Blog

  • पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

    पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

    इस्लामावाद, चैत २०-

    पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गर्नु भएको छ ।

    प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

    संसद् विघटनसँगै उहाँले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री खानले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो ।

    विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नु भयो ।

    पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

    राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नु भएको छ ।

    विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो ।

    प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ ।

    उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

    खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ । (रासस÷एएनआई)

  • पहाड उक्लिँदै कालाजार रोग, बाहुनीडाँडामा भेटिए बिरामी

    पहाड उक्लिँदै कालाजार रोग, बाहुनीडाँडामा भेटिए बिरामी

    खोटाङ, २० चैत
    हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन् । बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो ।

    खोटाङ प्रवेशद्धारका रुपमा रहेको जयरामका ९२ जनाको रगत परीक्षणका क्रममा उनलाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पुष्टि भएका बिरामीको संख्या चार पुगेको छ । गत साउनयता बाहुनीडाँडामा दुई जना र झाप्पामा एक जना कालाजारका बिरामी भेटिइसकेका छन् ।

    कालाजार फैलिएको आशंकामा बाहुनीडाँडाको जयराम, कदुवा र झाप्पामा १४ देखि १९ चैतसम्म समुदायमा आधारित अभिमुखीकरण सञ्चालन गरिएकाे हाे । साथै दुई सय ४७ जनाको रगत परीक्षण पनि गरिएको थियो । कालाजारको पीसीआर परीक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।

    दोश्रो चरणमा कालाजारको बिरामी पत्ता लगाउन जिल्ला अस्पतालसँगको सहकार्यमा बाहुनीडाँडामा रगत परीक्षण गर्ने योजना बनाइएको छ । तेश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका र दुधकोसी पारी पर्ने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकासँगको सहकार्यमा खाल्डाखुल्डीमा किटनाशक विषाधि स्प्रे गर्ने योजना बनेको सह–संयोजक घिमिरेले बताए ।

    बाहुनीडाँडाको विभिन्न बस्तीमा साउन २०७७ यता कालाजार देखा परेको हो । आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७/०७८ मा एक जनालाई कालाजार पुष्टि भएको थियो । जिल्लामा कालाजार भएको पुष्टि गर्ने सुविधा र प्रविधि नभएकाले कालाजार भएनभएको पुष्टि गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । तराईमा लाग्ने कालाजार पछिल्लो समय पहाडतिर देखा पर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

    कालाजारको समस्या देखिएको बाहुनीडाँडा दुधकोसी किनारमा पर्छ । मध्यपहाडी लोकमार्गले छोएको तथा तराईसँग सिधा सम्पर्क रहेको बाहुनीडाँडाबाहेक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका तटिय क्षेत्रमा समेत कालाजारको समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाले पनि केही समयअघि भोजपुर, खोटाङ, ओखलढुंगा लगायतका पहाडी क्षेत्रमा कालाजार देखा परेको जनाएको थियो ।

    कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् ।-न्युज कारखाना

  • प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड

    प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उहाँले बताउनुभयो ।

    बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।” आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।

    अध्यक्ष प्रचण्डले विगतमा आपूm नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गर्नुभयो । रु पाँच करोड ५० लाख लागतको ४० कोठे र रु चार करोड ८३ लाख लागतको २१ कोेठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन् । अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गर्नु भएको हो ।

    “अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ”, उहाँले भन्नुभयो, “यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गर्न सकिन्छ ।”

    नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । शिक्षालयले शिभिल इञ्जिनियरिङ, जोमेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ । यसैअनुरुप सिरहाको धनगढीस्थित सामुदायिक विद्यालयले प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन सुरु गरेको छ ।

    बर्दिबास–११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गर्नुभयो । बर्दिबास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो । – (रासस)

  • भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा शेखर कोइराला

    भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा शेखर कोइराला

    दमौली, २० चैत –
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।

    “विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक खर्च गरिरहेका छाँै, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्”, उहाँले भन्नुभयो, “यस्तो काम रोकिनुपर्छ ।” कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “चुनाव आउँदैछ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।”

    डा कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताउनुभयो । “देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ”, उहाँले भन्नुभयो ।

    डा कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताउनुभयो । “गठबन्धन कसरी गर्ने भन्ने कुरा स्थानीय तहमा बसेर मिलाउनुस्”, उहाँले भन्नुभयो ।

    केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभयो । बन्दीपुरमा खानेपानी, सडक लगायतका योजनामा कांग्रेसको पहल रहेको जनाउँदै उहाँले विकास गर्ने पार्टी भनेको कांग्रेस रहेको जिकिर गर्नुभयो ।

    खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । रु एक करोड ५१ लाखको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । उक्त आयोजनाबाट २२५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ । (रासस)

  • ‘४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्’

    ‘४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्’

    तनहुँ, २० चैत –

    आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर लेखाजोखा गर्न थालिसकेका छन् । तर, पछिल्लाे डेढ दशकमा भएका निर्वाचनमा सहभागी तनहुँका मतदाताकाे तथ्यांक हेर्दा ४७ प्रतिशतसम्म मतदाता मतदानमा सहभागी नै नभएकाे रेकर्ड छ । यद्यपि, बदर मत भने हरेक निर्वाचनमा घट्दाे छ ।

    यसपालि जिल्लामा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो पाँच बर्षमा जिल्लामा ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् ।

    सशस्त्र माओवादी द्धन्दपछि पहिलो पटक २०६४ सालमा भएको निर्वाचनमा जिल्लामा ४७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिएनन्नै । जिल्ला निर्वाचन कार्यालय तनहुँले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त निर्वाचनमा कुल दुई लाख ६७ हजार ६ सय १८ मतदाता थिए । निर्वाचनमा एक लाख ४० हजार दुई सय ९३ मत मात्रै खस्यो । झन्डै आधा मत खसेन् । ५२.४२ प्रतिशत मत खसेको थियो । खसेको मतमा पनि सात हजार नाै सय ५० बदर भएको तथ्यांक छ । ५.६६ प्रतिशत मत बदर भएको थियाे ।

    २०७० सालमा भएको निर्वाचनमा मतदान गर्नेकाे संख्या निकै बढ्यो । जिल्लामा कुल मतदाताको संख्या एक लाख ६२ हजार सात सय ६८ थियो । निर्वाचनमा ७३.५२ प्रतिशत अर्थात एक लाख १९ हजार ६ सय ६३ मत खस्यो । र पाँच हजार ३३ मत बदर भएको देखिन्छ । मतदानमा सहभागी भएकामध्ये पनि ४.६२ प्रतिशतले सही तरिकाले मतदान गरेनन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख ९४ हजार चार सय ७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार नाै सय ४४ मत मात्रै खसेको थियो । ६८.३७ मतदाता मात्र मतदान प्रकृयामा सहभागी भएका थिए । स्थानीय तह निर्वाचनमा खसेको मतको पनि २.५३ प्रतिशत मत बदर भएको थियाे । तीन हजार तीन सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

    सोही बर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झनै कम मतदाता सहभागि भए । एकै दिन भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि फरक फरक संख्यामा मत खसेको छ । यसबेला दुई लाख ११ हजार तीन सय ९६ कुल मतदाता थिए । प्रतिनिधि सभामा एक लाख ३६ हजार दुई सय ६१ र प्रदेश सभामा एक लाख ३६ हजार दुई सय २१ मत खस्यो । ६४.४३ मत खसेको तथ्यांकले देखाउँछ । प्रतिनिधि सभामा ६ हजार ६ सय ६५ अर्थात ४.८९ प्रतिशत मत बदर भयो । प्रदेश सभामा चार हजार ६ सय १४ मतदाताले ढंग पुर्याएर मतदान गरेनन् । प्रदेश सभातर्फ ३.३८ प्रतिशत मत बदर भयो । एकै दिन भएको मतदानमा पनि मतदान र बदर भएको मतमा घटबढ देखियो ।

    पछिल्लो डेढ दशकमा सबैभन्दा कम २६.४८ प्रतिशत र बढी ४७.५८ प्रशित मतदाताले मतदान गरेनन् । किन यति धेरै मतदाताले मतदानमा सहभागिता जनाउँदैनन् ? निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकाल भन्छन्, ‘व्यक्ति स्वयं मतदानमा उपस्थित हुनुपर्छ । मतदाता नामावली भएका तर वैदेशिक रोजगारीमा धेरै हुने भएकाले मतदाताको तुलनामा मतदान कम हुन्छ ।’

    विदेशमा भएकालाई मतदान प्रकृयामा सहभागी गराउने प्रणाली नभएको कारण करिब एक तिहाइ मत नखस्ने गरेको उनी बताउँछन् । ‘यहाँ मतदाता नामावली छ । मान्छे बाहिर हुनुहुन्छ । त्यो कारणले गर्दा पनि कम मत खस्ने भयो । अर्को कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको नामावली घर ठेगानामा छ । मतदानमा सहभागी हुुन उहाँहरू पाउनु हुँदैन् । कतिपय मतदाताले कसलाई मतदान गरेर के नै पाे हुन्छ र ? भन्ने ठानेर मतदान प्रकृयामा सहभागी नै नभएको पाइन्छ ।’ फोटोसहितको मतदाता नामावली सुरु भएपछि मतदानको अनुपात बिस्तारै बढ्दै गएको ढकालले बताए । – न्युज कारखाना

  • लामो दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्मले बढ्यो

    लामो दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्मले बढ्यो

    काठमाडौं, २० चैत –

    सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।

    यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।

    यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

    लामो दूरीका सवारी भाडा बढेसँगै छोटो दुरीको सवारी भाडा समेत बढाउन व्यवसायीले लबिङ थालेका छन् । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन व्यवसायीले भाडा बढाउन प्रदेश सरकारसँग माग र्दै आएका छन् । – न्युज कारखाना

  • एमबीबीएसको परीक्षामा नक्कली विद्याथी : नक्कली डाक्टर बन्नबाट यसरी जोगायो प्रहरीले, ५ जना पक्राउ

    एमबीबीएसको परीक्षामा नक्कली विद्याथी : नक्कली डाक्टर बन्नबाट यसरी जोगायो प्रहरीले, ५ जना पक्राउ

    – कृष्णसिंह धामी

    काठमाडौं, २० चैत –
    ‘नक्कली परीक्षार्थी सहभागी हुन सक्छन् उच्च सतर्क भएर बस्नू’ भन्ने सूचना आयो । चिकित्सा शिक्षा आयोगले लिइरहेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको सूचना महानगरीय अपराध महाशाखालाई पुगेको थियो ।

    सोही आधारमा अपराध महाशाखाको टोली परिचालित भयो । १८ चैतमा भएको पहिलो दिनको परीक्षा अनुगमनका लागि महाशाखाको टोली खटियो । प्रहरी टोलीले विशेष सूचनाको आधारमा ‘अप्रेशन इको’ सञ्चालन गर्‍यो । उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा पुगेको टोलीले पाँचजना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लियो । सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कुल परीक्षा केन्द्रबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

    पक्राउ पर्नेमा २२ वर्षीय अमर पण्डित, २२ वर्षीय अनिकेत चौधरी, २६ वर्षीय राम आशिष यादव, २४ वर्षीय इस्तियाक अहमद र २३ वर्षीय सन्नी कुमार शाह छन् ।
    अमर पण्डित महोत्तरी घर भई किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनले धनुषाका २१ वर्षीय वृकेश यादवको नामबाट सीसीआरसी कलेज कुमारीपाटी ललितपुरबाट परीक्षा दिन लागेका थिए ।

    त्यस्तै अनिकेत चौधरी सर्लाही घर भई किस्ट कलेजमै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । उनले धनुषाकै २२ वर्षीय आजिवकुमार यादवको नामबाट सीसीआरसी कलेज परीक्षा केन्द्रबाटै परीक्षा दिइरहेका थिए ।

    सप्तरी घर भई किस्ट कलेजमा एमबीबीए तेस्रो वर्षमा अध्ययनतर रामआशिष यादवले रूपन्देहीका २० वर्षीय स्मित सिंहको नामबाट ग्रामर स्कुल कोटेश्वर परीक्षा केन्द्रबाट परीक्षा दिइसकेका थिए । परीक्षा दिइसकेपछि विशेष सूचनाको आधारमा महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    भारतको बिहार घर भएका इस्तियाक अहमदले महोत्तरीका २३ वर्षीय सन्नीकुमार शाहको नामबाट एम्बिसन कलेज मध्यबानेश्वरबाट परीक्षा दिइरहेका थिए । परीक्षा दिइरहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    महोत्तरी घर भएका सन्नीकुमार शाहले इस्तियाक अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाएका थिए । परीक्षा दिन लगाई परीक्षा केन्द्र बाहिर बसेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    फ्रि स्कोलरसिपमा एमबीबीएस पढिरहेका तर, आर्थिक अवस्था कमजोर भएका जेहेनदार विद्यार्थीहरूलाई आर्थिक प्रलोभनमा पारेर परीक्षा दिन लगाएको खुल्न आएको अपराध महाशाखाका प्रवक्ता एसएसपी कृष्णप्रसाद भट्टराईले जानकारी दिए । परीक्षा दिएबापत दुई लाख देखि १८ लाख रुपैयाँसम्म रकम दिने प्रलोभन देखाएर ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अग्रिम भुक्तानी गरेको समेत पाइएको उनको भनाइ छ ।

    सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फारम भराएको उनको भनाइ छ । परीक्षा प्रयोजनका लागि सक्कली परीक्षार्थीको नागरिकता विवरणमा समेत नक्कली परीक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपि उल्लेख गरी नक्कली नागरिकतासमेत बनाएको पाइएको उनले बताए ।

    उनीहरूले सकेसम्म नक्कली परीक्षार्थी चयन गर्दा सकभर मिल्दो-जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फारमसमेत भरेका थिए । भारतीय मूलका परीक्षार्थीलाई समेत आर्थिक प्रलोभनमा पारेर प्रयोग गरेको पाइएको उनको भनाइ छ ।

    ‘चिनेजानेका साथीभाइमार्फत कसले राम्रो परीक्षा दिनसक्छ भनेर मान्छे खोज्ने, आर्थिक अवस्था कमजोर भएका, पास गरिदिनसक्ने, तिनलाई आर्थिक प्रलोभन पार्ने, यसमा छात्रवृत्तिमा नाम निस्कियो भने यति दिन्छु भन्ने हिसाबले प्रलोभनमा पारेर त्यही व्यक्तिमार्फत जाँच दिन लगाउने खालको देखियो,’ प्रवक्ता कोइरालाले भने ।

    पक्राउ परेको रामआशिष यादवको आज परीक्षा दिनेको सूचीमा समेत नाम थियो । ‘उनी पक्राउ नपरेको भए आज पनि नक्कली परीक्षार्थी बनेर दुईजनाको परीक्षा दिइसकेका हुनथिए,’ प्रवक्ता कोइरालाले भने ।

    पैसा दिँदा उनीहरूले फ्रि स्कोलरसिप, पेइङ र जस्ट पास गरेर तीन भागमा वर्गीकरण गरेका थिए । सोही आधारमा फ्रि स्कोलरसिपका लागि नाम निकालिदिएको खण्डमा १८ लाख पैसा दिने गरेर कुरा भएको थियो ।- न्युज कारखाना

  • जुम्लामा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

    जुम्लामा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

    जुम्ला चैत २०-
    ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस-

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

    इस्लामाबाद, २० चैत –
    पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए ।
    एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।
    प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।

    यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् । -एजेन्सी

  • आजबाट नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु (फोटोफिचर)

    आजबाट नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु (फोटोफिचर)

    काठमाडौं, २० चैत
    नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ ।

    नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।

    ‘आज अर्थात् ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।

    विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ । – न्युज कारखाना