Blog

  • भरतपुरको उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी

    भरतपुरको उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी

    चितवन, बैशाख १० –
    भरतपुर महानगरपालिकाको उपमेयररमा नेपाली कांग्रेसले चित्रसेन अधिकारीलाई उठाउने भएको छ ।

    भरतपुरको उपमेयरलगायत विभिन्न स्थानीय तहमा आफ्ना उमेदवारका टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा शिर्ष नेतासँगको छलफलमा छन् । छलफलमा भरतपुरको उपमेयरमा अधिकारीलाई उठाउने सहमती भएको एक नेताले बताए । कांग्रेसबाट उमपेयरमा अधिकारीसहित २५ जनाले आकांक्षा देखाएका थिए ।

    भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेको कांग्रेसले उपमेयरमा अधिकारीलाई उठाउन लागेको हो । उपमेयरमा उठ्न उनले शुक्रबार मात्रै भरतपुर २१ को वडाध्यक्षबाट राजीनामा दिएका थिए । अधिकारी कांग्रेस भरतपुरका सभापति हुन् ।

    चितवनमा भने कांग्रेस भित्र तीव्र विवाद चलिरहेको छ । महानगरको मेयर माओवादीलाई दिने सहमति भएपछि भरतपुरका कांग्रेसीहरु रुष्ट बनेका छन् । कांग्रेसबाट महानगरको मेयरमा २५ र उपमेयरमा २४ जनाले आकांक्षा देखाएका थिए ।

    भरतपुरमाअसन्तुष्ट पक्षले मेयर र उपमेयरमा बागी उमेदवार उठाउने तयारी गरिरहेको छ भने पार्टी जिल्ला सभापतिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

  • जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु

    जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु

    कर्णाली, १० बैशाख-
    तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।

    आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो ।

    “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।

    आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

  • विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान

    काठमाडौँ, १० वैशाख-
    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।

    उहाँ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा हुनुहुन्थ्यो । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गर्नुभयो ।

    भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नभएको थियो ।

    महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाई गर्नुभएको थियो । (रासस)

  • कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता प्रकाशमान सिंह

    कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता प्रकाशमान सिंह

    काठमाडौँ, १० वैशाख-
    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताउनुभएको छ ।

    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गर्नुभएको हो ।

    “आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ”, उहाँले भन्नुभयो । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उहाँको भनाइ थियो ।
    पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधीलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रह समेत गर्नुभयो ।

    नेता सिंहले संसद्मा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताउनुभयो । (रासस)

  • गठबन्धनले कांग्रेसमा कलह : चितवनसहित देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

    गठबन्धनले कांग्रेसमा कलह : चितवनसहित देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

    काठमाडौं, बैशाख १०-

    स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागवन्डामा पारिदिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो ।

    विशषतः नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबण्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चलेको छ ।

    चितवन

    भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णय अघि र पछि चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो । तर, केन्द्रिय गठबन्धनले स्थानीय तहको आग्रहविपरित भरतपुर माओवादीलाई दिएपछि चितवन कांग्रेसमा बिग्रह भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निर्णयप्रति आपत्ति जनाउँदै चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रवार तालाबन्दी गरिएको छ ।

    केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा सो तालाबन्दी गर्दै केन्द्रिय निर्णय सच्चाउन माग गरेका छन । २ सय ५० भन्दा बढी कार्यकर्ताले सामुहिक राजिनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन ।

    जनकपुर

    जनता समाजवादी पार्टीलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको भागवण्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५० जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

    शुक्रवार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगरसभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणालाई नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, जनकपुरधाम–१५ का वडा सभापति नन्दलाल साहसहितले साथ दिएका छन ।

    कैलाली

    कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् ।
    नगर सभापति यज्ञराज उपाध्यायसमक्ष बुझाएको राजीनामा पत्रमा पार्टीको साधारणसमेत नरहने गरी कांग्रेस परित्याग गरी स्वतन्त्र रहन चाहेको उल्लेख छ ।

    वीरगंज

    वीरगंज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लडने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।
    मधेस प्रदेशको १ मात्र महानगर वीरगंज जसपा नेपाललाई दिने संकेत पाउने बितिक्किै अघिल्लो बुधवार पत्रकारसम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो । १ वैशाखमा जिल्ला समितिको बैठकले पर्सामा कांग्रेस एक्लै चुनाव लडने निर्णय गरेको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी गराईसकेका छन् । पर्सामा १ महानगरपालिका, ४ नगरपालिका र १० गाउँपालिका छन् ।

    सो निर्णयलगत्तै ३ वैशाखमा बसेको कांग्रेस र जसपा नेपालको संयुक्त बैठकले अलग अलग रुपमा मित्रवत प्रतिस्पर्धाका आधारमा निर्वाचन लडने निर्णय गरेका थिए । सो निर्णयमा कांग्रेसका जिल्ला सभापति क्षेत्री र जसपा नेपालका रामनरेश प्रसाद यादवले हस्ताक्षरसमेत गरिसकेका छन ।

    हेटौडा

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले माग नगर्दा पनि सो पार्टीलाई हेटौडा भागवन्डामा पारेको भन्दै मकवानपुर कांग्रेस आक्रोशित हुन पुगेको छ । हेटौडालगायत अन्य स्थानीय तहको भागवण्डाका लागि गत बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठक निष्कर्षबिहीन भएपछि पुनः शुक्रवार बोलाईएको थियो । तर, शुक्रवार हेटौंडामा बैठक बस्न सकेन ।

    नेकपा एसलाई हेटौडा दिने देखिएपछि गत ६ वैशाखमा तालावन्दीसमेत गरिएको थियो । कांगे्रेस नगर समितिमा बैठक बसिरहँदा केन्द्रिय निर्णयप्रति आपत्ति जनाउँदै गरिएको तालाबन्दी दुई घन्टापछि खोलिएको थियो भने कांग्रेस नगर समितिले पनि आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गर्ने अवस्था सिर्जना भएको थियो । गत निर्वाचनमा थोरै मतले पराजित भएको उल्लेख गर्दै हेटौडाको मेयर कांग्रेसले पाउनु पर्ने भन्दै सभापति आनन्दराज पराजुलीले स्वतन्त्र उम्मेदवारीको चेतावनी दिएका छन् ।

    पोखरा

    भागवन्डामा नेकपा एसलाई पोखरा महानगरपालिका परेपछि बुधवार गरिएको तालाबन्दीे बिहीबार बिहान खुला गरिएको थियो । पूर्वमन्त्री यज्ञवहादुर थापालगायतका नेता काठमाडौं आएर सभापति देउवालाई पोखरा नछाडन आग्रह गर्दागर्दै पनि नेकपा एसलाई दिईएको भन्दै आक्रोशित कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

    यद्यपि जिल्ला सचिव गणेशबहादुर थापाले पोखराको मेयरका लागि किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटाको नाम प्रदेश कमिटीमा पठाएका छन ।

    रौतहट

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पाँच दलीय गठबन्धन बन्नका लागि दिइएको दबाब नगर, क्षेत्र र जिल्लाले अस्विकार गर्दै सबै स्थानीय तहमा एकल रुपमा नाम सिफारिस गरेको छ ।

    तीन पटक बसेको गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कांग्रेसले एकल रुपमा नगरपालिका र गाउँपालिकाका मेयर उपमेयरको नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको छ । तर, गठबन्धन र आन्तरिक द्धन्द्धका कारण राजपुर फरहदवा र बिजयपुर फतुवाका मेयरले कांग्रेस परित्याग गरी क्रमशः नेकपा एमालेमा आवद्धता र स्वतन्त्र भएको घोषणा गरेका छन् ।

  • मुगुमा कांग्रेसबाट मेयरमा १२ , उपमेयरमा ५ जनाको नाम सिफारिस

    मुगुमा कांग्रेसबाट मेयरमा १२ , उपमेयरमा ५ जनाको नाम सिफारिस

    खड्क सुनार
    मुगु ९ बैशाख-

    नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।

    शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरि निर्णाथको लागि कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई सिफारिस गरिएको कांग्रेस प्रवक्ता प्रकाश कुमार शाहीले बताए ।

    उक्त मेयर पदको लागि हरिजंग शाही, जयबहादुर हितान, सुर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंह बहादुर मल्ल, बिष्णु कुमार भाम र पशुपति शाहीको नाम सिफारीस गरिएको छ ।

    त्यस्तै उपमेयरमा कांग्रेसले रामदेवि खड्का , ऐश्वर्य मल्ल, इश्वरदेबि रावल , खम्मेनी कामी र जसा नेपाली लाई सिफारिस गरेको हो ।

    कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरको लागि एक एक जनाको नाम सिफारिस गर्न नसक्ने अबस्था आएपछि निर्णाथको निम्ति प्रदेश कार्य समितिमा पठाउनु पर्ने बाध्यत्मक परिस्थिति उत्पन्न भएको प्रबक्ता शाहीको भनाइ छ ।

    स्थानीय निर्बाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मे हम्मे परेको छ ।- न्युज कारखाना

  • जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

    जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

    महोत्तरी, १० वैशाख-
    उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ ।

    पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खानुभएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, करेला, बोडीआदि) मुख्य तरकारी बाली हुन् । खेती गर्न थालेर धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आई पुगेको यादवको अनुभव छ ।

    पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने यादव अब त विषादीले पनि किरा चिन्न छाडेको बताउनुहुन्छ । “उ त्यहाँ भण्टाको बोट हेर्नोस्, कति थरीका दबाइ (विषादी) छरीसके, केही टेरेको छैन”, बारीका केही पात ओइलिँदै गएका भण्टाका बोट देखाउँदै यादवले भन्नुभयो, “सल्लाह दिने कोही जेटी, जेटिए (कृषि प्राविधिक) पनि भेटिँदैनन्, के गर्ने होला ?”

    मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको उहाँको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैन्थे, यी दबाइ पनि थिए कि थिएनन् ? अहिले त यी थरिथरिका किरा र रोगले हैरान नै पारेका छन् ।” पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झँदै उहाँले अचेल भने कैयन थरिका झार उम्रने र त्यसलाई मास्न दबाइ नै प्रयोग गर्ने गरेको बताउनुभयो ।

    पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झँदै उहाँले पछिल्ला वर्षमा क्रमशः समयमा पानी नपर्ने, कहिले बेमौसममै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखु खेती हुँदै अहिले नगद आर्जनका लागि आफू तरकारी खेतीमा लागेको बताउनुभयो । पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको यादवको भनाइ छ ।

    पछिल्ला १५÷२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ (सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम) हाल्नु परिरहेको यादवको थप चिन्ता छ । यसको ठ्याक्कै कारण थाहा नभए पनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीमा बालुवा, ढुङ्गा निकाल्न ठूलठूला मेसिन (उत्खननमा प्रयोग गरिने यान्त्रिक उपकरण) चल्न थालेपछि यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ ।

    पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उहाँको भनाइ छ । उहाँजस्तै बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो, जवाहर महतो, रामविनोद महतो र ब्रह्मदेव महतो पनि तरकारी खेतीमा जमेका किसान मानिनुहुन्छ । उमेरले ५० वर्ष नाघी सकेका उहाँहरु सबैको चिन्ता पनि यादवको जस्तै छ । छिमेकको भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादव, ५७ वर्षीय रामजी यादव, ५४ वर्षीय चन्देश्वरराय दनुवार र ६७ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा बर्सेनि खेती बदल्नुपरेको बताउनुहुन्छ ।

    जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार तथा वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । यसरी मौसममा परेको प्रभावअनुसार आफूलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको उहाँ बताउनुहुन्छ ।

    “जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधन, स्रोतको अभावमा यसबाट बढी प्रभावित छन्”, उहाँले भन्नुभयो, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रसायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । (रासस)

  • दुर्घटनामा तीन जनाको मृत्यु

    राजविराज, १० वैशख-
    हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

    हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिनुभयो । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए । (रासस)

  • चितवनमा जारी फर्मा एक्सपोमा उद्योगीहरुले भने,– सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ

    चितवनमा जारी फर्मा एक्सपोमा उद्योगीहरुले भने,– सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ

    चितवन, १० वैशाख-
    उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उहाँहरुको भनाइ छ ।

    कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै उहाँहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नसकेमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सरकारको नीति स्वदेशी उद्योगमैत्री हुनु प¥यो ।” जति पनि ऐन कानुन छन् ती उद्योग व्यवसाय प्रोत्साहन हुने गरी बन्नुपर्ने उहाँको भनाइ थियो । प्रतिकूलताका बीच नेपाली उद्योगले काम गर्नुपर्ने बाध्यता रहेको गोल्छाले बताउनुभयो ।

    नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले राज्यका तर्फबाट स्वदेशी उद्योगलाई अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । औषधि उत्पादक सङ्घका अध्यक्ष डा प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि निर्यात हुन थालेको भन्दै सरकारले नीतिगतरुपमा नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सहयोग गरेमा ९० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सक्छौँ ।”

    सङ्घका निर्वतमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले औषधिमा विदेशमा भर पर्न नहुने भन्दै आत्मनिर्भर हुनका लागि सरकारी तवरबाट सहयोगको आह्वान गर्नुभयो । सबैले सुन्ने र हुन्छ भन्ने तर कसैले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा रहेको उहाँको भनाइ थियो । सङ्घकै पूर्वअध्यक्ष दीपक दाहालले नेपालमा ७२ उद्योगले औषधि उत्पादन गरिरहेका र ३२ वटा स्थापनाको क्रममा रहेको जनाउँदै यहाँका उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा विशेष ध्यान दिएको बताउनुभयो ।

    अहिले केही उद्योगले ७५ प्रतिशतसम्म माग धान्न सक्ने भन्दै उहाँले यहाँ उत्पादित औषधि आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगलाई भारतीय रुपैयाँ एक खर्ब ५० अर्ब अनुदान दिएको उहाँले सुनाउनुभयो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।

    सङ्घका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अङ्गाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।

    औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको उहाँले बताउनुभयो । नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासको प्रत्येक दुई वर्षमा एक्स्पो गरिँदै आएको छ । सन् २०२१ मा हुनुपर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेको थिएन ।

    यस पटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहेका छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुर्राष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहेका छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । सङ्घले आज राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारुबीच अन्तक्र्रिया कार्यक्रम गर्दैछ ।

    एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आबद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ । (रासस)

  • भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

    भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

    काठमाडौँ, १० वैशाख-
    बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ ।

    उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन् ।

    एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुनेगरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो । उहाँका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित देखिएका छन् ।

    भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ ।”

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो पहल गर्न निर्देशन दिनु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि नयाँ निर्माण गरिएको उक्त विमानस्थल विधिवत्रुपमा सञ्चालन गरेको थियो । उक्त विमानस्थलमा अब ठूला जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरे यहाँ पर्यटक भित्रिन सक्ने भन्दै स्थानीयमा खुसियाली छाएको बताइएको छ ।

    उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । (रासस)