Blog

  • कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

    कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

    काठमाडौं, ११ वैशाख-

    नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

    कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

    घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।
    न्युज कारखाना

  • धनुषामा कार दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते

    धनुषामा कार दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते

    धनुषा, ११ वैशाख-

    धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ ।

    महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई माटोको डिस्कोमा ठोकिएको थियो ।- न्युज कारखाना

  • चितवनमा फर्मा एक्स्पो जारी : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य

    चितवनमा फर्मा एक्स्पो जारी : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य

    चितवन, ११ वैशाख –
    आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् ।

    उद्योग पूर्णरुपमा सञ्चालन गर्न नपाउँदा समस्यामा परेको व्यवसायी बताउँछन् । नेपालमा ७२ उद्योग सञ्चालनमा रहेका छन् । बत्तीस नयाँ उद्योग स्थापनाका क्रममा छन् । नेपाल औषधि उत्पादक सङ्घका पूर्वध्यक्ष दिपक दाहाल नेपाललाई आवश्यकपर्ने ७५ प्रतिशत औषधि अहिलेकै अवस्थामा उत्पादन गर्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले नेपालमा उत्पादन हुने औषधि आयात रोकेमा मुद्रा विदेशिनबाट रोकिन्छ ।”

    नेपाली बजारमा भारतीय औषधिको हिस्सा ५० प्रतिशत छ । पैतालीस प्रतिशत स्वदेशी छ भने पाँच प्रतिशत तेस्रो मुलुकको छ । दाहालले भन्नुभयो, “सरकारले सित्तैमा बाढ्ने ९६ प्रतिशत औषधि हामी यहीँ उत्पादन गर्न सक्छौँ ।”

    औषधिको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार अध्ययन गर्दै आउनुभएका दाहाल भारतीय उत्पादन हाम्रो मुख्य प्रतिस्पर्धी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विश्व औषधि बजारको कूल उत्पादनको परिणामका आधारमा भारत तेस्रो र मूल्यका आधारमा १४औँ स्थानमा पर्दछ ।” भारत १०औँ औषधि निर्यात देश भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भारतको औषधि उत्पादनको ०.९ प्रतिशत बराबरको नेपालको औषधि बजार हो ।”

    सङ्घका अध्यक्ष प्रदीपजंग पाण्डे नेपालमा केहीबाहेक औषधिमा आत्मनिर्भर हुन सकिने बताउनुहुन्छ । उहाँले सरकारको नीतिमा गुणस्तरीय औषधि र स्वास्थ्य सामग्रीको सहज तथा प्रभावकारी आपूर्ति एवं उपयोगलाई सुनिश्चित गर्दै आन्तरिक उत्पादनलाई बढावा दिएर आत्मनिर्भरतर्फ उन्मुख हुने भनिए पनि कार्यान्वयन नभएको बताउनुभयो ।

    औषधिको उत्पादनमा देशलाई आत्मनिर्भर बनाइने, आवश्यकपर्ने अत्यावश्यक औषधि उत्पादन गरी आपूर्ति गर्ने व्यवस्था नीतिमा भएको पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, “नीति र रणनीतिमा भएर पनि कार्यान्वयन हुन नसक्दा नेपाली उद्योगले सोचेजति काम गर्न सकेका छैनन् ।”

    सङ्घका निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्री नेपाली औषधि उद्योगको मुख्य चुनौती आयात नरोक्नु रहेको बताउनुहुन्छ । नेपालमा पाँच वा पाँचभन्दा बढी कम्पनीले उत्पादन गर्ने औषधि आयात रोक्ने ऐन बने पनि त्यसलाई कार्यान्वयन गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ ।

    नेपाली उद्योगले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय औषधि उत्पादन गर्दै आएको जनाउँदै उहाँले भन्नुभयो, “सरकारले नेपाली उद्योग फस्टाउने नीति लिन सकेन ।” सरकारी सहुलियत र सहजीकरणमा कमी रहेको, नियमनकारी निकायले स्वदेशी उद्योगप्रति भेदभाव गर्ने गरेको, सहजकर्ताको उपलब्धता नहुने नेपाली औषधि उद्योगका चुनौती रहेको उहाँ बताउनुहुन्छ । अनुसन्धान र विकासमा साधनस्रोतको कमी र विद्यमान सरकारी स्रोतसाधनको परिचालन नहुँदा समस्या भएको क्षेत्रीले बताउनुभयो ।

    सङ्घका उपाध्यक्ष सन्तोष बराल विदेशी मुद्रा सञ्चिती घटिरहेका समयमा राज्यले औषधिमा आत्मनिर्भर हुने नीति कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताउनुहुन्छ । उहाँले अहिलेकै उद्योगले ७५ प्रतिशत माग धान्नसक्ने क्षमता रहेको जनाउँदै नेपालमा उत्पादन हुने औषधिको आयात तत्काल रोक्न माग गर्नुभयो ।

    नेपाली औषधि उद्योगले निर्यातसमेत गर्न लागेको जानकारी दिँदै अधिकारीले नेपालमा सन् २०३३ सम्म पेटेन्ट औषधिको जेनेरिक बनाउन सक्ने हुँदा त्यसलाई अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । औषधि उत्पादनका क्षेत्रमा नयाँ प्रविधिको विकास भइरहेको जनाउँदै उहाँले उद्योगलाई सहुलियतपूर्ण ऋण, निर्माण सामग्रीमा भन्सार र मूल्य अभिवृद्धि कर छुट दिनुपर्ने बताउनुभयो ।

    सङ्घका महासचिव विप्लब अधिकारी राज्यको नीतिका कारण कतिपय तयारी वस्तुभन्दा कच्चापदार्थ महँगो पर्ने गरेको बताउनुहुन्छ । यस्ता वस्तुको खरिदलाई पहिचान गरी सरल र सर्वसुलभ बनाउनुपर्ने अधिकारीको भनाइ छ ।

    चितवनमा नेपाल फर्मा एक्स्पो २०२२ जारी रहेको छ । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उद्घाटन गर्दै औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पु¥याउनुपर्ने बताउनुभएको थियो । (रासस)

  • चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन, ११ वैशाख –
    चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उहाँले जानकारी दिनुभयो ।

    गैँडाको सङ्ख्या बढेसँगै प्राकृतिक कारणले मर्ने सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम भइरहेको तिवारी बताउनुहुन्छ । वर्षाको समयमा प्राकृतिक कारणबाट धेरै गैँडा मर्ने गर्दछन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा प्राकृतिक मृत्यु त्यसै क्षेत्रमा बढी हुने गरेको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पश्चिमी क्षेत्रका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । पानी र घाँसे मैदान व्यवस्थापन राम्रो गरेर पश्चिमका केही गैँडा पूर्व लैजानसकेमा प्राकृतिक मृत्यु केही घटाउन सकिने निकुञ्ज प्रशासनको अनुमान छ ।

    पछिल्लो गणना अनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा रहेका छन् । कूल सङ्ख्या ७५२ रहेको छ । (रासस)

  • स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

    स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

    काठमाडौं, ११ वैशाख –

    २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए ।

    निर्वाचनमा दोस्रो ठूलो मत नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले प्राप्त गरेका थिए । उनले २४ हजार ३१६ मत प्राप्त गरेका थिए ।

    गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारबीच मात्र ३२६ मतको फरक रहेको थियो ।

    २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१, स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत प्राप्त गरेका थिए ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा ललितपुरमा उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गिता सत्याल विजयी भएकी थिइन् । उनले १९ हजार ८१९ मत प्राप्त गरेकी थिइन् ।

    सोही निर्वाचनमा ललितपुरमा उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा (माआवादी केन्द्र)को उम्मेदवार हसिना शाक्यले १२ हजार ९७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाबुकाजी प्रधानले १० हजार ५४० र स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरेका थिए ।

    २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा कूल मतदाता १ लाख १२ हजार ९२३ जना रहेका थिए । कुल मतदातामध्ये ८७ हजार ४८ मत अर्थात ७७.१० प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ७० हजार २४८ मत सदर भएको थियो ।- न्युज कारखाना

     

  • सकियो आठौँ सम्पदा साइकल यात्रा

    सकियो आठौँ सम्पदा साइकल यात्रा

    काठमाडौं, ११ वैशाख-

    टुर दि लुम्बिनी फाउन्डेसनको आयोजनामा काठमाडौं उपत्यकामा रहेका सातवटा विश्व सम्पदा स्थललाई जोड्ने सम्पदा साइकल यात्रा सम्पन्न भएको छ । करिब तीन सय साइकल यात्री सहभागी रहेको साइकल यात्रा बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको थियो । त्यहाँंबाट स्वयम्भु, पशुपतिनाथ, बौद्ध, चांगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा समापन भएको थियो ।

    बौद्ध स्टुपाको परिक्रमा पश्चात मुलपानी चांगुनारायणदेखि साइकल कनेक्ट भक्तपुरको टोलीले पथप्रदर्शकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि यात्रा भक्तपुरको देकोचा, कमलविनायक, सूर्यमढी, दत्तात्रय, टौमढी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुगेको थियो ।

    प्रदुषणका कारण अरू क्षेत्रसगँसगैँ मानव सभ्यताको चिनारीको रूपमा रहेका विश्व सम्पदाहरूमा परेको असरलाई न्यूनीकरण गर्न नीतिगत तह र स्थलगत तहमा विभिन्न कार्यक्रममा जोड दिनुपर्ने विषयमा सहभागीहरूले आफ्नो विचार पेश गरेका थिए ।- न्युज कारखाना

     

  • स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए कामठाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

    स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए कामठाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

    काठमाडौं, ११ वैशाख-

    स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।

    राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    युवाहरुमाझ चर्चित रहेका ¥यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।

    पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे ।- न्युज कारखाना

  • पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग

    पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग

    पोखरा, ११ वैशाख

    एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

    केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

    एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनकाे सामाजिक सन्जालमा भिडियाेसहित आलाेचना भइरहेकाे छ । यसबारेमा बुझ्न खाेज्दा पाैडेल सम्पर्कमा आएनन् ।- न्युज कारखाना

  • एमालेले टुंग्यायो भरतपुरका २९ वटै वडामा उम्मेद्वारको नामावली, राप्रपासँग मिलेपछि केही वडा छाड्ने (नामावलीसहित)

    एमालेले टुंग्यायो भरतपुरका २९ वटै वडामा उम्मेद्वारको नामावली, राप्रपासँग मिलेपछि केही वडा छाड्ने (नामावलीसहित)

    चितवन, बैशाख ११ –
    भरतपुर महानगरपालिकाका २९ वटै वडामा नेपाल कम्युनिष्ट पार्टीै (एमाले) ले अध्यक्षको उम्मेदवारको टुंग्याएको छ ।

    मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेद्वारको टुंगो लगाएको हो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ । भरतपुरमा विजय सुवेदी र माडीमा ताराकाजी महत्तोलाई मेयरको उमेदवार बनाउने निर्णय एमालेले गरेको छ । यी दुबै पालिकामा राप्रपाका लागि दुई पद खाली राखेको छ । अन्य स्थानीय तहको प्रमुख र उपप्रमुखमा नाम टुंगिगएको छ ।

    राप्रपासँग तालमेल भएपछि भरतपुरका केही वडाहरु राप्रपाका लागि पनि छाडिने एमाले चितवनले जनाएको छ ।

    हाललाई भने भरतपुरको सबै वडामा उम्मेद्वारको अन्तिम नाम टुंगो लगाइ सकिएको छ ।

    हेर्नुहोस्, एमालले भरतपुरका २९ वटै वडामा उम्मेद्वार उठाउन खाजेकाहरुको नामावली :
    वडा नं.१– शुक्रकुमार श्रेष्ठ
    वडा नं.२– कृष्ण केसी
    वडा नं.३– विकास थापा
    वडा नं.४– भानुभक्त सापकोटा
    वडा नं.५– पदमपाणि सुबेदी
    वडा नं.६– डोलनाथ अधिकारी (राम)
    वडा नं.७– सनतकुमार लामिछाने
    वडा नं.८– तिलक दर्लामि मगर
    वडा नं.९– लिलाबल्लभ भुषाल
    वडा नं.१०– भक्तिप्रसाद गौतम
    वडा नं.११– कमल बहादुर मल्ल
    वडा नं. १२– लेखराज पन्त (हरि)
    वडा नं. १३– शान्तराज आचार्य
    वडा नं. १४– हरिकृष्ण गुरुङ
    वडा नं. १५– विशेश्वोर न्यौपाने
    वडा नं. १६– इन्द्रबहादुर बस्नेत
    वडा नं. १७– बुद्धिराम लामा
    वडा नं. १८– बाबुराम राना
    वडा नं.१९ – प्रकाश तामाङ
    वडा नं. २०– देबबहादुर तामाङ
    वडा नं. २१– दिलिप न्यौपाने
    वडा नं. २२– सोमबहादुर गुरुङ
    वडा नं. २३– बाबुलाल थिङ
    वडा नं. २४– कान्छा मल्ल
    वडा नं. २५– कमल गोदार
    वडा नं. २६– भुपालनाथ कंडेल
    वडा नं. २७– राधादेवि क्षेत्री
    वडा नं. २८– दण्डपाणि रिजाल
    वडा नं. २९– मन बहादुर मगर

  • पोखरामा उमपेयरको एमालेबाट टिकट पाएकी मन्जु भन्छिन् : चुनाव लड्ने मन छैन

    पोखरामा उमपेयरको एमालेबाट टिकट पाएकी मन्जु भन्छिन् : चुनाव लड्ने मन छैन

    पोखरा, ११ वैशाख-

    नेकपा एमालेले पोखराको उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।

    मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मन्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन् । त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन् । चुनाव लड्ने चाहना नभए पनि मन्जुलाई एमालेले टिकट दिएको छ । तर, उनी सन्तुष्ट छैनन् ।

    ‘चाहाना राख्नुभएको छैन । नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्त हुनुहुन्छ ।’ गुरुङले कसैको पनि फोन उठाएकी छैनन् ।

    त्यसो त पार्टीमा आफुभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उनी सन्तुष्ट छैनन् । पोखराका एमाले नेता कार्यकर्ताले समेत गुरुङलाई उपमेयर र पौडेललाई मेयर दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनेका छन् ।- न्युज कारखाना