Blog

  • सल्यानको बागचौरमा जेसीबी पल्टिदा चालकको मृत्यु

    सल्यानको बागचौरमा जेसीबी पल्टिदा चालकको मृत्यु

    सल्यान, ११ वैशाख-

    सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।

    दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

    सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।- न्युज कारखाना

  • काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं, ११ वैशाख-

    काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन् ।

    दुवैको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आलेद्धय सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।- न्युज कारखाना

  • इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

    इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

    रोम, ११ वैशाख-

    इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।

    सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।

    युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए । एजेन्सी

  • धान बेच्‍न नेपाल आउँछन् भारतीय

    धान बेच्‍न नेपाल आउँछन् भारतीय

    झापा, ११ वैशाख-

    भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्‍ज-४ स्थित नेपाल-भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलाे धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् ।

    नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ । नेपालतर्फ सीमा नजिकै राखिएको काँटामा उनीहरू धान लिएर आउँछन् । ‘यो हामीले नै फलाएको धान हो । हाम्रोमा भन्दा यहाँ भारु एक सय बढी आउँछ । त्यसकारण नेपाल नै धान लिएर आउँछौँ,’ उनले भने, ‘हामी साइकलमै धान ओसार्छौँ ।’

    नाकामा प्राय: धान लिएर आउनेको लाइन नै हुन्छ । सशस्त्र प्रहरीले किसानले बिक्रीका लागि ल्याएको धान भनेर सहजै भित्र्याउन दिन्छ । ‘विगतदेखि नै कृषकले ल्याउने गरेका छन् । नाकामा सामान्य वारिपारका कृषकको समस्या बुझ्नुपर्छ,’ नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले भने ।

    कृषकलाई भारतमा बजार पनि टाढा पर्छ । भारतमा नेपालभन्दा पनि कम मूल्य रहेकाले नेपालतर्फ बिक्रीका लगि धान ल्याएको भारतीय नागरिक हरिहरप्रसाद सिंह बताउँछन् । ‘हाम्रो उताको बजार लान टाढा पनि छ । भाउ पनि राम्रो छैन,’ उनले भने, ‘नेपालमा ल्याउँदा क्वीन्टलको भारु १४ सयसम्म आउँछ । हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ । एक सय फाइदा हुन्छ । यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।’

    नाका नजिक नवदुर्गा धान खरिद बिक्री केन्द्र संचालन गरिरहेका जितेन्द्र दासले सीमावर्ती अधिकांश भारतीयले नेपालमै धान बिक्रीका लागि ल्याउने गरेको बताए । उनका अनुसार भारतभन्दा नेपालमा धानको मूल्य धेरै भएकाले कृषक नेपालतर्फ नै धान ल्याएर आउने गरेका छन् । ‘मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्,’ उनले भने, ‘नेपालमै ल्याउन उनीहरूलाईसजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।’

    यहाँ मात्र हैन झापाको अधिकांश सीमा क्षेत्रमा भारतीयले नेपालतर्फ आफ्ना उत्पादन बिक्रीका लागि ल्याउने गरेका छन् ।- न्युज कारखाना

  • चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

    चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

    कुलप्रसाद काफ्ले
    चितवन, ११ वैशाख –

    चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ ।

    भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुंगो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।

    कांग्रेसका उपसभापति राजीव न्यौपानेले आज साँझसम्म गठबन्धनले उमेदवारको टुंगो लगाउने जानकारी दिए । भोलि १ बजे संयुक्त रुपमा मनोनयन दर्ता गरिने उनले बताए । ‘आज बेलुकासम्म उमेदवारहरूको टुंगो लगाइन्छ । भोलि १ बजे चौविसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रुपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।

    भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ ।

    कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकिकृत समाजवादी)ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।

    त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् । भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको उनले बताए ।

    महानगरको प्रमुखमा भने कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले आज स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।- न्युज कारखाना

  • भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

    भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

    भरतपुर, ११ वैशाख-

    सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ ।

    सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।- न्युज कारखाना

  • समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

    समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

    काठमाडौँ, ११ वैशाख-
    उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

    “मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उहाँले भन्नुभयो । लोकतन्त्र स्थापनका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    उहाँले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गर्नुभयो । झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक सङ्घसंस्थाले आफ्नो ठाउँबाट समाजको लागि केही न केही उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सामाजिक सङ्घसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको बताउनुभयो । “युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने देशको विकास हुन केही समय लाग्दैन”, उहाँले भन्नुभयो । मन्त्री गहतराजले यस वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका नेता एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी वर्ष निर्वाचनको वर्ष भएकाले निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।(रासस)

  • भरतपुर कांग्रेसीमाथि ‘अन्याय’, के भन्छन् नेता कार्यकर्ता ? बागी उमेदवारी दिने कुरा कहाँ पुग्यो ?

    भरतपुर कांग्रेसीमाथि ‘अन्याय’, के भन्छन् नेता कार्यकर्ता ? बागी उमेदवारी दिने कुरा कहाँ पुग्यो ?

    कुलप्रसाद काफ्ले –

    चितवन, ११ वैशाख – 
    नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन । सत्तागठबन्धनले महानगरको मेयरको उमेदवार बन्नबाटै चितवन कांग्रेसलाई बञ्चित गरायो ।

    मेयरका लागि कांग्रेसमा २५ जनाले आकांक्षा देखाएका थिए । उनीहरुले प्रति व्यक्ति तीन हजार रुपैयाँ तिरेर पार्टीमा आफ्नो मनोनयन दर्ता पनि गरेका थिए । तर, चितवनका कांग्रेसीले यसपाली पनि महानगरको मेयरमा रेनु दाहाललाई नै भोट हाल्नुपर्ने अवस्था बनेको छ ।

    आफुहरुलाई अन्याय भएको भन्दै शुक्रबार नेता कार्यकर्ताले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरे । गठबन्धनको केन्द्रीय निर्णयबाट असन्तुष्ट बनेका नेता कार्यकर्ताले शनिबार महानगरको मेयरमा बागी उमेदवारी दिने घोषणा गर्ने तयारी गरेका थिए । केन्द्रीय सदस्यहरु अनुपस्थित भएपछि असन्तुष्ट पक्षले घोषणा गर्न सकेन ।

    कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले कांग्रेसलाई बचाउने ऐतिहासिक क्षण आएको बताए । ‘म के कुरामा प्रस्ट छु भने हामी माओवादीसँग मिलेर जान सक्दैनौँ । हाम्रो जित्ने ठाउँ अरुलाई दिएर पार्टीलाई कमजोर बनाइँदै छ’, उनले भने ।

    कांग्रेस महासमिति सदस्य मिना खरेलले कांग्रेस नेता कार्यकर्ताको जायज कुरा पार्टीले सम्बोधन गर्नुपर्ने बताउँछिन् । ‘कांग्रेस कार्यकर्ताको एउटै चाहना छ रुख चिह्नमा मतदान गर्न पाउने । यो जायज कुरा हो । यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ’, उनले भनिन् ।

    नेपाली कांग्रेस चितवनका पूर्वप्रवक्ता उद्दव लोहनीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा सैद्धान्तिक र वैचारिक विचलन आएकाे बताए । गठबन्धन गरेर अरु दललाई भोट हाल्न निर्देशन दिने देउवालाई उनले पार्टीको विधानबाट रुख चिह्न हटाएर देखाउन चुनौति दिए ।

    नेपाली कांग्रेस भरतपुर–१८ का वडा सभापति रामकृष्ण पण्डितले अन्यायपूर्ण तरिकाले भरतपुरमा गठबन्धन भएको बताए । कांग्रेस भरतपुर–१९ का सभापति आशराम तामाङले विद्रोह गरेर मेयरमा उमेदवारी दिने नेतालाई काँध थाप्न तयार रहेको बताए ।

    अघिल्लो चुनावमा नेता कार्यकर्ताको विरोधबीच महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई कांग्रेसीले मत दिनुपरेको थियो ।

    माओवादी कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको साक्षी बसेको कांग्रेसले माओवादीसँगको गठबन्धन टुटेपछि माओवादीको विरोध गर्दै आएको थियो । पाँच वर्षपछि हुन लागेको अर्काे चुनावमा पुनः रेनु दाहाललाई नै मत दिनुपर्ने अवस्थामा चितवन कांग्रेस पुगेको हो ।

    २०७४ मै भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि क्षेत्र नं ३ मा कांग्रेसीले हलोमा मत दिनुपर्ने बाध्यता बनेको थियो । क्षेत्र नं ३ मा भरतपुर महानगरको अधिकांश भाग पर्छ ।

    भरतपुर महानगरमा बसोबास गर्ने कांग्रेसीहरु बढी अन्यायमा परेका छन् । उनीहरूले लगातार तेस्रो पटकसम्म पनि आफ्नो चुनाव चिह्न रुखमा भोट खसाल्न नपाउने निश्चित छ ।

    नेता कार्यकर्ताको भावना विपरित गठबन्धनले निर्णय गरेको बताएका जिल्ला सभापति खनालले बिहीबार केन्द्रीय परिपत्र बाहिर गएर गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए । खनाल संस्थापन इतरबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । चितवनमा कांग्रेसको संस्थापन इतर बलियो छ ।

    २०७४ मा मेयरको टिकट पाइसकेका दिनेश कोइरालाको उमेदवारी देउवाले नै अन्तिम समयमा काठमाडौँबाटै निर्वाचन अधिकृतलाई पत्र लेखेर फिर्ता लिएका थिए । अहिले कोइराला कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । – न्युज कारखाना

  • चितवनमा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुखका उमेदवार : भरतपुर र माडीमा राप्रपासँग मिल्ने

    चितवनमा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुखका उमेदवार : भरतपुर र माडीमा राप्रपासँग मिल्ने

    चितवन, वैशाख ११ –
    नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो ।भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ । भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेको हो । भरतपुरमा विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेको छ ।

    एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिका प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उमेदवार बनाउने निर्णय भएको छ । खैरहनीको प्रमुखमा एमालेले फेरि चौधरीलाई नै उठाउने भएको हो ।

    रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई उमेदवार बनाउने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले रत्ननगरको प्रमुखमा उपप्रमुख भएर एक कार्यकाल काम गरेकी दुवाडीलाई उठाउने भएको हो ।

    माडी नगरपालिकाको प्रमुखमा एमालेले ताराकाजी कुमारी महतोलाई उठाउने भएको छ । महतोले पनि एक कार्यकाल नगर उपप्रमुख भएर काम गरिसकेकी छन् । ईच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेको छ । आज पालिका वडाध्यक्षको टुंगो लाग्ने बताइएको छ ।

    राप्रपाले पाएको भरतपुर र माडीको उपप्रमुखमा भने अझै टुंगो लागिसकेको छैन । त्यसका लागि राप्रपा आन्तरिक छलफलमै छ । – न्यूज कारखाना

  • भरतपुरमा एमाले र राप्रपाबीच तालमेल हुँदै : उपमेयर राप्रपाले पाउने

    भरतपुरमा एमाले र राप्रपाबीच तालमेल हुँदै : उपमेयर राप्रपाले पाउने

    चितवन, बैशाख ११ –
    भरतपुर महानगरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच तालमेल हुने भएको छ ।

    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग तालमेल गर्ने गरी छलफल भइरहेको बताए । उनले आजै टुंगोमा पुग्ने र राप्रपाबाट उपमेयरमा उम्मेद्वार उठाउने गरी सम्झौता हुने उच्च संभावना भएको चितवन आजलाई बताए ।

    भरतपुर महानगरमा राप्रपा समर्थकहरु थुप्रै छन् । भरतपुरमा पर्ने चितवन निर्वाचन क्षेत्र नं. ३ पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र हो । अघिल्लो पटकको निर्वाचनमा बिक्रम पाण्डे सांसदमा निर्वाचित भएका थिए ।

    एमाले र राप्रपाबीच तालमेल भएपछि संयुक्तरुपमा यी दलले मेयर र उपमेयरमा उम्मेद्वार उठाउने छन् । मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेद्वार बनाएको छ भने राप्रपाले एमालेसँग सहमति भएपछि उम्मेद्वार टुंगो लगाउने छ ।