Blog

  • व्याख्यात्मक घोषणासँगै संसदबाट एमसीसी सम्झौता अनुमोदन

    व्याख्यात्मक घोषणासँगै संसदबाट एमसीसी सम्झौता अनुमोदन

    १५ फागुन, काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित सो प्रस्ताव अनुमोदन गरेको हो । बैठकमा अर्थमन्त्री शर्माले सो प्रस्ताव पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । त्यसलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरे भने सांसदहरुको बहुमतले सो प्रस्तावलाई अनुमोदन गर्‍यो ।

    यस अघि सो प्रस्तावसम्बन्धि व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले सो सम्झौतामाथिको आशंका व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अब ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए । यसको विरोध गर्ने सांसदहरुले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए ।

    यस्तो छ व्याख्यात्मक घोषणा
    १. कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणाीति (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गर्दछ ।

    २. देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दा माथि रहेको छ भनि घोषणा गर्दछ ।

    ३. कम्प्याक्टको दफा २.७, दफा ५.२ (ख) (३), दफा ५.२ (ख) (४) को सम्बन्धमा कम्प्याक्टको ती दफाहरूको उद्देश्य एमसीसी अनुदान तथा परियोजनाको सम्पत्ति उपयोगका सन्दर्भमा मात्र लागू हुनेछ भन्ने बुझाइ नेपालको रहेको छ । ती प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविश्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।

    ४. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सञ्‍चालन गर्ने क्रियाकलाप नेपालको कानूनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ ।

    ५. कम्प्याक्टको दफा ३.२ (च) को सम्बन्धमा कम्प्याक्टको उपयोगबाट सिर्जना हुने बौद्धिक सम्पत्तिमाथि एमसीसीको स्वामित्व रहने छैन । कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिहरू उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्ने घोषणा गर्दछ ।

    ६. कम्प्याक्टको दफा ३.५ को सम्बन्धमा कार्यान्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागू गरिनेछन् भन्ने घोषणा गर्दछ ।

    ७. कम्प्याक्टको दफा ३.८ (क) को सम्बन्धमा एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानून बमोजिम महालेखा परीक्षकबाट पनि गरिनेछ भन्ने घोषणा गर्दछ ।

    ८. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा नेपालले तीस (३०) दिनको पूर्व लिखित पूर्वसूचना दिइ विना कुनै कारण कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकारका अतिरिक्त कम्प्याक्ट अन्तर्गतका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा समेत तीस (३०) दिनको पूर्व लिखित पूर्वसूचना दिइ कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार राख्दछ भनि घोषणा गर्दछ ।

    ९. कम्प्याक्टको दफा ५.५ (ग) को सम्बन्धमा कम्प्याक्टको समाप्ति, निलम्बन वा अन्त्य पश्चात् पनि लागू हुने भनिएका प्रावधनहरू कम्प्याक्ट अन्तर्गतका परियोजनाहरूको मूल्याङ्कन, लेखा परीक्षण र करको फर–फारकको हदसम्म मात्र प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ ।

    १०. कम्प्याक्टको दफा ७.१ को सम्बन्धमा, नेपालको संविधान कम्प्याक्टभन्दा माथि रहनेछ भन्ने घोषणा गर्दछ । साथै, कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरू/परियोजनाहरूको कार्यान्वयन नेपालको कानून र कम्प्याक्ट बमोजिम गरिनेछ भन्ने घोषणा गर्दछ ।

    ११.कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा विद्युत प्रसारण आयोजना (electricity transmission project) लगायतका सबै चल तथा अचल सम्पत्ति र परियोजनासँग सम्बन्धित जग्गाहरू नेपाल सरकार वा नेपाल सरकारका निकायहरूको स्वामित्वमा रहनेछ भनी घोषणा गर्दछ ।

    १२. कम्प्याक्टमा रहेका प्रावधानहरूको आशय र प्रयोगका बारेमा मिलेनियम च्यालेन्ज कर्पोरेशबाट २०७८ भदौ २३ -सेप्टेम्बर ८, २०२१) मा नेपालले प्राप्त गरेको स्पष्टीकरणले कम्प्याक्टको व्याख्या तथा कार्यान्वनमा मदत गर्ने बुझाई नेपालको रहेको छ ।

  • चितवन राष्ट्रिय निकुञ्जको भाले गैँडा मृतावस्थामा फेला

    चितवन राष्ट्रिय निकुञ्जको भाले गैँडा मृतावस्थामा फेला

    चितवन, फागुन १५ –
    चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो ।

    यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको थियो । यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् । – रासस

  • रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

    रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

    काठमाडौं, १५ फागुन –

    सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्का पौडेलले जितेकी छन् । मोडल सङ्स नेपालले आमा भइसकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत चुमिन् ।

    काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् ।

    प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपीका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

    रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

    आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेन्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करण चाँडै सुरु हुने बताए । – न्युज कारखाना

  • पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

    पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

    काठमाडौं, १५ फागुन –
    जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन ।

    उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेश गरेको थियो । – न्युज कारखाना

  • पल शाहविरुद्ध गायिकाले दिइन् गैंडाकोटमा पनि उजुरी

    पल शाहविरुद्ध गायिकाले दिइन् गैंडाकोटमा पनि उजुरी

    चितवन, १५ फागुन –
    बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।

    चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । – न्युज कारखाना

  • पल शाह आफै पुगे प्रहरी कार्यालय, गरे आत्मसमर्पण

    पल शाह आफै पुगे प्रहरी कार्यालय, गरे आत्मसमर्पण

    काठमाडौं, १५ फागुन –
    जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

    शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

    जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

    गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

    तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

    गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ। पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

    त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ।

    शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

    बागलुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेको र यात्राका क्रममा शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।

    पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।

    यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक-पटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्। गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाब दिएको उल्लेख छ।

    नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन्।

  • नारीले भोग्नुपरेका समस्या गर्नुपरेका सङ्घर्षका विषयमा ‘मोम्चो’ कथा सङ्गह उत्कृष्ट

    नारीले भोग्नुपरेका समस्या गर्नुपरेका सङ्घर्षका विषयमा ‘मोम्चो’ कथा सङ्गह उत्कृष्ट

    चितवन, १५ फागुन –
    नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्गह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् । शनिबार यहाँ आयोजित सो सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा उहाँहरुले कथाभित्रका विषयवस्तुले नेपाली समाजमा भएको तीतो यथार्थतालाई जीवन्त रुपमा उजागर गरेको टिप्पणी गरे ।

    कार्यक्रममा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी जननी भएको जनाउँदै उनीहरुमाथि हुने हिंसा रोक्न यो कथा सङ्ग्रह सार्थक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पितृसतात्मक प्रवृत्ति उजागर गर्न मोम्चो कथा सङ्ग्रह सफल भएको छ । नारीमाथि हुने विभेद, अन्याय र अत्याचारजस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु कथाकारको सवल पक्ष हो ।”

    समालोचक डा एकनारायण पौडेलले कथा सङ्ग्रहभित्र आन्चलिकता प्रवल मात्रामा देखिएको छ भन्नुभयोे । खोजमूलक र नारी विषयवस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सीमान्तकृत समुदायमा रहेको चेपाङ समुदायमा रहेको धर्म, संस्कृति, रीतिरिवाजलाई टिप्ने काम भएको उहाँले बताउनुभयो ।

    समीक्षक रमेश प्रभातले कथाभित्रको यौन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य वस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नुपरेको कथामा समेटिएको उल्लेख गर्नुभयो । सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा कथाकार वसन्त पराजुलीले नारी प्रधान विषयवस्तुमा लेखिएको मोम्चोमा यौन मनोविज्ञानसमेत पस्कने प्रयास गरिएको बताउनुभयो । साहित्यकार गोविन्दराज विनोदीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एलबी क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यासजस्तो बृहत् नहुने बताउनुभयो ।

    भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ कथा छन् । कथाकार पराजुलीको मोम्चा दोस्रो कथा सङ्ग्रह हो । उहाँ डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथा सङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँ दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । गोरखापत्र दैनिकका उहाँ चितवन संवाददाता पनि हुनुहुन्छ । (रासस)

  • अनेरास्ववियु चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन : संयोजकमा गुप्ता, सहसंयोजकमा हरि

    अनेरास्ववियु चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन : संयोजकमा गुप्ता, सहसंयोजकमा हरि

    चितवन, फागुन १३ –
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ ।

    आज सम्पन्न जिल्ला भेलाले अमित कुमार गुप्ताको संयोजकत्वमा ३८ सदस्यीय कमिटी गठन गरेको हो ।

    कमिटीको सहसंयोजकमा हरि आचार्य, सदस्यहरुमा लिलाराम पौडेल (प्रशिक्षण विभाग), प्रकाश कालाखेती (संगठन विभाग), अमित आचार्य (प्रचार विभाग), सरोज तिमिल्सिना (अखिल फोर्स विभाग) र रचना सापकोटा (महिला विभाग) मा चयन भएका छन् ।

    उनीहरुसहित ३८ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको सदस्यहरुको नामावली यसप्रकार छ :

    अक्षरराज पन्थी
    लक्ष्मी पौडेल
    मेन्सीश भेटवाल
    सरोज घतानी
    संजय ढकाल
    किरण लामिछाने
    प्रताप उप्रेती
    सुजन थापा
    मनिष विष्ट
    राकेश चौधरी
    संन्देश अधिकारी
    क्षितीज तिवारी
    अनुजा खनाल
    प्रकाश पराजुली
    आकृती शर्मा
    जिवन तिमिल्सिना
    रोमन सिलवाल
    लक्ष्मी प्रसाद ढकाल
    विज्ञान वावु अधिकारी
    सुस्मीता कार्की
    आयुष पौडेल
    अम्बिका आचार्य
    अनुज न्यौपाने
    प्रतिक्षा कंडेल
    निर्मल धिताल
    सुस्मिता परियार
    निश्चल चदरा
    विपना गुरु
    अस्मीता शर्मा
    पुस्पा पौडेल
    मिरा कर्ण

  • के मानिसको मृत्युपछि आत्मा पनि मर्छ ?

    के मानिसको मृत्युपछि आत्मा पनि मर्छ ?

    एजेन्सी, फागुन –
    संसारमा कुनै पनि वस्तुको जन्म भयो भने समयपछि नष्ट हुनै पर्छ । मानिस जसरी जन्मन्छ, मृत्युको समय पनि तय हुन्छ । तर, जीवन र मृत्युलाई लिएर संसारमा विभिन्न प्रकारका विश्वास र मत सुनिन्छन् ।

    संसारका हरेक धर्ममा पनि मृत्युपछिको अवस्थालाई विभिन्न तरिकाले व्याख्या गरिएको छ । जीवन र मृत्युको बारेमा आध्यात्मिक नेताहरू र वैज्ञानिकहरू बीच सधैं मतभेदहरू छन् । जहाँ धार्मिक मान्यताले मृत्युपछि शरीर मात्र मर्छ, आत्मा कहिल्यै मर्दैन भनी भन्छ ।

    अर्कोतर्फ, विज्ञानले मानिसको मृत्युपछि आत्माको अस्तित्वलाई स्वीकार गर्दैन । यस्तो अवस्थामा एक ब्रह्माण्डविद्ले जीवन र मृत्युको सम्बन्धलाई लिएर यस्तो दाबी गरेका छन्, जुन थाहा पाएपछि तपाईं अचम्ममा पर्नुहुनेछ ।

    यस्तो छ दाबी :
    ब्रह्माण्डविद् डा. सीन क्यारोलले जीवन र मृत्युको बारेमा चकित पार्ने दाबी गरेका छन् ।

    क्यारोलका अनुसार यदि सबै कुरा विज्ञानको नियम अनुसार हुन्छ भने मानिसको मृत्युपछि कुनै पनि जीवन सम्भव छ भन्ने भौतिक विज्ञानमा सम्भव छैन ।

    प्रोफेसर क्यारोलले आफ्नो जीवनको अधिकांश समय भौतिक विज्ञानको अध्ययनमा बिताएका छन् । प्रोफेसरले आफ्नो अध्ययनको आधारमा यदि मानिसको मृत्यु भयो भने उसको चेतना यस ब्रह्माण्डमा रहन सक्दैन भनेका छन् ।

    साइन्टिफिक अमेरिकनमा डा। क्यारोल लेख्छन्, धार्मिक मान्यताअनुसार मानिसको मृत्युपछि आत्मा कुनै न कुनै रूपमा यही वातावरणमा रहन्छ भन्ने दाबी गरिन्छ । अब विज्ञानको एउटा शाखा, भौतिक विज्ञानको नियमको आधारमा जीवनलाई बुझ्यौं भने मृत्युपछि हाम्रो दिमागमा रहेको जानकारीलाई कायम राख्ने कुनै उपाय छैन।

    यद्यपि, सबै वैज्ञानिकहरूले प्रोफेसर क्यारोलको दृष्टिकोणलाई समर्थन गर्दैनन् । मानव मस्तिष्कमा अझै धेरै अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

    धर्ममा आत्मालाई अमर मानिन्छ। यस्तो अवस्थामा प्रोफेसर क्यारोलको यो दाबीले विवाद निम्त्याउने देखिन्छ ।

    संसारका हरेक धर्मले कुनै न कुनै रूपमा आत्माको अस्तित्वलाई संकेत गर्दछन् ।

    भगवानमाथि विश्वास नगर्न आफूले नभनेको तर, विज्ञानको यो विषयमा भने आफ्नो अलग्गै तर्क रहेको प्रोफेसर क्यारोल बताउँछन् । – एजेन्सी

  • युवतीहरुलाई कसरी प्रभावित गर्ने र प्रेम गर्ने भन्ने विषयमा ट्युसन पढाउने यी महिला

    युवतीहरुलाई कसरी प्रभावित गर्ने र प्रेम गर्ने भन्ने विषयमा ट्युसन पढाउने यी महिला

    एजेन्सी, फागुन –
    एकजना ब्रिटिस मोडेलले कसरी युवतीहरुलाई प्रभावित गर्ने र कसरी प्रेम गर्ने भन्ने विषयमा ट्युसन नै पढाउने गरेकी छिन् ।

    उनले आफ्नो कक्षामा कस्तो कस्तो व्यवहारले केटीहरुलाई प्रेममा पार्न सकिन्छ भन्ने सिकाउने गरेकी छिन् । केटी पट्याउने कला सिकाउने उनको यो ट्युसन कक्षाको शुल्क पनि चर्को छ । एक घण्टाको शुल्क झण्डै ५० हजार रुपैयाँ बराबर पर्न आउँछ ।

    केजिया नोबल नामकी ती मोडेलले डेटिङ र आकर्षणका बारेमा प्रशिक्षण दिने गरेकी छन् । बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार केजियाले १५ वर्षको उमेरमा पढाई छाडेकी थिइन् । त्यसपछि मोडलिङमा लागेकी उनी आफ्नो प्रशिक्षण पेशामा पनि निकै रमाएकी छिन् । यसबाट उनले मनग्गे कमाएकी छिन् ।

    समाचारमा उल्लेख भए अनुसार सन् २००६मा केजिया लण्डनको एक बारमा बसिरहेकी थिइन् । त्यहीँबेला उनको मनमा गर्लफ्रेण्ड कसरी बनाउने भन्ने बारेमा ट्युसन पढाउन सकिन्छ भन्ने सोच आयो । त्यतिबेला उनको उमेर २५ वर्षको थियो ।

    त्यहीबेला उनको नजिकै एकजना युवक आयो । सिंगल केटाहरुले गरेको च्याटको फिडब्याक दिन सक्छौ ? भनेर उसले सोध्यो । वास्तवमा त्यो युवक बुटक्याम्पको हिस्सा थियो ।

    सो बुटक्याम्पमा केटाहरुलाई केटीसँग कसरी कुराकानी गर्ने भन्ने तालीम दिइन्थ्यो । त्यहीबेला केजियालाई थाहा भयो कि व्यक्तित्व विकास सम्बन्धी उद्योगमा महिलाहरुको अभाव छ । त्यस क्षेत्रमा ठूलो सम्भावना देखेपछि उनले आफ्नो त्यो अनौठो व्यवसाय सुरु गरिन् ।

    केजिया एक युट्युब च्यानल चलाउँछिन् । त्यसमा उनले केटीहरुसँग कुरा गर्दा केटाहरुले कस्ता कस्ता गल्ती गर्छन् भनेर बताउँछिन् । उनको युट्युब च्यानलमा ४ लाखभन्दा धेरै सब्सक्राइबर्स छन् । यतिमात्र होइन उनले आफ्नो अफिसमा २५ जनालाई जागिर पनि दिएकी छिन् । उनीहरु डेटिङ वर्कसप सञ्चालन गर्दछन् ।

    यो अनौठो व्यवसायबाट केजियाले अहिलेसम्म १५ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेकी छिन् । कोरोना महामारीका बेला उनले आफ्नो यो प्रशिक्षणलाई अनलाइनमा सञ्चालन गरिन् । अनौठो त के भने केटी कसरी पट्याउने भन्ने तालिम दिने केजिया आफै डिभोर्सी हुन् । उनको ६ वर्षको छोरा पनि छ । – एजेन्सी