Blog

  • चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

    चितवन, १७ चैत –
    चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।

    वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पति सवार बागमति प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ५ बजे ठक्कर दिएको थियो ।

    गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ । – न्युज कारखाना

  • चितवनमा इँटा बोकेको ट्रकमा आगलागी

    चितवनमा इँटा बोकेको ट्रकमा आगलागी

    चितवन, १७ चैत –
    भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

    ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ । (रासस)

  • अमेरिका विश्वकपमा छनोट

    अमेरिका विश्वकपमा छनोट

    काठमाडौं, १७ चैत –
    कतार विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएकाे अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।

    यस्तै, तालिकाको चौथो स्थानको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    उत्तर अमेरिकी छनोटबाट क्यानडाले शीर्ष स्थानमा रहँदै र मेक्सिकोले दोस्रो स्थानमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे ।

    बिहीबारै भएको अर्को खेलमा मेक्सिकोले एल साल्भाडोरलाई २-० ले पराजित गर्दा क्यानडा पानामासँग १-० ले र होन्डुरस जमैकासँग २-१ ले पराजित भयो । – न्युज कारखाना

  • चितवनमा १३२ केभी सबस्टेसनकाे उद्घाटन

    चितवनमा १३२ केभी सबस्टेसनकाे उद्घाटन

    काठमाडौं, १६ चैत
    सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका हुन् ।

    चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटाैँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।

    कार्यक्रममा प्रचण्डले ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताए । प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताए । उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०/५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं ।’

    कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको बताए ।

    सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमतार ३३/११ केभी, १६.६ एमभिए क्षमताकाएक/एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् ।

    सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन् ।

    यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नुपर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण, प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताए ।

    उनले स्थानीय, जनप्रतिनिधि, प्रशासनलगायतबीच पटक–पटक छलफल गरिएको भए पनि समस्या समाधान हुन नसकेको बताए ।
    पूर्वी चितवन सबस्टेसन निर्माण जेठ २०७५ जेठबाट सुरु भएको थियो । न्युज कारखाना

  • एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन् : ओली

    एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन् : ओली

    काठमाडौं, १६ चैत

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए ।

    ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ,’ अध्यक्ष ओलीले भने ।

    एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने । न्युज कारखाना

     

  • चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने : प्रचण्ड

    चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने : प्रचण्ड

    चितवन, १६ फागुन –
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् ।

    राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश लोडसेडिङमुक्त भइसकेकाले अब विद्युत्बाट यातायात, कृषि, सिँचाइ, शिक्षासहितका क्षेत्रमा आमूल परिवर्तनको अवस्थामा आइपुगेको बताएका हुन् ।

    देश र जनतालाई समृद्धतर्फ लैजान विद्युत्बाट गर्नुपर्ने बताएका उनले चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए ।

    कृषिमा उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने भन्दै उनले यसका लागि शक्तिखोर औद्योगिक क्षेत्र स्थापना गरेर रोजगारी सृजना गर्ने बताए । – न्युज कारखाना

  • भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी

    भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी

    चितवन, १६ चैत –
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छाँै ”, उहाँले भन्नुभयो, “कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।”

    भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताउनुभयो । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ भन्नुभयो । (रासस)

  • इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

    इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

    इजरायल, १६ चैत –
    मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँच मध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ।

    मङ्गलबारको आक्रमणका पीडितहरू मध्ये युक्रेनका २३ र ३२ वर्षीय युक्रेनी नागरिक रहेको प्रहरीले जनाएको छ। (रासस- एएफपी)

  • तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    दमौली, १६ चैत –
    तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

    व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग २० प २१४३ नं को स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।

    यसैगरी शुक्लागण्डकी–१० मिनामखानीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग २ च ८२०१ नं को बोलेरो जिप सोही ठाउँमा मलको खाल्डोमा पल्टिदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

  • कृतिमान आलेको परिवारलाई पूर्व वनमन्त्री शंकर भण्डारीद्वारा पचास हजार सहयोग

    कृतिमान आलेको परिवारलाई पूर्व वनमन्त्री शंकर भण्डारीद्वारा पचास हजार सहयोग

    देवघाट तनहुँ, चैत १५ –
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ का स्व वडा अध्यक्ष कृतिमान आलेमगरको परिवारलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वनमन्त्री शंकर भण्डारीले आर्थिक सहयोग गरेका छन् ।

    स्व. अध्यक्ष आलेका छोरा युवराज आलेलाई नगद पचास हजार रुपैयाँ भण्डारीले हस्तान्तरण गरेका हुन् ।

    सहयोग कार्यक्रममा भण्डारीले आलेमगरको दुर्घटनामा परी भएको असामायिक निधनले परिवारजनमा परेको पीडालाई केही हदसम्म भए पनि राहत होस् भन्ने हेतुले आफूले सहयोग गरेको बताए । उनले हरेक सुखदुःखमा साथ र सहयोग निरन्तर आफ्नोतर्फबाट रहने बताए ।

    सो कार्यक्रममा नेपाली काङ्ग्रेस देवघाटका युवा नेता अर्जुन अधिकारी, नेपाली काङ्ग्रेस देवघाट ५ का पूर्व सभापति पुर्णबहादुर कुँवर, देवघाट २ का वडा सदस्य छविजंग सिंह ठकुरी, नेपाली काङ्ग्रेस देवघाट १ का क्रियाशिल सदस्य संगिता थापा, नेपाली काङ्ग्रेस देवघाट ४ का क्रियाशिल सदस्य मित्रलाल गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    स्वर्गीय कृतिमान आले स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनी देवघाट ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको यसै महिना भिरबाट लडेर मृत्यु भएको थियो ।