Blog

  • प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल

    प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल

    काठमाडौं, ११ वैशाख-

    नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ ।

    प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरको विद्युत जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना र ती आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनाहरूको निरीक्षण गरेको हो ।

    टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि.को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत कम्पनीको १२ मेगावाटको दोर्दी-१, जलविद्युत आयोजनाहरुको भ्रमण गरेको थियो ।
    टोलीले ती आयोजनाहरुको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरुसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरू जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए ।

    प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर-उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।

    तर, १ असार ०७८मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये चारवटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति पुर्‍याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरुको पुनर्निर्माण भइरहेको छ । ४ वटा टावरमध्ये २ वटाको जग हालिएको, १ वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    ‘निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन बाढीले बगायो भने जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्यायो, अहिले प्रसारण लाइन तथा जलविद्युत आयोजनाहरको पुनर्निर्माण तथा मर्मतसम्भार भइरहेको छ, यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ, त्यसैले जलविद्युत आयोजनाहहरुको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ’, उनले भने । ‘एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि सबै पक्ष मिलेर जतिसक्दो छिट्टो काम सम्पन्न गरौं, प्रसारण लाइन छैन भन्दै काममा ढिलाइ नगरौं, ठेकेदारले प्रसारण लाइनको संवेदनशीलतालाई ध्यान दिएर श्रमिक थपी निर्माण तत्काल सम्पन्न गरिदिनु पर्‍याे ।’

    आयोजनाहरूमध्ये दोर्दी खोला रे दोर्दी-१ जलविद्युत आयोजनाको काम केही छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उनले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरू सम्पन्न गरी २० दिनभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएको थियो ।

    आयोजनाको विद्युत प्रवाहका लागि वैकल्पिक व्यवस्थाअन्तर्गत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ । यसका लागि उदीपुर-मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाखभित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीजयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।

    उदीपुर-मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी-१ आयोजनाको विद्युत पनि मध्यमर्स्याङ्दीको स्वीचयार्डमै जाडिने छ ।
    ‘अहिलेको ऊर्जा संकटको प्रसारण लाइन अभावमा २७ मेगावाट र १२ मेगावाट विद्युत जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन, यसमा मुख्य रुपमा ठेकेदारले गम्भीर भएर काम गरिदिनुपर्‍याे’, कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई निर्देशक दिंदै भने।

    बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावर लि.ले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको छ ।

    ‘स्थानीयको अवरोधले खुदी-उदीपुर प्रसारण लाइन निर्माणका केही ढिला हुँदा वैकल्पिक व्यवस्थाअन्तर्गत चिनियाँ लागानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मध्यमर्स्याङ्दी ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत जोडिएको छ, चिनियाँहरूले जोड्न नदिने अडान लिइरहेका थिए तर प्राधिकरणको निरन्तरको प्रयासपछि अन्ततः न्यादीलाई जोड्न सफल भयौं’, कार्यकारी निर्देशक घिसिङले भने ।- न्युज कारखाना

     

  • धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

    धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

    धनगढी, ११ वैशाख-

    धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा पनि राज्यको स्राेत साधनको दुरुपयोग गर्दै बाँडिचुँडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए । आफूले जितेमा धनगढीलाई मोडेल सहरका रूपमा चिनाएर देखाउने उनले बताए ।

    २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवसायी हमालले धनगढीको मेयरमा साझा पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनी नृपबहादुर वडसँग २७ सय मतअन्तरले पराजित बनेका थिए । हमालसँगै विभिन्न वडाबाट पनि वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गाराएका छन् । न्युज कारखाना

  • पर्खाल लगाएको विषयलाई लिएर कुटपिट गर्दा एक जनाको मृत्यु

    पर्खाल लगाएको विषयलाई लिएर कुटपिट गर्दा एक जनाको मृत्यु

    सिरहा, ११ वैशाख-

    सिरहा नगरपालिका–१३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार मृत्यु भएको छ ।

    कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको छ ।

    धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।- न्युज कारखाना

  • काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत

    काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत

    काठमाडौं, ११ वैशाख-

    काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ ।

    गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।- न्युज कारखाना

  • पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वारले गरे मनाेनयन दर्ता

    पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वारले गरे मनाेनयन दर्ता

    पोखरा, ११ वैशाख-

    नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ ।

    पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

    केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए । ‘सिण्डिकेट लागू गर्‍यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’

    कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्‍यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले अघि थपे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’ न्युज कारखाना

  • अटेरी समूहबाट पौडेलले दिएर पोखराको मेयरमा उम्मेद्‌वारी

    अटेरी समूहबाट पौडेलले दिएर पोखराको मेयरमा उम्मेद्‌वारी

    पोखरा, ११ वैशाख-

    अटेरी अभियान चलाउँदै आएका गनेश पौडेलले पोखराको मेयरमा उम्मेद्‌वारी दिएका छन् । उनको १ नम्बरमा दर्ता भएको छ । अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेद्वारी दिएका हुन् । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेद्वारी पर्ने भएको छ ।

    आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।

    उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । उम्मेद्‌वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्‌वारी दिएको बताए ।

    ‘गठबन्धन विरोधी भावना बढेको छ । स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेद्वारले काम गर्न सक्छन् भन्ने मान्यता बढेको छ,’ उनले भने, ‘हामी चुनाव जित्छौं । हाम्रो पक्षमा लहर राम्रो भएको छ ।’ ५५ हजार भन्दा बढी मत ल्याउने उनको दावी छ ।- न्युज कारखाना

  • पूर्वराज्यमन्त्री डिम्पलको निधन

    पूर्वराज्यमन्त्री डिम्पलको निधन

    काठमाडाैं, ११ वैशाख-
    पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

    झाको उपचारका क्रममा आइतबार राति काठमाडाैंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

    डिम्पल पछिल्लाे दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।

    पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

    ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका छन् ।- न्युज कारखाना

  • गोरखामा गठबन्धन : केन्द्रको निर्णय लत्याउने तयारीमा कांग्रेस, बोलायो आकस्मिक बैठक

    गोरखामा गठबन्धन : केन्द्रको निर्णय लत्याउने तयारीमा कांग्रेस, बोलायो आकस्मिक बैठक

    अश्विन दानी

    गोरखा, ११ वैशाख-

    केन्द्रले टुंग्याएर पठाएको भागवण्डालाई स्वीकार गर्ने या नगर्ने भन्‍ने विषयमा छलफल गर्न गोरखामा नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।

    आसन्‍न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको जिल्लास्तरीय संयन्त्रले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले शनिबार हिजो साँझ बैठक बसेर निर्देशनात्मक भागवण्डा गरेर पठाएका थिए ।

    शनिबार आठौं पटक बसेको जिल्लास्तरीय संयन्त्रको बैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रमा प्रधानमन्‍त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गाेरखामा भागवण्डा मिलाएका गिए ।

    केन्द्रीय नेताले गाेरखामा कांग्रेसलाई एक नगरपालिकासहित पाँच, माओवादीलाई चार र जसपालाई एक नगरपालिकासहित दुई पालिका प्रमुखमा उम्मेदवारकाे भागवण्डाकाे निर्णय गरेका थिए ।

    तर, केन्द्रले निर्णय गरेर पठाएको भागवण्डालाई स्वीकार गरेर जाने या नजाने भन्‍ने विषयमा छलफल गर्न गोरखामा संयन्त्रका प्रमुख दल नेपाली कांग्रेसले बिहान आकस्मिक बैठक बोलाएको छ ।

    ‘केन्द्रको निर्णय मान्ने या नमान्ने भन्‍ने विषयमा छलफल गरेर निर्णय गर्न बैठक बस्न लागेको हो । जिल्लामा अहिलेसम्म अधिकांश नेताको चाहना केन्द्रको हस्तक्षप स्वीकार नगर्ने भन्‍ने नै छ । केन्द्रीय निर्देशनविपरीत जाने निर्णय हुनसक्ने सम्भावना उच्च छ’, कांग्रेसका एक नेताले भने ।- न्युज कारखाना

  • मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

    मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

    काठमाडाैं, ११ वैशाख-

    मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।

    खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।

    गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे ।

    सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।न्युज कारखाना

     

  • हेटौंडामा १३ पत्रकारलाई अवार्ड, सात जनालाई सम्मान

    हेटौंडामा १३ पत्रकारलाई अवार्ड, सात जनालाई सम्मान

    हेटाैंडा, ११ वैशाख-

    न्यू मिडिया एकेडेमीले हरेक वर्ष प्रदान गर्ने आएको हेटौंडा जर्नालिजम अवार्ड-२०७९ प्रदान गरिएको छ । अवार्डको तेस्रो र चौथो संस्करणमा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड तथा सात जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

    अग्रज पत्रकार रुपेश दुलाल, नानीमैया कार्की सम्झना, रोशन पराजुली, कुमार अधिकारी पोष्टराज, सुनिल खड्का, हरिप्रसाद हुमागाईं र दीपक अधिकारीलाई शनिबार साँझ सम्मान गरिएकाे छ ।

    उत्कृष्ट वर्ष पत्रकार अवार्ड महिलातर्फ सृजना नेपालले प्राप्त गरिन् भने पुरुषतर्फको अवार्ड देवराज पन्तले प्राप्त गरे । उत्कृष्ट नवप्रवेशी पत्रकारिता वर्ष अवार्ड महिलातर्फ निशा गुरुङ, पुरुषतर्फ सुमन दाहालले प्राप्त गरे ।

    उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड गणेश दुलाल, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता वर्ष अवार्ड सम्झना रिजाल र उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड गणेशदर्पण अधिकारीले प्राप्त गरे ।

    उत्कृष्ट कृयाशिल पत्रकार वर्ष अवार्ड सुनिल शिवाकोटी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अमृत चिमरिया, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड सुदीप शिवाकोटी, उत्कृष्ट टेलिभिजन पत्रकारिता वर्ष अवार्ड बालकृष्ण अधिकारी र उत्कृष्ट सम्पादक वर्ष अवार्ड शिवकुमार काशीले प्राप्त गरे ।

    उत्कृष्ट वर्ष पत्रकार अवार्ड प्राप्त गर्ने दुई पत्रकारले जनही १० हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे भने अन्य विधागत उत्कृष्ट पत्रकारले नगद ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे ।

    न्यू मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको अवार्ड वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।न्युज कारखाना