Blog

  • प्रचण्ड स्वदेश फिर्तापछि मात्र कर्णालीले मन्त्री पाउने

    प्रचण्ड स्वदेश फिर्तापछि मात्र कर्णालीले मन्त्री पाउने

    सुर्खेत, साउन २४-
    कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फिर्तापछि मात्र नयाँ मन्त्री पाउने भएको छ ।

    मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मलन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको छ ।

    सोमबार माओवादी संसदीय दलको बैठकमा प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ मन्त्री पठाउने विषयमा निर्णय हुने सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो ।

    संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा सोमबार नै बिदा भएका छन् ।

    संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यहरूले आ(आफ्नो धारणा राखेको इन्चार्ज मल्लले बताए ।

    उनका अनुसार डोल्पाबाट निर्वाचित वीरबहादुर शाहीलाई मन्त्री बनाउने विषयमा मोटामोटी अघिल्लोपटक नै सहमति भए पनि अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि मात्र ठोस निर्णय हुने छ ।

    माओवादीले सबै जिल्लाबाट मन्त्री बनाए पनि डोल्पाबाट अहिलेसम्म मन्त्री बनाएको छैन । शाही विवादरहित नेतामा पर्दछन् ।

    कर्णाली सरकारमा अहिले तीनदलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ।

    यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ ।

    ११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित सातजना मन्त्री भइसकेका छन् ।

    पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

  • संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

    संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

    संखुवासभा, साउन २४-
    संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने

    सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने

    काठमाडौं, साउन २४-
    सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ ।

    कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका(५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् ।

    स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    यसमा छिटोमा १९ भदौसम्म र ढिलोमा ४ असोजसम्म आइपीओ खुला रहनेछ । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक छ ।

  • एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति

    एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति

    काठमाडौं, २४ साउन-
    वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन ।

    पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ ।

    विभागका अनुसार पछिल्लो एक वर्ष अर्थात गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन् ।

    सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए ।

    पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ ।

    २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ ।

    २०७९ साल सुरु भएपछिको तीन महिना– वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

    विभागका अनुसार हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ । श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेका छन् ।

  • अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

    अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

    ओटाबा, २४ साउन-
    ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ ।

    दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् ।

    अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन कोबानविरुद्ध जबरजस्ती असुली, बाल प्रलोभन, बाल पोर्नोग्राफी र उत्पीडन गरेको अभियोग लगाइएको छ ।
    त्यतिबेला १५ वर्षकी अमान्डा टोडले सन् २०१२ मा एउटा भिडियो पोस्ट गर्दै कोबानले अनलाईमार्फत यौन दुर्व्यवहार गरेको गुनासो गरेकी थिइन् ।

    उक्त भिडियोलाई युट्युवबाट लाखौँ पटक हेरिएको थियो र अनलाईनमार्फत यौन दुर्व्यवहारबारे राष्ट्रिय बहस बढेको थियो । भिडियो अपलोड गरेको पाँच सातापछि उनले आत्महत्या गरेकी थिइन् ।

    इन्टरनेटमार्फत दर्जनौँ महिलालाई ब्ल्याकमेल र दुर्व्यवहार गरेको अभियोगमा कोबनलाई सन् २०१७ मा ११ वर्ष जेल सजाय तोकिएको थियो । उनले बेलायत, क्यानडा र अमेरिका युवतीलाई दुर्व्यवहार गरेका थिए ।

    क्यानडामा सुपुर्दगी गरिएपछि उनीविरुद्ध बाल अश्लील सामग्री वितरण गरेको, जबर्जस्ती पैसा असुली गरेको र मानसिक यातना दिएको आरोप लगाइएको थियो ।

  • सूचना आयोगद्वारा सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही

    सूचना आयोगद्वारा सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही

    काठमाडौं, साउन २४-
    राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।

    आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।

    विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए । सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन् ।

    हालसम्म सूचना नदिने तथा आंशिक सूचना दिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक सात, त्रिवि शिक्षा सेवा आयोगका अध्यक्ष चार, त्रिविका शिक्षाध्यक्ष एक, स्थानीय तहका कार्यालय प्रमुख चार, स्कुल तथा क्याम्पसका प्रमुख छ तथा अन्य ११ जना गरी जम्मा ३३ कार्यालय प्रमुखलाई आयोगले कारबाही गरिएकोे हो ।

    सूचना नदिएको भन्दै यहीँ साउन ४ गते आयोगले बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।

    प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरिएकोे छ।

    रौतहट मलोहिया–५ का राजीव दासले गर्नुभएको उजुरीमा आयोगले उक्त जरिवाना गर्ने निर्णय आदेश दिएको हो । दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सा शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो, यससम्बन्धी व्यवस्था कस्तो छलगायत सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए ।

    त्यस्तै आयोगले गत असार १३ गते सूचना नदिने रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार जरिवाना थियो ।

    राजपुर नगरपालिका–१ का एकामुल हकले गर्नुभएको उजुरीमा आयोगले उक्त उक्त आदेश गरेको थियो ।

    हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या र प्रतिव्यक्ति कति खर्च भयो रु क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपि माग गरेका थिए ।

    आयोगले पटक–पटक सूचना उपलब्ध गराउनु भन्दै दिएको आदेशको उपेक्षा गर्ने तथा सूचना उपलब्ध नगराउने कार्यालय प्रमुखमाथि कारबाही गर्ने गरेको छ ।

    सूचना मागकर्ताले मागेको सूचना उपलब्ध नगराए प्रक्रियाअनुसार सो निकायलाई आयोगले सूचना नदिनुपर्नाको कारणलेखी पठाउन भन्दै आदेश जारी गर्छ ।

    सो आदेश पछिको जवाफमा सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३ ले भने बमोजिमको सूचना उपलब्ध गराउनुपर्ने कानुनमै उल्लेख रहेको आयुक्त मैनालीले बताए ।

    कतिपय सार्वजनिक कार्यालयका प्रमुखले सो विषय जान्दा जान्दै पनि सूचना नै दिन मान्दैनन् ।

    आयोगले पटक–पटक ध्यानाकर्षण गर्दा पनि सूचना नदिने कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम कारबाही गर्ने गरेको आयोगले जानकारी दिएको छ ।

  • यस्तो छ सानालाई कम र ठूला कर्मचारीलाई बढी तलब दिन निर्देशन दिने संसदीय समितिको निर्णय

    यस्तो छ सानालाई कम र ठूला कर्मचारीलाई बढी तलब दिन निर्देशन दिने संसदीय समितिको निर्णय

    काठमाडौं, साउन २४-
    संसदीय समितिले सानालाई कम र ठूलालाई बढी तलब दिन निर्देशन दिएको पाइएको छ ।

    प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यही १५ साउनमा संसदको स्वीकृति विना खर्च गर्न नपाइने संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै कर्मचारीको तलब बढाउन निर्देशन दिएको हो ।

    समितिको निर्णयमा भनिएको छ :

    विषयः निर्णय कार्यान्वयन सम्बन्धमा ।

    उपर्युक्त सम्बन्धमा यस समितिको मिति २०७९-०४-१५ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयनको लागि पठाईएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछुः

    बिगत वर्षहरूमा नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम र तलवमानमा रहेको असमान एवं अवैज्ञानिक मापदण्डका कारण पछिल्लो मर्यादाक्रममा रहेका कर्मचारीको तलब बढी र अघिल्लो मर्यादाक्रममा रहेका कर्मचारीका तलब कम निर्धारण भएको देखिंदा यसबाट कर्मचारीको आदेशको शृंखला ९ऋजबष्ल या ऋयmmबलम० मा नकारात्मक असर परेको, प्रोटोकल अनुसार सम्मान प्रकट हुने स्थिति नरहेको र उत्प्रेरणामा कमि आई नतिजामूलक कार्यसम्पादनमा समेत असरपर्ने देखिएकोले राष्ट्र सेवक कर्मचारी, सेना एवं प्रहरी लगायत सबै पदाधिकारीको सेवा, समूह, उपसमूहको प्रकृति अनुसार प्राप्त हुने अन्य सुविधा बाहेक तलव शीर्षकमा कायम गरिने मापदण्ड (तलवमान)मा वैज्ञानिक आधार लिई मर्यादाक्रम अनुसार अघिल्लो मर्यादाक्रम हुने पदाधिकारीहरूको बढी र पछिल्लो मर्यादाक्रममा रहेका पदाधिकारीहरूको कम हुने गरी आ। व। २०७९र८०को तलबमान समायोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

  • एक्सपर्टद्वारा १९ वर्षमा एक लाख जनालाई परामर्श सेवा

    एक्सपर्टद्वारा १९ वर्षमा एक लाख जनालाई परामर्श सेवा

    चितवन, साउन २४-
    नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ ।

    विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा दिइएको हो ।

    उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिएर विदेशी कलेजसँग जोड्ने काम एक्सपर्टले गर्दै आएको छ ।

    सर्भिसेसका निर्देशक सागर अर्यालका अनुसार एक्सपर्टले मुख्यरूपमा अष्ट्रेलिया, क्यानडा र बेलायत जाने धेरै विद्यार्थीलाई सेवा दिएको छ । एक्सपर्टको अष्ट्रेलियाका प्रमुख सहरमा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको उनले जानकारी दिए ।

    यस्तै भारत, श्रीलङ्का, बङ्गलादेश, हङ्कङ, अफ्रिका, थाइल्याण्डलगायतका देशमा एक्सपर्टका शाखा रहेको र ती शाखामा सात सयभन्दा बढी कर्मचारीले सेवा दिँदै आएका उनले बताए ।

    एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीका अनुसार चितवनसहित नेपालका प्रमुख सहरमा कार्यालयमार्फत यो सेवा दिइएको छ ।

    मुख्यरूपमा १० जोड दुई उत्तीर्ण गरेका बिद्यार्थी शैक्षिक परामर्शका लागि धेरै आउने गर्दछन् । यससँगै स्नातक र स्नातकोत्तरपछि पनि उच्च शिक्षाका लागि विद्यार्थी आउने गरेको उनले जानकारी दिए ।

    नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने धेरै विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिने संस्थामा एक्सपर्ट अग्रणी मानिन्छ ।

    संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै एक्सपर्ट फाउण्डेशन स्थापना गरी समस्यामा परेकाहरूलाई सहयोग पु¥याउँदै आएको छ ।

    विसं २०७२ को गोरखा भूकम्पका पीडितलाई सो फाउण्डेशनले रु सात लाखभन्दा बढीको राहत बितरण गरेको थियो । यस्तै रु १० लाख लगानी गरेर सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माण गरेको थियो ।

    गएको कोभिडको लहरसँगै नेपालका अस्पतालमा ६० लाखभन्दा बढी खर्च गरेर अक्सिजन कन्सन्टेटर र सिलिण्डर वितरण गरेको थियो । विदेशमा अध्ययनमा रहेका विद्यार्थीलाई कोभिडको समयमा एक लाख ५० हजार अष्ट्रेलियन डलर सहयोग गरेको एक्सपर्टले जनाएको छ । बाढीपहिराको समयमा पनि एक्पर्टले सहयोग गर्दै आएको छ ।

    फाउण्डेशनले जनचेतनामूलक र खेलकुद क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ ।

  • नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

    नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

    काठमाडौं, साउन २४-
    नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ ।

    पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।

    यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ ।

    संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने ।

    विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो ।

    यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो ।

    जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिए ।

    नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उनले बताए ।

    यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ ।

    यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ ।

    चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताए ।

    उनका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो ।

    नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ (आइयुसीएन)को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ ।

    नेपालमा तीव्रदरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनासले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ ।

    चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन् ।

    उहाँहरुले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिएका छन् ।

  • चितवनको खैरहनीमा कांग्रेस नगर सचिव इटनीसहित १४० जनाद्वारा सामूहिक राजीनामा

    चितवनको खैरहनीमा कांग्रेस नगर सचिव इटनीसहित १४० जनाद्वारा सामूहिक राजीनामा

    चितवन, साउन २४-
    चितवनको खैरहनीमा नेपाली कांग्रेस नगर सचिवसहित १४० जनाले हिजो सोमबार पाटी सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन् ।

    नेपाली कांग्रेस खैरहनी नगर सचिव तथा खैरहनी २ वडा सभापति टीकादत्त इटनीसहित वडा उपसभापति, क्षेत्रीय प्रतिनिधि, निवर्तमान सल्लाहकार, निवर्तमान सचिव, महिला संघ निवर्तमान सहसचिवलगायतले साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका हुन् ।

    वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा टिकट बाँडफाटमा विभेद गरेको भन्दै राजीनामा दिएको बुझिएको छ ।

    टिकटकै विषयलाई लिएर अहिले सामूहिक राजीनामा आएको हुन सक्ने कांग्रेसका नेताहरुको बुझाइ छ ।

    खैरहनीमा नगर प्रमुखमा दाबेदार १२ जनामध्ये अहिले निर्वाचित प्रमुख शशी खनिया एकातिर र नगर सभापतिसहित बाँकी ११ जना अर्को खेमामा उभिएका छन् ।

    निर्वाचित भएको करिब तीन महिना भैसक्दा पनि प्रमुखले कुनै सल्लाहसमेत नलिएको उनीहरुको गुनासो छ ।