Blog

  • भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

    भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

    चितवन, २० फागुन –
    चितवनको भरतपुर महानगरपालिका–६ जयनेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

    बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए ।

    ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ । – न्युज कारखाना

  • कावासोतीमा मृत गैँडा फेला

    कावासोतीमा मृत गैँडा फेला

    नवलपुर, २० फागुन –
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताउनुभयो । “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो”, तिवारीले भन्नुभयो, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो ।

    आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताउनुभयो । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ । (रासस)

  • चितवनमा अर्काे छावा जन्मियो

    चितवनमा अर्काे छावा जन्मियो

    चितवन, २० फागुन –
    चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् । दुई महिनाअघि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाबाट गर्भवती नभएको भन्दै कामका लागि लामीचौर पठाइएको हात्तीले बच्चा जन्माएपछि हात्तीसारका कर्मचारी खुसी भएका छन् ।

    गत माघ १९ देखि फागुन १९ गतेसम्म चार हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या पाँच पुगेको छ । केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलीले जन्माएको बच्चालाई रामसारकली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामकरण गरिएको छ । यस्तै फागुन १७ गते डम्बरकलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यसअघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन–चार महिनाभित्रमा लोकतन्त्रकली र ऐश्वर्यकलीले बच्चा जन्माउने चौधरीले बताउनुभयो ।

    प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको चौधरीको भनाइ छ । यद्यपि ध्रुवे र गोविन्दे नामका जङ्गली हात्ती पनि समय–समयमा सङ्सर्गका लागि केन्द्रमा आउने गर्दछन् । निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये छवटा कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् ।

    निकुञ्जको सुरक्षार्थ हात्ती प्रयोग गर्ने गरिन्छ । अन्य सवारीसाधन जान नसक्ने ठाउँमा समेत हात्ती जान सक्ने भएकाले निकुञ्ज सुरक्षामा हात्तीको विशेष भूमिका हुने गर्दछ । बाघ, गैँडालगायतका अन्य जङ्गली जनावर नियन्त्रणमा लिनुपर्दा समेत हात्तीको प्रयोग हुने गरेको छ । (रासस)

  • बाँकेकोे नरभक्षी बाघ चितवन ल्याइयो

    बाँकेकोे नरभक्षी बाघ चितवन ल्याइयो

    रत्ननगर, २० फागुन –
    केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो ।

    विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ ।” कसरामा राखिएको बाघलाई दिनमा चारदेखि छ किलोसम्म राँगाको मासु दिइन्छ ।

    कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ । खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिनुभयो । गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो ।

    सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो । यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते हुनुभएको थियो । उहाँ सामान्य उपचारपछि घर फर्किनुभएको थियो ।

    त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते हुनुभयो । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो । राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

    बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो । बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (पाडो) राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहितको जनशक्ति परिचालित गरेको थियो । (रासस)

  • ,आजको राशिफल – Aajako Rashifal

    आजको राशिफल – Aajako Rashifal

    २०७८ फागुन २० गते, शुक्रवार, ४ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, द्वितीया तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन।

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    सरकारले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ ।

    बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

    खाना पकाउने ग्यासको मूल्य  बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर  बढेको भन्दै  ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

    आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

    यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह-प्रवक्ता पुष्कर कार्कीले बताए । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।

  • ‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

    ‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

    काठमाडौं, १८ फागुन –
    लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिइ । तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन गरे । उनले सिरिजलाई निरन्तरता नदिई नयाँ नाममा फिल्म गरे । यद्यपि, फिल्म ’बक्स अफिस’ मा सफल हुन् सकेन ।

    त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । उनले केही समय अगाडि नै फिल्मलाई तयार गर्ने सोच बनाएका थिए । तर, कोरोनाभाइरसद्वारा सिर्जित अवस्थाले गर्दा फिल्म छायांकनमा जान सकेको छैन ।

    कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । फिल्मको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् । पटकथाकार तिमल्सिनाले फिल्मको लागि अभिनेत्री खोजिरहेको बताए ।

    ‘हामी अभिनेत्री खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो अभिनेत्री भेटाए सेलेक्ट गर्छौ,’ तिमल्सिनाले भने । उनले फिल्ममार्फत अभिनेताको रूपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए ।

    तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने फिल्ममा एक अभिनेत्री समेत डेब्यु अनुहार हुनेछिन् । ‘स्थापित सिरिजमार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उद्देश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजिभइरहेको हो,’ तिमल्सिनाले भने । – न्युज कारखाना

  • चितवन राष्ट्रिय निकुञ्जमा एक महिनामा तीन छावा जन्मिए

    चितवन राष्ट्रिय निकुञ्जमा एक महिनामा तीन छावा जन्मिए

    चितवन, १८ फागुन –
    चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा गएका एक महिनामा तीन छावा जन्मिएका छन् । गत माघ १९ गतेदेखि यही फागुन १७ गतेसम्म तीन हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या चार पुगेको छ ।

    केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलिले जन्माएको बच्चालाई रामसार कली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामाकरण गरिएको छ ।

    यस्तै फागुन १७ गते डम्बर कलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यस अघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन चार महिनाभित्रमा लोकतन्त्र कली र ऐश्वर्यकलीले बच्चा जन्माउने प्रमुख चौधरीले बताउनुभयो ।

    प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको उहाँको भनाइ छ । यद्यपि, ध्रुवे र गोविन्दे पनि समय समयमा संसर्गका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये ६ कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् । (रासस)

  • वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक

    वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक

    चितवन, १८ फागुन –
    वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो ।

    नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाईगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका नेतृत्वमा यहाँका टोलि र वाल्मीकि टाईगर रिजर्ब फिल्ड डाईरेक्टर डा के नेशमनिले भारतको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।

    बैठकमा सहभागी संरक्षण अधिकृत आचार्यका अनुसार वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीकाबीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,“संरक्षणका क्रममा समस्या भएमा तत्काल समाधानका विषयमा छलफल भएको छ ।” दुई देशका अधिकारीकाबीचमा नियमित भौतिक उपस्थितिमा बैठक हुने गरेकोमा कोभिडका कारण दुई वर्षदेखि जुममार्फत् मात्रै हुने गरेको थियो । यस प्रकारका बैठक विगतमा वर्षमा तीन पटकसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    बैठकमा नेपालका तर्फबाट पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० का डिभिजन वन कार्यालय प्रमुख, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, जेडएसएल लगायतका संस्थाका प्रमुख एवं प्रतिनिधि बैठकमा सहभागी हुनुभएको थियो । भारततर्फका वाल्मीकि टाईगर रिर्जबका डाईरेक्टर डा नेशमनिल, विश्व वन्यजन्तु कोष भारतका रेन्ज अफिसर लगायतको उपस्थिति रहेको थियो । (रासस)

  • चितवनका बाघ र गैँडा भारततर्फ बसाइँ सर्न थालेपछि बासस्थान विशेष सुधार कार्यक्रम ल्याउँदै सरकार

    चितवनका बाघ र गैँडा भारततर्फ बसाइँ सर्न थालेपछि बासस्थान विशेष सुधार कार्यक्रम ल्याउँदै सरकार

    चितवन, फागुन १८-
    विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुने भएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।

    सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो । उक्त समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।

    महानिर्देशक डा. कँडेलले भन्नुभयो, “राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु जानु स्वाभाविक हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भमा बासस्थान सुधारका लागि उल्लेखनीय कार्य भएकाले वन्यजन्तु उता जान थालेको आभास भइरहेकाले नेपालका वन्यजन्तुलाई यतै रोक्न बासस्थान विशेष सुधार कार्यक्रम सञ्चालनका लागि तयारी भइरहेको छ ।’’

    हुन त हरेक वर्षको एक पटक निकुञ्जभित्रका घाँसे मैदान व्यवस्थापनका लागि ठेक्कापट्टामार्फत काम गरिने गरिएको छ । त्यसले मात्र बासस्थान सुधार नहुने भएपछि बाह्रैमास कर्मचारी राखेर आवश्यकताअनुसार घाँसे मैदानको व्यवस्थापन गर्ने योजना सरकारले बनाएको हो । भारतको बिहारको एक मात्र वाल्मीकि टाइगर रिजर्भमा पछिल्ला वर्षमा गौरी गाई, पाटे बाघ तथा एकसिङे गैँडाको सङ्ख्या वृद्धि हुँदै गएको छ । १० वर्ष पहिलेसम्म सो रिजर्भमा एकसिङे गैँडा शून्य थियो भने हाल रिजर्भले गैँडाको बासस्थान निर्माण गर्न थालेपछि नेपालबाट चर्न उता गएका गैँडा उतै बस्न थालेका छन् । गौरी गाई र पाटे बाघको हरेक गणनामा यहाँ सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुँदै गएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जमा बासस्थान सुधार गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव वेदकुमार ढकालको संयोजकत्वमा एक अध्ययन समिति पनि निर्माण गरिएको छ । सो समितिले चितवनमा घाँसे मैदान व्यवस्थापनको विशेष कार्ययोजना निर्माण गरी मन्त्रालयमा बुझाउने भएको छ । त्यसपछि बाह्रै महिना घाँसे मैदान व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा आउने छ ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जभित्र करिब १० हजार हेक्टर घाँसे मैदान रहेको छ । उहाँले भन्नुभयो, “हामीले निकुञ्जभित्रका कम्तीमा पाँचवटा ठाउँमा २०/२० हेक्टरका घाँसे मैदान व्यवस्थापन गर्ने विशेष योजना बनाएका छौँ । ती क्षेत्रमा बाह्रैमास बाघको आहार प्रजाति चित्तल, हरिण, बँदेल, गौरी गाईलगायतका वन्यजन्तुका लागि पानीको स्रोत र घाँसे मैदान व्यवस्थापन गरिने भएको छ।”

    सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता सन् २००८ सम्म एउटा मात्रै बाघ भएको वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा र २०१८ को गणनामा ४० पुगेको छ । – यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।