Blog

  • अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

    अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

    काठमाडौं, ६ वैशाख-

    नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिङले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता तथा नेपाली ‘एलजीबीटीक्युआई प्लस’ अभियन्ता भूमिका श्रेष्ठसँग भेट गरेकी छन् ।

    काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटघाटमा नेपाली एलजीबीटीक्युआई प्लस समुदायको अधिकार र उत्थानका विषयमा छलफल भएको थियो ।

    ‘अमेरिका नेपालमा एलजीबीटीक्युआई प्लस समुदायको अधिकारको उत्थान र समान अवसरको पहलका लागि श्रेष्ठको योगदानको प्रसंशा गर्दछ र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि हुने प्रयासमा हरसम्भव सघाउन प्रतिवद्ध छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।

    नेपाल र अमेरिकाबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ नेपाल भ्रमणमा आएकी हुन् । न्युज कारखाना

     

  • रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

    रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

    जनकपुरधाम, ६ वैशाख-

    जनकपुर उपमहानगरपालिका-१६ बस्ने रुकशना आजमीको दैनिकी हिजाेआज फेरिएको छ । प्राय: बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै उठ्ने गरेकी छन् ।

    २७ वर्षीया अजामी एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।

    जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन् ।

    ‘उहाँलाई सधै औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ विरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने भाडादारसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् । त्यसैले सबैले उनलाई ‘नमाजीवुआ’भनेर बाेलाउँछन् ।

    बुहारी समिमाले खाना पकाइरहेका बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहरु पढ्छिन् । बिहानै सेहरी खाएर रोजा सुरु गर्ने गरेकाे उनले सुनाइन् । रोजा सुरु हुनुअघि खाइने खानेकुरालाई सेहरी भन्निछ । सेहरी खाइसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीरको सफासुग्घर)गरी फ्रजको नमाज (बिहानको प्रार्थना) पढ्दासम्म उज्जयालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरआन (इस्लामको धार्मिक ग्रन्थ) पाठ गर्छिन् ।

    दैनिक पाँचपटक नमाज पढ्ने रेहनाले भनिन्, ‘दिनभरि पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्र्चर्य मान्छन् । रोजाका वेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।’

    सूर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुका अनुसार सामूहिक रूपमा रोजा खोल्दा धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरकोे नवाै‌ महिना हो । मुस्लिम समुदायमा ‘रमजान’ का लागि विशेष महत्व राख्छ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ ।

    रमजानकै २७ तारिखका दिन इस्लाम धर्मावलम्वीहरूको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवितरित) भएकाले मौलना इजराइल रिजवीले बताए । उनले भने, ‘संसारको आवश्यताअनुसार अल्लाहले एक-एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ।’- न्युज कारखाना

  • सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

    सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

    काठमाडौं, ६ वैशाख-

    स्थानीय तहकाे निर्वाचनकाे २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेकाे छैन ।

    ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ ।

    विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारकाे बैठक अनिर्णित बनेकाे थियाे ।

    कांग्रेसले काठमाडाैं, ललितपुर र विराटनगरसहित पाेखरामा पनि दाबी गरेकाे छ । तर, एकीकृत समाजवादीले पाेखरामा दाबी गरिरहेकाे छ । पाेखरामा तत्कालीन एमालेले जितेकाे थियाे ।

    एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पाेखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।

    माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेकाे छ ।

    सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।

    आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ ।- न्युज कारखाना

  • विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

    विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

    मोरङ, ६ वैशाख-
    विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ ।

    विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिनुभयो ।

    आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ । (रासस)

  • सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

    सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

    काठमाडाैं, ६ वैशाख-

    भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ ।

    भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा दुबै देशकाे हकहितका बारेमा छलफल भएकाे हाे ।

    उनीहरुले एकअर्कालाई तुलसीकाे बिरुवा दिएका थिए । भारतकाे उत्तराखण्ड र नेपालकाे सुदूरपश्चिम क्षाेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएकाे थियाे ।

    मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् । मुख्यमन्त्रीकाे सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।- न्युज कारखाना

  • गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ

    गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ

    काठमाडौं, ६ वैशाख-

    निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो ।

    सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो । निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए । जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्ब समेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए ।

    २४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।- न्युज कारखाना

     

  • रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    रौतहट, ६ वैशाख-

    रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ ।- न्युज कारखाना

  • बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि

    बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि

    काठमाडौं, ६ वैशाख-

    देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भाेलि सञ्चालन हुँदैछ । ७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएकाे हाे ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे ।

    २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

    स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।- न्युज कारखाना

     

     

  • तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

    तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

    तनहुँ, ६ वैशाख-
    तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बन्नुभएको हो ।

    उहाँका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाउनुभएको थियो । अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो । २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन् ।

    अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताउनुभयो । समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित बन्नुभएको छ ।

    समितिका सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेले बताउनुभयो ।

    नवनिर्वाचित अध्यक्ष पालिखेलाई निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठले माइन्युट हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित समितिका पदाधिकारीलाई खादा र माला लगाई सफल कार्यकालको शुभकामना दिइएको थियो । निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल २५औँ वर्षसम्म रहेको भन्दै केक काटेर एन्फाका पदाधिकारीलाई आगामी कार्यकालका लागि अगाडि बढ्न शुभकामना दिनुभएको हो ।

    यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसङ्घका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठीले उद्घाटन गर्नुभएको थियो । उहाँले नेपालका कुना कन्दरामा पनि फुटबलका राम्रा खेलाडी रहे पनि राज्यले पहिचान गर्न नसकेको बताउनुभयो । (रासस)

  • जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘अभिभावकले महसुस गर्ने ठूलो पीडा’

    जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘अभिभावकले महसुस गर्ने ठूलो पीडा’

    लन्डन, ६ वैशाख-

    म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् ।

    सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो दुःखका साथमा हामी घोषणा गर्छौं कि हाम्रो नवजात शिशुकाे मृत्यु भएको छ । ’
    उनीहरूले अगाडि भनेका छन्, ‘यो क्षतिमा हामी स्तब्ध छौँ । ’

    ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले जुम्ल्याहा सन्तान जन्माउने तयारीमा थिए । जुम्ल्याहामध्ये बालिका भने बाँचेकी छिन् । बालिकाको जन्मले आफूहरुलाई यो क्षण केही आशा र खुशीका साथ बाँच्न बल दिएको उनीहरूले बताएका छन् ।

    ‘हाम्रो शिशु बालक, तिमी हाम्रो देवदूत हौ । तिमीलाई सधैं माया गर्नेछौं’, उनीहरूले लेखेका छन् । रोड्रिग्वेजले गर्भवती भएको खुलासा अक्टोबरमा गरेकी थिइन् ।

    रोनाल्डोको एउटा छोरा क्रिस्टियानो जुनियर छन् । उनको जन्म सन् २०१० मा भएको थियो । सन् २०१७ मा रोनाल्डोका जुम्ल्याहा सन्तान इभा र माटेओ जन्मेका थिए ।
    रोड्रिग्वेजतर्फ एउटी छोरी पनि छिन् । अलाना मार्टिनाको जन्म सन् २०१७ मा भएको थियो ।
    एजेन्सी