Blog

  • नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

    नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

    रमेश लम्साल
    काठमाडौँ, २० चैत-
    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ ।

    वर्षाको समयमा खेर जाने बिजुली क्षेत्रीय बजारमा बिक्री गर्न नेपालले लामो समयदेखि प्रयास गरे पनि सफलता पाउन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ‘भारत– नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा एकापसमा सहयोग अभिवृद्धि गर्न दुवै देश सहमत भएका छन् । यसबाट नेपालको क्षेत्रीय बजारमा प्रवेश गर्ने लामो समयदेखिको चाहनाले अब मूर्त रुप पाउने भएको छ ।

    नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा अथ्र्याउनु र त्यसमा सहमति जनाउनुले बढी भएको बिजुली सहजै रुपमा भारत र बङ्गलादेशमा निर्यात गर्ने मार्ग प्रशस्त भएको छ ।

    संयुक्त भिजन नाम दिइएको उक्त सहमतिमा नेपालका केही ठूला आयोजना नेपाल र भारतको संयुक्त लगानीमा विकास गर्ने, अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने, बजारको मागका आधारमा उपयुक्त पहुँच दिने उल्लेख छ । उपक्षेत्रीय सङ्गठनका रुपमा रहेको बिबिआइएनमा आबद्ध देशहरुलाई त्यसमा समेट्ने भन्ने घोषणा आफैँमा महत्वपूर्ण छ ।

    भारतको पछिल्लो सहमतिले नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चितता बढेको छ । अब नेपालको बिजुली बङ्गलादेशको बजारसम्म पुग्छ भन्ने सुनिश्चितता भएको छ । भारतीय प्रधानमन्त्रीले हामी नेपालको बिजुली खरिद गर्छौं भनेर सार्वजनिक रुपमा नै प्रतिबद्धता जनाउनु पनि अर्को महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ ।

    प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डलमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र उहाँका भारतीय समकक्षी राजकुमार सिंहबीच भएको साइडलाइन वार्ताले पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हुन सकेको हो ।

    गत कात्तिकदेखि नेपालले भारतीय अनुदानमा निर्माण भएका नुवाकोटका दुई आयोजनाबाट ३९ मेगावाट बिजुली निर्यात भएको थियो । नेपालले एक्सचेन्ज मार्केटमा जान पाउने अनुमतिका लागि लामो समयदेखि माग गर्दै आएको थियो ।

    गत मनसुनमा मात्रै करिब ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । नेपाल विद्युत् प्राधिकरणको भनाइलाई मान्ने हो भने झन्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको थियो । निजी क्षेत्रका आयोजनाबाट बिजुली लिनै पर्ने बाध्यताका कारण प्राधिकरणले आफ्ना विद्युत्गृह बन्द गर्ने वा कम उत्पादन गर्नुपर्ने अवस्थासमेत आएको थियो ।

    नेपालको बिजुली खरिद गर्छौं र बिबिआइएनमा आबद्ध देशमा समेत पहुँच दिन्छौँ भन्ने भारतीय प्रधानमन्त्रीको घोषणाले आफूलाई हर्षित तुल्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का उपाध्यक्ष मोहन डाँगीको भनाइ छ । उहाँका अनुसार नेपालले लामो समयदेखि गर्दै आएको बिजुली निर्यातको प्रयासले सार्थकता पाएको उहाँको टिप्पणी छ । नेपालका निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय रुपमा बिजुुली बिक्रीका लागि प्रयास गर्दै आएको छ ।

    नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) मार्फत बिजुली बिक्रीका लागि प्रयास गरिरहेको छ । यद्यपि नेपेक्सलाई बिजुली बिक्रीको अनुमति भने दिइसकिएको छैन ।

    भारतको पछिल्लो स्वीकार्यता तथा उच्च राजनीतिक नेतृत्वको प्रतिबद्धताले लामो समयदेखि बन्द भएको विद्युत् खरिद सम्झौता (पिपिए)का लागि समेत बाटो खुल्ने इपानको भनाइ छ । प्राधिकरणले विगत तीन वर्षदेखि पिपिए गरिरहेको छैन । यद्यपि, अर्धजलाशय र जलाशयुक्त आयोजनाको पिपिए भने रोकिएको थिएन ।

    बङ्गलादेशले नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । विसं २०७५ भदौमा तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्नुभएको बङ्गलादेश भ्रमणका क्रममा नेपालको बिजुली आफूहरुका लागि आवश्यक रहेको बङ्गलादेशी अधिकारीको भनाइ रहेको थियो । बङ्गलादेशी राष्ट्रपति, प्रधानमन्त्री तथा ऊर्जा राज्यमन्त्रीको नेपाल भ्रमणको क्रममा समेत संयुक्त लगानीमा आयोजना निर्माण गर्न सकिने समेत प्रतिबद्धता व्यक्त भएको थियो ।

    यस्तै, २०७५ असोज २७ र २८ गते भारतको बैंगलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकमा समेत बङ्गलादेशसँग संयुक्त रुपमा छलफल गर्ने निर्णय भएको थियो ।

    नेपालको कूल क्षमता ८३ हजार मेगावाट बराबर भए पनि आर्थिक र सम्भाव्य मानिएको ४३ हजार मेगावाट बिजुली उत्पादन गर्दा त्यसको बजार खोज्न अब भाँैतारिनु पर्दैन भन्ने सन्देश प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा सन्देश प्रवाह भएको छ ।

    प्रसारण संयन्त्र निर्माण भएका चालु आवमा नै नेपालको प्रणालीमा एक हजार ३०० मेगावाट बराबर बिजुली थप हुन जान्छ । हाल प्रणालीमा दुई हजार १५० मेगावाट बराबर बिजुली उपलब्ध छ । यद्यपि, हिउँदको समयमा भने नेपालमा सङ्कट नै छ ।

    दीर्घकालमा नेपालमा पनि खपत बढाउने र बिजुलीको क्षेत्रीय बजारको खोजी गर्ने सरकारको प्रयासले सार्थकता पाउन थालेको ऊर्जा उद्यमी प्रकाश दुलालको टिप्पणी छ । उहाँले प्रधानमन्त्रीको स्तरमा भएको घोषणा कार्यान्वयनमा आउने उल्लेख गर्दै अब नेपालको प्रशासनिक संयन्त्रले मिहीन तरिकाले मिहिनेत गरेको खण्डमा बिजुली खेर जाने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

    दुई देशका उच्च राजनीतिक तहमा नै भएको सहमतिले बिजुली व्यापारको ढोका खुलेको जानकारी दिँदै उहाँले लामो समयदेखि रोकिएको पिपिएसमेत खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

    भारतले पहिलो पटक नेपालसँगको जलस्रोत र ऊर्जाका विषयमा वार्ता गर्दा आपसी समानता र सम्मानका आधारमा गर्ने विषय उल्लेख गरेको छ । यस्तै, भूटान, बङ्गलादेश, भारत र नेपालमा आपसी सहकार्यको संरचना तयार पार्ने र विस्तार गर्ने उल्लेख गरेको छ । यसबाट नेपालको बिजुली बङ्गलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको अर्थमा लिन सकिन्छ ।

    भारतले आफ्नो प्रसारण प्रणाली प्रयोग गर्न सहमति नदिँदा नेपालको बिजुली बङ्गलादेश लैजाने मार्ग प्रशस्त हुन सकेको थिएन । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली बङ्गलादेश लैजाने सहमति यसअघि नै भइसकेको छ ।

    पछिल्लो सहमतिअनुसार एक अर्का देशको प्रसारण प्रणालीमा एक रुपमा ल्याउने, सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, दुवै तर्फबाट बिजुलीको आयात तथा निर्यात गर्ने विषय समेटिएको छ । यसबाट असाध्यै ठूलो एवम् सकारात्मक प्रभाव पर्ने ऊर्जा उद्यमीहरुको विश्वास छ ।
    प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले नेपालले भारतको एक्सचेन्ज मार्केटमा प्रवेशका लागि गरेको प्रयासका अलावा अन्य विषयमा पनि सहमति हुनु सुखद पक्ष भएको प्रतिक्रिया दिनुभयो ।

    प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुवै देशले संयुक्त रुपमा जारी गरेको ६ बुँदामा समेटिएको ‘भिजन स्टेटमेन्ट’ मा समानता, आपसी सम्मानका आधारमा एक देशले अर्र्काे देशलार्ई विद्युत् क्षेत्रमा पारस्परिक सहयोग गर्ने उल्लेख छ । यो पनि अर्को महत्वपूर्ण विषय भएको जानकारहरुको भनाइ छ ।

    पछिल्लो सहमतिले सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत मार्ग प्रशस्त भएको छ । हालै मात्र सरकारले दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोखरपुर निर्माणका लागि प्राधिकरणलाई रु एक अर्ब बराबर लगानीका लागि स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन १४० किलोमिटर लामो छ । नेपालतर्फ २० किलोमिटर र भारततर्फ १२० किलोमिटर लामो सो प्रसारण लाइनसमेत निकट भविष्यमा नै निर्माण सुरु हुनेछ । (रासस)

  • विश्वभरका झण्डै आधा महिला तथा किशोरी इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य : युएनएफपिए

    विश्वभरका झण्डै आधा महिला तथा किशोरी इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य : युएनएफपिए

    काठमाडौँ, २० चैत –
    संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

    ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ । उसले हरेक वर्ष विश्व जनसङ्ख्याको स्थितिसम्बन्धी प्रतिवेदन सार्वजानिक गर्दै आएको छ ।

    प्रतिवेदनअनुसार गर्भाधारणबाट प्रभावित भएका महिला तथा किशोरीका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन छनोटको विकल्प नै छैन । आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भाधारणजस्तो अवस्था पनि उनीहरुको छनोटको पहुँचभन्दा बाहिर देखिएको छ, संयुक्त राष्ट्रसङ्घको यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था युुएनएफपिएद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

    सन् २०२२ को प्रतिवेदन अनिच्छित गर्भाधारणको विषयमा केन्द्रित छ । ‘सिइङ द अनसिन ः द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी’ शीर्षक दिइएको छ । यस वर्षको सो प्रतिवेदनले मानवअधिकारको क्षेत्रमा देखिएको यस्तो सङ्कटले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१७ को तथ्याङ्कानुसार नेपालमा अनुमानित १२ लाख गर्भाधारण भएकामध्ये झण्डै आधा अनिच्छित गर्भाधारण थियो । यसमध्ये करिब तीन लाख ५९ हजारले गर्भपतन गराए । नेपालमा कानुनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृ मृत्युदर घटाउन महत्वपूर्ण योगदान गरे तापनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवा प्रदायक वा गर्भवती महिला आफैँले औषधि वा अन्य कुराको प्रयोग गरी गर्ने गरेका छन् ।

    सुरक्षित गर्भपतन सेवाका लागि अझै पनि धेरै महिला तथा किशोरीले उल्लेखनीयरूपमा संरचनात्मक तथा अनौपचारिक बाधा व्यवधानको सामना गर्नु परिरहेको छ । “यो प्रतिवेदन एउटा ‘वेकअप कल’ हो । अनिच्छित गर्भाधारणमा देखिएको यस्तो अप्रत्यासित सङ्ख्याले महिला तथा किशोरीको सामान्य मानवअधिकार प्रवद्र्धनमा विश्व समुदायको असफलताको प्रतिनिधित्व गर्छ”, युएनएफपिएका कार्यकारी निर्देशक डा नतालिया कनेम भन्नुहुन्छ, “गर्भाधारणबारे आधारभूत निर्णय गर्ने शक्ति महिला तथा किशोरीकै हातमा सुम्पिएर मात्र समाजले महिला तथा किशोरीका लागि मातृत्व अपरिहार्यता नभएर, चाहना भएको सुनिश्चित गर्न सक्छ ।”

    प्रतिवेदनमा विश्वमा गर्भाधारणको चाहना नभएर पनि अनुमानित २५ करोड ७० लाख महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिका प्रयोग गर्दैनन् भन्ने उल्लेख छ । “यसका साथै तथ्याङ्क उपलब्ध भएका ठाउँमा, झण्डै एक चौथाइ विवाहिता महिला यौन प्रस्तावलाई नकार्न सक्दैनन् । अनिच्छित गर्भाधारणलाई महिलाको व्यक्तिगत असफलता मात्र भन्न मिल्दैन, यो त समाजले उनीहरूलाई आफ्नै शरीरमाथिको अधिकारमा दिनुपर्ने स्वायत्तताको अभाव वा समाजले थोपर्ने विभेदकारी मूल्य–मान्यताका कारणले गर्दा भएको हुनसक्छ । दिगो विकासका लक्ष्य २०३० ले महिलाको आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँले निर्णय गर्न सक्ने महिलाको क्षमताको पहिचान गर्छ जब गर्भाधारणको आधा सङ्ख्या आफ्नो इच्छाबमोजिम हुँदैन, यसले हामीलाई महिलाको प्रजनन स्वतन्त्रताप्रतिको उपेक्षित अवस्थाको डरलाग्दो तस्वीर देखाइदिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदनले अनिच्छित गर्भाधारणको सङ्ख्या लैङ्गिक असमानता, कमजोर सामाजिक आर्थिक विकास र महिलाको यौन तथा प्रजनन अधिकारमाथिको अवरोधसँग गहिरोरूपमा अन्तर सम्बन्धित रहेको उजागर गर्छ”, प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक डा कनेमले भन्नुभयो, “अनिच्छित गर्भाधारणले स्वास्थ्य प्रणालीमा अर्बौँ डलरको भार पार्नुका साथै भावी सन्ततिका लागि समेत अझ खराब परिणाम निम्त्याउँछ ।” नेपालमा अधिकांश अनिच्छित गर्भाधारण परिवार नियोजनका आधुनिक सामग्रीको अपरिपूर्त (पूरा हुन नसकेको) मागको परिणाम हो । गर्भाधारण गर्न नचाहने लगभग ४४ प्रतिशत प्रजनन उमेर (१५ देखि ४९ वर्ष)का महिला परिवार नियोजनका आधुनिक विधि प्रयोग गरिरहेका छैनन् । परिवार नियोजनको सेवा विस्तारले महिला तथा उनीहरूको परिवारलाई फाइदा गर्छ । भनिन्छ, परिवार नियोजनको सेवा विस्तारमा खर्च भएको प्रत्येक अतिरिक्त डलरवापत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा दुई डलर बचाउँछ ।

    “नेपाल सरकारका सामुन्ने महिलाको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको रक्षा तथा परिपूर्ति गर्नुपर्ने दायित्व छ । यसो भन्नुको अर्थ महिलाका लागि छनोटको विकल्पसहितको परिवार नियोजनका सामग्रीको आधुनिक विधिमा महिलाको पहुँच सुनिश्चित गराउनु हो”, युएनएफपिएका नेपाल प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो, “यद्यपि नेपाल अहिले पनि परिवार नियोजनका सामग्रीका लागि सहयोग प्रदान गर्न युएनएफपिएलगायतका बाह्य विकास साझेदारहरूमा निर्भर छ । परिवार नियोजनका सामग्रीले जीवन बचाउँछ र अब नेपालको संविधान र सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले गरेको व्यवस्थाबमोजिम सरकारले आधारभूत मानवअधिकारको प्रत्याभूत गर्न आवश्यक बजेट छुट्याउने समय भएको छ ।”

    “नेपालमा जन्मदर घटेका कारण परिवार नियोजनमा लगानी गर्न अब आवश्यक छैन भन्ने केही नीति–निर्मातामा रहेको धारणा निकै चिन्तित बनाउने किसिमको छ । किनकि यसले उच्च विन्दुमा रहेको परिवार नियोजनको अपरिपूर्त (पूरा हुन नसकेको) माग, उच्च सङ्ख्यामा रहेको अनिच्छित गर्भाधारण र असुरक्षित गर्भपतनलाई सम्बोधन गर्दैन । परिवार नियोजन सामग्रीको अपरिपूर्त माग अहिले २४ प्रतिशत छ र यी सबै अवस्थाको मूल कारण सेवा प्रवाहमा रहेको कमी नै हो । विपन्न तथा पछाडि पारिएका समूहका महिला तथा किशोरीको अवस्था अझ नाजुक छ”, उहाँले भन्नुभयो ।

    अझ विशेषगरी किशोरीको अवस्था जोखिमपूर्ण छ । नेपालमा बालविवाह अझै पनि उच्च छ । झण्डै ४१ प्रतिशत किशोरीको विवाह १८ वर्षअगावै भएको छ । किशोरावस्थामा गर्भाधारण गरेका किशोरीमध्ये आधा गर्भाधारण अनिच्छित छ । यसको मुख्य कारण विवाहिता किशोरीमा परिवार नियोजनका सामग्री प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशतमात्रै छ । जबकि राष्ट्रिय औषतमा हेर्दा परिवार नियोजनका सामग्री प्रयोग गर्ने महिलाकोे सम्पूर्ण सङ्ख्या ४३ प्रतिशतसँग छ । विवाहिता किशोरी बच्चा पाउने पारिवारिक दबाबका कारण प्रायः कम उमेरमै आमा बन्छन् । यसले उनीहरू र उनका बच्चालाई उल्लेखनीयरूपमा मृत्यु वा क्षतिको जोखिममा पु¥याइदिन्छ । गर्नुपर्ने जिम्मेवारी यो प्रतिवेदनले शान्तिको समय र सङ्कटका बीचमा महिला तथा किशोरीका अधिकांश आधारभूत अधिकार कति सजिलै निष्क्रिय तुल्याइछन् भन्ने देखाउँछ ।

    प्रतिवेदनले निर्णयकर्ता र स्वास्थ्य संरचनालाई परिवार नियोजनका सामग्रीको पहुँच, स्वीकार्यता, गुण र विविधतामा सुधार गरी अनिच्छित गर्भाधारणको रोकथामलाई प्राथमिकतामा राख्न र गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनामा व्यापक विस्तार गर्न आह्वान गरेको छ ।

    प्रतिवेदनले महिला तथा किशोरीलाई यौन, परिवार नियोजनका सामग्री र मातृत्वका सम्बन्धमा साहसिक निर्णय लिन सक्ने बनाउन तथा महिला तथा किशोरीको महत्व चिन्न सक्ने समाजको प्रवद्र्धन गर्न नीति निर्माता, समुदायको नेतृत्व र सम्पूर्ण व्यक्तिलाई अपिल गरेको छ । साथै उनीहरूले त्यसो गरे भने महिला तथा किशोरी समाजमा पूर्ण योगदान गर्न सक्षम हुनेछन् र उनीहरूसँग आफ्नै चाहनाबमोजिम बच्चा पाउने वा नपाउने भन्ने आधारभूत छनोट गर्न सक्ने सीप, सूचना र शक्ति हुने प्रतिवेदनले औँल्याएको छ । (रासस)

  • पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित : अब सबै पेट्रोल पम्प खुल्ने, तेल अभाव नहुने

    पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित : अब सबै पेट्रोल पम्प खुल्ने, तेल अभाव नहुने

    १९ चैत, काठमाडौं

    पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

    ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।

    नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

    व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

    नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

    संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन् । अनलाइन खबर

    हेर्नुहोस् विज्ञप्ति :

  • भारत सरकारले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

    भारत सरकारले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

    काठमाडौं ,चैत १९-
    बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।

    रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।

    आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि लागू हुनेछ । र, सोहीअनुसार नेपाल विद्युत प्राधिकरणले पनि बिजुली १२ भारूमै किन्न पाउनेछ । रुस र युक्रेनबीचको युद्धका कारणले भारतमा बिजुलीको माग २५ प्रतिशतसम्मले बढेको छ ।

    विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि भारतमा बिजुलीको माग बढेको हो । यससँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

  • भरतपुर महानगर त विकासको मोडल नै भयो : प्रचण्ड

    भरतपुर महानगर त विकासको मोडल नै भयो : प्रचण्ड

    काठमाडौं, चैत १९ –
    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताए ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौं स्थानीय तहमा कामै नभएको जिकीर गरे । अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताए ।

    उनले भने, ‘देशभरी,जहाँ स्थानीय तहको निर्वाचन हुँदैछ । अस्तिमात्रै हाम्रो एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरु हेर्दा पाँचवटा श्रेष्ठ काम भएकोमध्ये ३ वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो । अरु तेत्रो सयौं छन्, त्यहाँचाही राम्रो काम भएन भन्ने रिपोर्ट आयो । भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडल छ भन्ने रिपोर्ट आयो । सबैतिर त्यस्तो भएन । तर प्रदेश र संघमा माओवादीको नेतृत्व नहुँदा एउटा अन्तरविरोध, कन्ट्रोभर्सी जहिले पनि भएको छ ।’

    अध्यक्ष दाहालले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा मुलुकमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताए । उनले परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो पार्टीलाई रोजेको भन्दै धन्यवाद दिए । अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकहरुको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिए ।

  • स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल हुन्छ : वरिष्ठ नेता पौडेल

    स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल हुन्छ : वरिष्ठ नेता पौडेल

    चितवन, चैत १९-
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताउनुभएको छ ।
    आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताउनुभयो । “ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ”, उहाँले भन्नुभयो, “तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ ।” वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केन्द्रबाट सबै निर्णय लादिँदैन । यस्तो नीति कांग्रेसको छैन ।” अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उहाँले यसलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताउनुभयो ।

    अहिलेको गठबन्धन कडा र नरम नभएको भन्दै उहाँले तालमेलको विषयमा प्रारम्भिक छलफलहरु भइरहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले अहिले नै कस्ले कहाँ छोड्ने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुङ्गो लाग्नेछ भन्नुभयो ।

    फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेसका कार्यकर्ताहरुलाई निराशा हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । “निरास हुनुपर्ने अवस्था छैन । रूखलाई छोड्ने कुरै छैन”, उहाँले भन्नुभयो, “चितवनका साथीहरु समझदार हुनुहुन्छ ।” रासस

     

  • एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

    एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

    काठमाडौं चैत १९-
    चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा जानुभएको थियो । सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए ।- रासस

  • असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती ढलमुक्त गरिने

    असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती ढलमुक्त गरिने

    काठमाडौं, चैत  १९ –

    आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गर्ने प्रतिबद्धता जनाइएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढल मुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराइएको छ ।

    कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पाँच जनाले नभ्याए जनशक्ति थप्न सकिने उल्लेख गर्नुहुँदै पशुपति क्षेत्रसम्मको नदीलाई ढल मुक्त गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने बताए । वाग्मतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर वाग्मती कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको जानकारी पनि उनले दिए ।

    शिरदेखि वाग्मती सफाइ गर्ने अभियानमा सफाइ महाअभियानको ठूलो योगदान हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सहयोग जुटाएर यो काम सफल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा सुधा श्रेष्ठ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । -रासस

  • झापामा बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

    झापामा बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

    झापा, चैत १९ –
    झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन् । उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो ।

    घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार भएका र बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । – रासस

  • अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव

    अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव

    कैलाली, चैत १९ –

    कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । उनले भन्, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।’ तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ ।

    सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ । – रासस