Blog

  • नेपाल फर्मा एक्स्पो चितवनमा

    नेपाल फर्मा एक्स्पो चितवनमा

    चितवन, ६ वैशाख-
    यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो ।

    सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन् । नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उहाँले जानकारी दिनुभयो । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग लिनेछन् । एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन् ।

    नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका विकासको प्रदर्शनी हुने क्षेत्रीले जानकारी दिनुभयो । उहाँले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुनसक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो ।

    सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसपटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बताउनुभयो । उहाँले विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको बताउनुभयो । यसपटक आठौँ एक्स्पो हुन लागेको हो । एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यसअघिको सातौँ एक्सपो पनि चितवनमा नै भएको थियो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम छ । (रासस)

  • देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका न्यौपानेको शव गाँजीपुरमा फेला

    देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका न्यौपानेको शव गाँजीपुरमा फेला

    चितवन, वैशाख ५ –

    देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका साकार न्यौपानेको शव गाँजीपुरमा फेला परेको छ ।

    भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका २१ वर्षीय साकार न्यौपाने नयाँ वर्षमा परिवारसहित देवघाट नुहाउन पुगेका थिए । नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।

    बेपत्ता न्यौपानेको शव आज भरतपुरको गाँजीपुरमा भेटिएको न्यौपानेका काका सुदिप तिवारीले जानकारी दिए । शवलाई खोजी गर्ने क्रममा प्रहरी सहितको टोलीले गाँजीपुरमा फेला पारेको उनले बताए ।

  • झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

    झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

    इलाम, ५ वैशाख –
    इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् ।

    गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेपाल कम्युनिस्ट पार्टी नेकपा एसले पाउने सम्भावना थियो । जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो ।

    नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राईनै उम्मेदवार हुने चर्चा थियो । राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए ।

    नेकपा एमाले विभाजन हुँदा राई सहित एमालेबाट निर्वाचित बहुसंख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए । त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो । तर, कांग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ ।

    सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली कांग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ ।

    वडा सभापतिहरूको बैठकले गठबन्धन भए सैद्धान्तिक र व्यवहारिक पक्षमा समेत समन्वय हुन नसक्ने, केन्द्रको निर्देशन अनुसार सूर्योदयमा गठबन्धन गर्न आवश्यकता र अवस्था समेत नरहेको वडा सभापतिहरूले निष्कर्ष निकालेका छन् ।

    इलामको अन्य पालिकामा समेत गठबन्धन हुने सम्भावना न्युन बन्दै गएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढि सिट दावी गरेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् । – न्युज कारखाना

  • सत्ता गठबन्धनको बैठक सकियो, भएन सहमति

    सत्ता गठबन्धनको बैठक सकियो, भएन सहमति

    काठमाडौं, ५ वैशाख –

    सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन ।

    महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमतिनजिक पुगेको दाबी गरेका छन् ।

    बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ । – न्युज कारखाना

  • बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

    बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं, ५ वैशाख-

    सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेकाे हाे ।

    ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ ।

    कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड-१९ विरुद्धका सबै जनस्वास्थ्य मादपण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरेको छ ।- न्युज कारखाना

     

  • मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान

    मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान

    खड्क सुनार
    मुगु, ५ वैशाख-

    देशका अन्य जिल्लामा जस्तै मुगुमा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट र चुनावी रणनीतिमा दलहरू लागेका छन् । यहाँ नेकपा एमाले एक्लै निर्वाचनमा जाने तयारीमा भए पनि उसले उम्मेदवार चयनमा पर्ख र हेरकाे नीति लिएकाे छ ।

    अर्काेतिर नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन भने आ-आफ्नै दाबी र अडानमा छन् । जसका कारण उम्मेदवार चयन गर्न सकिरहेकाे छैन ।

    स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त छन् । तर, अझै टंगोमा पुग्न सकेको छैनन् ।

    गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपध्यक्ष दाबी गरेकाे नेपाली कांग्रेस मुगुका पार्टी प्रवत्ता प्रकाश शाहीले बताए । यही कारण कुरा नमिलेकाे उनकाे भनाइ छ । उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकामा नेपाली कांग्रेसले प्रमुख पाउनु पर्ने प्रवत्ता शाहीको भनाइ छ ।

    नेकपा एकीकृत समाजवादी मुगुका अध्यक्ष धरमबहादुर शाहीका अनुसार केन्द्रीय सर्कुलरअनुसार सात बुँदे सहमति समाजवादी पार्टीको हितको लागि बनाएको हाे । यही अनुसार नेपाली कांग्रेस पहिलो पार्टी, नेकपा माओवादी केन्द्र दोस्राे र समाजवादी तेस्राे स्थानमा हुनुपर्छ । नेकपा एमालेबाट छुट्टिएर आई सकेपछि मुगुका चार वटा स्थानीय तहमध्ये दुईमा कांग्रेस, एकमा माओवादी र एकमा समाजवादीको प्रमुखमा हाम्राे दावी रहन्छ ।

    नेकपा माओवादी केन्द्र मुगुका सूचना संचार विभागका संयोजक देविकृष्ण रोकायाका अनुसार माओवादी केन्द्र गठबन्धनको पक्षमा रहेको र सोहीअनुसार अगाडि बढेको छ ।

    अन्तिमसम्म गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै यदि गठबन्धन नभए मित्रवत रुपमा चुनावी प्रतिस्पर्धा गर्ने उनी बताउँछन् ।

    नेपाली कांग्रेस मुगुका अनुसार सकेसम्म तालमेल गरेरै जाने हो यदि उनीहरूले तालमेलमा रस्साकस्सी गरे भने अन्तिममा एक्लाएक्लै चुनाव लड्नुनकाे विकल्प छैन ।- न्युज कारखाना

     

  • सेयर बजार दोहोरो अंकले ओरालाे

    सेयर बजार दोहोरो अंकले ओरालाे

    काठमाडौं, ५ वैशाख-

    सेयर बजार साेमबार दाेहाेराे अंकले ‌ओरालाे लागेकाे छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालाे लागेकाे छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव ७५ प्रतिशतले घटेर त्यही २३४३ दशमलव ८७ अंकमा आएर बजार बन्द भएको छ ।

    २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा २०२ वटा रातो, २० वटा हरियो र ७ वटा स्थिर रहेका छन् । कारोबार रकममा पनि खासै ठूलो उतारचढाव देखिएको छैन । साेमबार २२९ वटा कम्पनीको ३१ हजार ८२५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ।

    बजार घटना क्रम जारी रहँदा पनि नेस्डाे लघुवित्तले भने साेमबार पनि सर्किट लेभलमा बढेर २७ सय ३७ दशमलव सात रुपैयाँमा अन्तिम कारोबार भएको छ । साेमबार बढ्नेमध्ये ७ दशमलव ९८ प्रतिशतले दिव्यश्वरी हाइड्रोपावर बढेर २७२ मा ६ दशमलव ०९ प्रतिशतले बढ्दा जाल्पा लगुवित्त ५७५ दसमलब १ मा अन्तिम कारोबार भएका छन् ।

    अत्याधिक घट्नेमध्ये नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ८ दशमलव ३३ प्रतिशतले घट्दा ५५० मा, हिमालयन ऊर्जा ७ दशमलव ५७ प्रतिशतले घट्दा ३३६ दशमलव १ मा , इमर्जिङ नेपाल ७ दशमलव १ प्रतिशतले घट्दा ८३८ मा, ग्रिन लाइफ हाइड्रो ६ दशमलव ०४ प्रतिशतले घट्दा ३८७६ मा, ५ दशमलव ९५ प्रतिशतले घट्दा युनिभर्शल पावर कम्पनी २४८मा र गुडविल फाइनान्स ५ दशमलव ८३ प्रतिशतले घट्दा ४८५ मा अन्तिम कारोबार भएको छ ।

    हाइडो इन्डेक्स २ दशमलव ९८ प्रतिशत र अदर्श इन्डेक्स २ दशमलव ८६ प्रतिशतले घटेको छ । अत्याधिक कारोबार हुनेमध्ये चार करोड ९९ लाख बराबरको नबिल बैंक, चार करोड ९१ लाख बराबरको हिमालयन डिस्टिलरी र चार करोड ५० लाख बराबरको महालक्ष्मी विबिकास बैंक छन् ।- न्युज कारखाना

  • अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

    अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

    हरिप्रसाद भुसाल
    अर्घाखाँची, ५ वैशाख-

    हैन, अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट काे काे उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेकाे छ ।

    स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

    साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने याेजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहाेल समेत बन्न सकेकाे छैन ।

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेकाे नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाडै टुङ्याउने प्रयास भैरहेकाे उनकाे भनाइ छ ।

    ‘विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने ‘सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।’

    कहाँ अड्कियाे हलाे ?

    विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा साेही अनुसारकाे हैसियत माओवादी केन्द्रले दाबी गरिरहेकाे छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीकाे दाबी छ ।

    विगतमा एमालेले जितेका स्थान दाबी गरेकाे नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा नेतृत्व मागिरहेकाे छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेकाे एकीकृत समाजवादीले कम्तिमा एक पालिका छाेड्नै नसकिने जनाएकाे छ ।

    गत निर्वाचनमा भूमिकास्थानमा राम्राे मत पाएकाे र कार्यपालिकामा बहुमत भएकाे राष्ट्रिय जनमाेर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेकाे छ । जनमाेर्चाले भूमिकास्थानकाे नेतृत्वसहित पाँच वडा दाबी गरेकाे छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमाेर्चाकाे दाबी छ ।

    एमाले प्रवेश गरेका टाेपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट राेक्ने मनसाय बाेकेकाे माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खाेजेका कारण गठबन्धननै संकटमा परेकाे ती नेताले बताए ।- न्युज कारखाना

  • तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

    तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

    तनहुँ, ५ वैशाख-

    स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने । अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा निगरानी हुने उनले बताए । तीन घेरामा सुरक्षाकर्मी हुने उनकाे भनाइ छ । ‘संवेदनशील मतदानस्थलमा खटिने नेपाल प्रहरीको संख्या अन्तको तुलनामा बढी नै हुनेछ । बाहिरी घेरामा सशस्त्र प्रहरी हुनेछ । नेपाली सेनाले पनि निगरानी गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

    जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले मतदानस्थलको स्थलगत निरीक्षण गरिरहेको छ । निर्वाचन अधिकृत स्थनाीय तहमा खटिएपछि उनीहरूले समेत मतदानस्थलको निरीक्षण गर्ने छन् । जिल्लामा यसपालि एक सय ३६ मतदानस्थलमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा ४५ मतदान केन्द्र थप भएका हुन् ।

    जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्न दल दर्ता गराएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । राष्ट्रिय मान्यताप्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको उनले जानकारी दिए । दुई लाख ४४ हजार तीन सय ४० मतदाताको बिचमा २३ दलका उम्मेदवार चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

    जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी गरेकाे ढकालले बताए । बिहीबारसम्म जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने उनको भनाइ छ । कार्यालयले यतिबेला निर्वाचनमा खटिने कर्मचारीको टुंगो समेत लगाउँदैछ ।

    राजनीतिक दलहरू यतिबेला उम्मेदवारको नामावली टुंग्याउने कसरतमा छन् । हालसम्म जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले गठबन्धन गर्ने प्रारम्भिक सहमति भएको छ । गठबन्धन दलबीच भने दुरी बढ्दै छ । तर, हालसम्म गठबन्धन तोडिएको अवस्था छैन् । हालसम्मको स्थितlलाई विश्लेषण गर्दा भागबन्डा नमिलेर जिल्लामा गठबन्धन तोडिने प्रवल सम्भावना छ ।- न्युज कारखाना

  • नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

    नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

    भक्तपुर, ५ वैशाख-

    नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ ।

    भैरबनाथको रथलाई डोरीको सहायताले तानिन्छ । परम्पराअनुसार रथलाई दुई साइडबाट तानिन्छ । यसअघि २७ चैतमा यही रथ तानेर जात्रा सुरु भएको थियो ।

    जात्राको अन्तिम दिनलाई द्यो थाहा बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ ।

    रथ तानिसकेपछि पाँंचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि भोलिपल्टदेखि रथलाई बगारेर काठ पाँचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ । अर्काे वर्ष यही काठ प्रयोग गरी रथ बनाइन्छ ।

    प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् ५ वैशाखसम्म जात्रा मनाइन्छ । भैरबनाथको रथ काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीन तल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् ।

    रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर सयाैं युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह बिज्याइज्यू अर्थात देवता (रथ)तल सवारी हुने भनिन्छ ।

    जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । यसरी नै जात्राको अन्तिम दिन द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । त्यसकारण त्यो दिन माथितिर ६ वटा डोरी राखिन्छ ।

    इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर (तीन सय वर्षभन्दा अघि) राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो ।तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक-प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा सीमित भयाे । अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउन थालेका छन् ।

    भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हाे । साथै, मध्यपुर थिमीमा मनाइने जिब्राे छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ ।

    यसअघि जात्राको अन्तिम दिन दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको थियो । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ ।- न्युज कारखाना