Blog

  • देशको अर्थतन्त्र संकटतर्फः केपी ओली

    देशको अर्थतन्त्र संकटतर्फः केपी ओली

    बुटवल, चैत १५-

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ ।

    एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आठ महिनाअघि परमादेशका भरमा गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भएको बताए ।

    आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भूकम्प प्रभावितलाई घरबास उपलब्ध गराउनेदेखि लिएर तराईमा बाढीबाट विस्थापित आठ सय परिवारलाई घर निर्माण गरिदिएको उनले बताए ।

    भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मानिस अट्ने सभाहल, जनकपुर–जयनगर रेलसेवा आफू सरकारमा भएका बेला मात्र अगाडि बढेको र मूर्तरुप लिएको ओलीको भनाइ छ । न्युज कारखाना

     

  • शेयर बजार दोहोरो अंकले ओरालो

    शेयर बजार दोहोरो अंकले ओरालो

    काठमाडौं चैत १५

    नेपाली शेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसुचक १४ दशमलब २६ अंकले ओरालो लाग्दै २५ सय २७ दशमलव २७ अंकमा पुगेर रोकिएको छ ।

    मंगलबार शेयर बजारमा ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ भने कारोबार रकममा उतारचढाव भइरहेको छ ।

    मंगलबार तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । इमर्जिंग नेपाल कम्पनीको सेयर मूल्य ९२ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भएको छ ।

    नेष्ट्रो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात ७९ रुपैयाँ बढेर ८७२ रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९१ रुपैयाँले बढेर एक हजार ९० रुपैयाँमा कारोबार भयो ।

    नेप्सेमा मंगलबार लाइफ इन्स्योरेन्स सेक्टरको सेयर परिसूचक २१९ अंकले ओरालो लागेको छ भने अन्य सेक्टरमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ६२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने १४७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

     

  • त्रिवि सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    त्रिवि सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं,चैत १५-

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयका प्रा।डा। टेकनाथ ढकालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले प्रा।डा। ढकालसहित सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

    आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको हो ।

    सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो ।

    उक्त परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमासमेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्दै उजुरी परेको थियो ।

    उजुरी पश्चात छानविन गर्ने क्रममा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने पाइएको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

     

     

  • पेट्रोलियम पदार्थको घाटा बेहोर्न नसकेपछि आयल निगमको यस्तो प्रस्ताव

    पेट्रोलियम पदार्थको घाटा बेहोर्न नसकेपछि आयल निगमको यस्तो प्रस्ताव

    काठमाडौं, १५ चैत 

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटालाई न्यूनिकरण गर्ने प्रस्ताव अघि सारेको छ । निगमले विभिन्न १० वटा प्रस्ताव अघि सारेको हो । जसमा शनिवार र आईतबार दुई दिन बिदा दिनुपर्नेदेखि लिएर सरकारले लिदैं आएको कर छुट हुनुपर्ने सम्मका प्रस्ताव छन् ।

    सरकारी बैंकहरू, नागरिक लगानी कोष, संचय कोषजस्ता संस्थाहरूबाट निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्नुपर्ने निगमको प्रस्ताव छ ।

    त्यस्तै अब उप्रान्त पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यासमा प्रति युनिट जेजति घाटा भइरहेको छ उक्त घाटा एकै पटकमा समायोजन गरी निगमलाई न नाफा न घाटा अवस्थामा संचालन गरिनुपर्ने निगमको प्रस्ताव छ ।

    त्यस्तै नेपाल सरकारले केही समयका लागि पेट्रोलियम पदार्थमा लिइदै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर पुर्वाधार शुल्क लगायतका शुल्कमा प्रति लिटर १५ रुपैयाँ  र एलपी ग्यासमा प्रति सिलिण्डर  २०० रुपैयाँ सम्मले सरकारी शुल्कहरू मिनाह गरिनुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्ने निगमको प्रस्ताव छ ।

    पेट्रोलियम पदार्थहरु मध्ये पेट्रोल र डिजलको खपत कटौती गर्न संवेदनशिल क्षेत्र वा निकाय बाहेकका निजी तथा सरकारी सवारी साधनहरु जोर विजोर प्रणालीमा संचालन गर्ने, सार्वजनिक तथा सरकारी सवारी साधनहरूको प्रयोग कम गराउने उद्देश्यले शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

    पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्ने, खाना पकाउने एलपी ग्यासको सट्टा बिजुली प्रयोग गर्न नेपाल सरकारबाटै सार्वजनिक आव्हान गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत बढाउन आव्हान गर्ने निगमको प्रस्ताव छ ।

    छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदलयात्रा गर्न आव्हान गर्ने, जुनसुकै किसिमका सवारी साधनहरुमा पूर्ण सिट क्षमतामा यात्रहरु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउन पनि सार्वजनिक आव्हान गर्ने प्रस्ताव निगमले गरेको छ ।

  • चितवनका उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै

    चितवनका उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै

    कुलप्रसाद काफ्ले
    चितवन,  चैत १५-

    चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ ।

    अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् ।

    ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन ।

    उद्योगमा कम्तीमा आठ घन्टासम्म बिजुली दिने योजना रहेको उनले बताए । गार्हस्थ उद्योगमा भने लोडसेडिङ हुन नदिइने उनी बताउँछन् ।

    ‘चुुनाव आइरहेको छ । यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरूलाई जनताले कुट्छन् । त्यसो भएकाे हुनाले घरमा लोडसेडिङ हुन दिन नहुने हामीलाई दबाब छ’, उनले भने ।

    रुस-युक्रेन युद्धको प्रभाव भारतको ऊर्जा क्षेत्रमा पनि परेपछि भारतले विजुलीको मूल्य बढाएको हो । बढेको मूल्यमा पनि बिजुली सप्लाइ सहज नहुँदा लोडसेडिङ सुरु भएको हो । नदीमा पानीको बहाव बढेपछि मात्रै बिजुली सहज हुने देखिएको छ । – न्युज कारखाना

  • बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    गलेश्वर, १५ चैत
    ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।

    चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।

    गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आङ्गन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

    सङ्घीयताको मर्मअनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।

    विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–४ का वडासदस्यसमेत रहनुभएका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताउनुभयो ।

    विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना– २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ”, उहाँले भन्नुभयो । उहाँले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताउनुभयो ।

    पूर्वप्रमुख सापकोटाले भनेजस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत विसं २०७८ को जनगणना अनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ । तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कु्ल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।

    श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा–आमा मात्र भेटिन्छन्”, उहाँले भन्नुभयो, “घर संरक्षणको अभावमा खाली हँुदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”

    सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ । बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमासमेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । “यूवा विदेशमा छन, अशक्त वृद्धवृद्धाको सेवा गर्नेकोसमेत कमी छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भन्नुभयो ।

    उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताउनुभयो । बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाइ छ । विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।

    हराउँदै गयो गाउँलेपन

    एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घर–घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्याे । दसँैंको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।

    कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर,आजभोलि ती सबै कुरा इतिहास बनेका छन् । (रासस)

  • मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

    मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

    किभ, १५ चैत –
    युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ ।

    रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रतिउत्पादक’ हुने बताएका छन् ।

    युद्ध चर्किरहेको बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन् । त्यस्तै युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन् । राजधानी किभनजिक भएका हमलामा विद्युत् सेवा अबरुद्ध भएका छन् । विद्युत् अबरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरुले बताएका छन् ।

    युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी सहर मारिओपोलमा कम्तीमा ५ हजार शव गाडिएको बताएका छन् । तर, रुसी गोलाबारीका कारण विगत १० दिनदेखि शव संकलन हुन सकेको छैन । युक्रेनी विदेश मन्त्रालयले सहरको मानवीय अवस्थालाई विपत्तिजनक भनेको छ । – एजेन्सी

     

  • प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जाँदैछन् : ओली

    प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जाँदैछन् : ओली

    बुटवल, १५ चैत –
    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

    आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दावी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दावी गरे ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।

    ‘अहिले उहाँहरू अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिंड्नु भएको छ, अब प्रधानमन्त्री देउवा फाइल खोज्न दिल्ली जाँदै हुनुहुन्छ,’ उनले भने । अध्यक्ष ओलीले गएको चुनावपछि बनेको सरकारले आफ्नो साढे तीनवर्षे कार्यकालमा मानवीय चेतनाको विकासमा महत्वपूर्ण फड्को मारेको दावी पनि गरे । ‘चेतनामा आएको विकासले भौतिक विकास हुन्छ, हाम्रो नेतृत्वमा सरकार बन्दैनथ्यो भने विकास सम्भव थिएन,’ उनले भने । अघिल्लो सरकारले अन्तरिक्षमा आफ्नो स्पेस र समुन्द्रमा नेपालको अधिकारसमेत स्थापित गर्न सफल भएको बताए ।

    उनले मुलुकको कृषि प्रणाली आयातमुखी बन्दै गएको भन्दै यो प्रवृत्ति हटाउन सबै लाग्नु पर्ने बताए । ‘सबै आयातित वस्तुको प्रयोग गर्ने बानी हटाउन सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ, यसका लागि खाद्यान्नमा आत्मनिर्भर बन्न जरुरी छ,’ ओलीले भने ।

    उनले सबै नेपालीले भान्सालाई परिवर्तन गर्नुपर्ने सुझाव दिए । ‘कृषिमा आत्मनिर्भर भन्दै भान्सामा विषादी भित्रिन नदिनेतर्फ सबै सचेत हुनुपर्छ,’ उनले भने । उनले कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा तिलोत्तमाले गरेको प्रगतिबाट प्रभावित भएको पनि बताए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रवक्ता सुरेन्द्र श्रीलगायतले नगरपालिकाले पाँच वर्षमा गरेको प्रगतिबारे जानकारी गराएका थिए ।

    १५ चैत ०७४ मा शिलान्यास गरेको उक्त भ्यू टावर चार वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उदघाटन गरिएको हो । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा १३४ फिट उचाइमा रहेको भ्यू टावर १० तलाको रहेको छ ।

    तिलोत्तमा नगरपालिकाले यो भ्यु टावर, भ्यु टावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दावी गरेको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको टावरमा पहिलोदेखि छैठौ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ । साढे ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको भ्यु टावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

    कुल २५ हजार एक सय २२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा, पुस्तकालयलगायतका संरचना रहेको नगरप्रमुख घिमिरेले जानकारी दिए । भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ ।

    कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले चार वर्षमा पूरा गरेको हो । लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै दुई बिगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू समेत निर्माण भइरहेका छन् । शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्यु टावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

    शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले भ्यु टावर निर्माणपछि अहिलेको तुलनामा पर्यटकहरूको आकर्षण अझ बढ्ने बताए । पछिल्लो समय वन वाटिकामा धेरै पर्यटकीय पूर्वाधार निर्माण भएको भन्दै जिल्लाकै नमुना पर्यटकीय स्थल बनाउने योजना रहेको उनले बताए । सामुदायिक वनको पाँच सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर संरचना निर्माण भइरहेका छन् ।

    भ्यु टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ । यस्तै बाल खेल मैदान र स्टेडियम निर्माण पनि सुरु भइसकेको छ । – न्युज कारखाना

  • शेखर भन्छन्, ‘गठबन्धनको निर्णय भए विरोध गर्छु’, गगन भन्छन्, ‘निर्णय नै भए विरोधमा जान्न’

    शेखर भन्छन्, ‘गठबन्धनको निर्णय भए विरोध गर्छु’, गगन भन्छन्, ‘निर्णय नै भए विरोधमा जान्न’

    काठमाडौं, १५ चैत
    स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ ।

    सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मतको विपक्षमा मत प्रकट गर्ने कोइराला समूहभित्र दुई धार देखा परेका हुन् ।

    कोइरालाले गठबन्धनलाई ठाडै अस्वीकार गर्दै विपक्षमा उभिने जनाए पनि उनकै समूहबाट विजयी भएका महामन्त्री गगनकुमार थापाले भने पार्टीले निर्णयको विपक्षमा नउभिने मत प्रकट गरेका छन् ।

    ‘शेखर र गगन दुबै नेताले गठबन्धनको विपक्षमा धारणा राख्नु भएकाे छ, दुवैको मत कांग्रेस एक्लै चुनाव लडनुपर्छ भन्ने नै छ,’ केन्द्रीय सदस्य नैनसिंह महरले न्युज कारखानासँग भने, ‘शेखर दाइ गठबन्धन गर्ने निर्णय गरे आफू विपक्षमा उभिने प्रस्ट पार्नु भएको छ भने गगनजीले पार्टीले गठबन्धनमा जाने निर्णय गरेमा असहमतिका बाबजुद पनि पार्टी निर्णय मान्छु भन्नु भएको छ ।’

    उनका अनुसार गठबन्धनको विपक्षमा भन्दा पनि अधिकांश सदस्य पक्षमा उभिएका छन् तर त्यसका लागि केन्द्रबाट स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने तर्क बैठकमा प्रस्तुत भएका छन् ।

    गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम सकिएको छ । आज अपरान्ह ३ बजे बस्ने बैठकमा संसदीय बोर्ड, स्थानीय तह चुनावी घोषणा पत्र लेखन समितिलाई पूर्णता दिने विषयमा कांग्रेसले औपचारिक निर्णय गर्ने जनाइएकाे छ । – न्युज कारखाना

  • जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

    जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

    तनहुँ, १५ चैत –
    नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ ।

    पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।

    पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानुनी व्यवस्था अनुसार पुनरावेदन दिँदैछौँ,’ उनले भने ।

    घटना भएको लामो समय पछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।

    जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ । ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियाे ।

    गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

    अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मा सर्मपण गरेका थिए ।

    जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ । पल जिल्ला कारागार तनहुँको बि ब्लकमा छन् । उनीसँगै बि ब्लकमा १४० जना कैदीबन्दी छन् । बि ब्लक ८० जना क्षमताको हो । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दी सहित कुल २५८ जना छन् ।

    पललाई दैनिक ६० रुपैयाँ नगद सिदा र सात सय ग्राम चामल रासन उपलब्ध गइईएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । पलले कारागारमा पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गर्ने गरेर दिन बिताइरहेका छन् । – न्युज कारखाना