Blog

  • ऊर्जा क्षेत्रमा पनि जलवायु परिवर्तनको असर

    ऊर्जा क्षेत्रमा पनि जलवायु परिवर्तनको असर

    काठमाडाँै, २१ चैत-
    जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लनेक्रम उल्लेख्यरुपमा बढेको छ । खडेरी बढ्दै गएको छ भने पानीका मूल सुक्दै गएका छन् ।

    अतिवृष्टि, खण्डवृष्टि जस्ता कारणले वातावरणीय जोखिम पनि उत्तिकै वृद्धि भएको छ । यस्तो अवस्थामा नेपालको ऊर्जा क्षेत्रसमेत नराम्ररी प्रभावित भएको छ । गत असारमा गएको बाढीका कारण झण्डै रु तीन अर्ब बराबरको क्षति भएको थियो । ऊर्जा क्षेत्रमा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने झण्डै रु १० अर्ब बराबरको क्षति भएको छ ।

    यस सन्दर्भमा जलविद्युत् आयोजना निर्माण गर्दा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्ने मत जबर्जस्तरुपमा उठेको छ । जलविद्युत् प्रवद्र्धकले आयोजनाको विकास गर्दा वातावरणीय अध्ययन र समाजिक व्यवस्थापनमा संवेदनशील हुनुपर्ने आवश्यकता बढेर गएको छ ।

    शनिबारदेखि राजधानी काठमाडौँमा तेस्रो हिमालयन हाइड्रो एक्स्पो चलिरहेको छ । नेपालको ऊर्जा क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउने र लगानीका नयाँ अवसरको खोजी गर्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा जलवायु परिवर्तन र त्यसले ऊर्जा क्षेत्रमा परेको प्रभावका बारेमा समेत महत्वपूर्ण छलफल भएको छ ।

    जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले जलविद्युत् आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि पनि वातावरणीय पक्षलाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिषराज पाण्डेका अनुसार जलवायु परिवर्तनको असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ ।

    नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण हुने वा निर्माण हुने क्रममा रहेकाले ती क्षेत्र नै बढी संरक्षण गर्नुपर्ने क्षेत्रका रुपमा देखिएको उहाँको भनाइ छ । संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजना धेरै हुँदा विकास र वातावरणलाई सन्तुलितरुपमा लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

    “हामीले जलचर संरक्षण गर्न पनि त हामीले हेर्नुपर्छ, विगतका पाठका आधारमा आगामी दिनमा कार्ययोजना बनाउनुपर्ने महसुस हामीले गरेका छौँ, एकीकृत जलउपयोग नीतिअनुसार नदी बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापनका साथ साथै सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नैपर्छ”, उहाँले भन्नुभयो ।

    सानिमा हाइड्रोका प्रमुख लगानीकर्ता डा सुवर्णदाश श्रेष्ठले वातावरणीय सामाजिक विषयवस्तुलाई प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नुपरेको दृष्टान्त पेश गर्नुभयो । “अब जलविद्युत्मा लगानी मात्र सोच्ने होइन वातावरण सामाजिक व्यवस्थापनमा पनि सोच्नुपर्छ, जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ”, उहाँले भन्नुभयो ।

    वातावरणीय व्यवस्थापनमा वृक्षरोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्यशैलीमा सुधार गर्नुपर्ने उहाँको मत छ । उहाँले भन्नुभयो, “आयोजना बनाउँदा वृक्षरोपण कहाँ गएर गर्ने जमिन नै पाएका छैनौँ, हामी बिरुवा हुर्काउन तयार छौँ, नेपालको नाङ्गा डाँडा दिनुस् न हामी खुसीसाथ गर्न तयार छौँ, तर हामी आयोजनास्थल नजिकै किन्दै जाने कुराको समीक्षा गरौँ ।”

    विशेषगरी जलविद्युत् क्षेत्र आफँैमा बढी प्राविधिक विषय भए पनि यसमा वातावरणीय पक्षलाई ख्याल नगर्दा बढी समस्या खडा भएको छ । कतिपय प्रवद्र्धकले लाइसेन्समात्र बोकेर लगानी गर्न खोज्दा सफल नभएको दृष्टान्त पनि उत्तिकै छ ।

    नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको अग्रणी बैंक एनएमबीले पछिल्ला दिनमा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिएको छ । सो बैंकले हालसम्म ४५ आयोजनामा लगानी गरिसकेको छ । बैंकका प्रतिनिधि शरद् तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको जरुरी रहेको बताउनुभयो । -रासस

     

  • गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

    गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

    लस एन्जलस, २१ चैत-
    अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

    क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् ।

    सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ ।

    मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

    घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ । – (रासस÷सिन्ह्वा)

  • ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    मकवानपुर, २१ चैत-
    मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन् । पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना

     

  • जाजरकोटमा गठबन्धन गर्ने चार दलको सहमति

    जाजरकोटमा गठबन्धन गर्ने चार दलको सहमति

    सुर्खेत, २१ चैत-
    जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचन तालमेल गर्ने निर्णय गरेका हुन् ।

    आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिए ।

    गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीनजनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने, पालिकास्तरमा सत्ता गठबन्धनको मर्मविपरीत गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहले जानकारी दिए ।
    – न्युज कारखाना

     

  • खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

    खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

    खोटाङ, २१ चैत-

    टाइफाइड रोगविरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ । आगामी २९ चेतदेखि ४ बैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।

    टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातसम्बन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, पाँच वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, दुई वर्षदेखि चार वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ ।

    टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

    खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालित हुने छन् । यस्तै, खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ । खोप अभियानका लागि २२ चैतदेखि २७ चैतसम्म भ्याक्सिन तथा खोप ढुवानी गरिने प्रमुख सिग्देलले बताए ।

    यस्तै, १९ चैतदेखि ४ वैसाखसम्म पर्चा, पम्प्लेट र पोष्टर वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउनका लागि राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

    अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ ।-न्यूज कारखाना

  • रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या

    रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या

    किभ, २१ चैत-

    युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको रुसी हमलामा मारिएका सयौँ स्थानीयमध्ये उनी एक हुन ।

    रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेका छन् । रुसी फौजले सो सहर छाडेपछि त्यहाँ ५० जनाको शव फेला परेका बुचाका उपप्रमुख तारास साप्रभस्कीले जानाकारी दिए ।

    रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् ।

    तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

    सर्वसाधारणको गैरन्यायिक हत्यामा कसको संलग्नता थियो भन्नेबारेमा स्वतन्त्र ढंगले पुष्टि हुन सकेको छैन् । दुबै देशले एक अर्कामाथि आरोप लगाएका छन् ।
    -एजेन्सी

  • चुच्चे नक्सा बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाइयो : ईश्वर पोखरेल

    चुच्चे नक्सा बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाइयो : ईश्वर पोखरेल

    कुलप्रसाद काफ्ले
    चितवन, २१ चैत-

    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुच्चे नक्सा राखिएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

    नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले भने, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसावले जसरी भ्रमणमा प्रस्तुत हुनुपथ्र्याे त्यो गर्न सक्नुभएन ।’

    प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको उनले बताए । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिए ।

    ‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ,’ उनले भने । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग गएर भारत घुमेर मात्रै आएको उनले बताए ।

    राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उनले बताए । नेपाल र भारतको सहमतिमा गठन भएको इपिजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उनले बताए ।

    फरक प्रसंगमा उनले विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच गठबन्धन आए पनि एमाले एक्लै काफी हुने उनले दाबी गरे । ‘हामीले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने हाम्रो प्रयत्न हो,’ उनले भने ।

    सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उनले संवेदनशिल विषयमा निर्णय गर्दा पनि आयोगले दलहरुसँग छलफल नै नगरेको बताए ।

    ‘मनोनयन दर्ता गर्ने समय दुई दिन रे । केका लागि दुई दिन ?’, उनले भने, ‘आयोगले पनि दलहरुसँग परामर्श गरेको छैन । मतपत्रको रङको विषय पनि अनौठो छ ।’

    स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा चुनावी तालमेल हुनसक्ने उनले बताए । चुनावका लागि केन्द्रीय तहबाट भने गठबन्धन नहुने उनले बताए । ‘स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा अन्य दलसँग तालमेल गर्नु अलग कुरा हो । तर, केन्द्रीय तहबाट कुनै दलसँग चुनावी तालमेल हुँदैन,’ उनले भने ।

    एमाले कुनै दलसँग गठबन्धन गर्ने पक्षमा नरहेको उनले बताए । प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै उनले माओवादी केन्द्रसँग गठबन्धन नहुने दाबी गरे । -न्युज कारखाना

  • निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्‍या हो, पुर्जा पाउनेमा विश्वास छैन

    निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्‍या हो, पुर्जा पाउनेमा विश्वास छैन

    तनहुँ, २० चैत-

    शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उनको हातमा निस्सा थमाइदिँदा पनि उनको मुहारमा खुसी छाएन । निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकीका मेयर किसान गुरुङले निस्सा बाँडेका थिए ।

    २०३२ सालदेखि भानुमतीको थात्थलो छाडेर स्यालीबजार बसाइ झरेका उनको एउटै सपना छ- सिरानीमा लालपुर्जा च्यापेर निदाउने । नगरपालिकाले बाँडेको निस्सा हातमा हुँदा पनि लालपुर्जा पाइन्छ भन्ने झिनो आश नभएको उनले बताए । उनी भन्छन्, ‘सबैले लिँदा किन नलिम भनेर मात्र निस्सा लिएको हो ।लालपुर्जा हातमा नपरुन्जेलसम्म भरोसा कत्ति पनि छैन ।’ जब हातमा लालपुर्जा पर्छ तब मात्र खुसी हुने उनले बताए । ‘यो औपचारिक मात्रै हो । निर्वाचनको भोटलाई गर्‍या हो । पाँच प्रतिशत पनि विश्वास छैन’, उनले भने ।

    निस्सा पाएका सबैसँग यस्तै यस्तै आशंका थिए । ३० वैशाखमा हुन लागेको निर्वाचनको संघारमा निस्सा बाँडिएकाले भोट तान्ने उपाय हुन सक्ने आशंका गर्छन् बाबुराम सिग्देल । निस्सा थमाउँदैमा खुसी हुने अवस्था नरहेको उनले सुनाए । पटक पटक लालपुर्जा दिन्छौँ भनेर ढाटिएकाले निस्सा बाँँड्दा पनि आश नपलाएको उनले बताए । उनका अनुसार धेरै पटक बस्तीमा मन्त्री नै आएर लालपुर्जाको आश्वासन बाँडे, पूरा कहिल्यै गरेनन् । ‘निस्सा लिएर लालपुर्जा पाउने झिनो आश पनि छैन । एक फेर हो र ? पटक पटक भएपछि कसरी आश गर्ने’, उनले भने । लालपुर्जा नभएकाहरुले सरकार भएको महसुस गर्नै नपाएको उनले बताए । आफूले उपभोग गरेको जग्गाको लालपुर्जा नभएपछि बैंकमा धितो राखेर ऋण झिक्नसमेत नपाएको उनको भनाइ छ ।

    निस्साले टिकाराम र बाबुरामलाई जस्तै विष्णुमाया श्रेष्ठलाई पनि लालपुर्जाको आश दिलाउन सकेन । बरु यसपालि पनि लालपुर्जा पाइँदैन होला भनेर आशंकित बनाएको छ उनलाई । निस्सा बाँड्दै लालपुर्जा दिन्छौँ भन्नु चुनावी आश्वासन ठानेकी छन् उनले । लालपुर्जाको कुरा सुन्दा सुन्दै कान थाकेको उनले बताइन् । ‘लालपुर्जाको आश्वासन धेरै पाइयो । आशमा धेरै पटक फारम पनि भर्‍यौँ । हातमा पर्दैन’, उनले भनिन् ।

    जानकारहरूका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन गरिएको प्रयास यो आठौँ पटक हो । अहिलेसम्म सफल भएको देखिँदैन । आइतबार शुक्लागण्डकी नगरपालिका–७ का ३९ घरलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भन्दै निस्सा बाँडिएको छ । २४७ परिवारको निस्सा आएको भए पनि वितरण कार्यक्रममा धेरै सहभागी नै भएनन् । लालपुर्जा पाइन्छ भन्ने आश नभएको भन्दै धेरै सहभागी भएनन् ।

    वडाबाट ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न निवेदन दिएकोमा ८६६ को विवरण अनलाइनमा दर्ता भएको छ । निस्सा आएकाको वितरण थालेको शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । निस्सा वितरण लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । उनका अनुसार अब नक्सा नापजाँच गरेर लालपुर्जा वितरण हुनेछ ।

    आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने शुक्लागण्डकीका मेयर किसान गुरुङले बताए । काम गर्दा गर्दै पनि आफ्नो कार्यकालमा नसकिएपनि अब आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्ने उनले उल्लेख गरे ।

    शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ७ सँगै ८ र २ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । शुक्लागण्डकीका १२ वडाबाट चार हजार ४०३ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास त भएको छ नै । र पनि पुर्जाविहीन हुनुको पीडाले सताइरहने बताउँछन् स्थानीयवासी ।-न्युज कारखाना

  • गृहजिल्लामा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

    गृहजिल्लामा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

    काठमाडौं, २० चैत –
    राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।

    एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।

    २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरुलाई ठूलो चुनौती दिएका छन् ।

    गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरुले बताएका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

    कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।

    २०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए ।

    सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

    आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् ।

    नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ । अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागिताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।

    मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागिता छ । तर, अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।न्युज कारखाना

  • भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

    भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

    काठमाडौं, २० चैत-

    प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।

    भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

    मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए ।

    देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।-न्युज कारखाना