Blog

  • चितवनमा पहिलोपटक खुल्यो अत्याधुनिक वाटर टेस्टिङ्ग ल्याब, डा मतिना जोशी वैद्यले गरिन् उदघाटन

    चितवनमा पहिलोपटक खुल्यो अत्याधुनिक वाटर टेस्टिङ्ग ल्याब, डा मतिना जोशी वैद्यले गरिन् उदघाटन

    चितवन, बैशाख १० –
    चितवन र नवलपुरका पानी उद्योगीहरु मिलेर भरतपुरको क्षेत्रपुरमा सीएन वाटर टेस्टिङ्ग एण्ड एनालाइसिस ल्याब खोलेका छन् ।
    उक्त ल्याबको आज शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले उद्घाटन गरिन् ।

    ल्याबको उद्घाटन गर्दै महानिर्देशक वैद्यले चितवन र नवलपुरमा रहेका पानी उद्योगीहरु एकबद्ध भएर गुणस्तरीयता कायम गर्न लाग्नु भनेको एकदमै राम्रो कामको सुुरुवात भएको बताइन् । यसरी उत्पादनमा स्वच्छता कायम गर्न उद्योगीहरु नै स्वयम लाग्दै जानुपर्ने बताउँदै उनले सरकारले मात्र नियमन गरेर खाद्य स्वच्छता कायम गर्न संभव नहुने धारणा राखिन् ।

    ‘सरकारको तर्फबाट मात्र मुद्दा मामिला गरेर स्वच्छता कायम गर्नु प्राय असंभव हुन्छ, उनले भनिन्, ‘यसमा तीन वटै पक्षको भूमिका हुन्छ । सुरुमा उद्यमी व्यावसाय त्यसपछि सरकार जो नियमन कर्ताको रुपमा रहेको हुन्छ र त्यसपछि उपभोक्ता ।’
    खाद्य परीक्षण तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख एवम् खाद्य विज्ञ घननाथ अधिकारीले सीएन ल्याब पानी उद्योगीहरुले स्वनियमनको लागि खोलेको बताए । पानी प्रशोधन सम्बन्धी निर्देशिका अनुसार नै चितवन र नवलपुरका उद्योगीहरुले खोलेको उनको भनाइ छ ।

    ‘खाद्य स्वच्छता कायम गर्न ल्याबमा विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ जसका लागि यो ल्याब निर्माण भएको छ’ उनले भने्, ‘यस क्षेत्रमा पानीमा गुणस्तर कायम गर्न ठूलो भूमिका खेल्छ ।’

    अधिकारीका अनुसार ४/४ महिनामा पानी उद्योगीहरुले नेपाल सरकारले तोकेको प्रयोगशालामा परीक्षण गर्नुपर्छ । जसका लागि चितवनबाट उद्योगीहरु हेटौंडा र नवलपुरबाट उद्योगीहरु भैरहवा जानुपर्छ । ‘यो ल्याब निर्माण भएपछि पानी उद्योगीहरुले प्रत्येक ब्याचको पानी परीक्षण गर्नुहुन्छ र नेपाल सरकारको निर्देशिका अनुसार तोकिएको स्थानमा गएर पनि परीक्षण गर्नुहुन्छ, उनले भने, ‘यो ल्याबले गर्दा पानी उद्योगीहरुलाई सेल्फ करेक्सन गर्न र काम गर्दै जाँदा भएका त्रुटीहरुलाई सच्ययाएर अझै राम्रो उत्पादन गर्न सहयोग पुग्छ ।’

    ल्याबका अध्यक्ष एवम् नेपाल बोटलर वाटर उद्योग संघ चितवन नवलपुरका अध्यक्ष केशव घिमिरेले यसलाई नेपालको एउटा राम्रो ल्याबको रुपमा विस्तार गर्ने लक्ष्य रहेको बताए ।

    नेपाल बोटलर वाटर उद्योग संघ चितवन नवलपुरका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काफ्रीले पानी उद्योगीहरुले उद्योगमा आफैले पनि परीक्षणका लागि ल्याब राख्नुपर्ने बाध्यता बनेको बताउँदै उनले सबै उद्योगमा ल्याब राख्न केमिकल स्टोरेज र लगानीका कारण संंभव नहुने हुँदा सबै मिलेर संयुक्त ल्याब खोलिएको बताए ।

    उनले चितवन नवलपुरका सबै पानी उद्योग २७ वटा उद्योग मिलेर २५/३० लाखको लगानीमा ल्याब निर्माण गरिएको बताए ।
    उनले भने, ‘०७४ सालमा निर्देशिका जारी हुँदै गर्दा पहिलो चरणमा अटोमेटिक पलान्ट लगाउने भन्ने थियो । सुरुमा त्यो गर्यौं र दोश्रो चरणमा संयुक्त ल्याब निर्माण गरेका छौं ।’

    अहिले तत्काल पानी परीक्षण भए पनि पछि गएर कुखुरालाई खुवाउने पानी र स्विमिङ पुलको पानी पनि परीक्षण गरिने उनको भनाइ छ ।

  • वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

    वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

    काठमाडौँ, १० वैशाख

    यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तहरू उपस्थित पत्रकार भेटघाटमा आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

    वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा जानकारी दिइयो ।

    समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिह्न मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख आयुक्त थपलियाले मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा त्यस्तो गर्न नसकिने स्पष्ट गर्दै कानुनमा व्यवस्था नभएकाले गठबन्धनलाई आयोगले नचिन्ने जनाउनुभयो ।

    उहाँले कूल छ हजार ७४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मततदान केन्द्रमा पु¥याइसक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिह्न हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने उहाँको भनाइ थियो । कुनै उम्मेदवारले जुन दलको निर्वाचन चिह्न प्रयोग गरेर सम्बन्धित दलले मनोनयन दर्ता गराउँछ निज उम्मेदवार सोही दलको उम्मेदवार हुने पनि उहाँले स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको कार्यान्वयनका क्रममा सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न आयोगले चाँडै थप निर्णय गर्ने जानकारी पनि दिनुभयो ।

    आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आफ्नो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सधँै प्रतिबद्ध रहेको जनाइएको छ । कानुनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सिर्जना गरिदिन आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत सम्बन्धित सबै सरोकारवालामा आयोगले आग्रह गरेको छ ।

    नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरूमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाअनुरुप आयोगले यसअघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशनसमेत जारी गरिसकेकाले निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुने गरी सहभागिता र प्रतिनिधित्वका लागि वैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयन दर्ता गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदनशील हुन आग्रह गर्दै यो निर्वाचन महिला एवं समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिले उल्लेखनीय हुने विश्वास आयोगको रहेको छ ।

    “स्थानीय तहका सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने विशेष जिम्मेवारी निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको हुन्छ भन्ने कुरा निर्विवाद छ”, विज्ञप्तिमा भनिएको छ, “आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ र ६० बुँदे निर्देशनप्रति पूर्ण प्रतिबद्धता जनाएका राजनीतिक दलका उम्मेदवारले यसको अक्षरशः पालना गर्नेमा आयोग आश्वस्त रहेको छ ।”

    राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरूपमा उल्लेख गरिएका छन् । आचारसंहिताविपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा ३ बाई ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको ‘एफो साइज’को एक रङमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न/नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लघङ्न भएको कसूरमा दलको उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोगले भनेको छ ।

    जुलुस, आमसभा, ¥याली, बैठक आदिमा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले आचारसंहिताले तोकेको भन्दा विपरीत हुने गरी सम्बन्धित दलको निर्वाचन चिह्न वा झण्डा अङ्कित लागो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबै मतदाताहरूमा अनुरोध गरेको छ ।

    उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोकेबमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा हार्दिक अपिल गर्दछ । यदि आचारसंहिताविपरीत कार्य भए/गरेको पाइएमा आयोगले कानूनबमोजिम कारबाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा आयोगले जानकारी गराइएको छ । (रासस)

  • गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

    गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

    हेटौंडा, १० वैशाख

    सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । भागबन्डाको आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् ।

    हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम सिफारिस भएको थियो । एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।

    गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन् ।

    ‘म उपमेयर हुँदा नै धेरै महत्त्वपूर्ण काम गरिसकेको छु । राम्रो अनुभव बटुलिसकेको छु,’ उनले भनिन्, ‘अब मलाई मेयरमा अवसर आएको छ । गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’ लामाले यसअघि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयर जितेकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेकी हुन् ।
    न्युज कारखाना

  • एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

    एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

     

    भैरहवा, १० वैशाख

    नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

    सिद्धान्त र दर्शन मन परेर कसैको अनुहार हेरेर वा लाभ विना २०५४ सालदेखि नै अनवरत रूपमा रुपन्देहीको मर्चवारबाट पार्टीमा लागेको यादवले पार्टीमा अहिले विधिको शासन नभएर नक्कली प्रेम र सद्भाव पाएको बताए ।

    नक्कली रूपमा क्षेत्र इन्चार्ज बनाएर राखेको आरोप लागाउँदै अहिलेसम्म सल्लाह सुझावसमेत नमागेको भन्दै खिन्न भएर पार्टी परित्याग गरेको बताए । पार्टी विधि, विचार र सिद्धान्त अनुसार नचलेको, जिल्लाको नेतृत्वले धोका दिई केही नेताले गर्दा बाध्य भएर पार्टी त्याग्नु परेको उनले बताए ।

    रुपन्देहीको क्षेत्र नम्बर ४ बाट मेरो पालिका अध्यक्षमा आकांक्षी भए पनि अहिले केही व्यक्तिको एकल निर्णयले आफूलाई जानकारी नै नगराई कुनै प्रकारको छलफल र बहस विना नै आफूविरुद्ध भ्रामक प्रचार गरेको उनको दाबी छ ।
    न्युज कारखाना

  • महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

    महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

     

    काठमाडौं, १० वैशाख

    महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

    न्युज कारखाना

  • गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा गर्नुपर्ने बाध्यता

    गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा गर्नुपर्ने बाध्यता

    गलेश्वर, १० वैशाख-
    भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ ।

    जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा माथिपट्टी विशाल पहरो र दक्षिण पश्चिमतर्फ उत्तरतिर फर्किएको भीर र छहरा छन् । गाउँको पुछारमा म्याग्दी नदी सललल बगिरहेको छ । बाहिरबाट पहिलो पटक गाउँमा आएका मानिसका लागि यहाँ के कुराको दुःख होला र ? जस्तो लाग्ने बगरफाँट गाउँमा गर्मी सुरु हुने वित्तिकै खानेपानीको हाहाकार नै हुने गर्दछ ।

    गाउँमा धारा छन् । बाढीपहिरो र समय समयमा ट्याङ्की तथा पाइपलाइनमा देखिने खराबीका कारणबाहेक अघिपछि ती धारामा पानी पनि आउँछ । तर त्यो पानीले स्थानीयवासीको आवश्यकतालाई पूर्ति गर्न नसक्दा पानी भर्ने र घरघरमा पाइपमार्फत पानी लैजाने निहुँमा छिमेकीसँग स्थानीयवासिन्दा झगडा गर्न बाध्य हुन्छन् ।

    बगरफाँटको खहरेखोला टोलमा सात घर परिवारका लागि एउटा धारो छ । धारोमा सानो पानी झर्छ । धारा वरिपरि पाइप असरल्ल विछ्याइएका छन् । पाइप जोडेर आफ्नो घरमा पानी लैजानका लागि छिमेकी हानथाप गर्ने गरेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी डोलेन्द्र शर्मा (गोपाल) ले सात घर परिवारका करिब ३० व्यक्तिले दैनिक रुपमा एउटै धारो प्रयोग गर्नुपर्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धारामा सानो पानी आउँछ । सबैले धाराको पानी पाइपमार्फत आआफ्नो घरसम्म पु¥याउन खोज्छन् । त्यही पानी तरकारी र फलफूलमा सिँचाइका लागि पनि प्रयोग गर्नुपर्ने हुँदा छिमेकीको सधैँ झगडा हुने गर्दछ ।”

    खहरेखोला टोलमा मात्रै होइन, २२२ घरधुरी रहेको बगरफाँट गाउँभरि नै यस्तै समस्या रहेको स्थानीयवासी बताउँछन् । यहाँ माघदेखि जेठसम्म सधैँ खानेपानीको समस्या हुने गरेको स्थानीयवासी टीकाबहादुर कार्कीले बताउनुभयो । “वस्ती विस्तार हुँदै जाँदा पानीको समस्या उत्पन्न हुँदै गएको छ”, उहाँले भन्नुभयो, “पानीको स्रोत सुक्दै गएपछि यो समस्या आएको हो ।”

    स्थानीयवासीका अनुसार बगरफाँटका जलकुनी, आप्रे छहरो, भिरकुना, उडाइनो छहरा, जरुवालगायत ६ ठाउँका पानीका मूल सुकेपछि खानेपानीको समस्या जटिल बन्दै गएको छ । बगरफाँट गाउँ सदरमुकामदेखि नजिकै रहेको र प्रायः सबै सुविधा यहाँ उपलब्ध भएकाले जिल्लाका अरु गाउँबाट पनि बसाइ सरेर कामको खोजीमा यहाँ आउने क्रम बढेकाले पनि खानेपानीका लागि थप समस्या उत्पन्न भएको स्थानीयवासी दुर्गाबहादुर थापाले बताउनुभयो ।

    बगरफाँटमा बेनी नगरपालिका–३ भकिम्ली र वडा नं २ को बगरफाँट सामुदायिक वनको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत पानी ल्याइएको छ । विसं २०६८ मा सञ्चालनमा आएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना १० वर्ष नबित्दै जीर्ण बन्दै गएको र मर्मत सम्हारको अभावमा पानीको चुहावटसमेत हुने गरेको स्थानीयवासीको गुनासो छ । साविकको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी र स्थानीयवासीको श्रमदान गरी करिब रु ६० लाखको लागतमा निर्माण भएको सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि अहिले समस्या देखिएको हो । आयोजना पूर्णरुपमा उपभोक्ता समितिकै स्वामित्वमा रहेको छ । अहिले सो समिति पनि निस्क्रिय अवस्थामा रहेकाले पाइपलाइनमा समस्या देखिएको छ । समयमा मर्मत कार्य नहुँदा खानेपानीको समस्या झन विकाराल हुँदै गरेको स्थानीयवासीको भनाइ छ । (रासस)

  • निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

    निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

    प्रकाश सिलवाल

    काठमाडौँ, १० वैशाख-
    निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो केन्द्र आज आयोगको कार्यालय बहादुरभवनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुभारम्भ गर्नुभयो ।

    यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी भएको निर्वाचन अनुगमन निर्देशिका र सुरक्षा निर्देशिकाबमोजिम गठित सो केन्द्रबाट नियमित अनुगमन, सूचना आदानप्रदान र निर्वाचन तयारीका क्रममा हुने समस्या तत्काल समाधान गर्ने प्रबन्ध मिलाइएको छ । उक्त केन्द्रको संयोजकमा आयोगका सहसचिव शालिग्राम शर्मा पौडेल रहनुभएको छ ।

    टिप्पणी र आदेश पर्खेर नबस्न निर्देशन

    प्रमुख आयुक्त थपलियाले यस केन्द्र सञ्चालनसँगै निर्वाचनको तयारी लगभग पूरा भएको सन्देश मिलेको र अब निर्वाचन हुने नहुने भन्ने शङ्कालाई थन्क्याइदिए हुने स्पष्ट गर्नुभयो । उहाँले निर्वाचन व्यवस्थापन र सञ्चालनका लागि जिम्मेवारी र अधिकारका दृष्टिले केन्द्र माथिल्लो निकाय भएकाले कुनै समस्या आइपरेमा टिप्पणी र आदेश पर्खेर नबसी तत्काल सम्बोधन गर्न केन्द्रका अधिकारीलाई निर्देशन दिनुभयो ।
    प्रमुख आयुक्त थपलियाले दललाई निर्वाचन आचारसंहिताको पालना गर्न र तडकभडकपूर्ण प्रचारप्रसार नगर्न आग्रह गर्दै भन्नुभयो, “दल जनताको मनमनमा टाँसिने हो । पर्खालमा टाँसिएका पोष्टरमा होइन । त्यसैले उम्मेदवारी दर्ता गर्न जाँदा तीन÷तीन इञ्चको पार्टीको झण्डा र निर्वाचन चिन्हबाहेक अरु कुरा प्रदर्शन गरिएमा उम्मेदवारी दर्तासँगै उम्मेदवारलाई सङ्कट पनि पर्न सक्नेछ ।”

    निर्वाचन सामग्री ढुवानी गरी पठाइँदै

    आयोगले निर्वाचनको तयारीका लागि आवश्यक सामग्री ढुवानी गरी पठाउन थालेको छ भने वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि मतपत्र पनि ढुवानी गरिने भएको छ । सहसचिव एवं प्रवक्ता शर्माले हालसम्म एक करोड ३६ लाख मतपत्र छपाइ भइसकेको जानकारी दिनुभयो । मुलुकभर ७५३ पालिकामा हुने निर्वाचनमा १० हजार ७५६ मतदानस्थल निर्धारण गरिएको छ । तयारीकै क्रममा यही वैशाख ८ गते सबै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आयोगले सर्वसाधारणका लागि निर्वाचनबारे कल सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।

    मतदाता नामावलीमा हेरफर नहुने

    आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरिसकेको छ । निर्वाचन अवधिमा मतदाता नामावलीसम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने जनाइएको छ ।यही वैशाख ३० गतेका लागि नेपाल सरकारबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले आयोगबाट नियमित हुँदै आएको मतदाता नामावली सङ्कलन कार्य मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने भएकाले सो कार्य गत माघ २५ गतेदेखि स्थगन भएको थियो ।

    अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न र सच्याइ पाउँ भन्ने निवेदन आइरहेका सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्थाअनुसार मतदाता नामावली थपघट गर्न, हेरफेर गर्नेलगायत कार्य नितान्त आयोगको क्षेत्राधिकारभित्र रहेकाले सो ऐनको दफा २९ बमोजिम कुनै अदालतमा प्रश्न उठाउन नपाइने पनि आयोगले जनाएको छ ।

    मतदाता नामावली सङ्कलन कार्य स्थगन भएपश्चात् आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिएकामा उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भए हटाउन निवेदन दिन आह्वान गरिएको थियो । सोही अवधिमा एकै वडाका दुई वा दुईभन्दा बढी मतदान स्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिने, कुनै दाबी विरोध भए सोसम्बन्धी निवेदन दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको थियो ।

    स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगले गत चैत १३ मा प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा हाल कुनै संशोधन वा परिमार्जन, थपघट, हेरफेर वा सच्याउन नसकिने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् मात्र सम्बन्धित निर्वाचन कार्यलयबाट गराउन सकिने जनाइएको छ ।

    बन्दसूचीमा भएकाले उम्मेदवारीपूर्व राजिनामा दिनुपर्ने

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन वा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेका व्यक्तिले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहेमा यही वैशाख १० गतेभित्र नाम हटाइसक्न पनि आग्रह गरेको छ ।स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्न तोकिएको मितिको अघिल्लो दिन यही वैशाख १० गतेभित्र प्रक्रिया पु¥याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्दसूचीबाट त्यस्तो व्यक्तिको नाम हटाइनेछ ।

    नेपालको संविधानको धारा ८४ र १७६ ले प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित सदस्य रहने व्यवस्था गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (९) मा दलले उम्मेदवारको बन्दसूची पेश गर्दा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा समेत पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
    त्यस्तै सोही ऐनको दफा ३० को उपदफा (१) मा आयोगले प्रकाशन गरेको अन्तिम बन्दसूची प्रतिनिधिसभाको सो कार्यकालभर मान्य हुने व्यवस्था छ । (रासस)

  • प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

    प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

    काठमाडौँ, १० वैशाख-

    प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

    सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।

    सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ ।

    नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा छलफल भएको थियो ।

    आजै परराष्टमन्त्री डा नारायण खड्कासँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । दुवै पक्षबीच नेपाल–अमेरिका मैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

    आगामी सोमबार नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । अमेरिकी सांसदको यो भ्रमणले दुई देशबीच संसदीय फाँटमा समेत आपसी सम्बन्ध सुमधुर तुल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ । (रासस)

  • चितवनका युवा पत्रकार सुशील पन्त जिल्ला फुटबल संघबाट सम्मानित

    चितवनका युवा पत्रकार सुशील पन्त जिल्ला फुटबल संघबाट सम्मानित

    चितवन, बैशाख १०
    चितवनका युवा पत्रकार सुशील पन्तलाई चितवन जिल्ला फुटबल संघले सम्मान गरेको छ ।

    संघको आज (शनिबार) भएको छैटौं जिल्ला अधिवेशनमा पत्रकार पन्तलाई सम्मान गरिएको हो । चितवनमा फुटबलको विकास र प्रचार प्रसारमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै पन्तलाई सम्मान गरिएको संघले जनाएको छ ।

    पत्रकार पन्त एटुजेड समाचारका संवाददाता हुन् । उनी जिल्लामा खेलकुद पत्रकारका रुपमा परिचित छन् । जिल्लामा हुने खेलकुदका हरेक गतिविधिहरुमा पन्तले पत्रकारिताको क्षेत्रबाट आफ्नो योगदान दिँदै आइरहेका छन् ।

    पन्त नेपाल खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य समेत हुन् ।

  • चितवन जिल्ला फुटबल संघको अध्यक्षमा फेरि पनि श्रीकृष्ण कार्कीको नेतृत्व

    चितवन जिल्ला फुटबल संघको अध्यक्षमा फेरि पनि श्रीकृष्ण कार्कीको नेतृत्व

    चितवन, वैशाख १०–

    चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की चयन भएका छन् ।

    संघको आज ९शनिबार० सम्पन्न छैटौं जिल्ला अधिवेशनले कार्कीलाई सर्वसम्मतले पुनः अर्काे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

    संघको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्धित्तीय उपाध्यक्षमा विजय घले र तृतीय उपाध्यक्षमा विनोद लामालाई चयन भएका छन् भने
    कार्यसमिति सदस्यहरुमा दिपक गुरुङ, लाल सिंह गुरुङ, शम्भु विक, रणबहादुर घले, नविन बस्याल, वरुण बस्नेत, अरुणराज वन्त, प्रेमबहादुर गुरुङ, ध्रुव भुसाल, शकुन्तला खड्का र कृष्णबहादुर कार्की रहेका छन् ।

    नव गठित समितिको पहिलो बैठले महासचिव र कोषाध्यक्ष पनि मनोनित गरेको छ । महासचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशीलाईअध्यक्ष कार्कीले मनोनित गरेका छन् ।