसायिक खेती गर्ने नाममा विहान बेलुका हातमुख जोर्ने खानाको उत्पादन प्रति बेवास्था हुने गरेको भन्दै उक्त कार्यले भविश्मा संकट पैदा हुने उनले बताए । सोही कार्यपत्र माथि बोल्दै कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणिकरण र बजारीकरणको समस्या रहेको बताइन् ।

    अर्गानिक उत्पादनलाई विहान बेलुका हातमुख जोर्ने माध्यम बनाउनु पर्ने भन्दै उनले अन्नबालीमा विषादीको प्रयोगले माटो जर्जर बनेको उल्लेख गरे । नेपालमा गीरगाई पालन सुरु गरेका खैरहनीका घिमिरेले नेपालमा गीरगाईको संख्या ५० को हाराहारीमा रहेको उल्लेख गर्दै चितवनमा ९ वटा मात्र रहेको जानकारी दिए ।

    तराईमा गीरगाई पालनको सम्भावना उच्च रहेको भन्दै यहाँको हावापानीमा गीरगाई सजिलै हुर्कन सक्ने बताए । अनुभवी किसान हरि अधिकारीले खाद्यबालीमा रासायनिक मलको प्रयोगले माटोको उर्भराशक्ति शुन्यमा झरिसकेको बताए । रासायनिक मलको प्रयोगले माटो विग्रियो उनले भने सुधार गर्न राज्य गम्भिर देखिएन् ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले रत्ननगर महोत्सवमा रैथाने बाली र पशुपालन विकासको लागि प्रर्बद्धनात्मक कार्यक्रम गरिएको बताए ।

    संघका पूर्वअध्यक्ष तथा गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रत्ननगर महोत्सवमा कृषि र पशुपालनको व्यवसायिक विकास तथा बजारीकरणको पाटोलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै यस पटक महको उत्पादन र बजारीकरण, रैथानेबालीको संरक्षण र गीरगाई पालनलाई स्थापित गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले चितवनको तरकारी खेतीमा ६० प्रतिशत बढी विषादीको प्रयोग हुँदै आएको भन्दै न्यूनीकरणमा नलागे संकट उत्पन्न हुने बताए । कार्यक्रममा पूर्वमन्त्री केशबलाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय अर्याल, लगायतले मन्तव्य राखेका थिए । महोत्सवको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाल लगायतको उपस्थिति रहेको थियो ।

  • चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

    चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

    पुष ३०, चितवन-
    चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रर्वद्धन गर्न नेपाल एग्रीटेक एक्स्पो हुने भएको छ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा यही माघ २ देखि ४ गतेसम्म चितवन प्रर्दशनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२” हुने भएको हो ।

    आयोजकले आज (बुधबार) पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागितामा एक्स्पो गर्न लागिएको जानकारी दिए । उनका अनुसार तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहनेछन । हालसम्म स्टलहरु बुकिङ भईसकेको र तयारी अन्तिम चरणमा रहेको छ ।

    प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने भट्टराइले बताए । ’प्रर्दशनीमा साना कृषिऔजारदेखि लिएर डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा समेत उपलब्ध गराइनेछ, उनले भने, यस एक्स्पो केवल प्रदर्शनीमा मात्र सीमित नरहेर कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, वजारीकरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रूपमा रहने हाम्रो अपेक्षा हो ।’

    यस एक्स्पोले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पु¥याउने र यसको प्रयोगमार्फत कृषिउत्पादन वृद्धि गर्ने र दीर्घकालीन रूपमा मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

    प्रर्दशनीमा विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि प्रदर्शनीले व्यवहारिक ज्ञान आर्जन, आधुनिक प्रविधिको अवलोकन तथा नेटवर्किङको महत्वपूर्ण अवसर प्रदान हुनेछ । प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस प्रकारका प्रर्दशनीले कृषिऔजार, यान्त्रीकरण, नवीन प्रविधि तथा सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी, किफायती, व्यावसायिक र आत्मनिर्भर मदत पुग्ने चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले बताए । ’यस ‘प्रदर्शनीले कृषि र पशुपालन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा हामीले गरेका छौं ।’उपाध्यक्ष अधिकारीले भने । कार्यक्रममा फुचुरेक्सका उपनिर्देशक मुवसिर इलाही, मिडिया स्पेसका निर्देशक द्धय सौरव रजौरिया, प्रताप सिंह विष्ट लगायतको सहभागिता थियो ।

    यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।

  • कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

    कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

    काठमाडौं,पुस ३०-
    पार्टीले ५ वर्षको लागि निष्कासन गरेपछि गगन थापाले आफूहरूलाई केही लोभ नभएको बताएका छन् । बहुमत महाधिवेशनका प्रतिनिधि भए पनि निर्वाचन नगरी सहमतिको प्रयास गरेपछि पार्टीले अल्मल्याउने काम गरेको बताएका हुन् ।

    ‘हामीलाई केही चाहिएको छैन । विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम सभापति चुनौँ । पूर्णबहादुर खड्का, शेखर कोइराला जसलाई बनाएर जाँदा पनि हुन्छ भन्यौँ,’ थापाले बन्दसत्रमा भने, ‘एउटा टेक्ने ठाउँ दिनुस्, २१ फागुनको निर्वाचनमा जाने वातावरण बनाइदिनुस् भनेका हौँ । म सभापति बन्ने कुरा र विश्वप्रकाशको पदसँग जोडिएको विषय होइन ।’

  • मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

    मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

    तनहुँ, पुस ३० –
    जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटवासीले वर्षौंदेखि खानेपानी समस्या खेप्दै आएकामा चालु आर्थिक वर्षदेखि उक्त समस्या समाधान हुने भएको छ । मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न भएसँगै चालु आवदेखि खानेपानी वितरण गरिने आयोजना कार्यालयले जनाएको छ ।

    सङ्घीय सरकारबाट गत वर्ष रु दुई करोड बजेट विनियोजन भएपछि सुरु गरिएको कामको हालसम्म ८० प्रतिशत काम पूरा भइसकेको छ भने तीव्र गतिमा काम भइरहेकाले चालु आवमा सम्पन्न गर्न नगरपालिका सक्रिय रहेको छ ।

    अन्तिम चरणमा रहेको उक्त आयोजना सम्पन्न गर्नका लागि व्यास नगरपालिकाले आन्तरिक स्रोतबाट रु ८५ लाख बजेट विनियोजन गरेको छ । सोही वडास्थित पासर्दी खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजान लागिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मुहानबाट करिब ५०० मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पु¥याउन लागिएको हो ।

    वडाध्यक्ष श्रेष्ठले भौतिक निर्माणका सबै संरचना सकिएका बताउँदै अब विद्युत्का खम्बा गाड्ने, ट्रान्समिटर जडान गर्ने, पानी लिफ्ट गर्नेलगायत काम बाँकी रहेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका एक र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्याङ्की निर्माण गरिएका छन् ।”

    मानुङकोट क्षेत्रका बासिन्दालाई पानी पुग्ने गरी मुहानमा इन्टेक बनाउने काम अघि बढिसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस/तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरिएका छन् ।

    पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव रहँदै आएका स्थानीयले बताएका छन् । “केही मुहानमा विवाद हुँदा निर्माण ढिलाइ भयो, यो आयोजनाका विषयमा अदालतबाट नगरपालिकाको पक्षमा फैसला भएको छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “बाँकी काम सम्पन्न गरी बढीमा दुई–तीन महिनाभित्र खानेपानी पु¥याउने लक्ष्य लिइएको छ ।”

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा पानीको ट्याङ्की निर्माण गर्न थालिएको बताउनुभयो । “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ”, उहाँले भन्नुभयो, “हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ, यहाँको खानेपानी समस्या अब छिट्टै समाधान हुँदैछ ।”

    विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँसरी मानुङकोटको फेदीतर्फ झरेका छन् । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि पुनः फर्किन थालेका छन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

    “विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि स्थानीय मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन्”, उहाँले भन्नुभयो ।

    पछिल्ला समय यहाँ सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या समाधान नहुँदासम्म सास्ती भोग्नुपरेको व्यवसायी चूडामणि दाहालले बताउनुभयो । “ढिलै भए पनि खानेपानी आउँछ भन्नेमा मानुङकोटवासी ढुक्क छौँ । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि देखाएको तदारुकता सराहनीय छ”, उहाँले भन्नुभयो ।

    दमौलीबाट करिब आठ किमी दूरीमध्ये तीन किमीमा कालोपत्र गरिनुका साथै दुई लेनको सडक विस्तार हुन सके पर्यटकीयको ‘हब’ बन्ने प्रचुर सम्भावना देखिएको पूर्वजनप्रतिनिधिसमेत रहनुभएका दाहालले बताउनुभयो ।

    यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउँन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने हुँदा पर्यटकको आकर्षणस्थल बन्ने गरेको दाहालले बताउनुभयो ।

    यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

    यी मनोरम दृश्यावलोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका स्थानीय गाउँ फर्किएर विभिन्न व्यापार, व्यावसाय सञ्चालन गर्न थालेका हुन् । पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन् ।

    मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका छन् । रासस

  • गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

    गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

    काठमाडौं, पुस ३०-
    नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो ।

    पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । उनीहरूले उक्त निर्णयमा फरक मत राखेका थिए ।

    विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।

    पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन । विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिए । सोहीअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ । निर्वाचन समितिले अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको बताएका छन् ।

  • देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

    देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

    चितवन, पुस ३० –
    देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो ।

    त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल, समितिका सदस्यलगायत स्थानीयको बाक्लो उपस्थिति थियो ।

    मेलाको सुरक्षाका निम्ति सम्पूर्ण व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राससलाई जानकारी दिनुभयो । यो वर्ष तीन लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । रासस

  • चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

    चितवन,पुस ३०-
    राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले चितवनका युवा व्यवसायी निर्देश सेढाईलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति उनलाई पक्राउ गरेको हो । केही दिनअघि अनधिकृत रूपमा प्रदर्शन गर्नका लागि व्यक्तिगत रूपमा मेसेज आएको भन्दै गोपनीयता भंग भएको भन्दै टेलिकमको आलोचना भएको थियो।

    ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउनको लागि पुस ३० गते १२ बजे बालुवाटार। निर्देश सेढाईं,’ भनिएको उल्लेख थियो। टेलिकमले मंगलबार विज्ञप्ति नै जारी गरी व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरेको बताएको थियो।

    ‘सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‌‌भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ। आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरूलाई अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

  • काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

    काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

    काठमाडौँ, पुस ३०-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो ।

    यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा राजन भट्टराईले बताउनुभयो ।

    एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।रासस

  • सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

    सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

    कमलामाई (सिन्धुली), पुस ३० –
    सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

    खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । रासस

  • सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

    सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

    काठमाडौँ , पुस ३०
    बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडदै सुन प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ३१५ रुपैयाँले बढेको छ ।

    अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा कायम भएको सुन आज प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो

    त्यस्तै , चाँदीको भाउपनि उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।