Blog

  • बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

    बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

    चितवन, २ माघः
    राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छनौट भएका छन् । सितोरियो कराते ट्रेनिङ हल भरतपुरमा भएको छनौट प्रतियोगिताबाट १७ खेलाडी छनौट भएका हुन् ।

    छनौट प्रतियोगितामा भक्तपुर बाहेक बागमती प्रदेशका १२ जिल्लाबाट ७५ खेलाडी सहभागी थिए । उनीहरु मध्य १७ जना छनौट हुन सफल भएका हुन् । जस अन्तर्गत एकल काता महिलामा ललितपुरकी दीपा पुन, एकल काता पुरुषमा काठमाडौंका अमृत थोकर, टिम काता पुरुषमा काठमाडौंका अमृत थोकर, राजकुमार श्रेष्ठ र प्रनिल मानन्धर छनौट भएका छन् ।

    उता पुरुष ५० केजी तौल समूहमा ललितपुरका सुजन खड्की, ५५ केजीमा धादिङका निशान घले, ६० केजीमा नुवाकोटका सुबिन सुनार, ६७ केजीमा चितवनका मिलन नेपाली, ७५ केजीमा धादिङका निशान मल्ल, ८४ केजी मुनीमा रसुवाका पासाङ ग्याल्जेन र ८५ केजी तौल माथिमा मकवानपुरका अजय ब्लोन छनौट भएका छन् ।

    महिला ४५ केजीमा चितवनकी निक्षा थापा मगर, ५० केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठ, ५५ केजीमा मकवानपुरकी आशा तामाङ, ६१ केजीमा काठमाडौंकी कृतिका अधिकारी छनौट भएका छन् । यस्तै ६८ केजी मुनीमा काठमाडौंकी आशिका राई र ६८ केजी माथिमा काठमाडौंकी महिमा राई छनौट भएका छन् । उनीहरुले माघ ६ देखि ९ गतेसम्म नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा हुने राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्नेछन् ।

    छनौट कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुलाई प्रतियोगितामा सफलताको कामना गरे । करातेकी कीर्तिमानी खेलाडी एरिका गुरुङको उदाहरण दिदै कार्कीले भविष्य देशका लागि पदक जित्ने लक्ष्य लिएर अघि बढ्न सुझाव दिए ।

    नेपाल कराते महासंघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिन सुझाव दिए । खेल प्रतिको लगनशिलता र अनुशासन कायम राख्न सके जीत सम्भव हुने उनको भनाइ थियो ।

    यसैबीच सोही कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्को बोड सदस्यमा नियुक्त भएका कृष्णबहादुर नेपाल सुजनलाई सम्मान गरिएको थियो । उनलाई चितवन जिल्ला खेलकुद बिकास समिति, बागमती प्रदेश कराते महासंघ, चितवन जिल्ला सितोरियो कराते संघले संयुक्त रुपमा सम्मान गरेको हो ।

  • चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

    चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

    चितवन, २ माघः
    चितवनमा जिल्ला स्तरीय सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु भएको छ । नेपाल सितोरियो सोवुकान कराते डो संघको आयोजनामा भरतपुर कभर्ड हलमा उक्त दिक्षान्त कार्यक्रम सुरु भएको हो ।

    माघ ४ गतेसम्म चल्ने कार्यक्रमको आज (शुक्रबार) प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । सो क्रममा कार्कीले खेलाडीहरुलाई शुभकामना दिए ।

    खेलाडीहरु दिक्षित हुनु आँफैमा एउटा उपलब्धि भएको उनको भनाइ थियो । उनले खेलाडीहरुलाई आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरुलाई प्रेरित गर्न पनि आग्रह गरे ।

    तीन दिनसम्म चल्ने दिक्षान्त समारोहमा चितवन र छिमेकी जिल्लाबाट एक सय ५० भन्दा बढी खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिईनेछ । प्रशिक्षणपछि उनीहरुलाई फर्स्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ ।

    उनीहरुलाई नेपाल सितोरियो सोवुकान कराते डो संघका प्रशिक्षक सजन श्रेष्ठले मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका अध्यक्ष सनिस श्रेष्ठ र सचिव सम्राट श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिनेछन् ।

    कार्यक्रमका अध्यक्ष चितवन ग्रेडिङ समितिका संयोजक सुधिर श्रेष्ठले पछिल्लो समय चितवन र छिमेकी जिल्लामा सितोरियो सोवुकान कराते विस्तार हुँदै गएको बताए । यो सुखद पक्ष रहेको उनको भनाइ थियो ।

    यसैबीच सोही कार्यक्रममा करातेकी अन्तराष्ट्रिय पदक विजेता प्रजिष्मा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ । प्रजिष्माले अन्तराष्ट्रिय स्तरमा पाएको सफलताको उच्च मुल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष रफि अन्सारीले जानकारी दिए ।

  • लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

    लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

    काठमाडौँ, २ माघ :
    नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्नेे निर्णय अनुचित भएको जनाएको छ ।

    बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।

    “अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ”, बारले भनेको छ, “अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।”

    बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।

    “यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायापलिकाको अवधारणामा नै असर पुर्याउँदछ”, विज्ञप्तिमा भनिएको छ, “यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लङ्घन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ ।”

    महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरेको थियो ।

  • भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

    भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

    चितवन, माघ २ –
    भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भवन उद्घाटन गरे । भवनको प्रचण्डले नै शिलान्यास गरेका थिए ।

    ६ तला रहेको नयाँ भवनको भुईं तलामा नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशाकसकीय अधिकृतको कार्यालय राखेर भवन उद्घाटन गरिएको हो । भुईं तलामा रहेको यी तीन वटा कार्यालयभित्रकोमात्र इन्टेरियरको काम सकिएको छ । बाँकी रहेका तला र भुईं तलाका अन्य कोठाहरुको इन्टेरियरको काम सकिएको छैन ।

    भवन पूर्णरुपमा निर्माण सम्पन्न नभएकै अवस्थामा हतारहतार उद्घाटन गरिएपछि राजनीतिक दल र नागरिक समाजले विरोध जनाउन थालेका छन् । रास्वपा भरतपुर महानगर कमिटीले विज्ञप्ति नै जारी गरी निर्माण सम्पन्न भइनसकेको अधुरै भवनलाई उद्घाटन गर्न खोज्नु राजनीतिक स्टण्डमात्र भएको बताएको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन ३ बाट उम्मेद्वारी दिने तयारी गरिरहेकी छन् । उम्मेद्वारी दिनु पहिले महानगर प्रमुखबाट राजीनामा दिनुपर्दछ । यही माघ ६ गते उम्मेद्वारी दिने कार्यतालिका रहेको छ । आफू प्रमुख छँदै उद्घाटन गर्ने रेनुको रहरले निर्माण सम्पन्न भइनसकेको प्रशासकीय भवन उद्घाटन गरिएको भन्दै विरोध भएको हो ।

    ५३ करोड ३२ लाख ६४ हजारको लागतमा ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७९ साल साउनमा भरतपुर महानगरपालिकासँग शर्मा÷सगरमाथा÷सगुन जेभीले सम्झौता गरेको थियो ।
    सम्झौता अनुसार २०८१ माघमा निर्माण सम्पन्न भइसक्नुपर्ने हो । समयमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गरी २०८२ माघ १८ सम्म निर्माण सम्पन्न गरिसक्ने गरी म्याद थप भएको थियो ।
    भरतपुुर महानगपालिकाका वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार कुल लागत ५३ करोड ३२ लाख ६४ मध्ये हालसम्म ४५ करोड ९७ लाख ५१ हजार रुपैयाँ खर्च भइसकेको छ । संघ, प्रदेश र भरतपुर महानगपालिका तीनै तहको लगानीमा भवन निर्माण गरिएको हो । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख खर्च भएको छ । इन्टेरियरको काम सम्पन्न गर्न बाँकी रहेको छ ।

    इन्जिनियर आचार्यका अनुसार इन्टेरियर अन्तर्गतकै फर्निसिङ् लगायतका कार्यका लागि छुट्टै ठेक्का सम्झौता हुनेछ । जसका लागि ४.५ करोड बजेट विनियोजन गरिएको छ ।

     

  • निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

    निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

    काठमाडौँ, २ माघ :
    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ ।

    आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ ।

    यस्तै, अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु लिई बुझिलिनेजस्ता काम गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, मतदान केन्द्रमा पुग्नुपर्नेछ ।

    त्यस्तै, तोकिएको समयमा पुगी मतदान केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिव कारणले तोकिएको मतदान केन्द्रमा निर्वाचन गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यस्तो जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने प्रबन्ध निर्देशिकामा गरिएको छ ।

    मतदान केन्द्रमा गएर मतदान हुने दिनभन्दा अगावै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेछ । मतदान केन्द्रमा खटाइएका कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गरी मतदानको काममा लगाउनुपर्नेछ ।

    मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने, मतदान कार्यलाई प्रभावकारी तरिकाले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुमगन गर्ने, मतदानको दिन मतदान कार्यको गतिविधिबारे समयसमयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने व्यवस्था निर्देशिकाले गरेको छ ।

    मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुमगनकर्ता र सुरक्षाकर्मीलाई मतदानको अवस्थाका बारेमा जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गराउने, आचारसंहिता पूर्ण रूपमा परिपालना गराउने, कुनै गैरकानुनी गतिविधि हुन नदिनेजस्ता काम मतदान अधिकृतले गर्नुपर्नेछ ।

    यस्तै, मतदान हुनुअघि तथा मतदान सम्पन्न भएपछि मुचुल्का गराई शिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ ।

    त्यसैगरी, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्ने तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको कर्तव्य हुने निर्देशिकामा उल्लेख छ ।

  • २१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

    २१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

    २ माघ, काठमाडौं-
    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आफूले टिकट बाँड्न सुरु गरिसकेको बताएका छन् ।

    चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले आफ्नो दलको तर्फबाट हिजोदेखि नै टिकट बाँड्न सुरु गरेको बताए ।

    चुनाव हुँदैन कि भन्ने शंका मनमा ल्याउनुभन्दा चुनावको तयारीमा अगाडि बढ्न उनले सबैसँग आग्रह गरे ।

  • निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यवाहक सभापतिको चेतावनी

    निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यवाहक सभापतिको चेतावनी

    काठमाडौं, माघ २
    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुने बताएका छन्।

    केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने उनले बताए।

    यो कुरा कार्यवाहक सभापति खड्काले आज केन्द्रीय कार्यालय सानेपामा नेताहरूलाई सँगै राखेर आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन्।

    ‘निर्वाचन आयोगले अन्यथा निर्णय गर्‍यो भने देशभरि आन्दोलन हुन्छ,’ उनले भने।

  • एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

    एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

    काठमाडौँ, २ माघः 
    नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो ।
    उहाँका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
    एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ ।
    एमालेले एक महिलासहित कम्तिमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
  • काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने संकेत

    काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने संकेत

    काठमाडौँ, २ माघः
    काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

    उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

    उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

     

  • रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

    रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

    काठमाडौं, माघ २
    रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

    युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् ।

    सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन् ।

    पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।

    त्यस्तै संगठित र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अपराधलाई कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालय तल्लिन रहेको बताउँदै यस्तो कार्य नगर्न भनेर परमादेश जारी गर्न पनि उनले माग राखेका छन्।