Blog

  • मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

    मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

    भक्तपुर, माघ ३ –
    मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण भण्डारीले गएराति आफ्नी आमाको हत्या गरेका छन् ।

    जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् । आमाको हत्यापछि उनले आत्महत्याको प्रसयास गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

    धनुषाको मिथिला नगरपालिका–११ का स्थायी बासिन्दा भण्डारी र निजका मातापिता तेर्चाटारमा डेरा गरी बस्दै आएका थिए । घटनाका बारेमा बाबुले राति १० बजे जानकारी दिएका हुन् । रासस

  • शिक्षकलाई स्थानीय भत्ता वितरण

    शिक्षकलाई स्थानीय भत्ता वितरण

    भोजपुर, माघ ३ –
    रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

    दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो ।

    गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङगलाक्पा तामाङले दुर्गम क्षेत्रमा कार्यरत स्थायी शिक्षकहरुलाई प्रोत्साहन प्रदान गर्न यो व्यवस्था गरिएको बताउनुभयो । हाल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकले आफ्नो तह र श्रेणीअनुसार नियमित रूपमा स्थानीय भत्ता पाउँदै आएका छन् । प्राथमिक तह प्रथम श्रेणीका शिक्षकले मासिक रु पाँच हजार ५१०, द्वितीय श्रेणीका शिक्षकले रु चार हजार ६०० तथा तृतीय श्रेणीका शिक्षकले रु चार हजार २५० स्थानीय भत्ता प्राप्त गर्दै आएका छन् ।

    त्यसैगरी निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई मासिक रु पाँच हजार ५१० र माध्यमिक तहका शिक्षकलाई मासिक रु आठ हजार ८०० स्थानीय भत्ता प्रदान गरिएको छ ।

    गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षकको मनोबल उच्च राख्दै शैक्षिक उपलब्धि सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पुग्ने विश्वासका साथ भत्ता प्रदान गरिएको बताउनुभयो । रासस

  • टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

    टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

    माघ ३ ,काठमाडौं ।
    आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।
    नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार एक कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।

    आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ ।

    टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए । टोली भोलि भारत प्रस्थान गर्दैछ ।

  • बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

    बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

    बाजुरा, माघ ३ –
    बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।

    शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उहाँलाई मृत्यु घोषणा गरेका थिए । शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । रासस

  • बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

    बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

    म्याग्दी, माघ ३-
    प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ ।

    शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताउनुभयो ।

    “पोखरा जानुपरेको भए रु एक लाखभन्दा बढी खर्च हुने रहेछ”, उहाँले भन्नुभयो, “बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।” सहरका सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा पुगेर उपचार गर्न नसक्ने आर्थिक रूपमा विपन्न, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरूलाई प्रदेश अस्पतालको शल्यक्रिया सेवा प्रभावकारी बनेको छ ।

    रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी जमुना किसानले २१ वर्षदेखिको स्त्रीरोगसम्बन्धी समस्याको यसै हप्ता बेनी अस्पतालमा शल्यक्रिया गर्नुभयो । “भर्ना भएको भोलिपल्टै शल्यक्रिया भयो”, उहाँले भन्नुभयो, “शल्यक्रिया सफल भएपछि २१ वर्षदेखिको समस्या निको भएर घर फर्कदैछु ।”

    विशेषज्ञ चिकित्सक अभावमा अस्पतालमा कात्तिक र मङ्सिर महिनामा शल्यक्रिया सेवा बन्द भएका थिए । प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग र सर्जन चिकित्सकको व्यवस्था मिलाएपछि पुस महिनायता सेवा नियमित छ ।

    प्रदेश अस्पताल बेनीका प्रमुख डा हेमन्त बास्तोलाले पुष महिनामा मात्रै २१ वटा शल्यक्रिया गरिएको जानकारी दिनुभयो । “जुम्ल्याह बच्चा भएका गर्भवतीलाई पनि यहीनै शल्यक्रियामार्फत प्रसूति गराएका छौँ”, उहाँले भन्नुभयो, “सिमित स्रोत, साधन र जनशक्तिका बाबजुत यहाँ आएका बिरामीलाई सम्भव भएसम्म बाहिर जानु नपरोस भन्ने प्रयास गरेका छौँ ।”

    बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् । बेनी नगरपालिका–६ की सुष्मा पौडेलले बेनी अस्पतालमा रोग पहिचानका लागि आवश्यक थप उपकरण र दक्ष जनशक्तिको नियमित व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

    बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् ।

    वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति गरिएको थियो । रासस

  • गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    कीर्तिपुर (काठमाडौँ), माघ ३ –
    क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।

    राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

    कार्यक्रममा हिमालयन विल्लोका प्रमुख कार्यकारी अधिकृत प्रदीप यादवले क्रिकेटर झाका लागि एक वर्ष भर आवश्यक हुने छ वटा क्रिकेट ब्याट, १० वटा पन्जासहित सम्पूर्ण सामग्रीहरू निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । विश्वभर चिनिएको उत्पादक संस्थाले नेपाली क्रिकेटलाई प्रायोजन गरेको यो पहिलो पटक हो ।

    कार्यक्रममा क्रिकेटर झाले एसजिका सामग्री लिएर क्रिकेट खेल्नु आफ्नो बाल्यकालदेखिकै सपना भएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत यादवले छिट्टै एक जना महिला क्रिकेटरलाई पनि यसै प्रकारको प्रायोजनका लागि संस्थाले पहल गरिरहेको जानकारी दिनुभयो । रासस

  • भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

    चितवन, माघ ३-
    नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उहाँलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो ।

    यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ । त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू, जीर्ण विद्यालय भवनजस्ता समस्यै समस्याले जेलिएको भरतपुरलाई अहिलेको अवस्थामा पुर्‍याउनुमा उहाँले रात दिन नभनी खेलेको भूमिका भरतपुरवासीले कहिल्यै भुल्ने छैनन् ।

    फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उहाँलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन् । वर्षातको समयमा रातमा निदाउँन नपाउने नारायणी तटीय क्षेत्रका बासिन्दा लाग्छ वर्षायामको रातमा पनि रेनुलाई सपनामा देख्दै निदाउने समय आएको छ ।

    झण्डै नौ वर्ष अघि विसं २०७४ मा भरतपुर आउँदाको स्मरण गर्दै दाहालले भन्नुभयो, “वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा पहिलोपटक निर्वाचन हुँदै थियो । भरतपुर महानगरको नगर प्रमुख पदमा मैले उम्मेदवार दिएर निर्वाचन प्रसारप्रसार गर्न जाँदाका दिनहरूको स्मरण अझै पनि ताजै छन् ।” उहाँले भावुक हुँदै भन्नुभयो, “वैशाखको उखरमाउलो गर्मीमा पश्चिम चितवन सुक्खा थियो, मकैंका बिरुवाहरू सुक्न थालेका थिए । नजिकै नारायणी बगिरहेको छ, बर्खामा मात्रै पानी आउने नहर त थियो, तर हिउँद र गर्मीमा सधैँ सुक्खा ।”

    आफूले भरतपुरको विकासको लागि आफ्नो जीवनको महत्त्वपूर्ण एक दशक समय खर्चिए भन्दै उहाँले अगाडि थप्नुभयो, “मेरा आफ्ना निजी चाहाना र विषयहरूलाई पन्छाएको छु । हर समय, अविरल, अनवरत र निरन्तर भरतपुर कै विकास र यहाँका जनताको सुखदुःखमा आफूलाई एकाकार बनाएको छु ।” त्यसको अनुभूति भरतपुरवासीले पक्कै गर्नुभएको छ भन्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो ।

    आफूलाई भरतपुरको मायाले काठमाडौँ बस्न नदिएको भन्दै उहाँले भन्नुभयो, “न त निजी काममा रमाए नै, सारा समय नै भरतपुरको उन्नती, प्रगति, समृद्धि र विकासका लागि खर्चिएकामा मलाई गर्वको अनुभूति हुने गरेको छ ।” यी पलहरू आफ्नो जीवनमा सधैँ स्वर्णिम रहने उहाँको विश्वास छ । उहाँले थप्नुभयो “बदलिएको भरतपुर, विकसित भरतपुर, समृद्ध, हरियाली र उज्यालो भरतपुर आज हामीले पाएका छौँ ।”

    आफू पहिलोपटक भरतपुरको चुनावी प्रचारमा जाँदा विद्यालय भवनहरू जीर्ण, स्वास्थ्य सेवा भरतपुरको कोर क्षेत्रमा सीमित, किसानहरू दूध बिक्री नभएर सडकमा पोख्नु पर्ने अवस्था, आर्सेनिक मिसिएको पानी खानुपर्ने विवशता, विद्यालय जाने उमेर समूहका कतिपय बाबुनानीहरू विद्यालय नजाने अवस्था देख्दा आफूलाई यी सबैको समाधान त्यति बेलादेखि नै सपना देख्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको घरदैलो गर्दैगर्दा यी यावत समस्याहरूले मेरो मथिङ्गल हल्लाउथ्यो । सोच्दा पनि कहाली लाग्दा थिए ।”

    यी सबैलाई एकएक गर्दै समाधान गर्नुपर्ने चुनौती आफूमा रहेको भन्दै उहाँले भन्नुभयो, “भरतपुरमै जन्मिएको, यहीँको माटोमा मेरो नाँभी गाँडिएको एक छोरी हुनुको नाताले यहाँको विकासका लागि मैले केही पक्कै गर्नु थियो । चुनौतीहरूको सामना गर्ने अवसर पनि प्राप्त भयो ।”

    दाहालले आफू प्रमुख हुने बेला कालोपत्रे सडकमा हिँड्न पूर्वपश्चिम राजमार्गमा नै आउनुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो । तर आज घरघरमा र खेतखेतसम्म पनि कालोपत्रे सडक बनिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भएका साँघुरा सडक फराकिला र कालोपत्रे बनेका छन्, बर्खामा डुब्ने सडकमा नाली बनाएका छौँ ।” भरतपुरको केन्द्र भागबाट बढिमा ३० मिनेटमा हरेक गन्तव्यमा पुग्न सकिने गरी सडक निर्माण भएको छ ।

    महानगरपालिकामा बितेका नौ वर्षमा एक हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ । उहाँले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग भन्दा लामो सडक हामीले भरतपुरमा कालोपत्रे गरेका छौँ”, उहाँले थप्नुभयो, “अनि हामीले सडक मात्रै कहाँ बनायौँ र रु सडक बत्तीहरू राख्यौँ, झिलिमिली बनायौँ, अँध्यारो हटायौँ । डर हटायौँ । भरतपुरवासीको आत्मविश्वास जगायौँ ।”

    सडक र सहर नै फोहर र कुरूप पार्ने बिजुलीका तारहरूलाई जमिनमुनी गाडेको भन्दै उहाँले मुख्य बजार र राजमार्ग क्षेत्रको २३ किलोमिटर सडकमा विद्युत् तारलाई भूमिगत बनाएको बताउनुभयो । स्मार्ट सडक बत्ती, हाई तथा मिनी मास्ट जडान गरेको, २०६ किमीमा सडक बत्ती, महानगरका विभिन्न सडक चोकमा ९१ वटा हाइमास्ट तथा मिनिमाष्ट जोडेर भरतपुरलाई उज्यालो सहर बनेको छ ।

    भरतपुर महानगरपालिकालाई डिजिटल प्रणालीमा प्रविष्ट गर्न डिजिटल हाउसहोल्ड नम्बरिङ्गको काम शुरु भएको छ भने अत्याधुनिक प्रविधि जडित ४१८ वटा सिसिटिभी क्यामेरा महानगरका मुख्य तथा संवेदनशील क्षेत्रमा जोड्ने काम भइरहेको छ । यसले अपराध नियन्त्रण र सवारी दुर्घटना रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । सडक पूर्वाधारमा अर्को ऐतिहासिक काम नेपालकै सबैभन्दा लामो ८८ दशमलज छ किमी चक्रपथ ९रिङरोड० निर्माण सङ्घीय सरकारको सहयोगमा गरिएको छ ।

    महानगरपालिकाको पहलमा सङ्घीय सरकारबाट अर्बौको लागतमा नारायणी नदीमा तटबन्ध गरेर समस्याको दीर्घकालिन समाधान गरिएको छ । तटबन्ध गरिएको ठाउँहरू भोलिका दिनमा पर्यटकीय केन्द्र बन्न सक्ने आधार तयार भएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका महानगरका विभिन्न वडाहरूमा जङ्गली जनावरको डर उत्तिकै थियो । घर बाहिर निस्कँदा ती जनावरको आक्रमणबाट ज्यान जाने खतरा त थियो नै, लगाएको खेतीबाली पनि खाइदिने समस्या पनि उस्तै थियो । छब्बीस किलोमिटर लामो मेसजाली निर्माण गरेर जनतालाई सुरक्षित राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

    भरतपुरका नहर नपुगेको ठाउँमा १२ महिना नै सिँचाइ पुग्ने गरी भूमिगत सिँचाइको व्यवस्था गरिएको छ । नारायणी लिफ्ट हिउँदमा समेत चल्ने भएपछि यहाँका किसानहरू त खुसी भएकै छन्, सबैतिर हरियाली पनि छाएको छ । बोरिङ तथा स्यालो ट्युबवेलबाट भरतपुरमा झण्डै आठ हजार विगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ । भूमिगत पानी निकाल्नका लागि १२० वटा स्यालो बोरिङ तथा ८०० वटा ट्युबवेल निर्माण गरिएको छ । महानगरपालिकाले ५० प्रतिशत अनुदानमा रु दुई करोड बराबरका किसानलाई कृषि उपकरण वितरण गरेको छ ।

    महानगरका दूध उत्पादक किसानले प्रतिलिटर दूधमा रु चार अनुदान पाएका छन् । झण्डै रु २२ करोड दूधमा अनुदान बाँडेको महानगर किसानहरूको विश्वासिलो अभिभावक बनेको छ । दूधमा नगद अनुदानको नीतिले प्रतिवर्ष औषत पाँच लाख लिटरको दरले दूध उत्पादन बढेको उहाँको दाबी छ ।

    युवालाई सिप सिकाएर देशभित्र नै स्वरोजगार र स्वावलम्बी बनाउने प्रयासअन्तर्गत महानगरले शैलुन, केयर गिभर, ब्युटिसियन, कुक, वेटर, हाउस किपिङ, फेसन डिजाइनर, प्लम्बिङ, इलेक्ट्रिसियन तालिमहरू महानगरले चलाएको छ । यहाँको पर्यटन क्षेत्रलाई राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा चिनाउन तथा आर्थिक गतिविधिलाई उकास्न सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाएर पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको छ ।

    भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दैछ । भवनले मात्रै भरतपुरको हवाई उडान समस्या समाधान नहुने भएपछि महानगरपालिकाको पहलमा विमानस्थलको रनबे विस्तार गर्ने कामको सहजीकरण गरिएको छ ।

    राष्ट्रिय गौरवको परियोजनाका रूपमा भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । नारायणी नदीमाथि आर्कषक सिग्नेचर पुल निर्माणको कामलाई अगाडि बढाउन महानगरपालिकाले गरेको प्रयत्न निकै लामो छ । यो आर्कषक र अत्याधुनिक पुल नारायणगढको पुल्चोक–टिकौलीसम्म बनेको आर्कषक छ लेनको सडकमा जोडिँदा भरतपुरको सान र स्वरूप फेरिएको छ ।

    छ लेनको सडक भरतपुरको विकासको एक मानकका रूपमा स्थापित बनेको छ । हरियाली र फूलहरूसहित आर्कषक बनेको यो सडक रातको समयमा झिलिमिली देखिन्छ । भरतपुर वाइपास सडकले पनि भरतपुरको गौरव बढाएको छ । यी दुवै सडकको सौन्दर्यकरण तथा वृक्षरोपणको काम महानगरपालिकाले गरिरहेको छ ।

    भरतपुर महानगरपालिकाले बितेको नौ वर्षमा आफूलाई सुशासन र आर्थिक पारदर्शीता कायम राख्ने काम गरेको छ । न्यून बेरुजु र शून्य बेरुजु बनाउने तथा कार्यसम्पादनमा देशभरीका महानगरपालिकाका मध्ये भरतपुर उत्कृष्ट बन्न सफल भयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार तथा सम्मान भरतपुरले प्राप्त गर्न सफल भएको छ ।

    महानगरको आन्तरिक आम्दानीलाई क्रमशः बढाउँदै लग्यौँ र अहिले महानगरको आन्तरिक आम्दानी करिब रु एक अर्ब ४० करोड पुगेको छ । सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै यो अवधिमा झण्डै १०० सानाठूला विद्यालय भवन बनेका छन् । कतिपय विद्यालयलाई बसहरू प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप भएका छन् ।

    भरतपुर अस्पतालमा ज्येष्ठ नागरिक र महिलाहरूलाई बहिरङ्ग टिकट निःशुल्क गर्ने जस्ता कामहरू मात्रै गरिएका छैनन्, महानगरका २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना भई एक वडा, एक स्वास्थ्य संस्थाको लक्ष्य प्राप्ति भइसकेको छ । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूको बाल उमङ्ग जीवन बिमा कार्यक्रम चलिरहेको छ । प्रसूति गराउने महिलाहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था महानगरले गरेको छ ।

    फोहरले भरिएका र अतिक्रमणको चपेटामा परेका पुङ्गी खोला र केरूङ्गा खोला सौन्दर्यकरणले चिटिक्क परेका छन् । भरतपुरको मध्यभाग भएर बग्ने ६।६५ किमी लामो पुङ्गी र ३६ किमीको केरुङ्गा खोलाको सौन्दर्यकरणको काम भइरहेको छ ।

    भरतपुरका विभिन्न ठाउँमा ठूलाठूला खानेपानीका ओभरहेड ट्याङ्कीहरू निर्माण गरिएका छन् । शुद्ध पिउने पानीको पहुँच भरतपुरका ९८ प्रतिशत जनताको बीचमा पुगेको छ । ठूला सभा सम्मेलन गर्नका लागि सभागृह बनिरहेको छ ।

    वातावरण प्रदूषण कम गराउन देवघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी पुलबाट उत्तरतर्फ नदी किनारलाई सी–बीच मोडलको रूपमा विकास गर्न महानगरपालिकाले ६४० मिटर लामो तटबन्ध तयार गरी एक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ । महानगरका २९ वडामध्ये १७ वटा वडाका नयाँ भवन बनेका छन् । थप केही बन्ने क्रममा छन् । रासस

  • सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

    सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

    काठमाडौँ, २ माघ :
    नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।

    विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित हुनुभएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताउनुभयो ।

    नेपाली कांग्रेस अब नवीन ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आत्मासात् गरेर पार्टीले अगाडि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसात् गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

    शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई एकपटक नबोलाई गरिएको निर्णय आफूहरूलाई मान्य नहुने बताउनुभयो । निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको उहाँको भनाइ छ ।

    उहाँले कांग्रेसको संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताउनुभयो ।

  • भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुँदै

    चितवन, २ माघः
    बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स प्रालि काठमाडौंको आयोजना तथा युरो मोर्टस भरतपुरको सहकार्यमा भरतपुरमा एक्सचेन्ज क्याम्प गर्दैछ ।

    कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिसरमा एक्सचेन्ज क्याम्प गर्न लागेको हो । इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्सचेन्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए ।

    क्याम्पमा जुनसुकै कम्पनीका गाडीसँग K A I Y I ब्राण्डका उत्पादनसंँग साट्न सकिने छ । क्याम्पमा K A I Y I ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिनेछ । ‘भोलिको क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार पनि छ , बर्माले भने, यस्तै इभीमा म्याक्स कम्पनीको हेभी पिकअप पनि सार्वजनिक गर्दैछौँ ।’ एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले विशेष सहुलियत तथा अफर प्राप्त गर्न सक्ने निर्देशक बर्माले बताए ।

    क्याम्पमा ग्राहकले K A I Y I ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ्ग, खरीद तथा एक्सचेन्ज गर्न सक्नेछन् ।

    बर्माका अनुसार शनिबार बिहान साँढे १० बजेदेखि क्याम्प शुरु हुनेछ । क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ ।

    काया ब्राण्डका गाडीहरू ग्राहकको रुचिमा पर्दै आएका छन । यस अघि सौराहामा एक्सचेन्ज क्याम्प राखिएको थियो भने आइतबार कावासोतीमा एक्सचेन्ज क्याम्प राखिने कम्पनीले जानकारी दिएको छ ।

  • निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

    निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

    २ माघ, काठमाडौं –
    निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।

    शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

    उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

    अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ ।

    विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।