Blog

  • किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

    किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

    झापा, ५ वैशाख-

    गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यसपटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए ।

    वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादिन खरबुजा बजारसम्म पुर्‍याउन सकेका थिएनन् । पाँच बिघा बगर क्षेत्रमा लगाएको खरबुजाबाट लगानी उठाउन पनि हम्मेहम्मे परेको थियो । ‘गत वर्षदेखि बगरमा पनि केही गर्न सकिन्छ कि भनेर खरबुजा खेती गर्न थालेको हुँ,’ उनी भन्छन्, ‘गत वर्ष पाँच लाख लगानी गरेर खरबुजा लगाएँ । तर, लकडाउनले बगरमै खरबुजा कुहिएन अवस्था आयो । बल्लतल्ल लगानी उठाएँ ।’

    यसपटक खरबुजा राम्रो फलेको थियो । मिहिनेतअनुसार कमाई हुनेमा उनी ढुक्क थिए । खरबुजा पाकेर टिप्ने बेला भएको थियो । तर, चैत अन्तिमसाता आएको असिना पानीले उनको खरबुजा खेतीमा क्षति गर्‍यो । पाँच लाख खर्च गरेर पाँच बिघामा लगाएको खरबुजा असिनाले कामै नलाग्ने गरी बिगारेको खगेन्द्र बताउँछन् । ‘असिनाले अधिकांश फुटाएको छ । १ वैशाखदेखि टिप्न थालेको । धेरै त काम नलाग्ने भएको छ । काम लाग्ने बजारमा पठाउँदैछु,’ उनी भन्छन्, ‘राम्रो फलेको बेला असिनाले काम नलाग्ने बनायो । यसपटक त लगानी पनि उठ्दैन कि भन्ने डर छ ।’

    श्रेष्ठजस्ता किसानलाई सधैँ समस्या हुने गरेको छ । प्राकृतिक प्रकोपले सधैँ उठाउन लागेको बालीमा क्षति पुर्‍याएको गरेको छ । गत कात्तिकमा खगेन्द्रले लगाएको दुई बिघा धान खेतामा क्षति पुर्‍याएको थियो । ‘खेलीमा लगानी गरेको उठाउनै नपाएपछि कसरी कृषि गर्ने ?,’उनी भन्छन्, ‘धानको क्षतिमा सरकारले केही हेर्छ कि भनेको अहिलेसम्म केही गरेन । धानको क्षतिको फर्म चाहिँ भरेको छ ।’

    मोरङका मेघराज चौधरी ६ महिनादेखि गौरीगञ्ज-२ स्थित भाकुरमारमा माई नदीको बगरमा छन् । नदीले बगर बनाएको जग्गा भाडामा लिए । बगरमा मल लगाए । खरबुजाको बिउ रोपे । उनले करिब चार हजार खरबुजाका बोट रोपे । मलजल गरे । ६ महिना बगरमै बसेर यसलाई स्याहार पनि गरे । यसका लागि उनले ऋण गरेर तीन लाख खर्चेका छन् । तर, फल आउने बेलामा भने असिनाले सखाप बनायो ।

    ‘६ वर्षदेखि म माईको बगरमा खरबुजा खेती गर्दै आएको छु । पहिला त राम्रो हुन्थ्यो । अहिले त कहिले लकडाउन हुन्छ कहिले के,’ उनी भन्छन्, ‘यसपटक असिनाले सखाब बनायो । ६ महिना मिहिनेत गर्‍यो फल पाउने बेलामा यस्तो भएपछि के गर्ने ? पाकेको खरबुजा सबै असिनाले फुटायो । यसपटक त लगानी पनि नउठ्ने भयो ।’

    असिनाले क्षति पुर्‍याएर बाँकी रहेका खरबुजा उनी धमाधम टिप्दैछन् । अहिले बगरबाटै प्रतिकेजी २० रुपैयाँसम्म खरबुजा बिक्री भइरहेको छ । ‘बाँकी रहेकोले कतै लगानी उठ्छ कि, लगानी उठेन भने साहुको ऋण कसरी तिर्ने,’ उनी भन्छन् ।- न्युज कारखाना

     

  • कैलाली कांग्रेसलाई वाम एकताको डर, साना वाम दलसँग गठबन्धन गर्ने तयारीमा नेकपा एस

    कैलाली कांग्रेसलाई वाम एकताको डर, साना वाम दलसँग गठबन्धन गर्ने तयारीमा नेकपा एस

    मोहन जोशी
    धनगढी, ५ वैशाख-

    चुनावी तालमेलका लागि पाँच दलीय गठबन्धनबीच पटक पटक भएको छलफल निश्कर्षविहीन बन्दै जाँदा कैलालीमा दलहररुबीच थप अविश्वासको वातावरण बन्न थालेको छ ।

    मुख्यगरी नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा आ-आफ्नो दावीबाट पछि नहटेपछि सहमतिको वातावरण बन्न नसकेको हाे । समहति नहुँदा गठबन्धनमा आवद्ध दलहरूनै एकअर्का प्रति शंका उपशंका गर्न थालेका छन् ।

    कैलालीमा नेकपा एसले तुलनात्मक रुपमा धेरै स्थानीय तहमा भाग खाेजेकाे भन्दै कांग्रेस र माओवादी रुष्ट बनेकाे हाे । जसका कारण नेकपा एस पनि दुई दल मिल्न सक्ने भन्दै त्रसित बन्न थालेको छ । यही कारण नेकपा एसले अन्य साना वाम दलसँग चुनावी तालमेलका लागि छलफल गर्न थालेको छ ।

    राष्ट्रिय जनमोर्चालगायतका दलसँग नेकपा एसले गठबन्धन बनाएर अघि बढौँ भन्ने प्रस्ताव समेत गरेकाे स्राेतकाे दावी छ । श्रोतका अनुसार नेकपा एसले आइतबार मात्रै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायत कम्युनिष्ट पार्टीसँग वाम एकता गरेर चुनावमा जाने प्रस्ताव राखेको छ । त्यसका लागि नेकपा एसले आन्तरिक छलफल पनि अघि बढाएको छ ।

    ‘कांग्रेस र माओवादी मिल्न सक्ने नेकपा एसको आशंका पनि छ । गठबन्धनको संयुक्त बैठकमा पनि कांग्रेस र माओवादी केन्द्रको कुरा एउटै हुने गरेको थियो,’ नेकपा एसका एक नेताले भने, ‘यसबाट उनीहरू मिले जस्तो देखिन्छ, दुई पार्टी मिले हामी पनि आफ्नै तरिकाले अघि बढ्छौं ।’

    तालमेल सम्मानजनक हुनुपर्छ : नेकपा एस

    नेकपा एकीकृत समाजवादी पार्टी कैलालीका अध्यक्ष भैरव रावलले चुनावी तालमेल गर्दा सम्मानजनक व्यवहार हुनु पर्ने बताए । नेकपा एस पहिलो पटक चुनावमा जान लागेको भन्दै उनले अहिलेनै हामीलाई कम्जोर ठान्नु कांग्रेस माओवादीको गलत आंकलन हाे । ‘२०७४ सालको स्थानीय चुनावमा कैलालीका १३ मध्ये एमालले मात्रै सात पालिकामा जित हात पारेको थियो,’ उनले भने एमालेलाई जिताउन भूमसका खेल्ने धेरै नेता कार्यकर्ता नेकपा एसमा छन्, जिल्लामा हाम्रो उपस्थिति बलियो छ, त्यसैले हामीलाई कम्जोर नठाने हुन्छ ।’ कांग्रेस र माओवादीलाई स्थापित गर्न नेकपा एसले गरेको त्यागको पनि सम्मान हुनुपर्ने उनको भनाइ छ ।

    गठबन्धनमै रहेको नेपाली कांग्रेस पनि वाम गठबन्धन हुन सक्ने भन्दै सशंकित देखिन्छ । गठबन्धनका हरेक बैठकमा कांग्रेस र माओवादी केन्द्र एउटै कित्तामा उभिए पनि कम्युनिष्टहरू जतिसुकै बेला मिल्न सक्ने भन्दै कांग्रेस एक्लै चुनावमा जान समेत आन्तरिक तयारीमा रहेकाे श्रोतको भनाइ छ ।

    कांग्रेस कैलालीको निर्वाचन प्रचारप्रचार समितिका एक सदस्यका अनुसार वाम गठबन्धनका लागि भित्रभित्रै नेकपा एस, माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको खबर आएपछि कांग्रेसले एक्लै चुनाव लड्ने गरी आन्तरिक तयारी थालेको हो । केन्द्रबाट सहमति भएर आएका स्थानीय तहबाहेकमा कांग्रेस एक्लै चुनाव लड्न सक्ने ती नेताले बताए । तर, केन्द्रले सहमति गर्न ढिलाई गर्दा जिल्लामा योजना बनाउन समस्या भइरहेको उनकाे भनाइ छ ।

    पर्ख र हेरको स्थितिमा माओवादी केन्द्र

    नेकपा माओवादी केन्द्र भने पर्ख र हेरको स्थितिमा छ । आफूले जितेका स्थानमा अरुलाई नेतृत्व नदिने स्पष्ट पारेर बसेको माओवादी केन्द्र अन्य पालिकाको हकमा बढी भन्दा बढी स्थानको नेतृत्व लिन दाउमा छ । तर, अहिलेसम्म गठबन्धनबाहेक तालमेलका लागि अन्य छुट्टै दलसँग छलफल नभएको नेकपा माओवादी केन्द्रका कैलाली संयोजक हरि ज्ञावाली बताउँछन् । ‘दलहरू आ-आफ्नै अडानमा रहेका कारण कैलालीमा सहमति हुन सकिरहेको छैन,’ संयोजक ज्ञावालीले भने, ‘सहमति नभए हामी एक्लै पनि चुनाव लड्न सक्छौं वा अन्य पार्टीसँग पनि तालमेल हुन सक्ला तर अहिलेसम्म त्यतातर्फ छलफल भएको छैन ।’

    कैलालीका १३ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ११, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक स्थानीय तहमा नेतृत्व दावी गर्दै आएका छन् ।

    केन्द्रमा शत्तारुढ पार्टीको गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा भने गठबन्धन तोडेर अन्य केही क्षेत्रीय पार्टीसँग गठबन्धन गरेर जाने निर्णय नै गरिसकेको छ ।- न्युज कारखाना

  • गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डकाे दाबी

    गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डकाे दाबी

    काठमाडौं, ५ वैशाख-

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् ।

    पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् ।

    ‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’

    भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए ।
    – न्युज कारखाना

  • माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल

    माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल

    काठमाडौं, ५ वैशाख-

    नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-० अन्तरले पराजित गरेको हो ।

    माजियाको एकपक्षीय जितमा मोहम्मद हाम्जाले एक्लै चार गोल गरे । स्टेवार्ट कर्नेलिउस र हुसन नाइज दुबैले ह्याट्रिक पूरा गरे । यस्तै टानाले दुई गोल गर्दा ऐसामले एक गोल गरे ।

    नेपाली टोलीका कप्तान किरणले भने सुरुआती एघारमै खेल्दै आएका छन् । उनले खेल पूरा समयसमेत खेले । जारी लिगमा नाै खेल खेल्दा आठ खेलमा जित र एक खेलमा हार बेहोरेको माजिया २४ अंकसहित शीर्षस्थानमा छ । आठ टोली सहभागी लिगमा माजियाले ३४ गोल गरेको छ भने दुई गोल बेहोरेको छ ।

    समान खेलबाट १३ अंक जोडेको पराजित भ्यालेन्सिया तेस्रो स्थानमा छ ।- न्युज कारखाना

  • हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड

    हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड

    काठमाडौं, ५ वैशाख-

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

    पेरिसडाँडामा साेमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’

    महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए । अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए ।- न्युज कारखाना

  • बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

    बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

    बाँके, ५ वैशाख-
    अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ ।

    विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताउनुभयो । “यो मौसममा प्रायः पर्यटकको जङ्गली जनावर हेर्ने इच्छा पूरा हुन्छ”, चौधरीले भन्नुभयो ।

    बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

    “चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, “जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।”

    यहाँ आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रा लागि सुखद रहेको छ”, प्रमुख संरक्षण अधिकृतले भन्नुभयो, “अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।” (रासस)

  • निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ : प्रचण्ड

    निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ : प्रचण्ड

    काठमाडौं, ५ वैशाख-

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे ।

    ‘निर्वाच सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने ।

    निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे ।- न्युज कारखाना

  • जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

    जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

    वालिङ, ५ वैशाख-
    स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

    अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो । (रासस)

  • चितवनमा बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

    चितवनमा बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

    चितवन, ५ चैत-
    जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

    गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ ।

    कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।

    टाइफाइडको समस्या बढीमात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उहाँले जानकारी दिनुभयो । दूषित खानेपानी र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढीमात्रामा बालबालिका प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।

    यो रोग प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा सङ्क्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

    राम्ररी पकाएको खानामात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेका र झिँगा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्नेगरी यो रोगबाट बाँच्न सकिने उहाँले जानकारी दिनुभयो । (रासस)

  • घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

    घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

    काठमाडौं, ५ वैशाख-

    पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।

    सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।- न्युज कारखाना