Blog

  • जनकपुरमा एउटै मोटरसाइकलमा ५ जना सवार, दुर्घटना हुँदा ४ बालकको मृत्यु

    जनकपुरमा एउटै मोटरसाइकलमा ५ जना सवार, दुर्घटना हुँदा ४ बालकको मृत्यु

    जनकपुर, १५ चैत
    धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

    दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

    सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उहाँको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । (रासस)

  • रत्ननगरमा सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

    रत्ननगरमा सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

    चितवन, १५ चैत
    नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु गरेको हो । एड्वानले महिला र दलित समुदायभित्र पनि सबैभन्दा बढी दलित महिलाले नै हिंसा भोग्नुपरेको अवस्था उल्लेख गर्दै उनीहरूले भोग्नुपरेको सबै प्रकारका हिंसाको अन्त्य गर्ने उद्देश्यले पनि सो अभियानको सुरुआत गरेको हो ।

    रत्ननगर नगरपालिकाका उपप्रमुख विमलादेवी दुवाडीले अभियानको सुरु गर्दै संवैधानिक र कानुनीरूपमा प्राप्त अधिकारलाई व्यवहारिकरूपमै कार्यान्वयनको निम्ति समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एड्वानले विशेषगरी ग्रामीणस्तरका महिला र किशोर–किशोरीको अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आएको छ । विसं २०५५ मा स्थापना भएको एड्वानले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बाग्लुङ र तनहुँलगायतका जिल्लामा विपन्न समुदायका २०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

    एड्वानका अध्यक्ष पम्फा परियार र महासचिव विन्दु परियारले राज्यको मूलधारबाट पछाडि परेका आर्थिकरूपमा विपन्न, दलित महिलालगायत अति सीमान्तकृत समुदायलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपमा सशक्त बनाउने एड्वानको उद्देश्य रहेको बताउनुभयो । एड्वानका संस्थापक डा विष्णुमाया परियारले आर्थिकरूपमा कमजोर समाजमा अत्यधिक मदिरा सेवन हुने र त्यही घरमा सबैभन्दा बढी महिला हिंसा भएको बताउँदै सोही समुदायलाई लक्ष्य गरेर अभियान सुरु गरिएको जानकारी दिनुभयो । (रासस)

  • नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

    नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

    काठमाडौँ, १५ चैत
    नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ ।

    द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

    दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

    त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गर्नुभएको थियो । उहाँहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गर्नुभएको थियो ।

    राजदूत राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताउनुभएको थियो । नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यका लागि एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पु¥याउँदै आएको छ ।

    पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो । नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह, भूपरिवेष्टित विकासशील देशहरूका साथै समूह ७७ र चीनका सदस्य हुन् । दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घको १९३औँ सदस्यका रूपमा सामेल भएको उक्त विश्व सङ्गठनको कान्छो सदस्य देश हो । (रासस)

  • अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : अध्यक्ष प्रचण्ड

    अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : अध्यक्ष प्रचण्ड

    रोल्पा, १४ चैत –
    पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, “विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थे ।”

    पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गर्नुभयो । “हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ”, प्रचण्डले भन्नुभयो । माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहनुभएका प्रचण्डले दशवर्षे सशस्त्र युद्धको स्मरण गर्नुभएको हो । सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो ।

    जनसभालाई सम्बोधन गर्नुपूर्व आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरू एक्लै निर्वाचनमा होमिने गरी तयारी गरिरहेको बताउनुभयो । “गठबन्धनको बलमा हैन आप्mनै ताकतमा चुनावमा जाने हो”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गर्नुभएको थियो । भ्यू टावर उद्घाटनका क्रममा प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताउनुभयो । “रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ”, प्रचण्डले भन्नुभयो ।

    प्रचण्डले भ्यू टावरको दशौँ तला चढरे रोल्पा र प्यूठानका विभिन्न भूभागको दृश्यावलोकनसमेत गर्नुभएको थियो । विसं दुई हजार ५५ मिटर उचाइमा रहेको रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यू टावर बनाइँदैछ । चक्रेश्वरी÷ब्राइट जेभी काठमाडौँले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो । ११२ फिट अग्लो यो टावरको कूल ठेक्का रकम (भेरियशनसमेत) रु चार करोड ७६ लाख ८७ हजार ६६५ रहेको नगरपालिकाको भनाइ छ । (रासस)

  • तीन दिनदेखि गमगढी अन्धकार, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

    तीन दिनदेखि गमगढी अन्धकार, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

    – खड्क सुनार
    मुगु, १४ चैत –
    मुगुमा शनिवारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको दैनिकी कष्टपूर्ण बनेको छ ।

    नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत आयोजनाको बालैस्थित इन्टेकमा समस्या भएपछि मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको हो । पानीनै बन्द गरेर मर्मत गर्नुपर्ने भएकाले सेवा बन्द गरेको प्राधिकरणले जनाएको छ । जसको मार सदरमुकाम गमगढी बजारलगायत आसपासका बस्तीलाई परेको छ ।

    नेपाल बिद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका वितरण केन्द्र प्रमुख दिनेश पौड्यालले १९ चैतसम्म विद्युत अवरुद्ध हुने जानकारी दिए । उनका अनुसार यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमा चाहन्छ ।

    करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना भएको गमगाढ साना जलविद्युत आयोजना पटकपटक बिग्रिन थालेपछि सुधारका लागि मर्मत सुरु भएको हो । स्थानीयले धेरै नै गुनासो गरेपछि मर्मत थालेको प्राधिकरणले जनाएको छ ।

    १२ चैतमा विद्युत अवरुद्ध भएयता सरकारी कार्यालयको कामकाज ठप्प जस्तै भएको छ । साथै स्कुल कलेजमा पढ्ने बालबालिका पनि विद्युत अभावको मारमा परेका छन् । उनीहरू टुकी बालेर पढ्न बाध्य छन् ।

    वितरण केन्द्रमा रहेको मोटर जल्दा विद्युतमा अनियमितता हुँदै आएको थियो । गमगढीमै मोटर मर्मत गर्न नसक्दा नेपालगञ्ज लैजानु परेको हो ।

    सदरमुकाम गमगढी बजारलगायत अन्य बस्तीमा विद्युत सेवा नहुँदा मोबाइल चार्ज गर्न समेत नपाएको छायानाथ रारा नगरपालिका–१० का रामनाथ सेजुवालले बताए । एकातिर अध्यानअध्यापनको लागि पनि सास्ती भएको छ भने अर्कोतर्फ सरकारी तथा गैरसरकारी कार्यालयमा समेत काम ठप्प भएको छ । विद्युत सेवा नहुँदा मैनबत्ती बालेर भए पनि कार्यालय सञ्चाल गरेको आँखा अस्पताल मुगुका कार्यालय प्रमुख ध्रुव बुढ्थापाले बताए ।

    विद्युत गृहमा जडित मेसिनहरू पुरानो भएको र अहिले बजारमा त्यो मोडलका सामान पाउन मुस्किल हुने गरेको छ । विद्युत गृहमा सानोसानो समस्या आए पनि चीनको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान मगाउनु अवस्था छ । यसले पटक पटक समस्या हुने गरेको वितरण केन्द्र प्रमुख पौड्यालले बताए । – न्युज कारखाना

  • तनहुँमा कृषि गणना गरिँदै

    तनहुँमा कृषि गणना गरिँदै

    दमौली, १४ चैत –
    तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो ।

    कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पु¥याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिनुभयो ।

    कृषि गणनाका लागि तनहुँमा ६३ गणक परिचालन गरिनेछ । त्यस्तै १६ सुपरिवेक्षक र एक कृषिगणना अधिकृत परिचालन गरिने उहाँले जानकारी दिनुभयो । कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र दुई चरणमा सञ्चालन गरिनेछ । गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्नेछन् ।

    पहिलो चरणमा गणकद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिने उहाँले पोख्रेलले जानकारी दिनुभयो । दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरिवेक्षकद्वारा छानिएका कृषक परिवारमा पुगी गणकद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ ।

    दोस्रो चरणमा सुपरिवेक्षकबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत छनोटमा परेका गणना क्षेत्र रहेको वडाको भौगोलिक अवस्थिति र सामाजिक आर्थिक अवस्था, सो क्षेत्रमा भएका पूर्वाधार एवं सेवासुविधा र त्यस क्षेत्रमा सञ्चालित विकास कार्यक्रमसम्बन्धी विवरण सङ्कलन गरिने बताइएको छ ।

    सोही अवधिमा सुपरिवेक्षकबाट जिल्लामा सञ्चालित संस्थागत कृषि चलनको पूर्णगण्ना गरिने र गणक तथा सुपरिवेक्षकले गर्ने स्थलगत तथ्याङ्क सङ्कलन कार्यको केन्द्र, प्रदेश तथा जिल्ला तहबाट विभिन्न चरणमा सुपरिवेक्षण गरिने कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

    जिल्लाका सबै स्थानीय तहमा गरी १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको छनोट गरी गणना गरिनेछ । त्यसका लागि भानुमा २०, व्यासमा १८, म्याग्देमा १६, शुक्लागण्डकीमा १८ गणना क्षेत्र तोकिएको छ । त्यस्तै भिमादमा १७, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ गणना क्षेत्र तोकिएको छ ।

    कृषिगणनामा घर परिवारले गरेका कृषिकार्य, संस्थागत कृषिकार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य), वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिनेछ । घरपरिवारले गरेका कृषि कार्यको तथ्याङ्क सङ्कलन छनोट विधिमा आधारित हुनेछ ।

    कृषि गणनामा कृषकले चलन गरेका जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेका जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिनेछ ।

    कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहरको व्यवस्थापनजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कृषि गणनालाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले गणक घरघरै पुगे नपुगेको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । (रासस)

  • चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    काठमाडौँ, १४ चैत –
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

    मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उहाँले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिनुभयो । (रासस)

  • चितवनमा मौरी पालनमा आकर्षण बढ्यो, तर चरन क्षेत्र घट्दै

    चितवनमा मौरी पालनमा आकर्षण बढ्यो, तर चरन क्षेत्र घट्दै

    – सुरेन कुँवर
    रत्ननगर, १४ चैत –
    चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।

    “विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, उहाँले भन्नुभयो, “अहिले निरन्तर घट्दै गएर वार्षिक २५ किलो मह पनि उत्पादन हुँदैन ।” खर्च कटाएर एउटै गोलाबाट रु १० हजारसम्म आम्दानी गर्नुभएका उहाँले अहिले मुस्किलले रु पाँच हजार पनि बचाउनुहुन्न । यसरी महको उत्पादकत्व घट्दै गएपछि उहाँले मौरीको सङ्ख्यासमेत घटाउँदै आउनुभएको छ ।

    “पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो”, उहाँले भन्नुभयो, “बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।” उहाँले वार्षिक २५ टनका हाराहारीमा मह उत्पादन गर्नुहुन्छ । उहाँले वार्षिक ७० टन अरुको मह सङ्कलन गरेर बिक्रीसमेत गर्ने बताउनुभयो । महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उहाँको भनाइ छ ।

    चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको बताइएको छ । विकास निर्माणका क्रममा स्थानीय वनजङ्गलमा चिउरी, रुदिलोलगायतका बोटबिरुवा नास हुँदै जाँदा किसानहरु मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेको छन् । “पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाहीलगायतका पूर्वका जिल्लामा मौरी चराउन लैजान्छौँ”, १५० गोला मौरीपालन गर्दै आउनुभएका रत्ननगरका सुरेन्द्र मानन्धर भन्नुभयो, “मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।” चरनका लागि उनीहरुले प्रतिगोला रु ५० देखि १०० सम्म सामुदायिक वनलाई दिने गरेका छन् ।

    बढ्दो विषादीको प्रयोगका कारण पनि मौरीपालक किसान समस्यामा परेका छन् । विसं २०५२ देखि मौरीपालन गर्दै आउनुभएका मेघबहादुर खत्री मौरीपालक किसानका लागि चरण क्षेत्रको समस्या नै प्रमुख चुनौती रहेको बताउनुहुन्छ । “मेरोमा २५० गोला मौरी छन् । यहाँ राखेर उत्पादन दिन सकिँदैन । चरन भएको क्षेत्रमा स्थानीयले लैजान दिँदैनन”, उहाँले भन्नुभयो, “गत वर्ष तोरीमा हालेको विषादीको कारण १० गोला मौरी नष्ट भयो ।”

    पछिल्लो समय जिल्लामा मौरीपालक किसान बढ्दै गएका छन् । यहाँ ५०० भन्दा बढी किसान छन् । हालसम्म जिल्लामा ३० हजार गोला मौरी रहेको अनुमान छ । तीन वर्षका तुलनामा मौरीका गोला ३० प्रतिशतले बढेको छ तर, किसानको आकर्षण बढेपनि चरणलगायतका कारण महको उत्पादकत्व भने घट्दै गएको मौरीपालन महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेल बताउनुहुन्छ ।

    “चितवनमा मेलिफेरा मौरीको २९ हजार गोला सङ्ख्या छ । विसं २०७५ मा प्रतिगोला वार्षिक ५५ किलोसम्म उत्पादन हुन्थ्या”, उहाँले भन्नुभयो, “२०७६÷०७७ मा १८ किलोको हाराहारीमा उत्पादन थियो । २०७७/०७८ मा २३ किलो आयो । अहिले पनि २५ किलो कट्ने सम्भावना कम छ ।” जिल्लामा तीन वर्षअघिसम्म वर्षिक आठ हजार मेट्रिक टन महको उत्पादन हुँदै आएको थियो । त्यसपछि घट्दै अहिले चार हजार मेट्रिक टन मात्रै उत्पादन भएको सरकारी तथ्याङ्क छ ।

    महको उत्पादन वृद्धि गर्नका लागि सामुदायिक वनसँग मिलेर चिउरी, रुदिलोलगायतका बिरुवा सार्ने र गुणस्तरीय रानी मौरीको आयात गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख धनबहादुर थापाले बताउनुभयो । “मौरीको सङ्ख्या बढ्दै गएको छ । चरण क्षेत्र घट्दै छ । यसलाई मध्यनजर गर्दै चिउरीलागयतका बिरुवा रोप्नका लागि सामुदायिक वनसँग परामर्श गरेर मौरी चरणको व्यवस्थापनको कार्यक्रम गर्दै छौँ”, उहाँले भन्नुभयो, “रानी मौरीको गुणस्तर घट्दै गएको पाइएको छ । प्रजनन विकासका लागि मौरी विकास कार्यालयसँग मिलेर विदेशबाट रानी मौरी ल्याएर किसानलाई दिने तयारी गर्दैछौँ ।”

    मौरीपालक किसानको क्षमतामा अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभयो । नेपालमा गत वर्ष तीन हजार ९९६ मेट्रिक टन मह उत्पादन भएको थियो तर, खपतका दृष्टिले ज्यादै न्यून हो । यहाँ वार्षिक एक हजार मेट्रिक टन मह बाहिरी मुलुकबाट आयात हुँदै आएको छ । उत्पादन बढाउनका लागि सामुदायिक वनसँग मिलेर फूल फुल्ने बिरुवा रोप्ने काम भइरहेको मौरीपालन विकास कार्यालय भण्डाराका प्रमुख गोविन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ३० हजार चिउरीका बिरुवा रोप्ने तयारी छ । वार्षिकरुपमा मौरीपालक किसान थपिँदै जाँदा मौरीका गोलामा भने वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘मौरी जोन’ मार्फत अनुदान तथा प्राविधिक सहयोग गरेपछि किसान मौरीपालनमा उत्साही भएका उहाँको भनाइ छ । गुणस्तरीय रानीको विकाससँगै चरनक्षेत्रको विस्तार गर्ने हो भने महको उत्पादन बढाउन सकिने सरोकारवाला बताउँछन् । (रासस)

  • भरतपुर मेयर कप क्रिकेट सुरु

    भरतपुर मेयर कप क्रिकेट सुरु

    चितवन, १४ चैत –
    भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताउनुभयो । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रङ्गशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उहाँको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

    चैत १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अङ्क ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालीका अध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो । (रासस)

  • चितवनमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    चितवनमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    चितवन, १४ चैत –
    चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

    खोलेसिमलबाट मिलिजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोकिएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रविन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    दुवै मोटरसाइकल सहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । – न्युज कारखाना