Blog

  • फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

    फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

    काठमाडौं, १७ चैत –
    नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो ।

    यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६ स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।

    यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका सातौं स्थानमा छ ।

    वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

    यसैगरी, छैटौं स्थानमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र १०औं मा नेदरल्यान्ड्स छन् । – न्युज कारखाना

  • ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

    ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

    दिलमाया शाही
    जुम्ला, १७ चैत –
    जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् ।

    २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक भएका छन् ।’

    विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए । उनले भने, ‘बिरामी भएलगत्तै प्रत्येक विद्यार्थीको कक्षा कोठा र झोला हेरेर दुई सयभन्दा बढी ट्यांक जुस खाएको डिब्बा फेला पार्‍यौँ ।’

    बिरामी परेका विद्यार्थीको अवस्था समान्य रहेको अभिभावक बमबहादुर कामीले बताए । सबै अभिभावकलाई विद्यालयले बैठक बोलाएको छ । जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने समस्या देखिएको उनले बताए ।

    बालबालिका बिरामी परेपछि हिमाली बोडिङमा अध्ययनरत बालकालिकालाई स्वच्छ खानेपानी खुवाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको छ ।

    विद्यार्थीले सेवन गरेको जुसको म्याद सन् २०२१ मा सकिए पनि व्यापारीले बिक्री गरिरहेको फेला परेको छ । सन् २०२२ को चौथो महिना लागिसके पनि बजार अनुगमन शून्य हुँदा व्यापारीको म्याद सकिएको खाद्यवस्तु बिक्रीमा मनोबल बढेको अभिभावक बताउँछन् । चार महिनाअघि नै म्याद सकिएको जुस सेवन गरेका विद्यार्थी बिरामी परेपछि बल्ल सरोकारवालाले बजार अनुमगन थालेका छन् ।

    एकैपटक धेरै विद्यार्थी बिरामी परेको समाचार बाहिरिएसँगै जिल्ला प्रशासान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्ला र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ ।

    दर्ताविना सञ्चालन

    गुठीचौर गाउँपालिका– ५ देपालगाउँस्थित हिमाली बोडिङ नजिकै सञ्चालति ट्यांक जुस बिक्री गरेका पसल दर्ता नभएको भेटिएको छ । सुशील भण्डारीले सञ्चालन गरेको दर्ताविहीन पसलबाट पनि म्याद नाघेको जुस किनेर खाँदा आफू बिरामी परेका बालक सुशान कामी बताउँछन् ।

    भण्डारीले जस्तै त्यहाँ सञ्चालित करिब एक दर्जन पसल दर्ता नगरी सञ्चालन भएको पाइएको र अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु बढी बिक्री भएको भेटिएको छ । दर्ता गरेर व्यवसाय गर्न अनुगमनका क्रममा निर्देशन दिइएको उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यलय प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

    उनले भने, ‘एक हप्ताभित्र अनिवार्य रुपमा दार्ता गर्नका लागि पसल सञ्चालकलाई निर्देशन दिइएको छ । एक हप्ताभित्र दर्ता नगरी सञ्चालन गरिएको पाइएका तत्काल बन्द गरिनेछ ।’ – न्युज कारखना

  • चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

    चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

    रत्ननगर, १७ चैत –
    चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो ।

    घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो ।

    घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जिल्लामा एक हजार ३७९ उद्योग दर्ता भएका छन् । गत साउनदेखि फागुनसम्म जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यमा आधारित उद्योगहरु दर्ता भएका छन् । सो अवधिमा जिल्लामा ९३४ कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । तीमध्ये ६४९ महिला र ३४४ उद्योग पुरुषका नाममा दर्ता भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । यी उद्योगले दुई हजार ६०० जनालाई रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ ।

    त्यस्तै जिल्लामा सेवामूलक प्रकृतिका २४५ उद्योग दर्ता भएका छन् । तीमध्ये १७८ महिला तथा ८० पुरुष उद्यमी छन् । यी उद्योगले ७५७ जनालाई रोजगार सिर्जना गरेको सूचना अधिकारी खनालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १८६ उत्पादनमूलक उद्योग दर्ता भएको उल्लेख गर्दै उहाँले ती उद्योगमा १२३ महिला र १५८ पुरुष उद्यमी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा दर्ता भएका उत्पादनमूलक उद्योगले एक हजार ४० जनालाई रोजगार प्रदान गरेको छ । त्यसैगरी जिल्लामा पछिल्लो आठ महिनामा सबैभन्दा कम पर्यटनमूलक उद्योग दर्ता भएका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार जिल्लामा १४ वटा पर्यटनमूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा आठ महिला र ६ पुरुष उद्यमीको लगानी छ । पर्यटनमूलक उद्योगमा ५३ जनाले रोजगार पाएको कार्यालयले जनाएको छ । चालु आवको पहिलो आठ महिनामा घरेलुको प्राइभेट फार्मतर्फ उत्पादनमूलक ६, कृषि तथा वनजन्य नौ र सेवामूलक एक गरी जम्मा १६ उद्योग दर्ता भएका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार साना उद्योगतर्फ प्राइभेट फार्म एक हजार २७३, साझेदारी फार्म ३१ र प्रालि ५९ वटा दर्ता भएका छन् । यस अवधिमा लघु उद्यम भने दर्ता नभएको उहाँको भनाइ छ ।

    जिल्लामा थपिएका एक हजार ३७९ उद्योगमा रु तीन अर्ब ५३ करोड ९३ लाख ९४ हजार पूँजी लगानी भएको छ । तीमध्ये कृषि तथा वनजन्य उद्योगमा रु दुई अर्ब १७ करोड २७ लाख ६५ हजार, सेवामूलक उद्योगमा रु ४९ करोड ५९ लाख ७० हजार, उत्पादनमूलक उद्योगमा रु ८३ करोड ९० लाख २२ हजार तथा पर्यटनमूलक उद्योगमा रु तीन करोड १६ लाख ३७ हजार लगानी भएको छ । जिल्लामा नयाँ उद्योग दर्ता हुँदा रु तीन करोड ६३ हजार राजश्व प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

    दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यबाट रु दुई करोड ४१ लाख, सेवामूलकबाट रु ३० लाख ६६ हजार, उत्पादनमूलकबाट रु २७ लाख ११ हजार तथा पर्यटनमूलक उद्योगबाट रु एक लाख ८५ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी खनालले बताउनुभयो । (रासस)

  • चितवनमा १५ वर्षकी छोरीलाई सुईं लगाएर बलात्कार गर्ने बाबु पूर्पक्षका लागि थुनामा

    चितवनमा १५ वर्षकी छोरीलाई सुईं लगाएर बलात्कार गर्ने बाबु पूर्पक्षका लागि थुनामा

    – प्रतिमा सिलवाल
    चितवन, चैत १७
    उनी नियमित विद्यालय जानै सक्दिनन्। पेट निरन्तर दुखिरहन्छ। रिंगटा लाग्छ। बान्ता होला जस्तो हुन्छ। १५ वर्षकै उमेरमा प्रजनन् स्वास्थसँग सम्बन्धित समस्या छोरीमा देखेर आमा हैरान थिइन्। पेट दुख्यो भन्ने मात्रै होइन टाउको दुख्थ्यो उनको। टोलाउने पनि गर्न थालिन्। घरमै पनि बोल्न डराउन थालिन्। बरु घरबाहिर जान रुचाउने गर्न थालिन्।

    छोरीमा समस्या आउनुपर्ने खास कारण पनि आमाले देखिनन्। ९ कक्षा पढ्ने छोरीको पढाइमा पनि ध्यान थिएन। नियमित टोलाउने गर्दा भने आमालाई चिन्ता बढ्न थाल्यो।आमा भन्छिन्, “छोरीको व्यवहार ख्याल गरिरहेको थिएँ, पहिले चलाख छोरीमा एकाएक परिवर्तन आउँदा चिन्ता लागिरहन्थ्यो।”

    चितवनको कालिका नगरपालिकाकी १५ वर्षीया किशोरी आफ्नै बाबुबाट पटक पटक बलात्कारमा परेपछि यस्तो समस्या आएको थियो। सुरुसुरुमा छोरीको समस्या आमाले भेउ पाइनन्। तर, पछिल्लोपटक गत फागुन १ गते रातको समयमा आफैले बलात्कार गरेको देखेपछि उनले नै आफ्नै लोग्ने विरुद्ध प्रहरीमा उजुरी गरिन्।

    पूर्व सैनिक ५४ वर्षका बाबुले १५ वर्षकी छोरीलाई पाँच वर्षयता बलात्कार गर्दै आएको पीडितले जानकारी दिइन्। अझ पछिल्लो समय त गर्भ नरहोस् भनेर गर्भ निरोधक महिने सूई लगाएर बलात्कार गर्दै आएका रहेछन्। “बुबाले घरमै संगिनी सुई लिएर आउनुहुन्थ्यो। अनि आफैले लगाइदिनुहुन्थ्यो, ” पीडित बालिकाले भनिन्, “कसैलाई भने मारिदिने भन्नुहुन्थ्यो। अनि बोल्नै सकिनँ।”

    सबै कुरा भने मार्नेसम्मको धम्की दिएपछि बाबुविरूद्ध बोल्ने आँट छोरीमा भएन। बरू उनी बुबाबाट जतिसक्दो टाढा बस्थिन्। शरीर सुमसुम्याउने, छोरीको संवेदनशील अङ्गहरुमा छुने/चलाउने क्रियाकलाप गरेको भनी पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालयमा उजुरी दिइन्।

    प्रहरीमा फागुन २० गते बलात्कार विरुद्ध जाहेरी दिएकी थिइन्। छोरीलाई बलात्कार गरेको आरोपमा ५४ वर्षीय बाबुलाई जिल्ला अदालत चितवनले सोमबार पूर्पक्षको लागि थुनामा पठाएको जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यले वताउनु भयो। न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई थुनामा पठाउने आदेश गरेको हो।

    पीडितकी आमाले आफ्नै लोग्ने भएपनि छोरीमाथि ज्यादती गरेको भन्दै कारबाहीको माग गरेकी छन्। ‘गर्भ नबसोस् भनेर तीनमहिने संगिनी सुईसमेत लगाउने गरेका रहेछन्’, पीडितकी आमाले भनिन्, ‘आफैँले जन्माएको छोरीमाथि यस्तो गर्नेलाई हदैसम्मको कारबाही होस्।’

    छोरीमा पेट, पाठेघरसम्बन्धी समस्या देखिने गरेको उनले बताइन्। ‘पहिलेभन्दा छोरी धेरै शारीरिक र मानसिकरुपमा कमजोर छिन्’, उनले भनिन्, ‘उपचारका लागि अहिले पनि पटकपटक अस्पताल धाउने गरेका छौँ ।’ स्रोत :आइएनएस INS – स्वतन्त्र समाचार

  • म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

    म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

    राजविराज, १७ चैत
    म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

    पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

  • हेटौँडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

    हेटौँडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

    बागमती, १७ चैत
    हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

    मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । (रासस)

  • भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एक जनाको मृत्यु

    भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एक जनाको मृत्यु

    नवलपुर, १७ चैत –
    नवलपरासी–बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ ।

    जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

    ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयोे । (रासस)

  • चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

    चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

    चितवन, १७ चैत –
    कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको सङ्ख्या बढेको छ । यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आव २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्या ९२ हजार २०९ मात्रै थियो । त्यस्तै आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले भ्रमण गरेका थिए ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको पहिलो आठ महिनामा विदेशी पाँच हजार ३९४ मध्ये दुई हजार ५४० महिला र दुई हजार ८५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका चार हजार ८६५ जना थिए ।आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य मात्रामा रहेको छ । चालु आवको आठ महिनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८८८ पुरुष रहेका र गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका उहाँले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २५४ पर्यटकमध्ये ५३ हजार ८०९ महिला र ५४ हजार ४४५ पुरुष रहेका छन् ।

    गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका र एक हजार २४४ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताउनुभयोे । गत आवमा कोरोना सङ्क्रमणको त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान नभएकाले सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

    आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष पुगेका थिए । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका थिए ।पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुङ्गा, पैदल सफारी गर्ने गर्दन् । दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत जनावर, चराचुरुङ्गी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । (रासस)

  • दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

    दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

    वासिङ्टन [अमेरिका], १७ चैत –
    दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

    चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए ।

    करिब एक करोड वर्ग मिटर वरिपरिखोजि कार्य जारी राखिएको थियो । खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो ।

    कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २ -३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मार्च २१ मा १२३ यात्रु र नौ चालक दलका सदस्यहरू सहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो। (रासस-एएनआई/स्पुतनिक)

  • कमल थापाको जिल्लामा लिङ्देन जाँदै

    कमल थापाको जिल्लामा लिङ्देन जाँदै

    हेटौंडा, १७ चैत –
    राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हाे ।

    राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।

    बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाकाे गृहजिल्ला हाे । – न्युज कारखाना