Blog

  • श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

    श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

    कोलम्बो, २१ चैत्र –
    श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

    प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् ।

    देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

    मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उहाँले जानकारी दिनुभयो ।

    विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ ।

    अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

    आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्‌र्यु घोषणा गरेको छ ।

    आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्‌र्यु आदेश जारी गरेको हो ।

    कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ । (रासस/एएनआई)

  • भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

    भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

    जेनेभा [स्विजरल्याण्ड], २१ चैत-
    लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्।

    “अर्को भूमध्यसागरीय त्रासदीमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ,” ग्रान्डीले आइतबार ट्विटरमा भने। आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले “धेरै दिन अघि” लिबिया छोडेको थियो।

    “व्यावसायिक ट्याङ्कर एलेग्रिया १ ले आज बिहान मात्रै ४ जना जीवितहरूलाई उद्धार गरेको छ। हामीलाई एलेग्रिया १ सँगको हाम्रो प्रारम्भिक सम्पर्कबाट थाहा छ कि बाँचेकाहरूले कम्तिमा चार दिनसम्म डुंगामा थिए। उक्त डुङ्गामा करिब १०० जना सवार रहेका थिए,” एमएसएफले शनिबार ट्विटरमा लेखेका छन् ।

    सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न आग्रह गरेको छ।
    युरो-मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले यस वर्षको शुरुमा आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२० मा १,४०१ आप्रवासीको तुलनामा २०२१ मा लगभग १,८६४ आप्रवासीको मृत्यु वा बेपत्ता भएको बताएको थियो।

    हालैका वर्षहरूमा, इयु, अफ्रिका र मध्य पूर्वमा गरिबी र युद्धबाट भागेर भूमध्यसागर पार गर्ने प्रयास गर्दा उत्पन्न आप्रवासन सङ्कटसँग संघर्ष गरिरहेको छ। समुन्द्रमा अलपत्र परेका आप्रवासीहरुलाई उद्धार गरी युरोप ल्याउने प्रयासमा धेरै संघसंस्था र मानवअधिकारवादी समूहहरु लागेका छन् ।- (रासस-एएनआई/स्पुतनिक)

  • चितवन पुगेर एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,- हामी गठबन्धनको पक्षमा छैनौँ

    चितवन पुगेर एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,- हामी गठबन्धनको पक्षमा छैनौँ

    रत्ननगर, २१ चैत –
    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन ।”

    स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उहाँले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभयो । “स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज मात्रै होइन”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “विसं २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिस गरेका थियौँ ।” उहाँले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पार्नुभयो ।

    “हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौँ”, पोखरेलले भन्नुभयो । उहाँले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने जिकिर गर्नुभयो । एमालेले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले जिकिर गर्नुभयो ।

    “उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन भनिएको छ, केका लागि दुई दिन चाहियो ?”, उहाँले भन्नुभयो, “कहीँ नभएको नियम यहाँ लगाइँदैछ ।” निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उहाँको भनाइ छ । (रासस)

  • जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

    जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

    जनकपुर, २१ चैत –
    जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।

    आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो । निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने उहाँले जानकारी दिनुभयो ।

    लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन् । स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गर्नुभयो । रेल सेवा सुरु भएसंगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ ।”

    रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए । कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर रेल हेर्दै थिए । कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए । जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए ।

    रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताउनुभयो । यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।”

    डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो ।

    भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

    कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।

    रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको थियो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

    जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।

    विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो । सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।

    जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ । (रासस)

  • ‘योग जीवनका लागि आवश्यक’

    ‘योग जीवनका लागि आवश्यक’

    दमौली, २१ चैत –
    तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुग्नुभयो । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी हुनुभएका उहाँले अब घरमै पनि योग गर्न जान्ने हुनुभएको छ ।

    व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा चापाघाटस्थित शान्तिवर्ष बोर्डिङ स्कुलको प्राङ्गणमा यही चैत १६ गतेदेखि २० गतेसम्म आयोजित शिविरमा उहाँले योगका विभिन्न प्रकार सिक्नुभयो । “पाँच दिनको शिविरले योगका बारेमा धेरै कुरा सिकायो, अब त घरमै पनि आफैँले गर्न सक्छु,” उहाँले भन्नुभयो, “ योग गर्दा शरीरमा छुट्टै फुर्ति आउँदो रहेछ ।”

    चापाघाट टोल विकास संस्थाका अध्यक्षसमेत रहनुभएका उहाँले सबैले नियमितरुपमा योग गर्नुपर्ने सुझाव दिनुभयो । “अब त म पनि बिहान नियमित योग गर्छु, अरुलाई पनि योग गर्न प्रेरणा दिन्छु”, उहाँले भन्नुभयो । सोही वडाको कन्टार टोल विकास संस्थाका अध्यक्ष भद्र खनाल पनि नियमितरुपमा योग शिविरमा सहभागी हुनुभयो । पाँच दिन नियमितरुपमा योग गर्दा पनि शरीर स्वस्थ भएको अनुभव भएको उहाँले सुनाउनुभयो । “म पनि अब घरमै नियमित योग गर्छु, योग मानिसको जीवनका लागि अति आवश्यक छ”। उहाँले भन्नुभयो ।

    जिल्लामा आयोजना हुने योग शिविरमा सर्वसाधारणको आकर्षण बढेको छ । चापाघाटमा आयोजित शिविरमा दैनिक ३०० भन्दा बढीको सहभागिता रहने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । शिविर सञ्चालन भएपछि नियमितरुपमा योग गर्नुपर्छ भन्ने चेतना जागृत भएको उहाँले बताउनुभयो । “योग भनेको मानिसको जीवनमा सधैँ आवश्यक छ भन्ने प्रेरणा शिविरले दिएको छ”, उहाँले भन्नुभयो, “योगको महत्व प्रचारप्रसारका लागि पनि शिविर सार्थक भयो ।”

    शिविरमा सहभागी हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले योगले मानिसलाई स्वस्थ राख्ने भएकाले नियमित योग गर्नुपर्ने बताउनुभयो । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता रहेको थियो ।

    पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ । यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ । (रासस)

  • आठ महिनामा साढे ३२ अर्बको सुन आयात

    आठ महिनामा साढे ३२ अर्बको सुन आयात

    काठमाडौं, चैत २१ –
    चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो।

    भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ। सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ। ‘आठ महिनामा ३२ अर्बको सुन आयात हुनु सामान्य हो ।

    यो वर्ष मूल्य बढेका कारणले गर्दा पनि रकममा धेरै देखिएको हो,’ उनले भने । मूल्य बढेकाले स्थानीय बजारमा कारोबार ५० प्रतिशतले गिरावट आएको उनको भनाइ छ। सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन विक्री हुने गरेकोमा अहिले आधाले घटेको उनले बताए । आजको कारोबार दैनिकमा समाचार छ ।

  • मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

    मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

    काठमाडौं, चैत २१ –
    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।

    सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ । सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

  • आइपीएल : चेन्नईको लगातार तेस्रो हार

    आइपीएल : चेन्नईको लगातार तेस्रो हार

    काठमाडौं, २१ चैत –
    पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

    मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो ।

    चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।

    पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए । चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २-२ विकेट लिए ।

    जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।

  • बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

    बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

    रत्ननगर, चितवन,२१ चैत –
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आउनुभएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।

    बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ । (रासस)

  • वाईसीएल कालिका नगर कमिटी : अध्यक्षमा इश्वर भट्टराई, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने

    वाईसीएल कालिका नगर कमिटी : अध्यक्षमा इश्वर भट्टराई, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने

    चितवन, चैत २० –
    कालिका नगरपालिकामा वाईसीएल नेपाल कालिका नगर कमिटी गठन गरिएको छ । ईश्वर भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

    शनिबार भएको सम्मलेनले कमिटीको उपाध्यक्षमा रमेश तामाङ, दिवश सुनार, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने रामप्रसाद खनाल, प्रमोद ढकाल, मुना भारती, अम्बिका नगरकोटी सुदिप खनाल सिबराम कुमाल रहेका छन् ।

    नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दिपसिखा को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सदस्य रामधोज डल्लाकोटी, प्रदेस सदस्य दिवस पाण्डे, चितवन जिल्ला इन्चार्ज साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।