Blog

  • खेलाडी मिलन श्रेष्ठकाे सम्झनामा टेबलटेनिस प्रतियोगिता हुने

    खेलाडी मिलन श्रेष्ठकाे सम्झनामा टेबलटेनिस प्रतियोगिता हुने

    काठमाडौं, ११ वैशाख-

    पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ ।

    आइतबार आयोजक स्पिन इभेन्ट्स प्रालिले पत्रकार सम्मेलन गर्दै ७ देखि ९ जेठसम्म प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता रहनेछ ।

    प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

    जुनियर ब्वाइज र गर्ल्स तथा क्याडेट ब्वाइज र गर्ल्सको विजेताले क्रमशः २० हजार, दोस्रोले १० हजार र सेमिफाइनल पुग्नेले पाँच हजार रुपैयाँ पाउनेछन् । यस्तै, १२ वर्षमुनि ब्वाइज सिंगल्स र गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेताले १० हजार दोस्रोले पाँच हजार र सेमिफाइनल पुग्नेले २५ सय पाउने छन् ।- न्युज कारखाना

  • साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

    साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

    हेटौंडा, ११ वैशाख-

    मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा-२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनसहित उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेको पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।- न्युज कारखाना

  • भरतपुरको मेयरमा कांग्रेसले बागी उम्मेद्वारी हाल्दै, कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल उठ्ने

    भरतपुरको मेयरमा कांग्रेसले बागी उम्मेद्वारी हाल्दै, कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल उठ्ने

    चितवन, बैशाख ११
    भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेललेले बागी उम्मेद्वारी दिने भएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा असन्तुष्ट पक्षहरुको भेलाले पौडेललाई मेयरमा उठाउने निर्णय गरेको हो ।

    भरतपुर महानगरपालिका–७ का पौडेल चितवन कांग्रेसका प्रभावशाली नेता एवम् भरतपुरको पूर्व उपमेयर हुन् ।

    कांग्रेस महासमिती सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

    भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि कांग्रेसका जिल्ला नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए ।

    भरतपुरको मेयर माओवादी केन्द्रलार्इ दिने निर्णय भएपछि कांग्रेसका जिल्ला नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आइरहेका छन् ।

  • कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर

    कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर

    सर्लाही, ११ वैशाख-
    सर्लाहीमा कृषि वन विकास कार्यक्रम प्रभावकारी देखिएको छ ।

    जमिनको वहुउपयोग, आयआर्जन तथा जीविकोपार्जन सुधार र वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले सर्लाहीमा कृषि वन विकास कार्यक्रम लागू भएको हो । पछिल्लो समय ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराई बढ्न थालेपछि ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझो रहेको छ । कृषि वनबाट बाँझो जग्गाको सदुपयोग गर्ने सरकारको लक्ष्य छ ।

    सर्लाहीको हरिवन नगरपालिका–३, ४ र ५ का विपन्न किसान अहिले तरकारी उत्पादनमा व्यस्त छन् । उनीहरु यतिखेर नदी उकास र बगरमा तरकारी उत्पादनमा व्यस्त रहेका हुन् । नदी उकास खेर गइरहेको वनक्षेत्र र बगरका खाली जमिनमा कृषि वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानलाई तरकारी बेच्न भ्याइनभ्याइ भएको हो ।

    तरकारी बिक्रीबाट घर व्यवहार चलाउन सहज भएको हरिवन नगरपालिका–३ मोहनपुरकी तरकारी उत्पादक किसान गङ्गाकुमारी ब्लोनले बताउनुभयो । उहाँका अनुसार युएनडिपीको सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको कृषि वन विकास कार्यक्रममार्फत आफूहरुले तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेको हो । मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्षसमेत रहनुभएकी ब्लोनले हाम्रो समूहमा ६० जना विपन्न किसान छन् । आफूहरुले खुर्सानी, करेला, लौका, काँक्रा, फर्सि, चिप्ले भिण्डीलगायतका तरकारी उत्पादन गरिरहेको उहाँको भनाइ छ ।

    कृषि सामुदायिक वन समूह निर्माण गरेर उत्पादन गरेको तरकारी बिक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेको उहाँले बताउनुभयो । “तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौँ, त्यो पैसा कहिलेकाहीँ बिउबिजन, विषादी किन्न पैसा अभाव भएको समयमा समूहका सदस्यले पालैपालो चलाउने गरेका छौँ”, अध्यक्ष ब्लोनले भन्नुभयो, “सामुदायिक वनको खाली पर्ती र नदी उकास जग्गामा तरकारी खेती गर्न थालेपछि आफ्नो घरव्यावहार चलाउन सहज भएको छ ।” पहिले पैसाको मुख देख्न पाइन्नथ्यो, अब त तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेको र यसले घरव्यवहार चलाउन सहज भएको उहाँको भनाइ छ ।

    त्यसैगरी हरिवन नगरपालिका–४ की अजमिरी खातुनले पनि तरकारी खेतीबाट राम्रो आन्दानी भइरहेको बताउनुभयो । समूहकी कोषाध्यक्षसमेत रहनुभएकी उहाँले पनि आफ्नो जग्गामा खर्बुजा, काँक्रा, बोडी, भन्टालगायतका तरकारी लगाउनुभएको छ । उहाँले समूहमा मिलेर लगाइएको तरकारीले राम्रो बजार लिएको बताउनुभयो । ग्रामीण स्वयम सेवक समाज हरिवनले २५ बिघामध्ये झण्डै करिब २० बिघामा किसान समूह बनाएर सामूहिक तरकारी खेती सुरु गरेको हो ।

    हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गइरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट वडा नं ३ का ६० घरपरिवार, वडा नं ४ का २४ र वडा नं ५ का ८६ घरपरिवार गरी करिब दुई सय विपन्न परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसार्इंले बताउनुभयो । उहाँका अनुसार कृषि वन विकास कार्यक्रमअन्तर्गत सुरु गरिएको तरकारी खेतीबाट विपन्न परिवारले राम्रो आन्दानी लिन सुरु गरेका छन् ।

    विपन्न परिवारका किसानले गरेको परिश्रम र बगाएको पसिनाको फल लिन थालेपछि उनीहरुको दैनिकीमा निकै परिवर्तन आएको हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले बताउनुभयो । उहाँका अनुसार गरे के हुँदैन भन्ने उनीहरुले सावित गरिदिएका छन् । किसानले उत्पादित तरकारी लौका, घिरौला, बोडी, हरियो साग, परवल, फर्सी, खर्बुजा, काँक्रो खुर्सानीलगायतका तरकारीबाट राम्रो लाम्दानी दिन थालेको उपप्रमुख पौडेलको भनाइ छ ।

    डेढ वर्षअघि ग्रामीण स्वयमसेवक समाज हरिवनले युएनडिपीसँग विपन्न नागरिकको क्षेत्रमा काम गर्न सम्झौता गरेर हरिवन नगरपालिकाभित्रका खाली, पर्ती, नदी उकास र खेर गइरहेका सामुदायिक वन क्षेत्रका जग्गा उपलब्ध गराइ सुरु गरेको तरकारीखेती अहिले नमूना बन्दै गएको हरिवन नगरपालिका–४ का वडाध्यक्ष धनबहादुर वाइवाले बताउनुभयो । उहाँका अनुसार विपन्न नागरिकको आर्थिक अवस्था उकास्ने उद्देश्यअनुरुप नगरपालिकाले खेर गइरहेका जग्गा उपलब्ध गराएपछि २५ वर्षे सम्झौता अनुसार जग्गाको वर्गीकरण गरेर खेती गर्न दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताउनुभयो । उहाँका अनुसार त्यसपछि ती जमिनमा लगाइएका अन्य बिरुवा हुर्केपछि वन समूहलाई नै हस्तान्तरण गरिने छ ।

    ग्रामीण स्वयमसेवक समाज हरिवनले विपन्न किसान छनोट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर, सामुदायिक वनका जग्गामा खनजोत गरेर तरकारी खेती सुरु गरेको थियो । आफैले मल, बिउबिजन, विषादीदेखि खनजोतका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराएर तरकारी खेती सुरु गरेको हो । किसानले उत्पादन गरेको तरकारी अहिले देशका २० भन्दा बढी बजारमा पुग्ने गरेका छन् ।

    किसानलाई आवश्यक पर्ने मल, बिउबिजन, विषादी, सिँचाइका लागि बोर्डिङसमेत युएनडिपीले नै उपलब्ध गराएको कृषि प्राविधि एवं युएनडिपीका फिल्ड निर्देशक सुरेश खनालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विद्युत् लाइन उपलब्ध गराएको छ । किसानले प्लटप्लटमै कृषि मिटरसमेत जडान गरिसकेका छन् । “अहिले तपाई त्यस क्षेत्रमा जानुभयो भने अच्चम्भित हुनुहुन्छ । पहिले कस्तो थियो अहिलेको अवस्थामा कस्तो छ । किसानले धेरै मेहनत गरेका छन्”, उहाँले भन्नुभयो ।

    फलफूल, तरकारीलगायत कृषि वन विकास, विस्तार र प्रवद्र्धन गरी यसलाई आर्थिक उपार्जनको माध्यम बनाउन यस क्षेत्रमा सहुलियत ऋण उपलब्ध गराउने, कृषि वनमा आधारित उद्यमहरूको प्रवद्र्धन र विस्तार गर्ने सरकारले नीतिगत व्यवस्था गरेपछि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नमा सहयोग पुगेको छ । यहाँका तीन वडाबाट सुरु गरिएको कृषि वन विकासकार्यक्रम अन्य वडामा पनि विस्तार गर्नसके त्यसले नागरिकको आर्थिकस्तर माथि उकास्न सहयोग पुग्नुका साथै हरियाली प्रवद्र्धन र वातावारण संरक्षणमासमेत टेवा पुग्ने विश्वास नगरपालिकाको छ ।

    विपन्न वर्गको आर्थिक अवस्था उकास्नु र उनीहरुको जीविकोपार्जनमा टेवा पु¥याउनु नै संस्थाको उद्देश्य रहेको युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजयप्रसाद सिंहले बताउनुभयो । उहाँका अनुसार आफूहरुको योजनाअनुरुप नगरपालिकाले खेर गइरहेको जमिन उपलब्ध नगराएको भए अहिलेको सफलता प्राप्त हुने थिएन । त्यस्तै किसानले पनि धेरै मेहनत गरेका कारण उनीहरुको जीवनशैली नै फेरिएको उहाँको भनाइ छ । विपन्न किसानको आर्थिक अवस्था उकास्न कृषि वन विकास कार्यक्रम लागू गरेर राम्रो काम गरेको ग्रामीण स्वयमसेवक समाज हरिवनका अध्यक्ष दधिराम पौडेलले बताउनुभयो । उहाँका अनुसार किसानले अझै मेहनत गरे अरु सहयोग गर्न समेत दातृ निकाय तयार रहेको बताउनुभयो ।

    लखनदेही नदी किनारमा रहेको नदी उकास तथा हरिवन नगरपालिका ३,४ र ५ मा खेर गइरहेको खाली, पर्ती जमिनमा सुरु गरिएको तरकारी खेतीबाट विपन्न किसान लाभान्वित भएका छन् ।(रासस)

  • ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

    ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

    काठमाडौं, ११ वैशाख-

    ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

    ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

    महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

    १. ललितपुर महानगरपालिका
    प्रमुख : नेपाली कांग्रेस
    उपप्रमुख : नेकपा माओवादी केन्द्र

    २. गोदावरी नगरपालिका
    प्रमुखः नेपाली काग्रेस
    उपप्रमुखः नेपाली काग्रेस

    ३. महालक्ष्मी नगरपालिका
    प्रमुखः नेकपा माओवादी केन्द्र
    उपप्रमुखः नेपाली काग्रेस

    ४. कोन्ज्योसोम गाउँपालिका
    अध्यक्ष : नेकपा माओवादी केन्द्र
    उपाध्यक्षः नेपाली कांग्रेस

    ५. बागमती गाउँपालिका
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्षः नेकपा माओवादी केन्द्र

    ६. महांकाल गाउँपालिका
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्ष. नेकपा माओवादी केन्द्र
    – न्युज कारखाना

  • कांग्रेस बकैयाले गठबन्धन नगर्ने

    कांग्रेस बकैयाले गठबन्धन नगर्ने

    हेटौंडा, ११ वैशाख-

    नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

    गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनालाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ ।

    गाउँपालिकाका कार्यसमितिको सबै पदाधिकारी र १२ वटै वडाका सभापतिहरूको हस्ताक्षरित विज्ञप्तिमा कुनै दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय समितिले गर्ने हुनाले मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरिएको उल्लेख छ ।

    कांग्रेस बकैया गाउँपालिकाका सभापति दिलबहादुर बोम्जन लामाले आम कार्यकर्ताको अनुरोधमा गठबन्धन नगर्ने निर्णय गरिएको बताए ।- न्युज कारखाना

  • नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

    नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

    काठमाडौं, ११ वैशाख-

    नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

    पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल–भारत दुवै देशमा एउटै मिति ३ भदौ अर्थात् १९ अगस्टमा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामै प्रदर्शन हुन लागेको हो ।

    प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेको हो । फिल्म राम्रो बनेको र भारतमा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजारसम्म लैजान कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन् ।

    परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।- न्युज कारखाना

  • भरतपुर महानगरपालिकाको प्रमुखमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र

    भरतपुर महानगरपालिकाको प्रमुखमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र

    काठमाडौं, ११ वैशाख-

    चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएको बताए ।

    स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले पनि मनोनयन दर्ता गराएका हुन् ।

    पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ ।
    मनोनयन दर्ताको समय सोमबार बेलुकी ५ बजेसम्म छ ।- न्युज कारखाना

     

  • कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन : एउटा जनउत्तेजनाको व्यापारी

    कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन : एउटा जनउत्तेजनाको व्यापारी

     

    काठमाडौं, ११ वैशाख-

    नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ ।

    कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाको व्यापारी बताएको हो ।

    ‘नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तिको केन्द्रिकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो । फलस्वरुप, कम्युनिस्ट सरकारले मुलुकलाई बल्लबल्ल प्राप्त स्थिरताको लाभ लिनबाट फेरि एकचोटि वञ्चित मात्र गरेन, झन् भयङ्कर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिमसमेत बढाएर गयो,’ घोषणापत्रमा भनिएको छ ।

    यतिखेर निर्वाचनबाट प्राप्त जनादेश अनुसार सरकारमा नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षमा नेपाली कांग्रेस बसेर संविधानको कार्यान्वयन गर्न तीव्र प्रतिस्पर्धा भइरहेको अवस्था हुनुपर्नेमा दुर्भाग्यवश त्यस्तो हुन नसकेको कांग्रेसले जनाएको छ ।

    ‘त्यति ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउन होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समयमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुःखान्त हो,’ घोषणापत्रमा उल्लेख छ ।

    सात दशकको अकल्पनीय सङ्घर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्भाव र सहिष्णुतालगायत सम्पूर्ण व्यवस्थामाथि नै ओलीको सरकारले सुनियोजित आक्रमण गरेको समेत घोषणापत्रमा जनाइएको छ ।- न्युज कारखाना

     

  • एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

    एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

    रमेश सुवेदी
    काठमाडौं, ११ वैशाख-

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत महिना राष्ट्रिय महिला लिगलाई मोफसलमा लैजाने निर्णय लिँदै स्थानीय निकायसँग सम्झौता गरे ।

    सम्झौताअनुसार लिगको पहिलो चरण चितवनको शारदानगर र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा हुने पक्का भयो । जसअन्तर्गत १० चैतबाट सुरु भएको पहिलो चरण ३० चैतमा सम्पन्न भयो ।

    यसपछि दोस्रो चरण पूर्वी नेपाल पुग्ने गरि महिला लिगले विश्राम पायो । तर, विश्राम समयमा समेत सुदूरपश्चिमको कैलाली, धनगढीमा महिला गोल्डकप हुने भयो । धनगढी रंगशालामा आयोजना भएको पहिलो मुख्यमन्त्री विवाइसी गोल्डकप शनिबार (हिजो) समाप्त भयो ।

    चिरपरिचित विभागीय टोली एपीएफ फुटबल क्लबको घरेलु फुटबलमा रहेको दबदबा तोड्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले उपाधिसमेत जित्यो । तर, महिला लिग सकिएको १२ दिन भइसक्दासमेत दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन ।

    एन्फाको चार वर्षे कार्यकालका लागि तय ६ असारको चुनाव र स्थानीय तहको चुनाव (३० वैशाख) का कारण महिला लिगलाई प्रत्यक्ष असर गरेको छ । एकातिर एन्फा चुनावका लागि दौडधुप र अर्का तिर आयोजना गर्ने भनेको स्थानीय सरकारको मौनताका कारण महिला लिगको दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन ।

    ‘हाम्रो योजनाअनुसार १५ वैशाखबाट दोस्रो चरण सुरु गर्ने हो । तर, योजनाअनुसार काम हुन पाएको छैन,’ एन्फाअन्तर्गत रहेको महिला विभाग प्रमुख हरि खड्का भन्छन् । खड्का अनुसार यही सोमबार र मंगलबार दोस्रो चरणको बारेमा बैठक बस्दै छ । सोही बैठकले आगामी लिगको मिति र तालिका सार्वजनिक गर्नेछ ।

    यही बीचमा एन्फाअन्तर्गत रहेका रेफ्री संघ र महिला संघको समेत चुनाव हुँदा महिला लिग प्रभावित बनेको स्रोत बताउँछ । यस्तै स्थानीय आयोजकले चुनावका कारण आयोजनालाई मध्यनजर नगर्दा प्रतियोगिता थकेलिने अवस्थामा पुगेको हो ।

    ‘एन्फाको महिला संघ र रेफ्रीसंघ चुनावका कारण पनि प्रभावित भएको हो । अहिले सबै यतै (उपत्यका) मा व्यस्त छन् । अर्काे भनेको स्थानीय चुनावका कारण स्थानीय आयोजकले तीव्रता नदिँदा र ‘ओके’ नभनेकाले प्रतियोगिताको अन्योलता थपिएको हो,’ एन्फा स्रोत भन्छ ।

    हाल सी र बी डिभिजन मताधिकार र प्रतिनिधि छनोटसँगै जिल्ला निर्वाचन भइरहेको छ । अधिकांश जिल्लाको चुनाव सकिँदा केही विवादमुक्त हुन नसकेका जिल्लाको चुनाव भने बाँकी नै छ ।

    यस्तै प्रशिक्षक संघले सर्वसम्मतमा अध्यक्ष पाउँदा, महिला, रेफ्री र खेलाडी संघले समेत सर्वसम्मतमा अध्यक्ष पाउने निश्चित छ । तर शीर्ष पदाधिकारीदेखि नै महिला संघ, महिला कमिटी, रेफ्री संघ चुनावी माहोलमा उत्रिँदा महिला लिगको दोस्रो चरण अनिश्चित बनेको छ ।

    यसअघि शारदानगरमा भएको महिला लिगमा सात चरणका खेल सकिएका छन् । जहाँ २८ खेल हुँदा दुई आत्माघाती र ६ ह्याट्रिक सहित १२५ गोल भए । आठ टिम सहभागी लिगमा चोटबाट रिकवरी हुँदै मैदान फर्किएकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) १४ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् । न्युज कारखाना