Blog

  • सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

    सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

    काठमाडौं, ९ वैशाख

    बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् ।

    १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् ।

    १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो । – न्युज कारखाना

  • माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग-अलग नाम सिफारिस

    माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग-अलग नाम सिफारिस

    रौतहट, ९ वैशाख –

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

    नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदै छ ।

    ‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

    नेकपा एसले पनि गत बुधबारको बैठकवाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

    ‘जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले न्युज कारखानासँग भने, ‘कमजोर दलहरुले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौं ।’

    उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन । – न्युज कारखाना

  • निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

    निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

    काठमाडौं, ९ चैत –
    आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ ।

    निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ ।

    ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् । – न्युज कारखाना

  • मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड (फोटोफिचर)

    मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड (फोटोफिचर)

    हेटौंडा, ९ वैशाख

    हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे ।

    बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

    मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

    पार्कमा रहेका अन्य संरचना भने यथावत रहेकाे उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

    इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ । – न्युज कारखाना

  • फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

    फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

    कैलाली, ७ वैशाख –

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् ।

    कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए ।

    साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको दाबी छ ।

    यसरी हुने कम्युनिष्ट तथा वाम एकता माओवादीको नेतृत्व हुने बताउँदै उनले यसको नेतृत्व आफूले लिने जानकारी दिए ।
    आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने प्रचण्डले विश्वास व्यक्त गरे । – न्युज कारखाना

  • रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

    रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

    धनगढी, ८ वैशाख –
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।

    एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन् ।

    माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’

    स्थानीय तह निर्वाचनको मुखमा प्रचण्डले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन् । तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिना सम्म पनि सो विषयमा मौन छ ।

    अध्यक्ष प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिवेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

    बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए ।

    माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’ को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिले सम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन । – न्युज कारखाना

  • भरतपुरको मेयर हुन विजय सुवेदीले त्यागे सांसद पद

    भरतपुरको मेयर हुन विजय सुवेदीले त्यागे सांसद पद

    चितवन, ८ वैशाख –
    भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् ।

    नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।

    ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ । सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिएका हुन् ।

    सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गरे ।

    उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

    उनी भरतपुर महानगरपालिका-१२ का स्थायी बासिन्दा हुन् । – न्युज कारखाना

  • गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलमा उडान सुरु (फोटोफिचर)

    गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलमा उडान सुरु (फोटोफिचर)

    – मोहम्मद हबिब
    भैरहवा, ८ वैशाख
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे ।

    १५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ ।

    एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताए ।

    आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ ।

    नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलरहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्‌घाटन जेठ २ गतेबाट हुँदैछ ।

    विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।

    अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्‍याइसकेको छ । – न्युज कारखाना

    ????????????????????????????????????
    ????????????????????????????????????

    ????????????????????????????????????
    ????????????????????????????????????
  • भरतपुरमा उपमेयरका लागि एमालेबाट १० महिला आकांक्षी, नाम प्रदेश पठाइयो

    भरतपुरमा उपमेयरका लागि एमालेबाट १० महिला आकांक्षी, नाम प्रदेश पठाइयो

    चितवन, वैशाख ८ –

    भरतपुर महानगरपालिकामा उपमेयरका लागि नेकपा एमालेका तर्फबाट १० महिलाको नाम सिफारिस भएको छ ।

    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले उपमेयरमा आकांक्षी महिला नेताहरुको नाम प्रदेशमा पठाइएको बताए ।

    प्रदेश कमिटीले सूची बनाई केन्द्रीय कमिटीमा पठाएपछि केन्द्रले उपमेयरको नाम छनोट गर्नेछ ।

    उपमेयरमा भरतपुरका पुराना र नयाँ महिला नेतृहरुको नाम सिफारिस गरिएको छ । जसमा शारदा कुमाल, दिव्या आचार्य, गीता श्रेष्ठ, शान्ति अधिकारी, अन्जना गौतम, सुनिता अधिकारी, मुना श्रेष्ठ, सीता पुन, निशा अधिकारी र विष्णुमाया भण्डारी रहेकी छिन् ।

    एमालेले उपमेयर पद राप्रपालाई दिने भन्ने कुरा चलेको भए पनि यसबारे केन्द्रले नै निर्णय गर्ने अध्यक्ष न्यौपानेले बताए ।

    भरतपुरमा मेयरका लागि एमालेका तर्फबाट विजयी सुवेदी उम्मेद्वार बन्ने निश्चित भइसकेको छ ।

  • असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्ः अध्यक्ष प्रचण्ड

    असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्ः अध्यक्ष प्रचण्ड

    काठमाडौं, ८ वैशाख-

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले असन्तुष्ट देखिएका साथीहरुले पाँद दलीय तालमेलको मर्म बुझ्ने बताएका छन् ।

    आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनका दलहरुभित्र नमिलेका कुरा छिट्टै मिल्ने विश्वास समेत व्यक्त गरे ।

    निर्वाचनको बेला देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रुप भएकोले त्यसलाई अन्यथा लिन नहुने उनले जनाए ।

    ‘गठबन्धनमा मात्रै होइन्, एउटै दलभित्र समेत एउटाले टिकट पाउँदा अर्को असन्तुष्ट हुनु स्वभाविक हो । झन् गठबन्धन नै तालमेलमा जाने भएपछि यसलाई सामान्यरुपमा लिनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले देखिएका सबै असन्तुष्टि हल हुन्छन् । गठबन्धनका दलहरुले निकै सुझबुझका साथ निर्णय गरेका छौं । अहिले असन्तुष्ट देखिएका साथीहरुले समेत तालमेलको मर्म बुझ्छन् । हामी एकढिक्का भएर अघि बढ्छौं ।’

    अध्यक्ष प्रचण्डले केन्द्रमा महानगर र उपमहानगरपालिका तालेमलबारे गठबन्धनले गरेको निर्णयको स्पिरिट अनुसार नगर र गाउँपालिकामा समेत गठबन्धन हुने दाबी गरे । उनले केही स्थानमा सम्भव नै नभएमा मात्र स्वस्थ्य प्रतिष्पर्धा हुने जनाए ।

    ‘अहिले संविधानविरोधी, अग्रगमनविरोधी र उपलब्धि उल्ट्याउन खोज्नेहरु एक ठाउँ पुगेका छन् । यसबाट पनि हामी सही छौं भन्ने देखाएको छ । देश दुर्घटनामा पर्ने बेला माओवादी र यसको नेतृत्वले खेलेको भूमिका सहि प्रमाणित भएको छ,’ अध्यक्ष प्रचण्डले भने ।- न्युज कारखाना