Blog

  • नेपालमा साढे २८ अर्बको चार हजार केजीभन्दा बढी सुन भित्रियो, कहाँबाट आउँछ सुन ?

    नेपालमा साढे २८ अर्बको चार हजार केजीभन्दा बढी सुन भित्रियो, कहाँबाट आउँछ सुन ?

    काठमाडौं, ९ वैशाख –
    चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो ।

    उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

    विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९२४ केजी सुन नेपाल भित्रिएको थियो ।

    नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट आउने गरेको पाइएको छ ।

    विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र युएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । – न्युज कारखाना

  • राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

    राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

    काठमाडौं, ९ वैशाख

    राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदान श्रेष्ठको नाम घोषणा गरेको छ ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    ‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने । – न्युज कारखाना

  • प्रचण्डले भने,– एमालेमा पनि राम्रा कम्युनिस्ट छन्

    प्रचण्डले भने,– एमालेमा पनि राम्रा कम्युनिस्ट छन्

    काठमाडौं, ९ वैशाख –

    नेकपा ९माओवादी केन्द्र०का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन् ।

    पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।

    ‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता÷कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।

    एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दरा कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।

    ‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमान्दार कम्युन्सिट जुन साच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरुलाई गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।- न्युज कारखाना

  • पर्वतमा मादप पदार्थ सेवन गरी शौचालयमा लगेर बालिकामाथि बलात्कार

    पर्वत, ९ वैशाख –

    बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । – न्युज कारखाना

  • दुई वर्षीया छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

    दुई वर्षीया छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

    सप्तरी, ९ वैशाख –
    कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

    कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

    उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

    उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ । – न्युज कारखाना

  • नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्ब नाघ्यो, व्यापार घाटा २८.४७ प्रतिशतले वृद्धि

    नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्ब नाघ्यो, व्यापार घाटा २८.४७ प्रतिशतले वृद्धि

    काठमाडौं, ९ वैशाख –

    चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

    २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

    विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले कूल १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले मात्र ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । – न्युज कारखाना

  • तनहुँमा २०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा

    तनहुँमा २०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा

    तनहुँ, ९ वैशाख –
    गत स्थानीय तहको निर्वाचनमा जिल्लाको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गबहादुर थापा ६५ मतान्तरले विजयी भए । जिल्लामा सबैभन्दा कम मतान्तरले स्थानीय तहको प्रमुखमा जित हासिल गरेका थापाले दुई हजार ८७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर गुरुङले दुई हजार ८१४ मत पाएका थिए । माओवादी केन्द्रका भुवनसिं गुरुङले ७९१ मत ल्याए ।

    उपाध्यक्षमा कांग्रेसकी विमला थापा विजयी भइन् । जम्मा एक मतान्तरले उनी विजयी भएकी हुन् । थापाले दुई हजार ८६० र उनकी प्रतिस्पर्धी एमालेकी सवित्रा न्यौपानेले दुई हजार ८५९ मत पाएका थिए । माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेद्वारी दिएकी शुसिला नेपालले ७१२ मत पाइन् ।

    शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसका किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेबाट मेयरका उम्मेद्वार बनेका रामचन्द्र उपाध्यायले आठ हजार ७०५ मत पाए । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मत पाएर विजयी भइन् । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी सर्वदा खनालले सात हजार ४३६ मत पाइन् । शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो । मेयर कांग्रेस र उपमेयर माओवादीले बाँडेका थिए ।

    व्यास नगरपालिकामा भने एमाले र माओवादीको गठबन्धन थियो । तैपनि मेयर र उपमेयर दुवै पदमा कांग्रेस भारी मतान्तरले विजयी भयो । मेयरमा वैकुण्ठ न्यौपानेले १३ हजार ५६ र उपमेयरमा मिरा जोशीले १३ हजार २६० मत पाएर विजयी भए । गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेका शंकरनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाए । उनी हाल नेकपा एमाले विभाजन भएर बनेको एकिकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । माओवादीको कोटाबाट उपमेयर बनेको अतिन्द्रकेशरी न्यौपानेले निकै कम मत पाए । नौ हजार ७८३ मतान्तरले पराजित न्यौपानेले तीन हजार ४७७ मत पाएका थिए ।

    भानु नगरपालिकामा पनि कांग्रेसले नै मेयर र उपमेयर जितेको थियो । मेयर उदयराज गौली र उपमेयर आशा थापा निर्वाचित भएका हुन् । गौलीले नौ हजार ५०५ र थापाले नौ हजार ३१८ मत पाएकी थिइन् । निकटम प्रतिष्पर्धी एमालेबाट मेयरको उम्मेद्वार बनेकी भगवती न्यौपानेले आठ हजार ९९९ र उपमेयरका उम्मेद्वार ऋषिराम पन्तले आठ हजार ८१६ मत पाएका थिए । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी गिता शाहीले एक हजार १९५ मत ल्याएकी थिइन् ।

    बन्दीपुर गाउँपालिकामा माओवादीले अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो । अध्यक्षमा पुर्णसिंह थापाले दुई हजार ८६३ र उपाध्यक्षमा करुणा गुरुङले दुई हजार ६८४ मत पाएर विजयी भए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर खत्रीले दुई हजार ४२१ र सविना गुरुङले दुई हजार ४६२ मत पाए । नेकपा एमालेका आनन्दमान जोशीले एक हजार ९३२ र शान्ति कुँवरले एक हजार ९८५ मत ल्याएका थिए ।

    अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनले ऋषिङलाई नेपाली कांग्रेसको पकड सावित गराएको थियो । अध्यक्ष उपाध्यक्ष सहित सबै वडामा कांग्रेसले क्लिन स्विप पारेको थियो । अध्यक्षमा राजेन्द्र कृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा निर्वाचित भए । दुवै जनाले दोब्बर बढी मतान्तरले जित हासिल गरेका हुन् । श्रेष्ठले चार हजार ९४१ र थापाले चार हजार ९९६ मत पाएका थिए । दोस्रो स्थानमा रहेका एमालेबाट अध्यक्षको उम्मेद्वार बनेका भुपालसिं थापाले दुई हजार ४८९ र उपाध्यक्षको उम्मेद्वार मधुमाया श्रेष्ठले दुई हजार ३७७ मत ल्याए । माओवादीबाट अध्यक्षका उम्मेद्वार खुमाया आलेको ५७२ र उपाध्यक्षका उम्मेद्वार गोमबहादुर रानाले ६९३ मत प्राप्त गरे ।

    आँबुखैरेनी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष कांग्रेसकै उम्मेद्वार विजयी भएका हुन् । गिरबहादुर थापाले दुई हजार ५८९ र पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मतभारका साथ जित हासिल गरे । निकटम प्रतिद्धन्दी एमालेका सन्तबहादुर केसीले दुई हजार २४२ र मिना अधिकारीले दुई हजार १६५ साथै माओवादी केन्द्रका प्रेमबहादुर गुरुङले एक हजार ५८४ र रजनी चुमानले एक हजार ४६९ मत पाइन् ।

    म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा कायम रह्यो । अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ र उपाध्यक्षमा बालकृष्ण घिमिरेले चार हजार ५९२ मत प्राप्त गरे । एमालेका श्रीप्रसाद श्रेष्ठले तीन हजार ४६१ र रत्नादेवी घिमिरेले तीन हजार १५४ मत ल्याए । माओवादीबाट अध्यक्षका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याएका थिए ।

    घिरिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेले जितेका थिए । अध्यक्षमा रनबहादुर रानाले तीन हजार ७३० र उपाध्यक्षमा सरस्वती घिमिरेले तीन हजार ७१३ मत पाएका थिए । कांग्रेसका अध्यक्षका उम्मेद्वार विष्णुविर थापाले दुई हजार ८१९ र उपाध्यक्षकी उम्मेद्वार निर्जला अर्यालले दुई हजार ७६२ मत ल्याएका हुन् । माओवादीबाट भुवनसिंह विकले ६१९ र जमुना थापाले ५६८ मत पाए ।

    यसापालि जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा होमिने छन् । गठबन्धन भर्सेस एमालेको भिडन्त हुँदा अघिल्लो स्थानीय तहमा एमालेले कमजोर हुन सक्छ । अघिल्लो निर्वाचनको मतपरिणामलाई जोड्दा घिरिङमा बाहेक अरु सवै स्थानीय तह गठबन्धनको पोल्टामा पर्न सक्छ । तर, अघिल्लो निर्वाचनको तुलनामा तनहुँमा ४९ हजार ८६९ मतदाता थपिएका छन् । तिनै नयाँ मतदाता निर्णायक बन्ने ठम्याइ छ । र अर्कोतर्फ कांग्रेसबाट कारबाहीमा परेको गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेको छ । यसले कांग्रेसको मतान्तर घटाएर एमालेको बढाउने देखिन्छन् ।

    आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । निर्वाचन आयोगले एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।

    २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर, एक लाख ३२ हजार ९४४ मत मात्रै खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् । – न्युज कारखाना

  • इतिहासमा कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला, कम्युनिष्टहरुले पढ्नै पर्ने

    इतिहासमा कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला, कम्युनिष्टहरुले पढ्नै पर्ने

    काठमाडौं, ९ वैशाख –
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए ।
    सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो । मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् ।

    ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो ।

    हुन पनि स्थापना भएको ७३ वर्ष पूरा हुँदा कम्युनिस्ट पार्टीहरू अनेक नाममा दर्ता छन् । कोही सत्तामा घरिघरी पुग्छन् त कोही सानो आकारको पार्टीको रूपमा रहेर अस्तित्व मात्र बचाएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भने १० वैशाख २००६ मा भएको मानिन्छ । तर, स्थापना मितिमा पनि विवाद छ । जे होस्, नेकपा एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेका हुन् ।

    संस्थापक महासचिव पुष्पलाल बनेका थिए ।

    डा. केसीको पुस्तकमा उल्लेख भएअनुसार ‘माक्र्सिस्ट स्टडी सेन्टर’मा आबद्ध डा. केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले समावेश नगर्नु मतभेदको कारक रहेको थियो ।
    त्यसपछिको घटनाक्रम यस्तो छ ः

    – १७ माघ २०१० मा काठमाडौं र पाटनमा भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी पार्टी महासचिवमा निर्वाचित तर चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाँदा डा. रायमाझीद्वारा पार्टी कब्जा ।
    – पार्टी कब्जा गरेका केशरजंग र संस्थापक महासचिव पुष्पलाल पक्षबीच दुई लाइन संघर्ष सुरू ।

    – १५–२५ जेठ २०१४ सम्म काठमाडौंमा दोस्रो महाधिवेशन हुँदा राजनीतिक प्रतिवेदन पुष्पलालको पारित तर नेतृत्वमा केशरजंग स्थापित । पुष्पलालका राजनीतिक कार्यक्रम अस्वीकृत ।

    – दुई वर्षमा हुने महाधिवेशन ६ वर्षमा हुन थाल्यो ।

    – १ पुस २०१७ मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको राजा महेन्द्रले अपदस्त गर्दा त्यसबारे पुष्पलाल र केशरजंगबीच भयो मतभेद । केशरजंगले राजाको कदमलाई ‘प्रगतिशील’भन्दा पुष्पलालले ‘सैनिक आतंक’ भनेका थिए ।

    – भारतको दरभंगमा महेन्द्रको प्रत्यक्ष शासन सुरु भएकै बेला पार्टी विस्थापित बैठक बस्दा संसदीय व्यवस्थाको विरुद्धमा उभिए केशरजंग । ‘दक्षिणपन्थी अवसरवादी’को संज्ञा पुष्पलाल पक्षबाट पाए । संसद् पुनःस्थापनासँगै संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल थिए । मोहनविक्रम सिंह संविधानसभाको निर्वाचको पक्षमा थिए । अन्नतः सिंहरको राजनीतिक प्रस्ताव पारित । केशरजंग र पुष्पलालबीच मतभेद झन चुलियो ।

    – ४–१९ वैशाख २०१९ मा भएको तेस्रो महाधिवेशन हुँदा ‘अन्तरजोन सामञ्जस्य समिति’का सचिव तुलसीलाल अमात्यद्वारा राजनीतिक प्रतिवेदन पेस र महासचिवमा निर्वाचित । पुष्पलाल, तुलसीलाल र मोहनविक्रमबीच कार्यक्रमभन्दा नारामा विवाद । तुलसीलालले प्रतिवेदनमा ‘कुन बाटो ?’ लेख्दा पुष्पलालले ‘मुलबाटो’ लेखेका थिए । केशरजंग भने कारबाहीमा परिसकेका थिए ।

    – कारबाहीमा पर्दा पनि २०२४ सालमा केशरजंग पक्षले पनि तेस्रो महाधिवेशन गरे । असन्तुष्ट पुष्पलालले पनि एक वर्षपछि २०२५ सालमा तेस्रो महाधिवेशन गरेर महासचिव बने ।

    – जेलमा रहेका नेताहरूबाट ‘केन्द्रीय न्युक्लियस’ गठन ।

    – ३० भदौदेखि ७ असोज २०३१ सम्म मोहनविक्रम पक्षले चौथो महाधिवेशन गरे । ५ वर्षपछि २०३६ मा शम्भुराम श्रेष्ठ र मोहनविक्रम पक्षबीच एकतापछि नेकपा गठन ।

    – त्यसकै सेरोफेरोमा झापामा पूर्व कोशी प्रान्तीय कमिटीमा आबद्ध रहेकाहरूबाट ‘वर्गशत्रू खत्तम’ कारबाही प्रारम्भ ।

    –२४ र २५ जेठ २०३२ मा झापा र मोरङका क्रान्तिकारीहरू मिलेर ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन ।

    – १४ भदौ २०३४ मा कोअर्डिनेसन केन्द्रसँग मुक्तिमोर्चा, २६ भदौ २०३५ मा क्रान्तिकारी कम्युनिस्ट संगठन कमिटी गण्डकी र २७ मंसिर २०३५ मा दाङको सन्देश समूहबीच एकता ।

    – कोअर्डिनेसन केन्द्र ११ पुस २०३५ पछि नेकपा माले गठन ।

    – मोहनविक्रम पक्षबाट २०४० सालमा नेकपा (मसाल) गठन । सोही वर्ष निर्मल लामा पक्षबाट नेकपा (चौम) गठन ।

    – १–१६ मंसिर २०४१ मा मसालको पाँचौं महाधिवेशन सम्पन्न । मोहन वैद्य कारबाहीमा परे । मोहनविक्रम निकट चित्रबहादुर केसीको राजनीतिक प्रतिवेदन पारित । वैद्य समूहबाट नेकपा (मसाल) नै गठन । सेक्टर काण्डपछि पुष्पकमल दाहाल महासचिव ।

    – ९–१४ भदौ २०४६ सम्म सिरहामा भएको चौंथो नै महाधिवेशनपछि मदन भण्डारी महासचिवमा निवाृचित । संयुक्त जनआन्दोलनका लागि संयुक्त वाममोर्चा गठन ।

    – नेकपा माले, नेकपा माक्र्सवादी, नेमकिपा, नेकपा (बर्मा) नेकपा (अमात्य) र नेकपा (मानन्धर) पक्ष संयुक्त वाममोर्चामा सहभागी ।

    – सिंह नेतृत्वको समूहबाट २०४७ सालमा डा. बाबुराम भट्टराई अलग । एकता केन्द्र गठन ।

    –२२ पुस २०४७ नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता र नेकपा एमाले गठन ।

    – एमालेमा नेकपा (अमात्य) नेकपा (माओवादी) नेकपा (मसाल) नेकपा (चौम) नेकपा ( मानन्धर) नेकपा (बर्मा) र नेमकिपाका नेताहरू प्रवेश ।

    – एमाले गठनपछि संसदीय प्रणालीमा प्रवेश । संसदीय प्रणालीप्रति फरक मत राख्ने मोहन वैद्य, प्रचण्ड, बाबुरामलगायत अन्नतः नेकपा माओवादी गठन गर्दै १ फागुन २०५२ देखि जनयुद्धमा सहभागी ।

    – संसदीय प्रणालीमा रहेको नेकपा एमाले ११ फागुन २०५४ मा महाकाली सन्धीलाई लिएर नेता बामदेव गौतमले फुटाए । २०५६ को आम निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि २०५८ मा एमालेमा फर्किए ।

    – ४ असार २०६९ तत्कालीन एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष मोहन वैद्य पक्ष अलग ।

    – ७ मंसिर २०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एमाले फुट्यो । संघीयता, पहिचान र धर्मनिरपेक्षताको विरुद्धमा पार्टी उभिएको भन्दै राई नेतृत्वमा एउटा पक्ष अलग भएको हो ।

    – ९ असोज २०७२ मा एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष डा. बाबुराम भट्टराई अलग ।

    र,

    – २ भदौ २०७८ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट एमाले विभाजन । – न्युज कारखाना

  • जिम्बाबेसँग खेल्न नेपाली राष्ट्रिय टिमकाे घोषणा, काे-काे परे ?

    जिम्बाबेसँग खेल्न नेपाली राष्ट्रिय टिमकाे घोषणा, काे-काे परे ?

    काठमाडौं, ९ वैशाख
    नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा शुक्रबार बिहान गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने बताएको छ ।

    नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-२० खेल खेल्नेछ । ५० ओभरको सिरिज १७-२१ वैशाखसम्म चल्ने छ । टी-२० सिरिज २३-२६ वैशाखसम्म हुनेछ ।

    नेपाली टिम:
    -सन्दीप लामिछानेको (कप्तान)

    -दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला
    – (न्युज कारखाना)

  • एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, ओलीले औपचारिक उद्घा‍टन गर्ने

    एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, ओलीले औपचारिक उद्घा‍टन गर्ने

    काठमाडौं, ९ वैशाख

    नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरकाे च्यासलमा सुरु हुने भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो ।

    ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले न्युज कारखानासँग भने ।

    उनका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नेछ ।

    गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घा‍टन हुने भएको हो । -न्युज कारखाना