Blog

  • सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

    सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

    चन्द्रपुर (रौतहट), माघ ४-
    रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो ।

    उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभएको छ । दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिनुभयो । गम्भीर घाइते रमेशको प्रादेशिक अस्पताल गौरमा उपचार गरेर थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । रासस

  • ‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

    ‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

    नारायणगढ (चितवन), माघ ४ –
    किसानमा रासायनिक मलको प्रयोगबारे यथेष्ट र स्पष्ट जानकारी नहुँदा माटोको गुणस्तर खस्कँदै गएको र यसबाट उत्पादनमा समेत गिरावट आएको पाइएको छ । उचित जानकारी नहुँदा किसानले विभिन्न प्रकारका रासायनिक मल जथाभावी प्रयोग गर्ने गरेको सरोकारवालाहरूको बुझाइ छ । चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा आयोजित अन्तक्र्रियामा सहभागी सरोकारवालाले किसानलाई रासायनिक मलको समुचित प्रयोगका लागि सचेतना तथा तालिम आवश्यक रहेको औँल्याएका छन् ।

    अन्तक्र्रियामा सहभागी खैरहनी नगरपालिका–९ का रासायनिक मल विक्रेता रामचन्द्र रिजालले मल बिक्री गर्दा किसानमात्र होइन, मल विक्रेता पनि सजग हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो किसानले मल किनेर यसको प्रयोगबारे नबुझीकन खेतमा हाल्नुहुन्छ । त्यसैले हामी स्वयं पनि बुझेर किसानलाई पनि बुझाउनुपर्छ ।” व्यवसायी सधैँ किसानको हितमा उभिनुपर्ने उहाँको जोड थियो । यस्ता प्रकारका अन्तक्र्रिया आवश्यक रहेको उल्लेख गर्दै उहाँले कुनै पनि विषयको तालिम गहिराइसम्म लिनुपर्ने बताउनुभयो । गहिराइसम्म बुझेका किसानले मात्र रासायनिक मलको उचित रूपमा प्रयोग गर्न सक्ने उहाँको भनाइ थियो ।

    गजुरा नगरपालिका–९ रौतहटस्थित सामुदायिक जनशक्ति कृषि सहकारीबाट अन्तक्र्रियामा सहभागी धर्मेन्द्र चौधरीले मलको गुणस्तर र यसको प्रयोगबारे किसानलाई सजग गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमबाटै यसको समाधान सम्भव हुने बताउँदै बेलाबेलामा खेतसम्म पुगेर विज्ञहरूले रासायनिक मलको उचित प्रयोग र उपयोगबारे जानकारी दिनुपर्ने बताउनुभयो ।

    भरतपुर–२६ बाट पश्चिम चितवनका किसानलाई मल बिक्री गर्दै आउनुभएका सीता एग्रोभेटका विष्णु पौडेलले आवश्यक परेका बेला मल उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो । उहाँले याममा समयमा मल आपूर्ति हुन नसक्ने गरेको बताउनुभयो । साथै उहाँले मलको भण्डारण, प्रयोग, उपयोगिता तथा कति मात्रामा प्रयोग गर्ने भन्ने विषयमा किसानसम्म सचेतना पुग्न आवश्यक रहेको औँल्याउनुभयो ।

    अहिले तरकारीको सिजन भएकाले धेरै उत्पादन हुने आशामा किसानले बढी मात्रामा मल प्रयोग गर्ने गरेको पाइने कालिका नगरपालिका महिला साना किसान कृषि सहकारीमा आबद्ध खड्काकुमारी खत्रीले बताउनुभयो । उहाँका अनुसार कुन मल कति मात्रामा हाल्ने, कुन बालीका लागि कुन मल प्रयोग गर्ने भन्नेबारे स्पष्टता नहुँदा समस्या देखिएको छ । उहाँले युरिया र डिएपी जे पायोे त्यहीँ प्रयोग गर्ने गरिएको उल्लेख गर्दै किसानलाई सम्बन्धित निकायले सजग गराउनुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी, राप्ती नगरपालिका–९ स्थित सचेतना कृषि सहकारीमा आबद्ध किसान मनकुमारी अधिकारीले पनि तालिम र सचेतनाको आवश्यकता औँल्याउनुभयो । उहाँले तालिम तथा सचेतना कार्यक्रम निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले किसानलाई कुन बालीमा कुन तरिकाले र कसरी मल प्रयोग गर्ने भन्नेबारे जानकारी मिल्ने बताउनुभयो ।

    कृषि मन्त्रालयका पूर्वउपसचिव तथा मलविज्ञ भगवान खतिवडाले नेपालमा अधिकांश किसानले रासायनिक मलको समुचित प्रयोग नगर्ने गरेको बताउनुभयो । उहाँका अनुसार किसानले मलको गुणस्तरभन्दा पनि प्याकेजिङ र रङका आधारमा भर परेर बढी उत्पादनको लोभमा आवश्यकताभन्दा बढी मल प्रयोग गर्ने गरेका छन् । खतिवडाले भन्नुभयो, “अहिले गहुँ लगाउँदा डिएपी र युरियासँगै हाल्ने गरिएको पाइन्छ । तर डिएपीमै पनि युरियाको तत्व हुन्छ भन्ने कुरा किसानलाई बुझाउन आवश्यक छ ।” कुन मलले कति दिनमा काम गर्छ भन्नेबारे किसानलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । माटो परीक्षण आवश्यक भए पनि व्यवहारमा खासै नगर्ने गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “माटो जाँच नगरी रासायनिक मल प्रयोग गर्नु भनेको ‘क्यान्सर’लाई सिटामोल खुवाउनुजस्तै हो ।” उहाँले कम लागतमा बढी उत्पादन गर्नुपर्नेमा जोड दिँदै डिएपी र युरिया सधैँ सँगै प्रयोग गर्न आवश्यक नरहेको स्पष्ट गर्नुभयो ।

    मलको सही प्रयोग गर्न नजान्दा खर्च बढ्ने र किसान मर्कामा पर्ने खतिवडाको भनाइ छ । एसएसपी (सिङ्गल सुपर फस्फेट), पोटासलगायत मलको प्रयोगबारे ज्ञान नहुँदा माटोको गुणस्तर झनै खस्किने उहाँले बताउनुभयो । उहाँले चितवन पहिले तोरी उत्पादनका लागि प्रख्यात जिल्ला रहे पनि हाल उत्पादन घट्नुको मुख्य कारण माटोमा सल्फरको कमी रहेको जानकारी दिनुभयो । किसानले माटो परीक्षण गराई नतिजाका आधारमा बालीअनुसार मल प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एउटै तत्वयुक्त मलभन्दा बहुतत्वयुक्त मल प्रयोग गर्दै स्थानीय तह, कृषि प्राविधिक तथा माटो परीक्षण प्रयोगशालासँग समन्वय बढाउनुपर्ने उहाँको सुझाव थियो । “चितवनमा कृषि विश्वविद्यालय छ, स्थानीय तहमा धेरै कृषि प्राविधिक छन् । किसानले परामर्श बढाउनुपर्छ”, उहाँले भन्नुभयो । बालीको जीवन माटोमा निर्भर हुने भएकाले माटोको गुणस्तर जोगाउने जिम्मेवारी किसानकै हातमा रहेको उल्लेख गर्दै उहाँले मल प्रयोग गर्दा विज्ञको सल्लाहमा मात्र गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले सरकारबाट अनुदानप्राप्त युरिया, डिएपी र पोटास तथा गैरअनुदान बहुतत्वयुक्त रासायनिक मल सिङ्गल सुपर फस्फेट र अमोनियम सल्फेट छरितो रूपमा वितरण हुँदै आएको जानकारी दिनुभयो । उहाँले मलखाद सिफारिस गरिएको परिणामअनुसार प्रयोग गर्न आम किसानलाई आग्रह गर्नुभयो । उहाँका अनुसार कर्पोरेसनले देशका ७७ जिल्लाका १०६ स्थानबाट मल बिक्री गर्दै आएकोे बताउनुभयो ।

    अन्तक्र्रियामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले समन्वय गर्नुभएको थियो । कार्यक्रममा जिल्ला तथा बाहिरी जिल्लाबाट किसान, सहकारी, मल विक्रेता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।रासस

  • पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

    पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

    ३ माघ, पाटन (ललितपुर) ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

    नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले सञ्चारकर्मीहरू हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरुको प्रतिनिधित्व हुनुपर्ने बताए ।

    पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न सञ्चारकर्मीलाई कठिन नहुने विचार व्यक्त गर्दै उनले भने, ‘म पनि २५ वर्ष पत्रकारिता गरेको व्यक्ति हुँ, जेनजी आन्दोलनको बलमा आकस्मिक रुपमा मन्त्री भएको हुँ, राजनीतिलाई पेसा बनाउनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने भाष्य चिरिएको छ, जेनजी जनआन्दोलनले पत्रकारितालाई गरेको सम्मानका कारण म मन्त्री भएको हुँ, देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ ।’

    सञ्चार तथ सूचना प्रविधिमन्त्रीले जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारले चार महिनामा जनपक्षीय काम मात्र गरेको बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

    ‘हामी सबै निर्वाचनमा होमिँदैछौँ, यसलाई सफल पार्न पत्रकारिता क्षेत्रबाट अझ सशक्त भूमिकाको अपेक्षा हामीले गरेका छौं,’ उनले भने ।

  • पाल्पामा चुनावी चहलपहल

    पाल्पामा चुनावी चहलपहल

    तानसेन (पाल्पा), माघ ३-
    आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ ।

    यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने अभिमत जाहेर गरेका छन् ।

    यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिसकेका छ । यहाँको क्षेत्र नंं १ मा ९८ हजार ३८३ जना मतदाता छन् । जिल्लामा मतदानस्थल ५२ र ११७ मतदान केन्द्र कायम भएका छन् । क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ जना मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र कायम भएका छन् । रासस

  • निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

    निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

    काठमाडौं, माघ ३-
    नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ ।

    निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ,’ पार्टी निर्णय सुनाउँदै प्रवक्ता चालिसेले भने ।

  • सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

    सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

    झापा, माघ ३ –
    सडकको दुरावस्था र चालकको लापरबाहीले सवारी दुर्घटना बढेका छन् । बितेका छ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएका छ ।

    चालु आर्थिक वर्षको प्रथम छ महिनामा झापामा ६०५ स्थानमा दुर्घटना भएका र त्यसबाट एक हजार ९७ जना घाइते भएका उक्त कार्यालयका प्रमुख सन्तोष राईले राससलाई बताउनुभयो । उक्त अवधिमा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । घाइतेमध्ये ५५ जना गम्भीर र एक हजार ४२ जनाको अवस्था सामान्य छ ।

    सडक दुर्घटना घटाउन ट्राफिक प्रहरीले समुदायसँग मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । एसियाली राजमार्गको स्तरोन्नति भइरहँदा सडकको अवस्था नाजुक बनेको छ । यस्तो सडकमा लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढेका कार्यालय प्रमुख राई बताउनुहुन्छ । गत पुसमा छ हजार ५२५ वटा सवारी साधन जाँच दुई हजार ४४५ वटा सवारीसाधनलाई सवारी नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गर्नुपरेको थियो ।

    पुसमा १२० स्थानमा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु र १७३ जना घाइते भएका थिए । पुसमा ७३ जना घाइतेलाई दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएको थियो । मङ्सिरमा १२२ स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । कात्तिकमा ११८ स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख राईले बताउनुभयो ।

    यसैगरी, असोजमा ९० मा, भदौमा ६३ र साउनमा ९२ स्थानमा सवारी दुर्घटना हुँदा क्रमशः छ, चार र तीन जनाको मृत्यु भएको थियो । पुस महिनामा भएको १२० वटा दुर्घटनाको विश्लेषण गर्दै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको बताउनुभयो । पुसमा १११ स्थानमा भएका सवारी दुर्घटनामा चालकको लापरबाही पाइएको उहाँले जानकारी दिनुभयो । रासस

  • बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

    बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

    इनरुवा (सुनसरी), माघ ३-
    गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।

    ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१ गुरुङ बस्तिका ५ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल ब्यवसायीले रु ११ लाख र गाउँपालिकाले रु एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

    क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज शव बुझ्ने सहमति भएको छ । प्रतिमृतक रु १२ लाख प्रदान गर्ने सहमति भएको हो । रासस

  • कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

    कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

    काठमाडौँ, माघ ३ –
    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ ।

    नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताउनुभएको हो ।

    निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    उहाँले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गर्नुभयो । रासस

  • WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

    ३ माघ,नवलपुर-
    WAY ग्रुप नेपाल नवलपुरले नारायणी नदीको संरक्षण र स्वच्छताका लागि सरसफाइ तथा सचेतना अभियान सुरु गरेको छ। पवित्र नारायणी नदीलाई स्वच्छ र सफा राख्ने उद्देश्यका साथ अभियानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाइएको हो।

    गैंडाकोट नगरपालिका–१ स्थित ब्रिटिश क्याम्प साथीको सम्झना पार्कबाट सुरु गरिएको उक्त अभियान अब हरेक शनिबार निरन्तर सञ्चालन गरिने WAY ग्रुप नवलपुरका सचिव सबिन कँडेलले जानकारी दिनुभयो।

    अभियान सञ्चालनमा गैंडाकोट नगरपालिका, सम्बन्धित वडा कार्यालय, इलाका प्रहरी कार्यालय गैंडाकोट, ट्राफिक प्रहरी गैडाकोट, नगर प्रहरी तथा स्थानीय टोलवासीहरूको सहकार्य रहने बताइएको छ।

    WAY ग्रुप नेपालले विगत पाँच वर्षदेखि नवलपुर जिल्लाका विभिन्न स्थानहरूमा सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको छ। यस अभियानले नदी संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

  • निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

    निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

    ३ माघ, काठमाडौं ।
    निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने भएको छ ।

    नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग पुगेको हो ।

    ‘नेपाली कांग्रेस दुई खेमाजस्तो देखिएपछि दुवै पक्षका नेताहरु निर्वाचन आयोगभित्र छिर्दा दल विभाजनको प्रक्रियामा आउनुभएको होइन’, आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने प्रश्नमा आयोगले निर्णय दिएकोसम्म हो ।’

    आयोगले कुनै पक्ष वा विपक्षमा निर्णय गरेको भन्दा पनि विशेष महाधिवेशनलाई विधानसम्मत भएको निर्णय गरेको भन्दै उनले त्यही निर्णयलाई आधार मानेर पार्टी विभाजित भएको अर्थ लगाउन नहुने बताए । उनले शुक्रबारको निर्णयका कारण निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने बताए ।

    कांग्रेसले समानूपातिकतर्फको सूची बुझाइसकेको, दुई दिनपछि प्रत्यक्षतर्फको मनोनयन सुरु हुने भन्दै आयोगका एक उच्चपदस्थ अधिकारीले यस्तो अवस्थामा नयाँ दल दर्ता गर्न र उसलाई निर्वाचन प्रक्रियामा सामेल गराउन सम्भव नहुने बताए । उनले भने, ‘अब त खेल सुरु भइसकेपछि नयाँ खेलाडी म पनि दौडिन्छु भनेर मैदानमा छिर्न खोजेजस्तो हुने भयो ।’