Blog

  • निकुञ्ज अतिक्रमण गरेको भन्दै चितवनमा चेपाङका घरगोठ जलाइए

    निकुञ्ज अतिक्रमण गरेको भन्दै चितवनमा चेपाङका घरगोठ जलाइए

    – कुलप्रसाद काफ्ले

    चितवन, १४ चैत –
    चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलLले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।

    स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो ।

    स्थानीयले बताएअनुसार करिब १५ घरमा आगजनी भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । आगजनीपछि मेयर ढकालसहितको टोली आगजनी भएको स्थानमा निरीक्षणका लागि गएको थियो ।

    अँध्यारो भइसकेकाले घर गन्न नसकिएको भन्दै उनले एक पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताए । कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।

    ‘धेरैलाई त्यहाँबाट हामीले स्थानान्तरण गरेर तल ल्याइसकेका छौँ । अहिले फेरि केहि मान्छेहरु त्यहाँ गएर बस्न थाल्नुभएको रहेछ,’ उनले भने, ‘त्यहाँ बस्नुहुन्न । तल ल्याउनुपर्छ भनेर हामी सल्लाहमै थियौँ । तर हिजो त्यहाँ गएर हामीसँग समन्वयन नगरी आगजनी गर्ने काम भयो । बस्न नहुने ठाउँ भएपनि आगजनी गर्न हुन्नथ्यो ।’

    एउटा घरमा नागरिकतालगायतका महत्वपूर्ण कागजातसहित आगजनी गरिएको भन्ने जानकारी आएको उनी बताउँछन् ।

    स्थानान्तरण गरेर ल्याइसकिएका केहि मान्छे फेरि फर्किएर सोहि ठाउँमा गएको र अधिकांश मान्छे जिल्ला बाहिरबाट आएर बसोबास गर्न थालेको उनले बताए । कुसुमखोलामा फेरि २५ भन्दा बढी घर बनाइसकेका छन्, जसमध्ये करिब १० वटामा मान्छे बसोबास गर्ने गरेको उनी बताउँछन् ।

    स्थानीय पुराना बासिन्दा काजीमान प्रजाबाहेक सबैको घर नयाँ बनाएको पाइएको उनले बताए । गत वर्ष निकुञ्ज प्रशासनले घरगोठमा आगजनि गरिदिएपछि पनि उनी स्थानान्तरण हुन मानेका थिएनन् ।

    आफुलाई छ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने उनले अडान लिँदै आएका छन् । नगरपालिकाले दिने एक कठ्ठामा खेतीपाती गर्न नपुग्ने भन्दै उनले स्थानान्तरण हुन नमानेको मेयर ढकालले बताए ।

    नगरपालिकाले गत वर्ष कुसुमखोलाका २५ घरलाई बगई, ८० घरलाई राई डाँडा र ४२ घरलाई परुई खोला किनारमा ल्याएर स्थानान्तरण गरेको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर इलाकामा बसोबास गरेका मान्छेलाई पटक-पटक नबस्न आग्रह गर्दा पनि नयाँ घरगोठ बनाउने क्रम नरोकिएपछि आगजनी भएको बताउँछन् । घटनाको आधिकारीक जानकारी हेडक्वार्टरमा नआएको उनले बताए ।

    ‘एकचोटि त्यहाँबाट स्थानान्तरण गरिसकिएको हो । फेरि पनि निकुञ्जको क्षेत्र कब्जा गर्नेगरी नयाँ घर टहरा बनाइएको थियो । हामीले बारम्बार त्यहाँ गएर हटाउने गरको थियौँ’, उनले भने, ‘आफ्नो क्षेत्राधिकार खाली गर्न मान्छे नबसेका सामान्य घरटहरामा आगजनी गरेको भन्ने कुरा आएको छ ।’

    निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा कुसुमखोलाका चेपाङलाइ स्थानान्तरण गरिएको थियो । – न्युज कारखाना
    फोटो : सन्तोष पनेरुको फेसबुकबाट

  • चितवनमा एक गैंडा मृत फेला, यस वर्ष ३३ गैंडा मरे

    चितवनमा एक गैंडा मृत फेला, यस वर्ष ३३ गैंडा मरे

    चितवन, १३ चैत –
    दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

    योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन् । तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिनुभयो । (रासस)

  • चितवनकी मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान

    चितवनकी मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान

    चितवन, १३ चैत –
    सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान गरेको हो ।

    केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा यहाँ आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली कांग्रेस चितवनका सभापतिसहितको उपस्थितिमा उहाँकै निवासमा सम्मान गरिएको हो । शारीरिक अस्वस्थताका कारण ९४ वर्षीया श्रेष्ठलाई समाजले निवासमै सम्मान गरेको हो ।

    श्रेष्ठलाई सम्मान गर्दै केसीले सामाजिक र राजनीतिक क्षेत्रमा उहाँको योगदानको चर्चा गर्नुभएको थियो । युवादेखि अहिलेसम्म उहाँ पार्टी र समाजमा पु¥याएको योगदान अहिलेको पुस्ताले भुल्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो “अहिले उहाँले चाहेर पनि सक्नुहुन्न, सक्ने समयमा हामीले समाजलाई जे सक्छौं, त्यो दिनुपर्छ ।”

    समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले पार्टीदेखि पत्रकारसम्म श्रेष्ठले पु¥याएको सहयोगको चर्चा गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बोल्न सक्ने अवस्थासम्म श्रेष्ठले जहिले भेट्दा पनि नयाँ र ऊर्जाशील कुरा भन्ने गरेको बताउनुभयो । हालसम्म विभिन्न सामाजिक सङ्घसंस्थालाई अहिले बजार मूल्य हेर्दा रु एक अर्बभन्दा बढी भौतिक सम्पत्ति दान गरिसकेको छोरा टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

    सो अवसरमा समाजका केन्द्रीय उपाध्यक्ष डा ईश्वरीप्रसाद लौडारी, महासचिव गोकर्ण अर्याल, समाजका बागमती प्रदेश संयोजक भरतप्रसाद दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर विवस मजगैया, समाजका जिल्ला अध्यक्ष डा देवीप्रसाद कँडेललगायतले श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    श्रेष्ठलाई समाजले सम्मानसँगै दिएको नगद रु २५ हजारमा थप गरी रु एक लाख ११ हजार १११ समाजको जिल्ला समितिलाई छोरा पौडेलले अक्षयकोष स्थापनाका लागि उपलब्ध गराउनुभएको थियो । केन्द्रीय समितिले २०७७ को सम्मान श्रेष्ठलाई अर्पण गरेको हो ।

    विसं २०६७ को नुतन थपलिया, २०७५ को पुरुषोत्तम बस्नेत, २०७४ को चक्रप्रसाद बाँस्तोला, २०७३ को इन्द्रकान्त मिश्र र २०७२ को कुलबहादुर गुरुङलाई प्रदान गरेको थियो । श्रेष्ठले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, वडा कार्यालयका लागि भवन बनाउन जग्गा उपलब्ध गराउनुभएको छ । यसैगरी उहाँले नेपाल प्रेस युनियन चितवन शाखासहित विभिन्न सङ्घसंस्था र व्यक्तिलाई जग्गा दान गर्नुभएको छ । उहाँकै नामबाट भरतपुरमा सुश्री मैयादेवी कन्या कलेज सञ्चालनमा छ । (रासस)

  • चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

    चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

    काठमाडौँ, १३ चैत –
    चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

    चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभयो । परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुग्नुभएको थियो ।

    नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेट्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गर्नुभएको थियो । (रासस)

  • शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ, चैत १३-

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ । यस्तो परिसूचक ९.५५ अङ्कले ओरालो लागेर ४७९.३९ पुगेको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।रासस

    निर्जीवन बीमाबाहेक सबै उपसमूहका शेयर मूल्यमा गिरावट

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहका शेयर मूल्य घटेका छन् भने निर्जीवन बीमा उपसमूह मात्रै बढेको छ । निर्जीवन बीमा उपसमूह १३३.३५ अङ्कले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बीमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अङ्कले ओरालो लागेका छन् ।

    आजको बजारमा कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु २७ करोड ५६ लाख ७४ हजार ३९३ मूल्य बराबरको कारोबार भयो । यस्तै गुँरास लाइफ इन्सुरेन्सको रु १७ करोड ५१ लाख दुइ हजार ८६०, एभरेष्ट इन्सुरेन्स कम्पनीको रु १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको रु १६ करोड २९ लाख २२ हजार ७२८ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक शेयर रु १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

    आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको .।९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको शेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ । उता मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ । नारायणी डेभलपमेण्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४.६८ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।

  • चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

    चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

    चितवन, १३ चैत –
    चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।

    यस्तै अर्ना १०, बाघ २, रतुवा ३, मगर गोही दुई, जरायो ९, बँदेल दुई, सर्प दुई, अजिङ्गल दुई, लघुना चार, चखेवा दुई मरेका छन् । यसैगरी भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सी, पानीहाँस र बाँदर एक÷एक वटा मरेका छन् ।

    तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन् । अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो । वन्यजन्तु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्ने गर्दछन् ।

    चितवन राष्ट्रिय निकुञ्ज वन तथा वन्यजन्तुका लागि प्रख्यात छ । यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप र १२६ प्रजातिका माछा पाइन्छन् । (रासस)

  • यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

    यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

    काठमाडौं, १३ चैत –
    नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    हस्ताक्षर भएका सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन), भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर रहेका छन् । – न्युज कारखाना

  • भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

    भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

    – एसवी थापा
    सर्लाही, १२ चैत –
    भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् ।

    सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार सर्लाही पुगेका हुन् । अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुगेका छन् ।

    उनलाई गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो । कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरे । आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।

    मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्डहलमा महाधिवेशन उद्घाटन समारोह चलिरहेको छ । उद्घाटन समारोह राति अबेरसम्म चल्ने आयोजक गोपाल सेवा समितिले सर्लाहीले जनाएको छ ।

    राति अबेर हुने बन्दशत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने आयोजकले जनाएको हो । स्थल मार्गहुँदै सर्लाही आइपुगेका उनी उद्घाटन समारोहकै बीच फर्किएका छन् । – न्युज कारखाना

  • दलित बस्तीका १३ घरमा आगलागी

    दलित बस्तीका १३ घरमा आगलागी

    मलङ्गवा, १३ चैत –
    सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताउनुभयो । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ ।

    आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

    मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । गर्मीयाममा सावधानी नअपनाउँदा वर्षेनी आगलागीका घटना हुने गरेको छ । (रासस)

  • स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

    स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

    चितवन, १३ चैत –
    नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो ।

    जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

    पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीहरूलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् ।

    पार्टीले गत फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार जिल्लामा कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार छ । सात पालिकाको ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । जिल्ला अध्यक्ष खनाललले आजबाट अभियानलाई प्रभावकारी ढङ्गले अघि बढेको बताउनुभयो ।

    पाँच हजार बढी म्यादी प्रहरीमा आवेदन
    जिल्लामा पाँच हजार ४६६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार ७०९ म्यादी प्रहरीको माग गरिएको हो । आवेदन दिनेमध्ये चार हजार ३३ पुरुष र एक हजार ४३३ महिला छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही चैत ११ गते शुक्रबार निवेदन दिने अन्तिम मिति रहेको थियो । म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने व्यवस्था छ । अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुनुपर्ने प्रहरीले जनाएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

    म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । (रासस)