Blog

  • रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ओटा ऐतिहासिक सम्पदा क्षतिग्रस्त : यूनेस्को

    रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ओटा ऐतिहासिक सम्पदा क्षतिग्रस्त : यूनेस्को

    एजेन्सी किभ, १९ चैत –
    रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोले जनाएको छ ।

    ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरुले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले भने । युनेस्कोले देशको उत्तर तथा पूर्वी भागमा क्षतिग्रस्त क्षेत्रको एउटा सूची नै सार्वजनिक गरेको छ ।

    युक्रेनी अधिकारीहरूले प्रदान गरेको सूचना पुष्टि गर्न यूनेस्कोले घटनास्थलबाट स्याटलाइट तस्बीरहरु र साक्षीका रिपोर्टहरू प्रयोग गरेको प्रव्रक्ताले बताए । युनेस्कोका अनुसार रुसी गोलाबारीमा पूर्वी खार्किभ क्षेत्रका एक दर्जनभन्दा बढी क्षेत्रहरु क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भवनमा चर्चदेखि आधुनिक सम्पदा छन् । क्षतिग्रस्त सम्पदाहरुमध्ये पाँच ओटा राजधानी किभ र अरु पाँच ओटा उत्तरी युक्रेनको चेर्निभका छन् । चेर्निभ ऐतिहासिक स्थलहरुको घरसमेत मानिन्छ ।

    यूनेस्कोका अनुसार रुसी हमलमा समग्रमा २९ ओटा धार्मिक स्थल, १६ ओटा ऐतिहासिक भवन, चार ओटा संग्रालय र चार ओटा स्मारक क्षतिग्रस्त भएका छन् । सूचीमा रुसी सेनाले घेरा हालेको मारिओपोल र खेर्सन सहरको विवरण भने समावेश छैन् ।

  • प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर : भारतीय विदेश मन्त्रालय

    प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर : भारतीय विदेश मन्त्रालय

    काठमाडौं, १९ चैत –

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् ।

    भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् ।

    भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । – न्युज कारखाना

  • ‘शिक्षा’ विषय पढाउने शिक्षकबाटै नाबालिक बलात्कार, ५२ हजारमा गर्भपतन

    ‘शिक्षा’ विषय पढाउने शिक्षकबाटै नाबालिक बलात्कार, ५२ हजारमा गर्भपतन

    काठमाडौं, १९ चैत –
    शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो ।

    यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो ।

    कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप उनीमाथि छ ।

    सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ । समय साँझको करिब ६ बजे । उनी गइन् र भेट भयो शिक्षक भुसालसँग ।
    भुसाले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । जहाँ भुसालले नोटकपी दिए ।

    ती विद्यार्थीका अनुसार त्यसपछि भुसालले ओठ चुस्नेदेखि स्तन खेलाउनेलगायतका हर्कत गर्न थाले । अन्ततः इच्चाविपरीत दुईचोटी बलात्कार गरे ।
    बलात्कारपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोगपत्रमा उल्लेख छ । शिक्षक भुसालले फेरि सोही ठाउँमा बोलाएर त्यसपछि पनि दुईपटक बलात्कार गरेको ती विद्यार्थीले आरोप लगाएकी छिन् । भुसालले बलात्कार गर्दा नै गर्भ बसेको विद्यार्थीले बयानमा भनेकी छिन् ।

    प्रतिवादी भुसालले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, – सल्लाहअनुसार यौनसम्पर्क राखिएको हो ।

    कानुनअनुसार इच्छाविपरीत वा १८ वर्षभन्दा कम उमेरका नाबालिकासँग सहमतिमै यौनसम्पर्क राखे बलात्कार मानिन्छ ।

    ती विद्यार्थी नाबालिका हुन् । सोही कारण सल्लाहअनुसार यौन सम्पर्क भएको जिकिर भुसालको भए पनि प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा अदालतमा अभियोजन गरेको हो ।

    वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको गर्भपतन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख छ ।

    वकिल कार्यालयले भुसालविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा १४ वर्षसम्म कैद, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कैद र ४० हजार रूपैयाँ जरिवानासँगै गर्भपतनसम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ । – न्युज कारखाना

  • यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

    यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

    काठमाडौं, १८ चैत –

    यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन ।

    यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् ।

    विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभागीता जनाउनेछन् ।

    विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले ३२ टोलीलाई (प्लेअफ सहित) चार ‘पोट’ मा बिभाजन गरेको छ । आज (शुक्रबार) राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ । पोट ‘ए’ मा रहेका विश्व वरीयताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन् ।

    हालसम्म यरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जमर्नी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्विजरल्यान्ड रहेका छन् ।

    यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन् । यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् । यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन् ।

    यता, एसियाबाट आयोजक कतार सहित जापान, दक्षिण कोरिया, साउदी अरबिया र इरान छनोट भएका छन् ।

    अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन् । – न्युज कारखाना

  • चितवनवासीलाई सिडिओको आग्रह : आफूसँग भएका हतियार प्रहरीलाई बुझाउनु

    चितवनवासीलाई सिडिओको आग्रह : आफूसँग भएका हतियार प्रहरीलाई बुझाउनु

    चितवन, १८ चैत –
    जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ)अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।

    यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

    अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो । (रासस)

  • चितवनमा विक्रमबाबा मेला सुरु

    चितवनमा विक्रमबाबा मेला सुरु

    चितवन, १८ चैत –
    हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो ।

    निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको छ । केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार दुई वर्षसम्म रोकिएको मेला सुरु भएसँगै भक्तजनको चाप बढेको छ ।

    आगामी वैशाख ३ गतेसम्म लाग्ने विक्रमबाबा मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायिक वनले पार्किङ्को व्यवस्थापन गर्ने छ । पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले विक्रमबाबा मेलामा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम गरिएको बताउनुभयो ।

    दुई वर्षदेखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको सङ्ख्या पाँच लाख हुने अनुमान गरेका छाँै ।” पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाइएको उहाँले जानकारी दिनुभयो ।

    मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जङ्गली जनाबरको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उहाँको भनाइ छ । मेला सञ्चालन गर्न आउने व्यवसायीलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लीलाराज भुषालले बताउनुभयो । मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

    आठवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ । उहाँले भन्नुभयो, “सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौँ ।” भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ ।

    विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ । (रासस)

  • अझै तीन दिन मौसम सफा नहुने

    अझै तीन दिन मौसम सफा नहुने

    काठमाडौँ, १८ चैत –
    अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताउनुभयो ।

    उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । “अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन”, मौसमविद् वासीले भन्नुभयो ।

    रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । (रासस)

  • नेपाल प्रहरीमा भावी आईजीपी को ?

    नेपाल प्रहरीमा भावी आईजीपी को ?

    काठमाडौं, चैत १८ –

    नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि उनीहरूले बिहीबार नै फुली लगाएका हुन् ।

    बढुवा भएका प्रहरी अधिकारीले फुली लगाएसँगै प्रहरीमा ‘आगामी नेतृत्वमा को रु’ भन्ने चर्चा सुरु भइसकेको छ । अब प्रहरीको नयाँ नेतृत्वका लागि चार जना एआईजी प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो । विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजीमा बढुवा भएका थिए । पोखरेल थापाभन्दा अघि २०७७ मंसिरमा नै एआईजी बनेका हुन् । थापा भने गत असारमा एआईजी भएका हुन् ।

    बिहीबार तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि सशक्त दाबेदार बनेका छन् । प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । प्रहरी नियमावलीमा एआईजीहरूमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । यो समाचार राजधानी दैनिकमा छ ।

  • सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा

    सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा

    काठमाडौं, १७ फागुन –
    सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो ।

    तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

    उनका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने उनले बताए । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ ।
    रुस-युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ । – न्युज कारखाना

  • भरतपुर मेयर कप : नवलपुरलाई १७४ रनले पराजित गर्दै मकवानपुर विजयी

    भरतपुर मेयर कप : नवलपुरलाई १७४ रनले पराजित गर्दै मकवानपुर विजयी

    चितवन, चैत १७ –
    ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ ।
    रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज (बिहीबार) भएको फाइनल खेलमा नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । उपाधिसंगै मकवानपुरले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

    उपविजेतामा चित्त बुझाएको नवलपुरले २० हजार र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता टोलीलाई समापन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेल र विशिष्ट अतिथि खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।

    टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ४० ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । उसका लागि विशाल फुयाँलले ६९, सुव कशंकारले ४३, आकाश घिमिरेले २४ र गौरव खड्काले २० रन बनाए ।

    नवलपुरका लागि कमल परियारले १० ओभरमा ४९ रन खर्चिदै ६ विकेट लिए । विशाल पौडेल, अप्रजित पौडेल, रिजन काफ्ले र प्रशान्त आचार्यले एक/एक विकेट लिए ।

    २२६ रनको लक्ष्य पछ्याएको नवलपुर १६.४ ओभरमा ५१ रनमै अलआउट भयो । सुभम खरेलले १३ र दिपक डुम्रेले ११ रन बनाए भने अन्य व्याटरले दोहोरो अंक छुन सकेनन् ।

    नवलपुरलाई सस्तैमा समेट्न रिजन ढकालले ७, रामनरेश गिरी र विपुल खनालले एक/एक विकेट लिए ।

    खेलको प्लेयर अफ दि म्याच मकवानपुरका रिजन ढकाल भए । यस्तै चार दिनसम्म चलेको प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरका रिजन ढकाल भए । उनले ट्रफी र मेडल प्राप्त गरे । मकवानपुरकै सुव कंशकार उत्कृष्ट व्याटर र नवलपुरका कमल परियार उत्कृष्ट घोषित भए । उनीहरु दुवैले नगद र ट्रफी प्राप्त गरे ।

    कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि पौडेलले भरतपुर महानगरपालिकालाई खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको बताए । उनले स्थानीय खेलाडीको स्तरवृद्धिका लागि यसखालको प्रतियोगिता आवश्यक रहेको भन्दै आगामि दिनमा क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न महानगर सहयोगी भूमिका खेल्ने बताए । उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघि बढाउन महानगर लागि परेको भन्दै छिट्टै बाँकी निर्माण प्रक्रिया अघि बढ्ने बताए ।

    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।

    समापन समारोहमा सहयोग संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । चैत १४ गतेदेखि सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरेकी थिइन् ।

    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा भएको एकदिवसीय प्रतियोगितामा मकवानपुर, चितवन र नवलपुरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा चितवन लगातार दुई खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो भने मकवानपुर अपराजित र नवलपुर एक खेलमा जित निकाल्दै फाइनल पुगेको थियो ।