Blog

  • भरतपुरमा मेयरका उमेद्वार विजय सुवेदीले जनतासामु गरे यस्ता प्रतिबद्धता

    भरतपुरमा मेयरका उमेद्वार विजय सुवेदीले जनतासामु गरे यस्ता प्रतिबद्धता

    चितवन, ९ वैशाख –

    नेकपा (एमाले) का तर्फ बाट भरतपुरको मेयर (प्रमुख) पदका शालिन नेता विजय सुवेदीले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना ल्याउनु भएको छ । आज शुक्रबार भरतपुरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भरतपुरलाई देशकै विकासित शहरको रुपमा विकास गर्ने योजना सार्वजनिक गर्नु भएको हो ।

    नेकपा (एमाले) भरतपुर महानगरपालिका कमिटीले स्थानीय निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा योजनाबद्ध विकासलाई अघि सारिएको छ । प्रतिबद्धतापत्रमा विगत ५ वर्षमा महानगरले गरेका विभिन्न क्रियाकलापप्रति प्रश्न पनि उठाईएको छ । प्रतिबद्धतामा उल्लेख छ “स्थानीय करको कति सदुपयोग भयो ? भएन भने के कारणले हुन सकेन ? महानगरवासीका प्रत्यक्ष सरोकारसँग जोडिएका सबै वडाको बजेट विनियोजन न्यायोचित हुन सक्यो वा सकेन ? लोकतन्त्रको अनिवार्य शर्त पारदर्शिता, सुशासन र जवाफ देहिता हो । सङ्घीय तथा प्रदेश सरकारको तर्फबाट ससर्त अनुदान तथा गौरवका योजना अन्तर्गत प्राप्त रकमको खर्च गर्ने ठेक्का, टेण्डर लगायतका प्रक्रियामा कति पारदर्शिता रह्यो ?”

    प्राथमिकता, आवश्यकता र मापदण्डका आधारमा खर्च भयो कि नेतृत्वको तजबिजीको आधारमा खर्च भयो ? भन्ने प्रश्न उठाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, ढल निकास जस्ता आधारभूत कुरामा जनताले पाएको सेवा सुबिधाको मात्रा र गुणस्तर कस्तो रह्यो ? भन्ने प्रश्न पनि गरिएको छ ।

    भरतपुर भौतिक विकास, लगानी, पर्यटन, आर्थिक वृद्धि, सामाजिक सेवा लगायतका हिसाबले नेपालको ‘विकास र समृद्धि’ को प्रमुख बाहक बन्न सक्ने सहर भएको उक्त प्रतिबद्धतापत्रमा उल्लेख छ । “भरतपुरको विशिष्ट भौगोलिक अवस्थिति साथै महानगरबासीको आधुनिक सोच र उद्यमशीलताले गर्दा नेपालका अन्य शहरको तुलनामा भरतपुरको आर्थिक प्रगति, समाजिक सेवा र मानव विकासका सुचकांक प्रगतिउन्मुख छन् ।” प्रतिबद्धतापत्रमा भनिएको छ “तथापि व्यवस्थित शहरिकरणको दिर्घकालीन योजनाको अभाव तथा शहरी व्यवस्थापनका कमजोर कार्यशैलीले गर्दा भरतपुर महानगरको सम्भावनालाई खुम्च्याइदिने जोखिम बढ्दो छ ।”

    व्यवस्थित पूर्वाधार र भौतिक विकास, गुणस्तरीय शहरी जनजीवन, सहज र सुलभ समाजिक सेवा, गतिशील शहरी अर्थतन्त्र, स्वच्छ र हरियाली वातावरण, आधुनिक सूचना–प्रविधियुक्त शहर लगायतका लक्ष्यहरू निर्धारण तथा सो प्राप्तिका लागि आवस्यक कार्ययोजना तयार गरी भरतपुरलाई एक जीवन्त महानगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाईएको छ । यसका लागि भरतपुर महानगरको योजनावद्ध र व्यवस्थित शहरी विकासका साथै आर्थिक–समाजिक रुपान्तरणका लागि दूरगामी सोच, प्रभावकारी रणनीति र व्यबहारिक कार्ययोजनामा स्पष्टता भएको नेतृत्व चयन गरेर आफ्नो र भावि सन्ततिको भविष्यप्रति न्याय गर्ने ऐतिहासिक जिम्मेबारी भरतपुर महानगरका मतदाताको काँधमा आएको जनाईएको छ ।

    मुलुकको केन्द्र भागमा र नारायणी र राप्ती नदीको किनारमा रहेको भरतपुरमा व्यवस्थित सहरी विकास परियोजना बनाई अन्तर्राष्ट्रिय मापदण्डको समृद्ध सहर बनाउन सम्भव भएको एमालेको प्रतिबद्धतापत्रमा उल्लेख छ । नारायणी राप्तीको तटबन्धन गरी, तटीय आवास, तटीय सडक, हरियाली किनार, जलक्रीडा र जल यातायातको विकास गर्दै एकीकृत र बहुउद्देशीय विकास गर्न सम्भव भएको उक्त प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    भरतपुर विमानस्थनस्थलको स्थानान्तरणदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको कामलाई पूर्णता दिनेसम्मका योजना एमालेले अगाडि सारेको छ । सबै जसो क्षेत्रलाई समेटेर एमालेले सार्वजनिक गरेको गुरुयोजनामा भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस, ट्राम तथा सहरी रेल प्रणालीको सम्भाव्यताबारे अध्ययन गर्ने, भरतपुर विमानस्थललाई स्थानान्तरण गर्ने र उक्त स्थानलाई हरित क्षेत्र, उच्च प्रविधियुक्त व्यवसायिक क्षेत्र र खुला शहरी क्षेत्र (टुँडिखेल) का रुपमा उपयोग गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त विकल्प कार्यन्वयन गर्न संघीय सरकारसँग समन्वय गर्ने एमालेको प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

    नारायणी नदीमा रहेको हालको पुलको विकल्पमा सिग्नेचर पुल निमार्ण गर्न र सम्भाव्यताको अध्ययन गरी नवलपुरसँग जोड्ने गरी थप पुलको व्यवस्था मिलाउन समन्वय गर्ने, नदी किनारमा चौडा बाँध–सडक निर्माण गरी समग्र करिडोरमा आकर्षक र सुन्दर सहरी विकासका योजना मार्फत नारायणी तथा राप्ती नदी स्रोतको अधिकतम सदुपयोग गर्ने उल्लेख छ । ‘सुन्दर र समृद्ध भरतपुर’ कुनै चुनावी सपना मात्र नभई सही योजना र नेतृत्व हुँदा कार्यान्वयन गर्न सकिने एमालेको भनाइ छ ।

     

    एमालेले भरतपुरका बहुआयमिक सम्भावना तथा अवसर रहेको बताउँदै नारायणी र राप्ती नदीको किनारमा रहेको भरतपुरमा व्यवस्थित शहरी विकास परियोजना बनाई अन्तर्राष्ट्रिय मापदण्डको समृद्ध सहर बनाउन सकिने जनाएको छ । प्रस्तावित पूर्व–पश्चिम रेल यातायातको केन्द्र, चीन र भारत बीच व्यापारिक कोरिडोरको रूपमा प्रस्तावित ठोरी केरुङ राजमार्ग निर्माण गरी क्रमिक रुपमा आर्थिक राजधानी तथा प्रमुख वातावरणमैत्री औद्योगिक व्यापारिक केन्द्रको रुपमा विकास गर्न सकिने एमालेले जनाएको छ ।
    प्रतिवद्धता पत्रमा औद्योगिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, र पर्यटनसमेतका क्षेत्रमा भरतपुरलाई सुन्दर समृद्ध मानवीय सहर बनाउन सम्भव भएको उल्लेख छ । नारायणी राप्तीको तटबन्धन गरी, तटीय आवास, तटीय सडक, हरियाली किनार, जलक्रीडा र जल यातायातको विकास गर्दै एकीकृत र बहुउद्देशीय विकास गर्न सकिने प्रतिवद्धता पत्रमा समेटिएका छन् । जापानको सहयोगमा अध्ययन भैसकेको सप्तगण्डकी बहुउद्देश्यीय परियोजना अगाडि बढाउन सकिने छ । एमालेले भरतपुलाई अध्ययन अनुसन्धान, सूचनाप्रविधि, इन्जिनीयरिङ, कला र गणित अध्ययन, साइन्स अध्ययन म्युजियमको व्यवस्था गरी विद्यावत सहरको रुपमा विकास गर्न सकिने जनाएको छ ।

    एमालेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आफूले गर्ने कामको प्रतिवद्धता मात्रै नभई पछिल्लो पाँच वर्षमा महानगरपालिकामा भएका विभिन्न गतिविधिप्रति प्रश्न उठाएको छ । एमालेले विगत ५ वर्षमा महानगरवासीले तिरेको स्थानीय करको कति सदुपयोग भयो ? भएन भने के कारणले हुन सकेन ? भन्ने प्रश्न उठाएको छ । एमालेले महानगरवासीका प्रत्यक्ष सरोकारसँग जोडिएका सबै वडाको बजेट विनियोजन न्यायोचित हुन सक्यो वा सकेन ? भन्ने प्रश्न पनि सोधेको छ । भरतपुरलाई महानगर घोषणा गरिसके पछि पनि शहरी विकासको हाम्रो परम्परागत शैलीमा कुनै फेरबदल आउन नसकेको टिप्पणी गरेको छ ।

    व्यवस्थित शहर, मानवीय शहर, वातावरणीय शहर, शिक्षा, स्वास्थ्य, रोजगार र अवसरको प्रत्याभूति दिने शहरकोरुपमा भरतपुर महानगरलाई विकास गर्ने र त्यसका लागि महानगरले संघीय सरकार, प्रदेश सरकार, दातृ संस्थाबाट प्राप्त गरिने सहयोग, नागरिक समाज, संघ संस्था, उद्योगी व्यावसायी र जनसहभागितासँगको सहकार्यबाट कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

    एमालेको प्रतिवद्धतापत्रमा भरतपुर महानगरको शहरी विकासको २० वर्षे दीर्घकालीन गुरुयोजना, गुरुयोजनाको अधिनमा रही भौतिक विकासका क्षेत्रगत योजना, समग्र महानगरको सडक सञ्जालको योजना, खानेपानी तथा ढल निकासको योजना, वर्षाको पानी तथा बाढी निकासका लागि सञ्जाल (नेटवर्क) को योजना, प्रमुख नयाँ बजार केन्द्र लगायत हरेक वडामा स्थानीय बजार केन्द्र विकासको योजना, खुला क्षेत्र र सार्वजनिक पार्क विकासको योजना, शिक्षा, स्वास्थ्य अन्य सामाजिक सेवा सुधारको योजना, पर्यटन विकास तथा सांस्कृतिक संरक्षणको योजना तय गर्ने उल्लेख गरेको छ ।

    भरतपुरमा भइरहेको जथाभावी जग्गा प्लटिङलाई व्यवस्थित बनाउन निजी क्षेत्र मार्फत् व्यवसायिक तवरले जग्गा विकास (प्लटिङ) गर्दा सडक, खुल्ला क्षेत्र, पार्किङ, प्लटको न्यूनतम क्षेत्रफल लगायतका मापदण्ड निर्धारण गरी लागू गर्ने, समग्र महानगर क्षेत्रमा ‘ग्राउण्ड कभरेज’, ‘फ्लोर–एरिया–रेसियो’ लगायतका भवन निर्माणको मापदण्डको समीक्षा गरी उपयुक्त र व्यवहारिक मापदण्ड निर्धारण गर्ने, महानगरपालिकाले दक्ष आर्किटेक्ट र इन्जिनियरको परामर्शमा विभिन्न साइजका आवासीय भवनको आकर्षक र किफायती नमुना डिजाइन तयार गर्ने, इच्छुक नागरिकलाई सो नमूना अनुसारको भवन निर्माणको डिजिटल नक्सा निशुल्क उपलब्ध गराउने र सो को नक्सा पास एकै दिनमा हुने व्यवस्था मिलाउने एमालेले प्रतिवद्धता जनाएको छ ।

    एमालेको प्रतिवद्धतापत्रमा सडक लगायत विभिन्न पूर्वाधारका लागि आवश्यक जग्गा सम्भव भएसम्म एकिकृत जग्गा विकास कार्यक्रममार्फत प्राप्त गर्ने, यसका लागि कुनै पनि जग्गा धनी मर्कामा नपर्ने सुनिश्चिताका लागि जग्गा सट्टा–पट्टा गर्न मिल्ने ‘ल्यान्ड बैंकिङ’ अवधारणालाई समेत लागू गर्न आवस्यक कानुनी व्यवस्था मिलाइने उल्लेख छ ।
    समग्र महानगर क्षेत्रमा स्मार्ट सडक बत्तिको व्यवस्था गर्ने, समग्र महानगर क्षेत्र समेटेर सार्वजनिक यातायातको रुट निर्धारण गर्ने र सार्वजनिक यातायातका निजी सञ्चालकसँगको सहकार्यमा सुविधा सम्पन्न नगर बस सञ्चालन गर्ने उल्लेख छ ।

    विज्ञहरूको संलग्नतामा महानगर स्तरीय स्वयम्सेवी योजना आयोग बनाउने, स्वयंसेवा गर्न चाहने स्वतन्त्र प्राज्ञहरूको बोर्ड गठन गर्ने, २९ वटै वडामा सबै प्रकारको सेवा उपलब्ध हुने गरी सेवा विस्तार र प्रशासनिक व्यवस्थापन मिलाइने प्रतिवद्धता पत्रमा राखिएका छन् । आधारभूत स्वास्थ्य उपचार सेवा निःशुल्क गराउन सबै परिवारलाई समेट्ने गरी स्थानीय स्वास्थ्य बीमा लागू गर्ने, क्यान्सर रोगको रोगथाम, उपचार, अध्ययन, अनुसन्धानको लागि वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उत्कृष्ट प्रतिष्ठान तथा अन्कोलोजी शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा विकसित गर्न समन्वय र सहजीकरण गर्ने, बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई विस्तारित गरी १०० सैयाको बनाउने प्रत्येक वडामा प्रसूति कक्ष, आवश्यक स्वास्थ्यकर्मीसहित न्यूनतम १५ शैयाको अस्पताल व्यवस्था गर्नेएमालेले उल्लेख गरेको छ ।शारदानगरमा महानगरीय अस्पताल स्थापना गर्ने एमालेको योजना छ ।

    डिप बोरिङ प्रविधि व्यवस्थापनलाई विस्तार गरी २९ वटै वडामा शुद्ध खानी पानी आपूर्तिको व्यवस्था गर्ने, पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक स्थल, हाट बजार क्षेत्र, बसपार्क तथा मानिसको आवागमन बढी हुने सार्वजनिक स्थलमा सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन गर्ने, फोहरमैला व्यवस्थापना ‘थ्री–आर’ (रिड्युस, रियुज र रिसाइकल) लगायतका वैज्ञानिक पद्धति अपाउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

    विपन्न वा निरपेक्ष गरिब परिवारको पहिचान गरी अभिलेख तयार गरिनेछ । त्यसका आधारमा परिचय पत्र दिने र गरिबीको रेखा मुनिका नागरिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातयातमा विशेष सहुलियतको प्रवन्ध गरिनेछ ।

    बेरोजगारी अवस्थाको तथ्याङ्क सङ्कलन, सूचना प्रणाली विकास एवं रोजगार सूचना केन्द्रको व्यवस्थापन गर्ने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगार कोष स्थापना र प्राविधिक व्यवसायिक तालिमको प्रवन्ध गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।

    नारायणगढदेखि गोलाघाटसम्म नारायणी नदी किनारमा र गोलाघाटदेखि पटिहानीसम्म राप्ती नदीमा तटबन्ध गरी सडक, आवास, ग्रीन्बेल्ट, बिजुली लगायतका पूर्वाधार, जलयातायात, मनोरंजन लगायतका एकीकृत विकासको परियोजना तयार गरी निर्माण अगाडि बढाउने उल्लेख छ । चक्रपथ क्षेत्रमा पर्ने बजारहरूमा हरियाली पार्कहरू निर्माण गरिनेछ । भरतपुरको मुख्य बजार क्षेत्रलाई आधार मानेर भित्री चक्रपथ निर्माण गरिनेछ । चक्रपथहरूमा साइकल र फुटपाथ लेनको समेत व्यवस्था गरिनेछ । ती क्षेत्रमा सडकबत्ति राखिने छन् ।

    महानगरपालिकाभित्रका सबै सडकहरू कालोपत्रेसहित स्ट्रिट फर्निचर राख्ने , बसपार्क चोक, हाकिमचोक, चौविस कोठी, वीरेन्द्र क्याम्पस आगाडी, सहिद चोक, पुल्चोक, पोखरा बसपार्क, बाइपास रोडको मालपोतचोक, नहर चोक, विशाल चोक लगायतका स्थानमा प्राथमिकता आधारमा क्रमशः आकाशेपुल निर्माण गर्ने योजना रहेको एमालेले उल्लेख गरेको छ ।

    भरतपुरको वडा नं. १५ मा जिल्ला सहकारी संघको नाममा रहेको दुई बिगाहा दश कठ्ठा जमिनमा कृषि उपजको संकलन, भण्डारण, प्याकेजिंग र ब्राण्डिंग गर्ने काममा प्रयोग गर्न जिल्ला सहकारीसँग समन्वय र सहजीकरण गरिनेछ । त्यस्तै भरतपुर बसपार्कसँगै रहेको राष्ट्रिय सहकारी विकास बोर्डको करिब ३ विगाहा जग्गामा कृषि बजार प्रवर्धनकोलागि उपयोग गर्ने कार्यक्रमलाई अगाडि बढाउने, भूमिहिन मुक्त र छाप्रो मुक्त महानगर बनाउने, न्यूनतम र सुलभ विद्युत आपूर्ती लगायतको विद्युत व्यवस्थापनको लागि विद्युत व्यवस्थापन बोर्ड गठन गर्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

    नारायणी लिफ्ट तथा खगेरी नहर प्रणालीलाई हिउँद/वर्खामा सञ्चालन गरी सिंचाइ प्रणालीमा सुधार तथा कृषि उत्पादन वृद्धि हुने वातावरण मिलाउने, केरुङ खोला, पुंगी खोला, जलाधार समेत सामेल गरी भरतपुरको भित्री जलमार्ग विकास गर्ने, बस्तीबाट आउने ढल प्रशोधनपछि मात्रै खोला, नदीमा मिसाउने प्रवन्ध मिलाउने एमालेको प्रतिवद्धता पत्रमा छन् । नारायणी र राप्ती नदी किनारहरूमा पर्यटकीय होटल र होमस्टे निर्माण गर्न प्रोत्साहित गरिनेछ ।

    पर्यटन गाइड तालिम, पर्यटन सूचना केन्द्रको व्यवस्था गर्ने, नारायणी नदी किनारमा रहेको नगर वनलाई आकर्षक पार्कसहितको मनोरञ्जनस्थलको रूपमा विकास गर्ने, महानगरभित्र रहेका ज्ञानेश्वर र सीतामाई लगायतका पिक्निक स्पोटहरूको स्तरोन्नति गर्ने, दासढुंगा, देवघाट, गोलाघाट हुँदै त्रिवेणीसम्म दिवा तथा रात्री जलयात्राको व्यवस्था, पर्यटन प्रवर्द्धनका लागि बाराको सिमरा र निजगढ, पोखरा, लुम्बिनी, विराटनगर, नेपालगञ्जसम्म सिधा हवाई सेवा सञ्चालनको पहल गर्ने एमालेका प्रतिवद्धता पत्रमा राखिएका छन् ।

    व्यवस्थित सहरको मापदण्ड अनुकुल हुने गरी भरतपुर विमानस्थलको स्थानान्तरण वा वैकल्पिक व्यवस्थापन, मेघौली विमानस्थलको सञ्चालन जस्ता कामका लागि सम्भाव्यता अध्ययन गर्न समन्वय र सहजीकरण गर्ने, देवघाट क्षेत्रमा सार्वजनिक नीजी साझेदारी कार्यक्रम अन्तर्गत धर्मशालाको निमार्ण गर्ने उल्लेख गरिएको छ । कविलास चौकिडाँडा जस्ता चिसो स्थानलाई समर स्टेसनको रुपमा विकसित गर्ने योजना एमालेको प्रतिवद्धता पत्रमा राखिएका छ्न ।

    युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान निर्माण, कवर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था गरिनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्यमा भएको गतिरोध अन्त्यगरी निर्माण सम्पन्न गर्न विशेष अभियान चलाइनेछ र प्रदेश तथा संघीय सरकासँगको सहकार्य गरेर सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    मातृ शिशु कल्याण कार्यक्रम अन्तर्गत अस्पतालमा बच्चा जन्माउन आउने प्रत्येक सुत्केरी महिला र नवजात शिशुलाई आवश्यक औषधि, पोषण, लत्ताकपडा आदि निःशुल्क उपलब्ध गराउने, स्थानीय पूर्वाधार तथा सेवालाई अपांगता मैत्री बनाउने, असहाय तथा संरक्षकविहीन जेष्ठ नागरिकहरूका लागि मनोरञ्जनसहितको जेष्ठ नागरिक आवास केन्द्रको व्यवस्था गर्ने, महानगरका विभिन्न ठाउँहरूमा जेष्ठ नागरिक मिलन केन्द्र, मनोरञ्जन र आध्यात्मिक केन्द्रहरू स्थापना गर्ने प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

    एमालेको प्रतिवद्धता पत्रमा न्यून आय भएका चेपाङ, थारू, दलित, बोटे, दराई लगायतका सीमान्तकृत वर्गका व्यक्तिहरूमा लगाइने करमा विशेष छुट दिने, कुनै पनि सरकारी नीति तथा आयोजनाले कुनै निश्चित समूहलाई अत्यधिक लाभ र अर्को समूहलाई अत्यधिक हानी हुने अवस्थामा लाभान्वित समूहसँग करको ‘लिने’ (कर) तथा हानी पुगेको समूहलाई क्षतीपूर्तीको रुपमा ‘दिने’ पद्धतीको विकास गर्ने कुरालाई प्रतिवद्धता पत्रमा राखिएका छन् ।

    भरतपुरलाई विभिन्न सेवा उद्योगहरूको हबको रुपमा विकास गर्न खास–खास ठाउँमा क्लस्टरयुक्त विकासका लागि (जस्तो कि अस्पताल जोन, बैंकिङ जोन) महानगरले सहजीकरण गर्ने, शहरी पूर्वाधारमा हुने सरकारी लगानीको उल्लेख्य लाभ मूल्य वृद्धिको रुपमा वरपरका घर–जग्गामा जाने भएकोले त्यस्तो लाभको केही अंश स्थानीय सरकारले कर लगायतका विभिन्न माध्यमबाट फिर्ता लिने ‘भ्यालु–क्याप्चर’ पद्धतिलाई उपयुक्तताका आधारमा लागू गर्ने एमालेका मेयर उम्मेदवारका योजना छन् ।

    वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका नागरिकको अभिलेख प्रणाली स्थापना गरी रोजगारदातालाई सूचना उपलब्ध गराउने र यस्ता सिपयुक्त नागरिकहरूको समुहलाई आफ्नै व्यवसाय सञ्चालनका लागि महानगरले सहजीकरण गर्ने उल्लेख छ ।

    सार्वजनिक स्थलमा सर्वसुलभ इन्टरनेट सुविधाको पहुँच सुनिश्चित गर्ने,सुरक्षित र अपराध न्यूनिकरणका लागि पाँच वर्षभित्र सिसि क्यामरा सञ्जालमा जोड्ने, डिजिटल कनेक्टिभिटी, डिजिटल लिटरेसीको अभियान चलाउने प्रतिवद्धता पत्रमा समेटिएका छन् । पत्रकार महासंघ चितवनको समन्वयमा भरतपुरमा आवासीय पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गर्ने, विज्ञापनलाई स्थानीय सञ्चार माध्यमहरूमा समानुपातिक तवरले वितरण गर्ने व्यवस्था गर्ने उल्लेख छ ।

    विपन्न तथा गरीवका लागि निःशुल्क कानूनी सेवा, मानव अधिकारको अवस्था बारेमा अनुगमन र कार्वाहीको व्यवस्था मिलाइने, महानगरमा रहेको कारागारलाई सुविधासम्पन्न सुधार गृहको रूपमा विकास गर्ने, त्यहाँ रहेका कैदीबन्दीलाई आयआर्जनका लागि आवश्यक सीप प्रदान गर्ने विषय प्रतिवद्धता पत्रमा राखिएका छन् ।

    भरतपुर महानगरको विकास मेयर रेनु दाहालले गरेको भनेर चर्चा भैरहदा एमालेले आफ्ना नेतृत्वको संघीमय सरकार र प्रदेश सरकारले ल्याएको बजेट र भएका कामलाई एमालेले आफ्ना प्रतिवद्धता पत्रमा समेटेको छ ।

    केपी ओली नेतृत्पको सरकारको पालामा सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ८७ करोड ८८ लाख रुपैयाँलागतमा भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको सिटीहल निर्माण भइरहेको, डिभिजन सडक कार्यालय भरतपुरअन्तर्गत पुल्चोकदेखि गोन्द्राङसम्मको राजमार्गमा ६ लेन सडक विस्तारको काम लागि एक अर्ब १२ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको उल्लेख गरिएको छ ।

    भरतपुरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण, भरतपुर–माडी–ठोरी मार्ग विस्तार, दासढुङ्गामा पुल निर्माण, दासढुङ्गा र गाँजीपुरमा मदन स्मृति पार्क निर्माण, भरतपुर २९ को चौकीडाँडा बाटोको लागि २५ करोड बजेट विनियोजन, पाँच करोडको लागतमा विशाल चोक–गाईखर्क सडक निर्माण, ग्रामिण विद्युतीकरण, विद्यालयको पूर्वाधार निर्माण, गणेशधामलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने, पुंगीखोला तथा केरुङ्गा खोलालाई व्यवस्थित गर्ने बहुवर्षीय योजना, एमाले सांसद कृष्णप्रसाद भुर्तेलको समन्वय र पहलमा महानगरका ३३ वटा विद्यालय र ४ वटा क्याम्पसको पूर्वाधार निर्माणमा १४ करोड ५० लाख लगानी, भरतपुर वार्ड नं. २६,२७,२८ को नारायणी नदी किनारमा भविष्यमा बन्ने चक्रपथलाई सहयोग हुने गरी बहुवर्षीय योजना अन्तर्गत प्रारम्भ भएको सडकमा २९ करोड विनियोजन गराउने काम भएको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

  • नेकपा स्थापना दिवसको अवसरमा भरतपुर १० मा दीप प्रज्वलन

    नेकपा स्थापना दिवसको अवसरमा भरतपुर १० मा दीप प्रज्वलन

    चितवन, बैशाख ९ –
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा भरतपुर १० नेकपा एमाले कमिटी चितवनले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

    आज साँझ भरतपुर १० को पार्टी सम्पर्क कार्यालय अगाडि वडाका नेता कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका हुन् ।

    दीप प्रज्वलन कार्यक्रममा एमाले पार्टी जिल्ला सदस्य भक्ति गौतम, भरतपुर १० का पार्टी सचिव बद्रि खनाल, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिकराम नेपाल, अनेरास्ववियु महानगरका अध्यक्ष सचेत सुवेदी, अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सुदिप पौडेल, युवा नेताहरु रमेश गुरुङ्ग, विज्ञान पौडेल, पदमराज भट्टराई, राजेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

  • चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

    चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

    चितवन, बैशाख ९ –
    एक्कासी आएको वर्षासहितको हावाहुरीले चितवनमा वितण्डै मच्चाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा पोल भाँचिएका छन् भने, रुख ढलेर अटो च्यापिएको छ यस्तै भरतपुर एफएमको टावर ढलेर प्रसारण नै अवरुद्ध भएको छ ।

    हावाहुरीले भरतपुर एफएमको टावर भाँचिनुका साथै सोलार प्यानल समेत उडाएको छ । भरतपुर–४ यज्ञपुरीमा रहेको टावर भाँचिदा रेडियोको प्रसारण नै अवरुद्ध भएको छ । एफएमका अध्यक्ष नविन पौडेलले १५ लाख जतिको क्षति भएको अनुमान गरिएको चितवन आजलाई बताए ।

    उनले टावरमा भएका उपकरणहरुमा क्षति नभएको भए करिब एक हप्तामा प्रसारण सुरु गर्न सकिने बताए । यदि ती उपकरण नष्ट भएको भए एक डेढ महिनासम्मै प्रसारण अवरुद्ध हुन सक्ने बताए ।

    विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव सिंहले विभिन्न स्थानमा पोल भाँचिएको खबर आएको बताए । उनले देवनगर, गितानगर र बाह्रघरे तिर पोल भाँचिएको खबर आएको चितवन आजलाई बताए । जसका कारण अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । छिट्टै मर्मत गरी विद्युत वितरण गरिने प्रमुख सिंहले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीका अनुसार रुख ढल्दा अटोमा सामान्य क्षति भएको छ । क्यान्सर अस्पताल रोडमा पार्किङ्गमा राखिएको अटो भएकाले मानवीय क्षति भने भएको छैन ।

  • चितवन पुगेर राष्ट्रपति भण्डारीले भनिन्, औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ

    चितवन पुगेर राष्ट्रपति भण्डारीले भनिन्, औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ

    – कुलप्रसाद काफ्ले
    चितवन, ९ वैशाख
    राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् ।

    ‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता भएको उनको भनाइ छ ।

    स्वदेशमै उत्पादन हुने औषधिको लागत घटाउन स्वदेशी कच्चा पदार्थलाई नै प्रयोग गरेर कच्चा पदार्थ आयात कम गर्न सकिने उनले बताइन् । देशभित्रै जतिसक्दो धेरै प्रकारका औषधि उत्पादन गर्न सके देशलाई औषधिको क्षेत्रमा पनि आत्मनिर्भर बनाउन सकिने उनले बताइन् । तर, औषधि उत्पादनमा गुणस्तरीयतामा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    सकेसम्म धेरै किसिमका औषधी देशभित्रै उत्पादन गर्न सके संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने उनले बताइन् । रोगको उपचार र नियन्त्रणका लागि देशहरुबीच आपसी सहयोग र सद्भाव रहनुपर्ने भन्दै उनले औषधी उत्पादनमा समेत विश्वका देशहरुबीच सहयोग अभिबृद्धि हुनुपर्ने बताइन् । – न्युज कारखाना

  • भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

    भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

    चितवन, ९ वैशाख –
    भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

    यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरका थिए ।

    त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरुले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरुले तालाबन्दी गरेका हुन् ।

    भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छन् । त्यसका लागि उनले आजै मेयरको पदबाट राजीनामा समेत दिइसकेकी छन् । उनले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् ।

    रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद पौडेलले बताएका छन् । जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिती थियो ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको थियो ।

  • गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

    गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

    धनगढी, ९ वैशाख

    पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले पदबाट राजीनामा दिएका छन् ।

    वडा नम्बर १८ को वडाअध्यक्ष कांग्रेसले पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनमा भएको सहमति अनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा जुन वडामा जसले जितेको थियो, अहिले पनि त्यही अनुसार उम्मेदवारी दिने भन्ने थियो ।

    बलियो संगठनका कारण १८ नम्बर वडामा कांग्रेसको जीत सुनिश्चित रहेको तर, भागबण्डा गर्दा माओवादी केन्द्रले पाएपछि सामूहिक राजीनामा दिनुपरेको वडा सभापति थापाले बताए ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा १८ नम्बर वडाबाट माओवादी केन्द्रले वडाअध्यक्ष जितेको थियो । गठबन्धनबिचको सहमति अनुसार वडाअध्यक्ष माओवादी कै भागमा परेको थियो । आफ्नो जित्ने आधार भएपनि माओवादीलाई दिएको भन्नै असन्तुष्टी जनाउँदै उनीहरूले राजीनामा दिएका हुन् ।

    वडा कार्यसमितिका सदस्यहरूसहित क्रियाशिल सदस्यहरूले समेत राजीनामा दिएका छन् । अब के गर्ने भन्ने विषयमा नगर सभापतिसँग छलफल भइरहेको सभापति थापाले बताए । ‘हामीले भर्खरै राजीनामा पार्टी कार्यालयमा बुझाएका छौं । अब के गर्ने भनेर छलफल गर्छौ । स्वतन्त्र रूपमा उम्मेदवारी दिन सकिन्छ कि भन्ने विषयमा छलफल हुन सक्छ ,’ सभापति थापाले भने ।

    २०७४ सालको निर्वाचनमा धनगढी उप–महानगरपालिकामा नेपाली कांग्रेसका नृप ओडले जितेका थिए । न्युज कारखाना

  • एमालेले यसपटक पनि छोडेन रेल, ठूला सहरमा रेल लगायतका यातायात प्रणालीको विकास गर्ने प्रतिबद्धता

    एमालेले यसपटक पनि छोडेन रेल, ठूला सहरमा रेल लगायतका यातायात प्रणालीको विकास गर्ने प्रतिबद्धता

    काठमाडौं, ९ वैशाख

    नेकपा एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ ।

    एमालले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।

    ‘सार्वजनिक यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे,’ घोषणापत्रमा एमालेले लेखेको छ ।

    अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो । तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन । यसपटक सार्वजनिक गरेको घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा राखेको छ ।

    घोषणापत्रमा एमालेले सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने जनाएको छ ।

    सडक, हवाइ, जल, केबुलकार र रोपवे, दुरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी घोषणापत्रमा गरिएको छ ।

    न्युज कारखाना

  • एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने

    एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने

     

    काठमाडौं, ९ वैशाख

    नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज एमालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो ।

    ‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती गर्न चाहनेहरूलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने । लिज, करार र सहकारी मार्फत खेती गर्न त्यस्ता जमिनका सन्दर्भमा आवश्यक कानूनी प्रबन्ध र राज्यको सुरक्षा प्रत्याभूति गर्ने ।’

    सिंचाईको विस्तार, कृषि–भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।

    जीवनको आधारका रुपमा रहेको खाद्य पदार्थ उत्पादन गर्ने कृषि क्षेत्रलाई उच्च महत्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पनि घोषणापत्रमा राखिएको छ ।

    ‘उन्नत जातको बिउ, आधुनिक प्रविधि, कृषि तथा पशुसेवा सबन्धी प्राविधिक जनशक्ति उपलव्ध गराई कृषिको उत्पादकत्व वृद्धि गर्ने । उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने, कृषि विमा, कृषि कर्जा, कृषि उपजको समर्थन मूल्य निर्धारण, अनुदान जस्ता कदम मार्फत किसानको लगानीको सुरक्षा गर्ने । कृषिलाई लाभदायी पेशा बनाउँदै किसानहरूको बचत सुनिश्चित गर्ने,’ घोषणापत्रमा भनिएको छ ।

    प्रत्येक पालिकाको पहिचान स्थापित गर्नेगरी विशेष खाद्यबाली, फलफूल, पुष्पखेती, नगदेबाली, पशुपन्छी, चराचुरुङ्गी वा जलचरको विकास गर्ने पनि एमालेले जनाएको छ ।

    ‘कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने । उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै बिचौलियाको वर्चस्व अन्त्य गर्ने,’ घोषणापत्रमा उल्लेख छ, ‘जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट किसानहरूलाई संरक्षण गर्न सूचना प्रणाली, नयाँप्रविधिको विकास र क्षमता अभिवृद्धि गर्ने ।
    न्युज कारखाना

  • एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र

    एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र

     

    काठमाडौं, ९ वैशाख

    नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।

    एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् । न्युज कारखाना

  • आइपीएलमा जितहारको वाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

    आइपीएलमा जितहारको वाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

    मोरङ, ९ वैशाख

    भारतमा भइरहेको इण्डियन प्रिमियर लिग ९आइपीएल०को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित पक्राउ गरिएको हो ।

    उनीहरुमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।- न्युज कारखाना